Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यती ग्रुप Vs नयाँ पत्रिकामा जिमी ग्रुपको मुद्दाले नयाँ मोड

Posted on July 10, 2020 by Salokya

भ्रष्टाचारहरुको पोल खोतलेर समाचार लेखीलेखी नयाँ पत्रिकाले यती ग्रुपलाई हायलकायल बनाएको थियो। आज भने नयाँ पत्रिकाको पोल खोल्न यती ग्रुपद्वारा सञ्चालित ‘नेपालन्युज’ उत्रिएको छ।

भयो के भने राजश्व अनुसन्धान विभागले हिजो अर्थात् असार २४ गते भन्सार चोरी पैठारी, झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजश्व चुहावट गरेको अभियोगमा विभिन्न व्यक्ति तथा कम्पनीविरुद्ध ७७ करोड चार लाख रुपैयाँ बिगो कायम गरी उच्च अदालतमा मुद्दा दायर गरेको बारे प्रेस विज्ञप्ति निकाल्यो। त्यसमा झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–४ मा रहेको जिमी ग्रुप प्रालिविरुद्ध १८ करोड ३३ लाख बिगो असुल उपर गरी जरिवाना एवं कैद सजाय माग गरिएको उल्लेख छ।

जिमी ग्रुप खाद्य सामग्रीको नेपाल भर व्यापार गर्ने कम्पनी हो। यति ग्रुपलाई यसको मतलब हुने भएन। मतलब कहाँनिर भयो भने जिमी ग्रुपका अध्यक्ष सुशील थापा हुन्।

सुशील थापाको कनेक्सन फेरि जोडिन्छ नयाँ पत्रिकामा। नयाँ पत्रिका हेर्नुहुन्छ भने अन्तिम पेजको प्रिन्ट लाइनको सुरुमै कार्यकारी निर्देशकको नाम देखिन्छ।

अब आफ्नो ग्रुपलाई ठोक्ने नयाँ पत्रिका नक्कली भ्याट बिल काण्डमा मुछिएपछि यतिले पनि किन छोड्ने? त्यसैले नेपालन्युजमा आज यस्तो समाचार छ-

सधैँ आफूविरुद्ध ठोकिरहेकोलाई आज ठोक्न पाउँदा यती ग्रुपलाई कति मज्जा लागेको होला !

यो समाचारले सरकारका त्यसमा पनि ओली समर्थकहरुलाई पनि राहत दिएको हुनुपर्छ। नयाँ पत्रिकाले ड्याङ ड्याङ सरकारको अकर्मण्यताबारे लेखेका समाचारहरुलाई ओली समर्थकहरु देखिसहँदैनन्। नेकपाका अर्का अध्यक्षले परिचालित गरेको आरोप हुन्छ उनीहरुको।


यो मुद्दा राजस्व अनुसन्धान विभागले दायर गरेको हो। यो विभाग पहिले अर्थ मन्त्रालय मातहतमा थियो। तर ओलीको सरकार बनेपछि २०७४ फागुन १६ गते सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहतमा राख्ने निर्णय गरिएको थियो। 

कान्तिपुर लगायतका अरु मिडियाले भने यो विषयमा सामान्य समाचार मात्र बनाएका छन्। मिडियाका मुख्य मान्छे नै राजस्व छलीको कसुरमा मुछिनु गम्भीर विषय हो। तर मिडियाले मिडियाको हैसियत बुझ्ने हुनाले एउटा मिडियाको खबर अर्को मिडियामा खासै आउँदैन। विदेशमा भए मिडियाको खबर मिडियामा बनिरहेको हुन्छ। तर नेपालमा त्यस्तो गरिँदैन। यहाँ सब कुरा ‘मिलाएर’ गरिन्छ। स्वार्थ मिलेन भने मात्र समाचार आउँछ। जस्तो कि नयाँ पत्रिकाले यति ग्रुपको बारेमा नलेखेको भए नेपालन्युजले यो समाचार बनाउँदैन थियो होला। अनि अरु मिडियामा जिमी ग्रुपले यसो यसो गर्‍यो भनेर मात्र समाचार आउँदा जिमी ग्रुपका मुख्य मान्छे नयाँ पत्रिकाको व्यवस्थापनका पनि मुख्य मान्छे हो भन्ने थाहै पाउँदैन थिए होला। एकले अर्काको पोल खोल्दा कसको के कमजोरी छ भन्ने त थाहा पाइयो नि अहिले।

छैन त नेपालको मिडियामा रमाइलो !

सम्बन्धित डकुमेन्ट-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme