Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय सभामा कोरोनाभाइरस बारे प्रधानमन्त्रीले राखेका ६ भ्रामक ‘तथ्य’

Posted on June 19, 2020June 21, 2020 by Salokya


राष्ट्रिय सभाको २०७७ असार ४ गते बिहीबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले करिब २ घण्टा लामो प्रवचन दिए। त्यस क्रममा उनले विभिन्न विषयमा आफ्नो विचार राखेका थिए। त्यसमध्ये कोरोनाभाइरस बारे राखेका तथ्यहरुको हामी जाँच गर्दैछौँ।

प्रधानमन्त्रीको भनाई : जुनसुकै कारणले निधन भएको भए पनि यदि कोरोना संक्रमित पाइयो भने त्यस्तो अवस्थामा कोरोनाबाटै निधन भएको मान्नुपर्छ भन्ने विश्व स्वास्थ्य संगठनको निर्देश छ। त्यो मापदण्ड बनाएको छ विश्व स्वास्थ्य संगठनले।

तथ्य : प्रधानमन्त्रीले यो विषय धेरै पटक धेरै ठाउँमा उठाएका छन्। हरेक पटक उनको जिकिर कोरोनाबाट मरेका हैनन्, अरु रोगका कारण मरेका हुन्, विश्व स्वास्थ्य संगठनको मापदण्डका कारण कोरोनाकै कारण भएको घोषणा गर्नुपर्‍यो भन्ने रहन्छ। हाल अमेरिकाको एटलान्टास्थित जर्जिया स्टेट युनिभर्सिटीमा अनुसन्धानरत जीवाणु वैज्ञानिक डा. सुदीप खड्काका अनुसार विश्व स्वास्थ्य संगठनले गाइडलाइन्स मात्र तयार पार्ने हो, निर्देशन दिने हैन। त्यो गाइडलाइन्स पालना गर्ने कि नगर्ने कुनै पनि देशले आफै विचार गर्न सक्छन्। ‘डब्लुएचओले निर्देशन दियो भन्ने कुरा नै गलत हो’, डा. खड्का भन्छन्, ‘प्रधानमन्त्री भने जस्तो जुनसुकै कारणले निधन भएको भए पनि यदि कोरोना संक्रमित पाइयो भने कोरोनाबाटै निधन भएको भनेर डब्लुएचओले भनेको छैन।’

डब्लुएचओको गाइडलाइनमा कोरोनाका कारण हुने संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको, संक्रमण प्रमाणित वा सम्भावित संक्रमित भएको अवस्थामा मृत्यु भएको खण्डमा कोरोनाका कारण मृत्यु मानिने छ लेखिएको छ। तर स्पष्टसँग कोरोनासँग असम्बन्धित ट्रमा जस्ता कारणले मृत्यु भएको खण्डमा सो मृत्युलाई कोरोनाका कारण मानिने छैन भन्ने गाइडलाइन छ।

त्यस्तै कोभिड-१९ का कारण भएको मृत्युलाई अन्य रोग (उदाहरणका लागि क्यान्सर) का कारण मृत्यु भएको मानिने छैन। पहिलेदेखि रहेका केही रोगहरुले गम्भीर प्रकृतिको कोरोना रोगको लक्षण देखिने भए पनि मृत्युलाई यी पूर्ववत रोगका कारण भएको मानिने छैन भनी गाइडलाइन्समा उल्लेख छ।

गाइडलाइन्स यहाँ क्लिक गरी हेर्न सकिन्छ।


त्यसैले जुनसुकै कारणले निधन भएको भए पनि कोरोना संक्रमित पाइयो भने कोरोनाबाटै निधन भएको मान्नुपर्छ भन्ने डब्लुएचओको निर्देश छ भन्ने प्रधानमन्त्रीको भनाई गलत छ।

प्रधानमन्त्रीको भनाई : प्रति १० लाखमा संक्रमित संख्या २४७ छ। प्रति १० लाखमा परीक्षणको संख्या १३ हजार १६६ छ जुन अरु धेरै देशहरुभन्दा हाम्रो स्थिति छ। साउथ एसियामा भने भुटानबाहेक हामी नै माथि छौँ।

तथ्य : प्रति १० लाखमा परीक्षणको यो हिसाब वर्ल्डोमिटर्सबाट लिइएको हो। यसमा परीक्षणको तथ्याङ्कमा आरडिटी र पीसीआर दुवैको जोडिएको छ। नेपालको कूल परीक्षण संख्या ३ लाख ९८ हजार राखिएको छ। यसमा आधाभन्दा बढी अर्थात् २ लाख ४३ हजार आरडिटी परीक्षण हो। आरडिटी परीक्षणलाई भरपर्दो मानिन्न। पीसीआर परीक्षणको मात्र तथ्याङ्क निकाल्दा प्रति १० लाखको परीक्षणको संख्यामा कमि आउँछ। त्यसैगरी प्रधानमन्त्रीले साउथ एसियामा भुटानबाहेक हामी माथि छौँ भने पनि आरडिटी र पीसीआर दुवै जोडिएको अवस्थामा पनि नेपालभन्दा माथि भुटान र भुटानभन्दा पनि माथि माल्दिभ्स छ। त्यसैले प्रधानमन्त्रीको यो भनाई पनि गलत छ।

प्रधानमन्त्रीको भनाई : जन्डिसमा बेसार खान हुँदैन।

तथ्य : जन्डिसकै उपचारमा लाग्दालाग्दा ट्विटरको बायोमै ‘जण्डिस भनेको रोग होइन, रोगको लक्षण मात्र हो भनेर नेपालीलाई बुझाउन लागिपरेको मान्छे’ लेखेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका प्राध्यापक डाक्टर सुधांशु केसी×ले प्रधानमन्त्रीले गलत सूचना दिएको बताएका छन्। उनले ट्विट गरेका छन्-

यसरी गलत सुचना जनतालाई दिन हुन्न प्रधान मन्त्रीज्यु । कुन किताबमा लेखेको छ जण्डिसमा बेसार खान हुन्न भनेर ? #EnoughIsEnough pic.twitter.com/B5FWfwUCzC

— Sudhamshu K.C. (@Drsudhamshu) June 18, 2020

उनले बेसार बारे आफ्नो पुरानो ट्विटहरुको संग्रह पनि राखेका छन्-

बेसारोलोजी ! https://t.co/sEHhtNQLGe pic.twitter.com/DZIDMT2aUo

— Sudhamshu K.C. (@Drsudhamshu) June 18, 2020

प्रधानमन्त्रीको भनाई : इटाली जस्तो देशले पनि (कोरोना संक्रमितलाई) सडकमा लगेर राख्नुपर्‍यो। आइसियुको सेवा सडकबाट दिनु पर्‍यो।

तथ्य : आइसियुको सेवा सडकबाट दिइएको होइन। अस्पतालहरुमा चाप बढेपछि अस्पतालबाहिर नयाँ बिरामीहरुलाई पालभित्र र गोदाममा राखेर उपचार गरिएको थियो। स्वास्थ्य एकदमै खराब भएकाहरुलाई मात्र आइसियुमा राखिएको थियो। यसबारे बीबीसीले रिपोर्ट बनाएको छ। सडकबाटै आइसियु सेवा दिइएको भन्नु भ्रामक हो।

प्रधानमन्त्रीको भनाई : अब भगवानको भरोसा छ हामीबाट केही हुनसक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देख्या छौँ।

तथ्य : प्रधानमन्त्रीले मात्र हैन, यस्तो कुरा तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएकै होला। एउटा उदाहरण तल छ। यो पनि इटालीसित नै सम्बन्धित हो।

तर यो गलत हो। हामीले मार्च २६ मा नै यसबारे फ्याक्टचेक गरिसकेका छौँ- नपत्याउनुस्, इटालीका प्रधानमन्त्रीले आत्मसमर्पण गरेका छैनन् पोलिटीफ्याक्टले पनि इटालीका प्रमले यसो नभनेको फ्याक्टचेक गरेको छ। यसरी हुँदै नभएको कुरालाई प्रधानमन्त्रीले राष्ट्रिय सभामा राख्नु गलत हो।

प्रधानमन्त्रीको भनाई : कोरोनाले छुने बित्तिकै मर्छु अब म, गएँ भन्ठान्यो भने बाँच्न झन् गाह्रो हुन्छ। कोरोना भनेको एउटा रुघाखोकी जस्तो लागिहाल्यो भने हाछ्युँ साछ्युँ गर्नुपर्छ, तातोपानी खानु पर्छ, उडाइदिनु पर्छ। त्यो हिसाबले सोच्नु पर्छ। त्यो मनोबल राख्नुपर्छ।

तथ्य : प्रधानमन्त्रीको भनाईको पहिलो वाक्य सही हो। कोरोना लाग्ने बित्तिकै सबै मरिहाल्ने होइन। डब्लुएचओको बिहीबार रातिसम्मको तथ्याङ्क अनुसार विश्वभर ८२ लाख संक्रमित हुँदा ४ लाख ४५ हजारको मात्र मृत्यु भएको छ। त्यसैले कोरोनाले छुने बित्तिकै मर्छु भनेर डराउनु हुँदैन। आत्मबल बलियो बनाउनु पर्छ।

तर त्योसँगै प्रधानमन्त्रीले भनेको अर्को कुरा भने घातक हुनसक्छ। कोरोनाभाइरस रुघाखोकी जस्तो होइन। यो लाग्यो भने हाछ्युँ साछ्युँ गरेर उड्दैन। कोरोनाभाइरस संक्रमित व्यक्तिको मुख वा नाकबाट निस्कने छिटाबाट अरु व्यक्तिमा सर्ने हुँदा हाछ्युँ गर्दा निकै सतर्क हुनुपर्छ। कुहिनाले नाकमुख छोप्नु पर्छ। प्रधानमन्त्रीले भने जस्तो कोरोना संक्रमित व्यक्तिले रुघाखोकी जस्तो सामान्य ठानी जसको अगाडि पनि वा भिडभाडमा खुला रुपमा हाछ्युँ गर्‍यो भने यो अरुलाई सर्ने सम्भावना हुन्छ।

त्यसैगरी तातोपानी खाएर कोरोना हराउने कुरा पनि गलत छ। कोभिड-१९ फ्याक्ट्स, युरोन्युज, हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ, बीबीसी, फर्स्टपोस्ट ले तातोपानी, तातोपानी र नून, ताताे पेय पदार्थ खाएर कोरोना नहराउने फ्याक्टचेक गरेका छन्।

नेपालको दोस्रो कोरोना संक्रमित प्रसिद्धी श्रेष्ठले ट्विटरमा कोरोना संक्रमित हुँदाको अनुभव लेख्दै यसलाई सामान्य रुघाखोकी जस्तो नठान्न आग्रह गरेकी छिन्। ‘कोभिड-१९ संक्रमितको अनुभव र यसको लक्षण थाहा पाएको हिसाबले म भन्छु- यो रोग सामान्य रुघाखोकी जस्तो होइन’, उनले लेखेकी छिन्।

As someone who experienced COVID-19 and its symptoms, I have got to say that the disease is NOT like a general flu. Patients run out of breath, energy, appetite and motivation. Please don’t disregard a patient’s pain for the sake of your entertainment. Enough with this nonsense. https://t.co/P2PfvAIq5N

— Prasiddhi Shrestha (@Prasiddhi_S) June 18, 2020

×सच्याइएकाे: बेसारकाे प्रसंगमा डाक्टर सुधांशु केसी हुन्, यसअघि गल्तीले जाेशी भएकाेमा सच्याएका छौँ।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। हाम्रो भाइबर ग्रुपमा जोडिएर पनि तपाईँ यस्ता लिङ्क पठाउन सक्नुहुन्छ। भाइबर ग्रुपमा जोडिन यहाँ क्लिक गर्नुस्। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

8 thoughts on “राष्ट्रिय सभामा कोरोनाभाइरस बारे प्रधानमन्त्रीले राखेका ६ भ्रामक ‘तथ्य’”

  1. madan bajracharya says:
    June 21, 2020 at 10:22 pm

    भारतीय भाखामा दादागिरी गर्नेलाई “भाई” भनिन्छ। त्यस्तो भाई-भारतलाई आफ्न दाई मान्नेहरु नेपालको राजनीतिमा हावी भयको सत्तासिन भयकोलेनै हो भारतले हाम्रो भुमि र् राष्ट्रिय श्रोतहरु कब्ज्याउन सकेको हो,आइलाग्ने माथि जाईलाग्ने नेपालीहरुलाई असक्त बनायको हो।

    हिजो भन्दा अहिले फरक रुपमा प्रस्तुत भयको अहिलेको ओली “भाई-भारत” लाई आफ्नो के के मान्नेहरु जस्तै हो बा फरक छ् भन्नेकुरामा सबैको मत यकै हुन सक्दैन। किनभने ओलिको पालामा भाई-भारतको आदी आदी कुरामा जे हुँदैआयको छ् ती कुराहरु भाईभारतलाई आफ्नो के के मान्दै नेपालमा पटक पटक सतासिन भयका कुनै बाट आस पनि गर्न सकिन्दैन। ग्यानेन्द्र् जस्तो अयोग्य् मुर्ख राजाले मात्रै होईन आफ्नै पार्तिकाले समेत् अयोग्य् भनेर पार्ती बातै निस्कासित आलोचित भन्दा त् ओली अली होईन धेरै माथिनै छ्। तर यसो भन्दैमा प्रधान मन्त्रिको हैसियत बाट तल ओर्लेर नितिगत प्रमानित कुराहरु भन्दा भ्रमित पार्ने र् जग हसाईहुने उखानबाजी गर्ने आफुलाई बुद्धिमान पुर्खाको सन्तान भनेर कुरा चपायर ….हौ भनेर असाम्यबादी कुरा गर्ने ओलि महान हो मान्नु हुँदैन।

    हामी नेपालीलाई कुराले ठीक गरेर बेथिक गर्नेले गर्नु गरिसके। तेसैले केही गरे बोलेकै भरमा अहिलेनै ओलीलाई न् त् ठीक मान्न सकिन्छ न् बेथिक मान्न सकिन्छ। अलि कुरौ भारतले नेपालमा जे गर्दै आयको छ् तेस्को आशय् नेपालको सप्त कोशी नदी कब्ज्ययर नेपालको भुमिमा उस्को विश्वामै ठुलो पनिको भन्दार बनाउनु नै हो। ओलिले यो कुरामा जे गर्ला तेस्ले थम्याउन्छ ओलि को हो भनेर।

    Reply
  2. Bhattu says:
    June 19, 2020 at 7:18 pm

    Yo Italy wala ma chai photo Brazil ko president ko ho

    Reply
  3. Shankar says:
    June 19, 2020 at 10:07 am

    उहाहरुले झुटो बोल्नु , नाटक गर्नु त् आम बात हो। सबै जनता येस्बाट बाकिफ छन्। अब नेता ले कुनै दिन साचो बोले समाचार दिनुस। अनि अलि नया समाचार पाए जस्तो लाग्छ।

    Reply
  4. Slok says:
    June 19, 2020 at 6:06 am

    Dr K P Oli

    Reply
  5. Santosh says:
    June 19, 2020 at 4:40 am

    झोले पत्रकारहरु हरेक कुरालाई निगेटिभ लिनुहुन्न ।

    Reply
    1. Ishan says:
      June 19, 2020 at 3:27 pm

      तपाईं जस्ता “पोजिटिभ” धेरै भएरै समाज र देश झनझन तल झर्दैछ। अझै चेत छैन? कालोलाई कालो भन्न नहुने?

      Reply
  6. Rohini says:
    June 19, 2020 at 2:59 am

    पि एम को कुरामा बिस्वास लाग्न छोडिसक्यो।

    Reply
  7. अभागी कान्छा गाउले says:
    June 19, 2020 at 2:43 am

    म कुनै पार्टीको मान्छे हैन र कुनै राजनीतिक प्रती लगाब नि छैन ! कुरामा केही कुरा पढ्न पाए बुझ्न पाए ! ओली बा का कुरा पनि सुन्दै आएको नै हो !

    खास कुरा के हो भने,
    यदी कुनै एक ब्यक्तीलाइ बिशालु साप ले टोक्यो त्यो ब्यक्तीमा कोरोना पनि देखियो र मर्यो भने के कारणले मर्यो होला त्यो मान्छे ? ? ?
    प्राय कोरोना पुराना रोगी भएकालाइ लागेमा अलिक उपचार समयमा नपुगेमा मरी रहेका छन ! कोरोना लाग्न साथ कोही मरी हाल्दैन !

    कतिपय नचाहिदा हल्ला जे पायो त्यही समचारको सिकार भएर , मनोबल कम भै सोच्न सक्ने क्षमाता कम भएर आत्तिएर पनि मरेका छ न ! म पनि भर्खर कोरोना जितेर बसेको मान्छे हु ! मलाइ ज्वरो आयो हल्का खोकी लाग्यो ! चेक गराउदा कोरोना भन्यो ! औसधी सिटामोल र कफ सिरप दिएको थियो ! तिन दिनको लागी ! खाए निको भो सबै ! अरु कुनै लक्षण थिएन ! सबै हराएर गयो ! मलाइ आइसोलेसन्मा राखेन ! म आफ्नै रुममा बसे ! सबै तिर बुझे टन्न खाना खाने आराम गर्ने ! तस्तो पानी कागती पिउने मिसाएर ! अदुवा कागती ल्वाङ मिसाएर पानी मज्जले उमालेर पिए ! सबै हरायो ! नेगेटिभ आयो ! मेरा रुमका अरु कसैलाइ सरेन ! सगै खाना खाइन्थ्यो ! साबधानी अपनाएको थिए ! सके सम्म को ! साथीहरुले नै पकाएर दिन्थे ! साथीहरुले 15 दिन पछी चेक गराए सबैको नेगेटिभ आयो !

    नेपालमा भ्रम छरेका छन ! नजिक बस्नै नहुने भन्ने छुनै नहुने भन्ने ! तरिका हो ! साबधानी अपनाए कै हुन्न ! तेत्रो ठुलो रोग हैन ! तर आफुले साबधानी अपनाउनु पर्छ ! ऐले कोरोना लागेकालाइ धेरैलाइ क्वारेन्टिनमा लगेको छ यहाको सरकारले ! कुनै लक्षण नभएका बाहिरि रुपमा तर पोजेटिभलाइ 15/16 दिन पछी सेल्फ आइसोलेसनमा बस्न भन्छ ! अनि अरु 15 दिन पछी कुनै कै लक्षण नदेखिए काममा जान पाइन्छ ! ! 15 दिन कटे पची कोरोना एक ब्यक्तीबाट अर्को ब्य्कतीमा सुरुवाती दिनमा जस्तो सर्दिन !

    तर नेपालमा नचाहिदा र अपुस्ट अनि कोरोनाको बारेमा नचाहिदो कुरा सेट गराएर दिमाखमा मान्छेलाइ आत्म हत्या गर्न बाध्य बनाउने काम सम्म गरी रहेको जस्तो मलाइ भान हुन्छ !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme