Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२४ घण्टा टिक्न नसकेको ‘राम’ कहानी

Posted on July 15, 2020 by Salokya

दुई वर्षअघि मोदी र ओली भएर जनकपुरमा त्यहाँबाट अयोध्यासम्म जाने बस सेवालाई हरियो झण्डा देखाउँदै।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याको बारेमा हल्का तवरले गफ लाइदिए। अरु सामान्य अवस्थामा भएको भए यो कुरा पनि सामान्य नै हुनसक्थ्यो। उही प्रधानमन्त्रीले राइनो हैन, गैँडा भन्नुपर्छ, गैँडा नदेख्नेको आधा जिन्दगी खेर गयो भने जस्तो। राम जन्मभूमि र हिन्दुत्वको विषयलाई उचालेर सत्तामा पुगेको भाजपाको सरकार भारतमा रहेको बेला राम नाममा हाम्रा प्रधानमन्त्रीले शब्द वाण खेलिदिए। त्यो पनि त्यस्तो बेलामा जब भारत र नेपालको सम्बन्ध तीतो भइरहेको छ। भारतीय मिडियामा अन्टसन्ट समाचार आइरहेका बेला। यस्तो अवस्थामा स्वयं प्रधानमन्त्रीले नै अध्ययन बिना हावादारी बोलिदिँदाको दूरगामी प्रभाव सोच्नुपर्थ्यो। सोचेनन्। र त, २४ घण्टा पनि टिक्न सकेन ‘राम’ कहानी र परराष्ट्र मन्त्रालयबाट रफू भर्नुपर्‍यो।

प्रधानमन्त्रीको हरेक कुराको प्रतिरक्षा गर्नुपर्ने दस्ताले जे भनेर प्रतिवाद गरे पनि परराष्ट्र मन्त्रालयको यो विज्ञप्तिले नै देखाउँछ, नभन्नु पर्ने कुरा भनियो। नहुनुपर्ने कुरा भयो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो भन्नेमा देशै एक भयो। तर नक्सामा मात्र त्यो भएर भएन। अब त्यहाँको भूमिलाई वास्तविक रुपमा हाम्रो बनाउने दायित्व छ सरकारको। त्यसका लागि एकमात्र उपाय हो हामीसित भएको प्रमाण राखेर कुटनीतिक संवाद गर्ने। नत्र नक्शामा मात्र बनाए हुने भए त पश्चिममा किल्ला काँगडा ,पूर्वमा टिस्टासम्मको बनाए भइगो नि। पाइयो नि बनाउन।

तर त्यसो नगरी भारतसित सधैँ मुखाले मात्र भएर त भएन नि। छिमेकी फेर्न सक्दैनौँ हामी। पहिले भारतले गर्ने माइक्रो म्यानेजमेन्टको तह अहिले हराएको पक्कै हो। तर त्यसको ठाउँमा चीनले वा अर्को देशले त्यही तहको माइक्रो म्यानेजमेन्ट गरोस् भन्ने त हामीले चाहेका हैनौँ नि। दुवै छिमेकीसित सन्तुलित सम्बन्ध बनाएर पो अघि बढ्नु पर्‍यो त।

भारतीय मिडिया साह्रै अशिष्ट छन्। उनीहरुले हद पार गरेर हाम्रा प्रधानमन्त्रीविरुद्ध रिपोर्ट बनाएर बजाए। तर त्यसो भन्दैमा हाम्रा मिडियाले पनि त्यस्तै खाले रिपोर्ट बनाउने त होइन नि। हाम्रा मिडियाले त्यसो गरेका पनि छैनन्। तर प्रधानमन्त्रीले नै यस्तो अन्टसन्ट बोलेर उताको मिडियालाई मसला दिने काम नगरेकै वेश हुन्थ्यो। अरु सामान्य अवस्थामा भएको भए यो पनि एउटा हावादारी गफ भनेर उडाउन हुन्थ्यो। हामीलाई त बानी नै छ। तर दुई देशको सम्बन्ध संवेदनशील अवस्थामा रहेको बेला यसरी बोलेर अझ सम्बन्ध बिगार्ने काम गर्नु हुन्थेन प्रधानमन्त्रीले।

अयोध्या कता छ, राम कहाँको- त्यो महत्त्वको विषय नै होइन। रामायणका  ३ सयभन्दा बढी संस्करण छन्। थाइल्यान्डको संस्करणमा अयोध्या पनि उतै छ भनिन्छ।  थाई उच्चारणले द र ध को संयुक्त अक्षर उच्चारण गर्न नसक्ने भएकोले आयोथ्या भनिन्छ त्यहाँ। यताको केही नजोडी उनीहरुको रामायण पूरा हुन्छ। उनीहरुको रामायणमा राम र सीतालाई एकै आमाका सन्तान भनिन्छ।

त्यसैगरी बौद्ध जातक कथामा पनि ‘दशरथ जातक’ रहेको छ। त्यसमा पनि राम र सीता दाजु बहिनी भनिन्छ। जापानको रामायण Bontenkoku मा रावण शिकारमा जाँदा रामले अपहरणमा परेकी आफ्नी पत्नी सीतालाई लिएर भाग्छन्। तिब्बत र मंगोलियाको रामायणमा राम वनबासमा जाँदा सँगै जाने लक्ष्मण हैन, भरत हुन्छन्।

मलेसियामा चाहिँ रावण र सीता बाउछोरी हुन्छन्। त्यहाँ हनुमान चाहिँ रामको छोरा हुन्छ। हाम्रोमा लंका जलाउने हनुमान हुन्छन्। त्यहाँ चाहिँ लंकापुरी बनाउने हनुमान।

यसरी नै एउटा नेपाली राष्ट्रवादी संस्करण बनाउन नसकिने होइन रामायणको। किनकि एउटा साहित्य न हो रामायण। त्यसैले त संस्करण फरक फरक छन्। तर त्यसमा हिन्दूहरुको आस्था पनि जोडिएको छ।

भारतीय हिन्दूहरुको आस्थामा असर परेको देखेर नै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाईको बारेमा हतार हतार यस्तो विज्ञप्ति निकाल्नु परेको हो।

दुई देशबीचको सम्बन्धमै असर पर्ने गरी प्रधानमन्त्री तहबाट यस्ता अभिव्यक्ति आउनु उचित हुन्न। ज-जसले यो ठीक छ भनेर उचालिरहेका छन्, उनीहरुलाई यो कुरा पटक्कै पच्दैन। नपच्नु स्वभाविक हो। तर अयोध्या र रामका विषयमा भन्दा पनि कोरोनाले थला परेको अर्थतन्त्रको विषयमा चाहिँ ध्यान दिनु पर्ने हो। देशमा बोल्नु पर्ने र गर्नुपर्ने विषय धेरै छन्, यस्तो वाहियात विषयमा धेरै नअल्झौँ।

2 thoughts on “२४ घण्टा टिक्न नसकेको ‘राम’ कहानी”

  1. जीवन says:
    July 15, 2020 at 11:34 pm

    ओलीले यो बेला के वितण्डा मचाउन खोजेका हुन?
    कोरोनाको कहरमा सेवा पुर्याउन ध्यान केन्द्रित हुनपर्ने, बाढीपैह्रोमा परेकालाई उद्दार गराउन तल्लीन हुनपर्ने|
    इन्डियाका मेडिया अशिष्ट मात्र होइन, महाझुठको खेती गर्छन| अभद्र छन|

    ओलीको कुबेलाको रामकहानी आएपछी इन्डियाको खेतीवाल मेडियाले ओली “गम्भीर बिरामी छन र मस्तिष्क सन्तुलन गुमाउदै आएका छन, जे पायो त्यही बोल्छन र गर्छन् जस्को परिणाम लिम्पियाधुरा कालापानी नक्सामा ल्याउने ध्रिष्टता गरेका छन र चिनिया राजदुतसँग रासलीला रचेर रमाएका छन” भनेर प्रस्तुत गर्न खोजेका छन| इन्डियाको महाझुठ मेडियालाई ओलीले मसाला दिएका छन|
    धन्य हाम्रा नेपालका मेडिया उदाहरणीय रुपमा प्रस्तुत भएका छन, सयमित र शिष्ट छन|
    अब जसरी पनि हेर्दा ओलीले विदा लिनैपर्छ| अति भयो| भस्मासुर नै भए|

    भारत र चीन बीचको सम्बन्धमा असाध्यै सन्तुलन देखाउन परने हो, ब्यहारिकता भनेको नै यही हो|
    ओली आफ्नो स्वार्थ पुर्तिका लागि मात्र अरिङ्गलको गोलोमा कोट्याउने हुन| त्यस्को मतलब अरु लाईनमा बसेका नेताहरु स्वच्छ छन भन्ने होइन| नेपाली जनताले नबुझेर वा अरु पार्टी सँग वाक्क दिक्क लागेर कम्युनिस्टलाई भोट् दिएका हुन तर ओलीमा कम्युनिस्टको क पनि जीवित छैन| हावा कुरा बोलेर जनतालाई गुमराहमा राख्ने ओली हुन|ओली एउटा गुटका नेता हुनसक्छन तर सम्पूर्ण मुलुकलाई दिशा दिने क्षमता उनमा छैन, यो प्रष्टै देखियो|

    ओलीलाई दुवै पदबाट मुक्त गरिनपर्छ| त्यसको विकल्प छैन नत्र ओलीले हेर्दै जानुस् कस्तो अरु पनि वितण्डा मचाउने छन| उनी आफ्नो स्वार्थ, पद, धन र आफ्नो नामको मात्र वास्ता गर्छन्| उनमा शासकीय क्षमता पनि नभएको अढाई बर्षको दुई तिहाईको मतको सरकारले प्रष्ट देखाएको छ| उनी अत्यन्त विभाजनकारी
    छन| चौदह बर्ष जेलमा बस्दा उनको मस्तिष्कको घडी बन्द भएको रहेछ|
    हिजसम्म ओलीलाई अहिले हटाउन हुँदैन भन्नेमा थिए तर उनका करतुत र क्षमताका पुनार्वलोकन गर्दा ओली जती लामो बस्यो उती मुलुकलाई हानी पुर्याउनेछ|
    अन्तमा, ओलीका सलहकारहरुले पनि तु राजीनामा दिनपर्छ| ओलीले यत्रो बबाल मचाईरहदा पनि कुनै माईका लाल सल्लहकार अघी आएनन रजिनामा लिएर| विमती पोखेनन|वालुवाटारमा नँया नारायणहिटी सिर्जना गरेर यी सल्लह्कारहरु आफ्न जागिरमा डगेर बसे|
    धन्न कुन्दन अर्याल सरले समयमै अरिङ्गलको झुण्डबाट आफुलाई अलग गराए |

    Reply
  2. Shankar says:
    July 15, 2020 at 6:26 am

    राम नेपाल को पर्सा मा जन्मिएको भन्ने पी यम को भनाइ ठिक हो , राम ले सीतालाई निकाले पछि सिता बाल्मिकी आश्रम मा ग इ न। याने लक्षमण ले बाल्मिकी आश्रम मा ल्याएर छोडे। अब बाल्मिकी आश्रम देब घाट मा थ्यो भने , इन्डिया को आयोधा बाट देबघाट को दुरी कत्ति छ ? त्यो बेलामा प्लेन , रेल त् थिएँ न , बअग्गी हो , भने पछि पी यम ले जानेर भने बा जुन आसय ले भने सहि भने।
    भारत ले आखिर नक्कली लुम्बिनी बनाएको चर्चा पनि त् छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme