Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार वर्षअघिको फोटोलाई ‘म्यानिपुलेट’ गरी नयाँ नारा हालेर फेक फोटो र न्युजको प्रचार

Posted on June 15, 2020June 16, 2020 by Salokya


केही समय अघिदेखि देशका विभिन्न भागमा सरकारको अकर्मण्यतालाई लक्षित गर्दै युवायुवतीहरुले प्रदर्शन गर्दै आएका छन्। यी प्रदर्शनमा सहभागी हुनेहरुले विभिन्न नारा भएका प्लेकार्डहरु बोकेका हुन्छन्। अहिले सामाजिक सञ्जालमा ‘सरिता गिरी आई लभ यु’ लेखिएको नारासहितको एउटा फोटो भाइरल भएको छ। यो फोटोको आधारमा अनलाइन मिडियाहरुमा समाचार पनि लेखिएको छ। सरिता गिरीले नेपालको नक्सा अद्यावधिक गरिएको निशान छापसहितको संविधान संशोधनको विरोध गरेकी थिइन्। के हो यो फोटोको वास्तविकता? हामीले फ्याक्टचेक गरेका छौँ।


जनताटाइम्स अनलाइनले यो फोटोकै आधारमा ‘एउटै नाराले उजागर गरेको दिल्लीको त्यो ग्य्राण्डडिजाइन’ शीर्षकमा विश्लेषण लेखेको छ। जनताटाइम्स अनलाइनको फेसबुक पेजमा यो समाचार ६८ पटक सेयर भएको छ।

पत्रकार गणेश बस्‍नेतले पनि यो समाचार आफ्नो फेसबुकमा सेयर गरेका छन्।

त्यसैगरी यो समाचार अरु अनलाइनहरुले पनि हालेका छन्।

साढे ६ लाखभन्दा बढी लाइक भएको पाथिभरा न्युजको फेसबुकमा पनि यो फोटोसहितको समाचार सेयर गरिएको छ।

के हो फोटोको वास्तविकता ?

यो फोटोलाई हामीले रिभर्स इमेज सर्च गरेर हेर्दा काठमान्डु पोस्टको १५ जुलाई, २०१६ मा प्रकाशित एउटा समाचारमा पुग्यौँ। समाचार स्वतन्त्र युवा अभियानको नाममा माइतीघर मण्डलामा गरिएको प्रदर्शनको थियो। नेपाली कांग्रेससित गठबन्धन सरकार बनाउनका लागि प्रचण्डले केपी ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिन लागेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरो अवस्थामा परेको बेला थियो त्यो। त्यही बेला युवाले केपी ओलीको समर्थनमा प्रदर्शन गरेका थिए। त्यो समाचारमा एउटा फोटो यो छ-

यही फोटोमा रहेको सेतो सर्ट लगाएका युवाले बोकेको केपी ओलीको फोटोसहितको प्लेकार्डलाई डिजिटल्ली म्यानिपुलेट गरेर ‘सरिता गिरी I LOVE YOU’ नारा राखिएको छ। त्यसैगरी ती युवकको चश्मा र दाह्री पनि थपिएको छ। उनीसँगै रहेका कालो लुगा लगाएका व्यक्तिले बोकेको ‘सरकार नछाड ज्यु ज्यान दिन तयार छौँ’ नारा परिवर्तन गरी ‘के पाइस् नेपाली’ र केराको चित्र राखिएको छ। फोटो क्रप गरिएको कारण दायाँ छेउको मुनि रहेको ‘सरकार नछाड, ज्यु ज्यान’ लेखिएको प्लेकार्डमा ‘सरकार’ मात्र देखिएको छ।

दुई फोटोको तुलना हेरौँ

निश्कर्ष : जनता टाइम्स, स्वदेश नेपाल, पाथिभरा डेलीमा आएका यी फोटो सही होइनन्। चार वर्षअघिको फोटोलाई डिजिटल्ली म्यानिपुलेट गरेर नारासमेत परिवर्तन गरी राखिएको हो।

फ्याक्टचेक प्रभाव

यो फ्याक्टचेक प्रकाशन भएपछि जनताटाइम्सले आफ्नो पुरानो समाचारको पर्मालिङ्कबाट समाचार हटाएको छ। नयाँ लिङ्कमा ‘क्षमायाचनासहित समाचार हटाइएको’सूचना राखिएको छ। सूचनामा लेखिएको छ, ‘विशेष असावधानीका बीचमा छापिएको समाचार ‘एउटै नाराले उजागर गरेको दिल्लीको त्यो ग्य्राण्डडिजाइन’ मा पर्न गएको फोटो कसैले इडिट गरेको भेटिएको छ। हामीलाई दिएको स्रोतले सो फोटो नै इडिट गरिएको पाइएकाले क्षमायचना माग गर्दै सो समाचार र फोटो हटाइएको जानकारी गराउदछौं । यसबाट सम्वन्धित पक्ष र पाठक वर्गमा पर्न गएको भ्रमप्रति हामी क्षमायचना माग गर्दछौं।’

त्यसैगरी जनताटाइम्स प्रकाशन गर्ने संस्थाका अध्यक्ष पत्रकार गणेश बस्नेतले पनि ‘फ्याक्टचेकबाट तस्विर कसैले एडिट गरेर सामाजिक सञ्जालमा राखेको पाइएकोले सम्पूर्ण पाठकसँग क्षमायाचना गर्दै सो सामाचार हटाइएको जानकारी’ गराएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme