Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रुकुम घटनामा ‘कान्तिपुर’को ‘फेक न्युज’ : डाक्टरको पोस्टमार्टम रिपोर्ट र ‘कान्तिपुर’को फरक

Posted on June 16, 2020July 3, 2020 by Salokya


देशविदेशमा चासोको विषय बनेको रुकुम-जाजरकोट घटनाबारे कान्तिपुरले फेक न्युज लेखेको पुष्टि भएको छ। कान्तिपुरले २०७७ जेठ १६ गतेको अंकमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- पाँचै युवाको मृत्यु कुटपिटबाट, भेरी नदीमा बगे पनि मृतकको पेटमा पानी भरिएको नदेखिएको चिकित्सकको भनाइ’ शीर्षकमा समाचार छापेको थियो।  तर, जाजरकोट अस्पतालका चिकित्सकले तयार पारेको पोस्टमार्टम रिपोर्टमा भने कुटपिटबाट मृत्यु भएको होइन, डुबेर भएको उल्लेख छ। 

जेठ १६ को कान्तिपुरको पहिलो पेजमा ‘पोस्टमार्टम रिपोर्ट भन्छ- कुटपिटबाट मृत्यु’ र ‘नदीमा बगे पनि पेटमा पानी भरिएको भेटिएन’ शीर्षक राखिएको थियो। त्यसैगरी चौथो पेजको समाचारमा ‘पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन्’ लेखिएको थियो। नाम नखुलाइएको चिकित्सकलाई उद्‍धृत गर्दै समाचारमा अगाडि लेखिएको छ, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन  उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए।’

तर कान्तिपुरको रिपोर्टले जे भन्यो त्यसको ठ्याक्कै उल्टो वास्तविक पोस्टमार्टम रिपोर्टमा भने ६ जनाकै मृत्युको कारण Drowning अर्थात् डुबेको उल्लेख छ।

घटनाको अनुसन्धान सकाएर प्रहरीले राय प्रतिवेदनसहित जेठ ३२ गते जिल्ला सरकारी वकील कार्यालयमा बुझाएको थियो। सरकारी वकील कार्यालयले सोही दिन रुकुम जिल्ला अदालतमा ३२ जना विरुद्ध मुद्दा दायर गरेको थियो।  उनीहरुलाई हत्या गरेको, हत्या प्रयास गरेको र जातीय छुवाछुत गरेको अभियोग लगाइएको छ।

माइसंसारलाई प्राप्त पोस्टमार्टम रिपोर्टमा ६ जनाकै शवमा चोटपटक छ तर सबैको मृत्युको कारण र सम्भावित कारणमा Drowning नै लेखिएको छ।

नवराज वि.क. को पोस्टमार्टम रिपोर्टको ओपिनियन अर कन्क्लुजनमा शरीरका तीन ठाउँमा शक्तिशाली प्रहार (blunt force) का कारण बाह्य चोट रहेको उल्लेख छ। तर मृत्युको सम्भावित कारण भने डुब्नु उल्लेख छ।

त्यसैगरी लोकेन्द्र सुनारको पोस्टमार्टम रिपोर्टमा शरीरमा पनि शक्तिशाली प्रहारका कारण तीन ठाउँमा चोट लागेको र मृत्युको कारण डुब्नु उल्लेख छ।

सन्जु भनिने सञ्जीव विकको पोस्टमार्टम रिपोर्टमा भएको चोटपटक नदीमा खसेको कारण हुनसक्ने उल्लेख गर्दै मृत्युको कारण डुब्‍नु उल्लेख छ।

त्यस्तै टीकाराम नेपालीको रिपोर्टमा घातक प्रहारका कारण टाउको, अनुहार, घाँटी, तल्लो भागहरुमा थुप्रै चोटपटक (मल्टिपल ब्लन्ट फोर्स इन्जुरिज) भएको र मृत्युको कारण डुब्नु उल्लेख छ।

गणेश बुढा मगरको पोस्टमार्टम रिपोर्टमा  शरीरको माथिल्लो भाग, घुँडा र खुट्टामा ब्लन्ट फोर्स इन्जुरिज (घस्रिएको) देखिएको तर त्यो भूइँमा लडेर भएको हुनसक्ने र यो चोट ज्यानै जाने खालको नभएको उल्लेख छ। उनको मृत्युको कारण पनि डुब्नु नै उल्लेख छ।

यसैगरी गोविन्द शाहीको पोस्टमार्टम रिपोर्टमा शरीरका तीन ठाउँमा बाह्य चोटपटक रहे पनि मृत्युको सम्भावित कारण डुब्नु उल्लेख भएको देखिन्छ।

निश्कर्ष : कान्तिपुरले चिकित्सकलाई उद्‍धृत गर्दै कुटपिटबाट मृत्यु भएको र पानीमा डुबेर मृत्यु भएको नदेखिने दावी गर्दै राखेको समाचार आधिकारिक पोस्टमार्टम रिपोर्टसँग बाझिएकोले गलत हो।

यद्यपि प्रहरीले भने पोस्टमार्टम रिपोर्टबाट ‘Blunt force समेत प्रयोग भएको कारणबाट घाउचोट लागेको तथ्य स्थापित भएको’ भन्दै ‘मृतकहरुको मृत्यु प्रतिवादीहरुले वारदात मितिमा प्रहार गरेका चोट समेतबाट भएको स्पष्ट देखिएको’ दावी गर्दै कर्तव्य ज्यानको मुद्दा चलाउन राय दिए बमोजिम मुद्दा दर्ता भएको देखिन्छ। मुलुकी अपराध संहिता,२०७४ को दफा १७७ मा पनि ज्यान मार्ने नियतले कुनै काम गर्न नहुने दफा १ कसैले कसैको नियत पुर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन लेखिएको छ र यसको स्पष्टीकरणमा यस दफाको प्रयोजनको लागि कसैले कसैलाई निजको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भिर शारिरीक चोट वा क्षति पुर्‍याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणाम स्वरुपपछी ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ लेखिएको छ। शवबाट भिसेरा परीक्षणको लागि पठाए पनि रिपोर्ट आइसकेको छैन।

कान्तिपुरमा पोस्टमार्टम रिपोर्टको समाचार छापिएपछि के के भएको थियो भन्ने बारे मैले यहाँ पनि लेखिसकेको छु- फेसबुक लाइभको ‘ब्रेकिङ’ बाट ‘नरसंहार’ सम्म : रुकुम घटना यसरी आयो चर्चामा छुटाउने वा बिर्सनेका लागि फेरि स्मरण गराइदिउँ।

हामीले रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल  र प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीलाई जेठ २२ गते भेट्दा दुवैले पोस्टमार्टम आइनसकेको बताएका थिए। अर्थात् जेठ १७ गते जतिबेला कान्तिपुरमा समाचार छापिएको थियो, त्यतिबेलासम्म पोस्टमार्टम रिपोर्ट नै तयार भइनसकेको ती अधिकारीहरुको दावी थियो।

इन्सेकले तयार पारेको प्रारम्भिक स्थलगत अनुगमन प्रतिवेदनमा पनि जाजरकोटको स्वास्थ्य सेवा कार्यालयका डाक्टर सुनील पुनले आफूहरुसँग सम्पर्क नै नगरी समाचार लेखिएको र विज्ञप्ति निकाल्ने तयारी गरेको बताएका थिए।

यसै अनुसार चिकित्सकहरुले विज्ञप्ति निकाल्ने तयारी पनि गरिसकेका थिए। तर अन्तिम समयमा पत्रकार महासंघको पहलमा भएको ‘भद्र सहमति’ का कारण विज्ञप्ति रोकिएको थियो। यद्यपि अस्पताल स्रोतले गरेको दावी अनुसार यस्तो छापिएकोमा समाचार लेख्‍ने कान्तिपुरका जाजरकोट रिपोर्टर भीमबहादुर सिंहले माफी मागेपछि विज्ञप्ति ननिकालिएको हो। सिंह नेपाल पत्रकार महासंघ, जाजरकोट शाखाका अध्यक्ष पनि हुन्।

व्यापक प्रभाव

कान्तिपुरको यो फेक न्युज फेसबुकमा ९२१ पटक सेयर भएको थियो भने ८ हजारभन्दा बढीले रियाक्ट गरेका थिए। ६५४ जनाले यो समाचारलाई विश्वास गरी कमेन्ट गरेका थिए।

यो समाचार कान्तिपुरमा मात्र सीमित रहेन। अरु विभिन्न अनलाइन र युट्युब भिडियोहरुले पनि कपि गरेका कारण गुगलमा कान्तिपुरको हेडलाइन राखी सर्च गर्दा  लगभग २ हजार ३४० नतिजाहरु देखायो-

गुगलको सर्च रिजल्टको स्क्रिनसट

युट्युब सर्चको स्क्रिनसट

अनुसन्धान भइरहेको, देशविदेशको चासो रहेको संवेदनशील विषयमा पोस्टमार्टमको ‘फेक न्युज’ छापिएकोमा ‘कान्तिपुर’ले गल्ती स्वीकार गर्ने हो कि होइन, त्यो भने हेर्न बाँकी छ।

15 thoughts on “रुकुम घटनामा ‘कान्तिपुर’को ‘फेक न्युज’ : डाक्टरको पोस्टमार्टम रिपोर्ट र ‘कान्तिपुर’को फरक”

  1. Pingback: Caste System Fostered and Propped up Groupism in Nepal Corrals People into Small Social Circles Part I
  2. Pingback: रुकुम घटना : भएको के थियो ? संसदीय समितिको विश्लेषण यस्तो छ « Mysansar
  3. Pingback: रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण – Mysansar
  4. Pingback: रुकुम चौरजहारी घटना : किन शंका बढ्यो ? के छ हाइप्रोफाइल लिङ्क? « Mysansar
  5. Pingback: रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस् « Mysansar
  6. Pingback: ‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार « Mysansar
  7. Ravi says:
    June 20, 2020 at 8:20 pm

    अमेरिका मा George Floyd को सरकारी पोस्ट्मार्टम रिपोर्ट्ले निसासिएर मरेको हैन भनेर भनेको थियो, तर पछि निजी पोस्ट्मार्टम गराएर हेर्दा निसासिएरै मरेको भनेर देखियो । रुकुम हत्याकाण्डको सरकारी पोस्ट्मार्टम चाँहीं निस्पक्ष छ भनेर ठोकुवा कसरी गर्ने?

    Reply
  8. Ravi says:
    June 20, 2020 at 8:15 pm

    यो ब्लगर पनि व्राह्मण्वादी रैछ कि कान्तीपुर सित व्यक्तिगत दुश्मनी? चिकित्सकको रिपोर्ट चाँहीं निस्पक्ष थियो भनेर भन्न सकिने के छ आधार?

    Reply
  9. रवि कु says:
    June 19, 2020 at 2:11 am

    हल न चल हुन्जेलसम्म पिटेर नलिमा फालेपछि यसलाइ कुटेर मारेको भन्ने कि डुबेर मरेको भन्ने? अब अन्तिम सास कसरी गयो भन्ने तिर जाने हो भने त टेक्निकल्लि डुबेरै मरेको भन्न मिल्ला । जस्तो प्रकारले पोस्टमार्टम रिपोर्ट सार्वजानिक नहुदैं हतार हतारमा दाहसंस्कार गर्न दबाब दिइयो र अहिले अाएर पोस्टमार्टमले ढुक्क सित डुबेरै मरेको भनेर किटान गरेको छ , यो छानबिन प्रक्रियामा सोर्स फोर्स छिरेको गन्ध अायो ।

    Reply
  10. madan bajracharya says:
    June 17, 2020 at 1:17 pm

    सहि पत्रकार सालिन् सौम्य र् सन्तुलित हुनु जति राम्रो हो आजको युगमा पनि कसैलाई कुजात भन्नेको यस्तो जघन्य् अपराधिक सँस्कार जन्य आचरन निमित्यान्न पार्नको निमित मानव हौ भन्ने हामी सबै समान हो भन्ने समुदायको आक्रोश र् आशंका पनि तेतिकै जायज छ्। जात धर्म र् भाषाको आधारमा भेदभाव गर्न नपाईने भनेको कानुन त् छ् तर त्यो कानुन अन्तरराष्ट्रिय समुदायलाई देखाउने मुकुन्दो जस्तै मात्रै भयको छ्। तेसैले देखाउनको निमित ठुलो सजाय हुने अभियोग लगाउने तर प्रमाण चाँही कम् सजाय महान कार्य नहोला भन्न् सकिने अवस्था चाँही छैन नेपालमा।

    Reply
  11. madan bajracharya says:
    June 16, 2020 at 1:56 pm

    मर्न वाध्य बनाउनु पनि हत्या हो। भेरीमा दुबेको कारण नै मार्ने नियतले गरेको कुतपित गरेर गम्भिर किसिमले घाईते बनायकोले हो। तिनिहरु मर्ने बेला भेरीमा दुबेको हो;भेरिमा डुबेर मरेको होईन। मुक्कालात मात्रै होईन ढुङ्गा लथ्थी हैसिया आदी प्रयोग गरेर हातखुट्टा टाउकोमा गम्भिर चोट पुर्यायर असक्त बनायकाहरु भेरीमा दुबेर मर्नुलाई डुबेर मरेको भन्नु जघन्न्य अपराधीहरुलाई सजाय् दिनेको आँखामा धुलो छ्याप्नु जस्तै हो,कडा सजाय हुने कानुनको पन्ना च्यात्नु हो।

    Reply
    1. Salokya says:
      June 16, 2020 at 4:16 pm

      पोस्टमार्टमले हत्या हो कि हैन खुलाउने होइन, मृत्युको कारण खुलाउने हो। हत्या हो हैन चाहिँ अनुसन्धानले देखाउने हो। पोस्टमार्टममा डुबेर मर्नु कारणलाई मात्र हेरेर भएन चोटपटक पनि त हेर्नुपर्‍यो। चोटपटक पीडकहरुले कुटेकै कारण हो भन्ने त देखिहालिन्छ। मृत्युको कारण चाहिँ डुबेर मरेको पोस्टमार्टममा देखिएको हो। आत्महत्या गर्न दुरुत्साहन गरेको भन्नेमा त सजाय हुन्छ भने यसरी कुटिएको र मरेको घटनालाई जोगाउन खोजियो भनेर अहिले नै सोचिहाल्नु पनि अति हुन्छ कि

      Reply
  12. Bibek kunwar says:
    June 16, 2020 at 6:32 am

    Khasma kantipurko matra dosh chaina. Hami nepali pani testai chau. Edi kantipurle haina yo ghatnama mrityuko karan dubera ho bhanera lekheko bhaye hami bheda janataharu lau kantipur pani paisama bikera galat pratibedan diyo bhandai nirmala case ma jastai arko massive protest suru garihaltheu nabhayepani kantipurko office ma gayera 2-4 wata jhyalko sisa futaltheu.Kantipur le pani youtubers jastai audience le j padna/sunna khojcha tei lekhdiyo. Kaagle kaan lagyo bhandaimae kaan nachami kaagko pachadi lagne hami jasta nepaliko faida media ra youtubers ke majale lutdaichan.

    Reply
  13. पदम says:
    June 16, 2020 at 1:47 am

    साउन ३२ ?

    Reply
    1. Salokya says:
      June 16, 2020 at 1:50 am

      दिमाग पनि कता पुगेको हैट। भर्खर असार लाग्यो, साउन कताबाट हुनु, जेठ हो। धन्यवाद है, सच्याइयो।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme