Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप

Posted on June 27, 2020June 27, 2020 by Salokya


कृषि मन्त्रालयको फेक प्रतिवेदनलाई आधार बनाएर मिडियाहरुले समाचार लेखेको बारे तीन दिनअघि ब्लग लेखेको थिएँ- कहाँबाट आयो ‘हुँदै नभएको’ कृषि मन्त्रालयको सीमा मिचेको ‘प्रतिवेदन’? आज असार १३ गते ‘कान्तिपुर’ले असार १० गते छापिएको ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘गम्भीर तथ्यगत त्रुटि’ भएको स्वीकार्दै क्षमायाचना गरेको छ। विदेशतिर गल्ती हुँदा सच्याउने चलन सामान्य रहे पनि नेपाली पत्रकारितामा विरलै यसरी गल्ती स्वीकारी क्षमा मागिन्छ। प्राप्त कागजातमा आफ्नोतर्फबाट पुष्टि गर्नमा भएको कमजोरीबारे उल्लेख नगरी ‘कान्तिपुर’ले सबै दोष ‘सरकारी स्रोत’माथि थोपरेको छ। ‘सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारण’ यस्तो भएको ‘कान्तिपुर’को भनाई छ।

तर यसमा ‘कान्तिपुर’को पनि कमजोरी देखिन्छ। कान्तिपुरले सरकारी स्रोतबाट प्राप्त दस्तावेज सही हो कि गलत, पुष्टि गर्न सक्नुपर्थ्यो। यसमा त अलिकति चनाखो व्यक्तिले सहजै थाहा पाउने कमजोरी थिए। किनभने त्यो कथित ‘दस्तावेज’मा कृषि मन्त्रालयको नापी शाखा लेखिएको छ। कृषि मन्त्रालय मातहत नापी शाखा पर्दैन। नापी विभाग भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत पर्छ। त्यसबाहेक उक्त कथित ‘दस्तावेज’को भाषाशैली पनि सरकारी प्रतिवेदन जस्तो पटक्कै छैन।

कान्तिपुरले ‘कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पार्‍यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे सत्यतथ्य पत्ता लगाउन प्रयासरत’ रहेको बताएको छ। आशा गरौँ, ‘कान्तिपुर’ले विशेष खोज गरेर यो बारे पाठकलाई जानकारी दिनेछ।

नागरिकको स्पष्टीकरण

यही कृषि मन्त्रालयको हुँदै नभएको नापी शाखाको प्रतिवेदनलाई आधार मानेर ‘नागरिक’ दैनिकको अनलाइन संस्करणमा समाचार प्रकाशित भएको थियो। त्यो समाचार एकाएक डिलिट गरिएको बारे सामाजिक सञ्जालमा चर्चा चलेपछि माइसंसारले ब्लग लेखेको थियो- ‘नागरिक’को अनलाइनबाट गायब भएको एउटा न्युज, के थियो समाचारमा ?

आज ‘नागरिक’का प्रधान सम्पादक गुणराज लुइँटेलले फेसबुक र ट्वविटरमा यसबारे स्पष्टीकरण दिएका छन्-

लुइँटेलका अनुसार ‘त्यो सामग्री नागरिक दैनिकमा छापिएको छैन।’ इपेपरहरुको अर्काइभ हेर्दा पनि नागरिक दैनिकको छापा संस्करणमा यो समाचार छापिएको देखिन्न। समाचार नोभेम्बर ८, २०१९ मा नागरिकको अनलाइन संस्करणमा राखिएको थियो। लुइँटेलले ‘असावधानीवश प्रकाशित हुने बित्तिकै हटाइएको’ दावी गरे पनि कहिले हटाइएको स्पष्ट छैन। तत्काल हटाइएको भए हटाइसकेको सामग्री उनले दावी गरे जस्तै ‘नयाँ साइटमा पुराना सामग्री माइग्रेट हुँदा अचानक देखा’ भने पर्दैन। हिजो माइसंसारको ब्लग प्रकाशन नहुँदासम्म फेसबुकको इन्स्ट्यान्ट आर्टिकलमा सो समाचार देख्न सकिन्थ्यो। हेर्नलाई यहाँ क्लिक गर्नुस्। अहिले इन्स्ट्यान्ट आर्टिकलमा पनि त्यसलाई हेर्न सकिन्न। तर लिङ्क सेयर गर्दा अझै पनि हेडलाइन भने देखिन्छ। त्यसबाहेक गलत समाचार प्रकाशन भएको भए त्यसलाई सुटुक्क डिलिट नगरी गलत समाचार प्रकाशन भएकोमा क्षमायाचना गरी समाचार हटाइएको जानकारी राख्दा पाठक झुक्किँदैन थिए। मिडियाको जवाफदेहिता र पारदर्शीता पनि रहन्थ्यो।

अन्नपूर्ण पोस्ट चुप

कृषि मन्त्रालयको यो फेक प्रतिवेदनको आधारमा अन्नपूर्ण पोस्टले पनि नागरिकको अनलाइनमा समाचार छापिएको भोलिपल्ट २३ कार्तिक, २०७६ मा समाचार छापेको भेटिन्छ। अनलाइन संस्करणमा यस्तो छ समाचार-

अनलाइन संस्करणमा भाषा मिलेको समेत देखिन्न। पत्रिकामा भने यसरी पहिलो पेज र भित्री पेजमा समाचार छापिएको थियो-

अन्नपूर्ण पोस्टले अहिलेसम्म यो समाचारबारे केही बोलेको छैन।

अरु कुन-कुन मिडियाले राखेको थियो?

यो फेक प्रतिवेदनका आधारमा समाचार राख्ने अरु थुप्रै मिडियाहरु छन्। केही उदाहरण-

भारतीय समाचार एजेन्सी एएनआई : China encroaching Nepal’s land, shows Government survey

टाइम्सअफइन्डिया : Nepal: China encroaching on our land

इमेज च्यानलको इमेज खबर – चीनले नेपालका चार जिल्लामा ३६ हेक्टर भू–भाग मिचेको तथ्य

नेपालन्युज : ३६ हेक्टर नेपाली भूमि तिब्बतमा

थाहाखबर : नेपालको भूगोल : भारतले ६० हजार हेक्टर मिच्यो, ३६ हेक्टरमा चीनको अतिक्रमण

हाम्राकुरा : नेपालको ३६ हेक्टर भूमी तिव्वतमा, अझै धेरै गाभिएको हुन सक्ने

पहिलोपोस्ट – सीमा मिचेको भन्दै ठमेलमा चीनविरुद्ध प्रदर्शन

1 thought on “कृषि मन्त्रालयको हुँदै नभाको प्रतिवेदन : ‘कान्तिपुर’को क्षमायाचना, ‘नागरिक’को स्पष्टीकरण, ‘अन्नपूर्ण पोस्ट’ चुप”

  1. Pingback: सम्झनामा बलराम दाइ ! « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme