Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सलह ‘तड्पिएको’देख्‍नेदेखि सलहको ‘चाहना’ बुझ्नेसम्मका पत्रकार

Posted on June 29, 2020June 29, 2020 by Salokya


अफ्रिकाबाट उडेर आएका सलहको बथान नेपाल छिर्दैन भन्दैथियो सरकारी प्रतिवेदनले। एफएओले पनि नेपालसम्म पुग्ने कुरालाई ‘अनलाइक्ली’ नै लेखिरहेको थियो। तर छिर्दैन भन्दाभन्दै छिरी त हाल्यो। अब के गर्ने? न सरकारको तयारी, न समाचार लेख्ने पत्रकारहरुको तयारी।

तर तयारी नभए पनि पत्रकारहरु निकै भावुक भए। आइतबार भावनामा उर्लेर लेखिएका समाचारहरु पढ्न पाइयो। हेर्नुस् केही नमूना।


उदाहरणका लागि माथिको देखापढीको समाचारको हेडलाइन हेर्नुस्- ‘राजस्थान नै फर्किन चाहन्छन् नेपाल आएका सलह’ रे। यहाँ ‘चाहना’ अभिव्यक्त भएको छ। कसको? नेपाल आएका सलहको।

सलहले आफ्नो चाहना कसरी व्यक्त गरे होला त? पत्रकारलाई भनेर ! समाचार लेख्ने पत्रकारले ‘सलह जी, सलह जी, तपाईँहरु के चाहनुहुन्छ?’ भनेर सोध्दा सलहको नाइकेले ‘हामी त राजस्थान नै फर्कन चाहन्छौँ बाबु’ भनेको भए पो यस्तो हेडलाइन हुनुपर्ने होइन र भन्या? नत्र सलह कहाँ जान चाहन्छन् भन्ने कुरा कसरी थाहा भएर हेडलाइन बन्छ?

छैन त अचम्म?

पख्नुस्, धेरै अचम्म नमान्नुस्। यही समाचारको बाँकी अंश पनि पढ्नुस्-

समाचारमा लेखिएको छ- ‘अर्को परिपक्व सलहको झुण्ड राजस्थान फर्किन तड्पिरहेको हुनसक्ने सलह कीरासम्बन्धी अध्ययन गर्न गठित प्राविधिक समितिका संयोजक सहदेवप्रसाद हुमागाइँले बताए।’

प्राविधिक समितिका संयोजक साह्रै प्राविधिक भए कि क्या हो, उनलाई सलहको ‘तड्पाइ’समेत थाहा भयो। सलह कसरी तड्पिने रहेछ? यसको तड्पाइका लक्षण के के हुने रहेछन्?

त्यस्तै समाचारको अर्को लाइनमा मरुभूमिमा अण्डा पार्न जाने प्रयासमा रहेको जस्तो देखिएको रे। सलह कीरा के गर्न कता जान लागेको समेत थाहा हुने भने पछि खतरै रहेछ त समाचार लेखक।

त्यस्तै अपरिपक्व सलहको झुण्ड एउटा जिल्लाबाट अर्को जिल्लामा उडान भरिरहेको छ रे। लकडाउनको बेला विमानलाई त उडान भर्न दिइएको छैन, सलहले एउटा जिल्लाबाट अर्को जिल्लामा उडान भरेछ!

अब यो अर्को अनलाइनको शीर्षक हेरौँ-

यसमा सलहले अर्कै कुरा भनेछ फेरि। माथिको अनलाइनलाई राजस्थान नै फर्कने चाहना भएको बताएको सलहले यसलाई चाहिँ पाकिस्तान जाने बाटो खोजिरहेको छु भनेछ।

सलह पनि खतरै रहेछ, पाकिस्तान, भारत, नेपाल सब देशको नाम थाहा हुने। त्यही भएर पाकिस्तान फर्कने बाटो खोजिरहेको बताएछ।

लौ अब पाकिस्तान यता छ भनेर गुगल म्यापमा देखाइदिन पर्ने भो यी सलहलाई।

समाचारको एउटा अंशमा नार्क (नेपाल कृषि अनुसन्धान परिषद्को संक्षिप्त रुप) का महानिर्देशकले भारतबाट ३ लाखको संख्यामा सलह किरा नेपाल प्रवेश गरेको बताएको उल्लेख छ।

लौ भो त अब, कसले गने होला त ३ लाख भनेर? २ लाख पो थियो कि। अथवा साढे दुई लाख पो थियो कि। ४ लाख पो थियो कि। नेपाल प्रवेश गर्नुअघि नाम लेखाएका थिए र ठ्याक्कै यति लाख प्रवेश गर्‍यो भनेर थाहा हुनलाई? हुलमा उड्ने सलह कति वटा छिर्‍यो भनेर गन्न सकिन्छ र भन्या। गनेछन् हाम्रा विज्ञहरुले। अनि त्यही आधारमा समाचार पनि आएछ।

यस्तै समाचार पढेर होला राम लोहनीले यस्तो स्टायटस ठोके-

5 thoughts on “सलह ‘तड्पिएको’देख्‍नेदेखि सलहको ‘चाहना’ बुझ्नेसम्मका पत्रकार”

  1. Bhattu says:
    June 30, 2020 at 9:59 am

    Tei ta salokya ji, yubaraj le bhaneko tei ho k, suikareka hun k byanga gareko. Kosle bhaneko cha ha? Bhanera larna pardaina k, najanginu ekaichoti. Mann lai shanta garnu, tetro bipasyna gareko manche yar tapai,, lol 😀

    Reply
    1. Salokya says:
      July 1, 2020 at 3:28 am

      हैट, तपाईँलाई पनि इमोजी पढ्न आउँदैन रहेछ कि के हो 🙂 को अर्थ हाँसेर जिस्केको हो के, कहाँ जङ्गेको देख्नुभा? 🙂 को अर्थ लडेको, जङ्गेको हैन के, मेरो मन शान्त नै छ। तपाईँको चैँ अशान्त भएर अरुलाई पनि अशान्त देख्या हो कि? फूलको आँखामा फूलै संसार भन्छन् नि ! कि कसो? 😛
      अब फेरि यो पनि जङ्गेर लेखेको नभन्ठान्नु होला फेरि । मुसुमुसु हाँस्दै लेख्दैछु हौ

      Reply
  2. YUBRAJ says:
    June 29, 2020 at 1:41 pm

    राम लोहनी एउटा बिज्ञ हुन्, राजनीतिक,भूगोल,समसामयिक बिषयमा कलम छाउने उनि त्रि. बि. का प्रोफेसर हुन्. उनले पक्कै पनि यो कुरा व्यंगात्मक तरिकाले लेखेको हो… उनको म धेरै जसो लेख, कमेन्ट हरु फेसबुकमा पद्छु.

    Reply
    1. Salokya says:
      June 30, 2020 at 2:06 am

      हाहा अनि कसले चैँ व्यङ्ग्यात्मक तरिकाले होइन भनेको छ त 🙂

      Reply
  3. Ang Sherpa says:
    June 29, 2020 at 7:15 am

    देवी देवता धेरै भएको ठाउँको पत्रकारहरू कोही अन्तरयामी पनि होलन् । ढुंगमा दैवीक शक्ति भएको थाह पाउने मानिसहरू भएको देशमा सलहा किराको मनको कुरा बुझ्नु के गाह्रो कुरा भयो र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme