Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘युट्युब डिटेक्टिभ’ र ‘फेसबुके एफबिआई’को हल्लाले गिजोलिएको रुकुम-जाजरकोट घटना

Posted on June 14, 2020July 3, 2020 by Salokya
  • रुकुम पश्चिमबाट फर्केर उमेश श्रेष्ठ

साँच्चै प्रेगनेन्ट हो?

रुकुम पुगेपछि साथीकी बहिनीले सोधेको प्रश्न थियो यो।

माइसंसारका एक शुभचिन्तकले म रुकुम पुगेको थाहा पाएपछि त मलाई ‘असाइनमेन्ट’ नै दिए- (किशोरीको नाम लेखेर) साँच्चै गर्भवती हुन्? हो भने कति हप्ताको गर्भ छ? त्यो नजन्मिएको बच्चाको बाबु मारिएका नवराज विक नै हुन् त?

विदेशमा रहेका ती शुभचिन्तकदेखि स्वदेशमै रहेकी ती बहिनीसम्मलाई एक किशोरीको व्यक्तिगत गोपनीयताको विषयमा यसरी चासो बढाउने काम युट्युब र त्यसमा आधारित चटपटे समाचार बिक्रेताहरुले गरेका हुन्।

यदि तपाईँको समय कम छ र लामो पढ्न सक्नुहुन्न भने संक्षेपमा-

लकडाउनकै बीच रुकुम र जाजरकोट पुगेर फर्किएपछि आफूले देखेका र बुझेका कुरा लेख्ने क्रममा यो दोस्रो ब्लग हो। पहिलो भाग छुटाउनु भएको भए यहाँ छ। यसमा मैले यो घटनासँग सम्बन्धित केही हल्लाहरु बारे लेखेको छु।

-किशोरीको गर्भमा नवराजको बच्चा रहेको भन्ने कुरा हल्ला मात्रै रहेको स्वास्थ्य जाँचबाट प्रमाणित भइसकेको छ। यसबारेमा फेसबुक र युट्युबमा फैलाइएका हल्ला गलत हुन्।
-एनसिसी क्याडेट र प्रहरी जवानमा नाम निकालिसकेका नवराजलाई लफङ्गा, आवारा, ड्रग्स खाने केटाको रुपमा नियोजित हल्ला पनि फैलाइएको छ, जसको न केही प्रमाण छ, न तथ्यले पुष्टि गर्छ।
-सोतीका गाउँलेहरुले अन्तर्वार्तामा भने जस्तो लकडाउन उल्लङ्घन गरेर आएका केटाहरुलाई लखेट्दा उनीहरु आफै नदीमा हाम्फालेको भन्ने कुरा घटनास्थलमा पुग्दा देखिन्न। त्यहाँ कुनै ठाउँबाट हाम्फालेर पनि भेरी नदीमा पुगिन्न।
-हात बाँधेर फ्याँकेको अवस्थामा लाश भेटिएको र लाशै गायब पारेर गाडेको पनि हल्ला सुनिन्छ।
-पिट्ने, कुट्ने र मार्ने वा मर्नेसम्मका घटना १५ देखि २० मिनेटको अन्तरमा भएको हुनुपर्ने अनुसन्धानले देखाएको छ।

उदाहरणका लागि अनलाइन डबलीको यो समाचारको शीर्षक हेरौँ

जब पीडितकै तर्फबाट यस्तो कुरा आउँछ, प्रश्न त उठ्ने नै भयो, चासो त बढ्न नै भयो। अझ यहाँ त छोरा गुमाउनु परेकी आमा बोलिरहेकी छिन्।

यो माथिको पहेँलो घर मुसिकोटको जिल्ला प्रहरी कार्यालय भवन हो। पुनर्संरचनाका क्रममा २०७२ सालमा टुक्राइएका दुई जिल्लामध्ये एक रुकुमको एउटा भाग ‘रुकुम पश्चिम’को सदरमुकाम हो मुसिकोट। ती किशोरी अहिले अनुसन्धानका क्रममा आफ्नी आमा र बुबासँगै यही भवनको हिरासत कक्षमा छिन्।

जिल्लाको कमाण्ड डिएसपी ठगबहादुर केसीले गरिरहेका छन्। यो घटनाको अनुसन्धान यतैको प्रहरीले गरिरहेको छ। अनुसन्धानलाई सघाउन प्रदेशबाट एसएसपी पोषराज पोखरेल,काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टेक्निकल टिममात्र हैन, केरकार गरी चुरो कुरो निकाल्न खप्पिस प्रहरीको टिम पनि खटिएको छ।

किशोरीको नवराजसितको सम्बन्ध केलाइरहेको प्रहरीलाई युट्युबरको इन्भेस्टिगेसनको यो गर्भ रहेको तथ्यले झस्कायो। यसलाई उनीहरुले इग्नोर गर्न सकेनन्। किनभने भोलि अदालतमा पनि यो प्रश्न त उठ्छ नै।

तर पत्ता लगाउने कसरी त? किशोरीलाई सीधै माथि शुभचिन्तकले सोधे जस्तो गर्भ छ? कति महिनाको भयो? नवराजकै हो? भनेर सोध्ने कुरा पनि आएन।

त्यसो भन्दैमा उपाय नै नभएको पनि त होइन। महिनावारी नियमित छ कि छैन, रोकिएको भए कति महिनाको भयो भनेर त खोज्न सकिन्छ।

त्यसपछि प्रहरीले स्वास्थ्य जाँचका लागि किशोरीलाई अस्पतालमा पठायो। अस्पतालका डाक्टरसित प्रहरीले पत्ता लगाउनु पर्ने कुरा पहिल्यै बताइसकेको थियो।

स्वास्थ्य जाँच गर्दैगर्दा डाक्टरले महिनावारीको बारेमा सोधे। किशोरीले आफ्नो ‘मिन्स साइकल’ नै बताइदिइन्। किशोरीको पछिल्लो महिनावारी उनलाई जिल्ला प्रहरी कार्यालयमै ल्याएको भोलिपल्ट भएको रहेछ। त्यही अनुसार डाक्टरले जाँच गरी स्वास्थ्यबारे रिपोर्ट अनुसन्धानको फाइलमा राखेको नै कति दिन भइसक्यो।

तर बाहिर अझै ‘युट्युब डिटेक्टिभ’हरुले खुलासा गरेको गर्भ रहेको हल्ला व्यापक छ। युट्युबरहरुले हुँदै नभएको गर्भ बसाएर जन्मिएपछि हुने डिएनए परीक्षणसमेत आफै गरी बाउको पहिचान गर्न भ्याएर अझ त्यसलाई फाल्न नपाइनेसम्मको लबिङ गरिसकेका छन्।

‘युट्युब डिटेक्टिभ’ र ‘एफबिआई’

युट्युबरहरुले यो घटनालाई गिजोल्नसम्म गिजोलेका छन्।

तीन लाख भ्युज भएको यो भिडियोमा दावी गरिएको छ- नवराज मारिएको दिन किशोरी र नवराजबीच भएको कुराकानी उसले भेट्टाएको छ। त्यसमा अरु केही छैन, एउटा च्याटको जस्तो देखिने स्क्रिनसट मात्र छ। त्यसमा किशोरीको नाममा ‘नबु काले, मलाई लिन आऊ, मेरो पेटमा तिम्रो बच्चा हुर्केको छ’ लेखिएको छ।


अझ यो भिडियोमा त एक युवतीले आफ्नो अनुसन्धानको नतिजा सुनाएकी छिन्- किशोरीले मेरो पेटमा तिम्रो बच्चा छ, मलाई लिन आऊ नभनेको भए नवराज कुनै पनि हालतमा जाँदै जाँदैन थियो नि। उसैले राति आऊ भनेर बोलाएकोले गएको हो।

यो बोल्ने युवती को हो, के हो केही पनि युट्युबको भिडियोमा खुल्दैन। तर तीन लाख भ्युज पुग्न लागेको यो युट्युबरको इजलासले सजाय सुनाएको छ- म भएको भए उसको मुखै च्यातिदिन्थेँ।

झण्डै ७ लाख भ्युज पुग्न लागेको ए वान नेपाल नामको च्यानलबाट अपलोड गरिएको यो भिडियोमा त यी युवतीले भनेकी छिन्- उसकै छोराको बच्चा भनेर कसरी थाहा हुन्छ? हाउभाउसहित ती युवती अगाडि भन्छिन्, उसलाई भित्रभित्रै मायामा फँसाएर उसको ज्यान लिने तरिकाले फँसाइर अर्कैसँग पो उसले सेक्स रिलेसन राखेर बच्चा बोक्यो कि? राइट?

यत्तिकैमा सम्भवतः अन्तर्वार्ताकारको क्यामेरा पछाडिबाट आवाज आउँछ, ‘त्यही भएर पो बोलाएको हो कि!’

अर्थात् अन्तर्वार्ताकार क्रस क्वेसन गर्दै छैनन्, सही हो या गलत कुरा पनि उनलाई मतलब छैन। ऊ त उक्साउँदैछ। हौसिएर युवती हो मा हो थप्दै भन्छिन्- ‘त्यही भएर बोलाएको हो कि उल्लाई!’

तपाईँ र हाम्रो पनि जिम्मा लिँदै युवती अगाडि भन्छिन्, ‘तीन करोड जनताको माग यही छ, नेपालमा हाम्रो जति पनि जनता हुनुहुन्छ, उहाँको माग यही छ..’ क्यामेरातिर अगाडि बढ्दै औँला तेर्स्याउँदै, ‘(नाम लिँदै) तँ एकचोटी आएर मिडियामा आएर फेस गर्नै पर्छ। यदि तैँले मिडिया फेस गर्दैनस् भने भोलिको दिनमा तँ निस्किस् भने तँलाई जनताले नै मार्छन्।’

चोर औँला तेर्स्याएको तेर्स्यायै गरेर युवती थप्छिन्, ‘यो मेरो दावा छ तेरो लागि।’

भिडियोमा ‘रुकुम नवराज समूह हत्याराको वास्तविक पोल खोलियो बल्ल स्थानियले’ मात्र लेखिएको छ। ती युवती को हुन्, कहाँ बस्ने हुन्, नाम के हो? केही पनि खुलाइएको छैन।

उनको दावीको स्रोत पनि यही फेसबुकको फेक च्याट हो-

६ जनाको ज्यान गएको, जातीय विभेदको गम्भीर प्रश्न उठेको यस्तो संवेदनशील विषयमा पनि केही युट्युबरलाई झुटो भिडियो बनाएर डलर कमाउनमै बढी ध्यान गएको छ। यो १ लाख ३० हजार भ्युज नाघेको भिडियोमा राखिएको अडियो संवादलाई नवराज र किशोरीको भन्ने दावी गरिए पनि यो गलत हो। अरु नै केटा र केटीबीचको केही वर्ष पुरानो अडियोलाई फेसबुकबाट दुवैको फोटो तानेर सबलाई भ्रमित पार्न खोजिएको छ।

यस्ता अफवाहका आधारमा बनाइएका दर्जनौँ भिडियोहरु छन्, केही उदाहरण।

युट्युबको पहुँच पढ्न जान्ने, पढ्न गाह्रो लाग्नेहरुमा पनि व्यापक छ। त्यसैले लाखौँलाख भ्युज भएका यस्ता भिडियोले आफै अनुसन्धान गरी आफै फैसला सुनाइसकेका छन्। र, त्यस्तै भिडियोले दिमाग भुटेका कारण हेर्नेहरुको पनि एक किसिमको माइन्ड सेट तयार भइसकेको छ।

प्रहरीको अनुसन्धानले किशोरी र नवराजबीच लामो समयदेखि  फेसबुक म्यासेन्जरमा कुराकानी नभएको देखाइसकेको छ। प्रहरीको टेक्निकल टिमले अनुसन्धानका क्रममा सिडिआर निकाल्दा कुन मोबाइल नम्बरबाट कुन नम्बरमा कहिले, कति बजे, कति समयसम्म फोन सम्पर्क गर्‍यो, के के एसएमएस पठायो सबै  थाहा पाउन सक्छ। त्यस्तै त्यसरी फोन चलाउँदाको ठाउँ कहाँ हो, त्यो लोकेसन पनि पत्ता लगाउन सकिन्छ। त्यसैगरी डिजिटल फरेन्सिक ल्याबमा मोबाइल पठाएर डिलिट भइसकेका रेकर्डहरु पनि निकाल्न सकिन्छ। तर युट्युब र फेसबुकमा स्क्रिनसटको भरमा किशोरीले नै घटना भएको दिन बोलाएको हो भन्ने विश्वास गर्ने ‘युट्युब डिटेक्टिभ’ वा ‘एफबिआई’ (फेसबुक ब्युरो अफ इन्भेस्टिगेसन)लाई अनुसन्धानमा यस्तो देखिएकोले खासै माने नराख्न सक्छ।

नवराजको बद्‍नामी गराउने हल्ला

यस्तो हल्ला केटी पक्षको बदनामी गर्ने गरी मात्र आएको छैन, ज्यान गुमाउने पीडित पक्षलाई लक्षित गरी पनि भइरहेको छ।

सरकारले स्मार्ट सिटीको रुपमा विकास गर्न लागेको रुकुमको चौरजहारीको होटलमा एक ‘स्मार्ट’ युवक हामीसित गफिन आए। उनले आफू पनि पत्रकार भएको परिचय दिँदै युट्युबेलाई केही थान गाली दिँदै घटना ‘मिडियामा आए जस्तो नभएको’ विश्लेषण गरे। अनि सुनाए- नवराजलाई पहिले पनि प्रहरीले पक्रेको थियो रे र उसको साथमा ड्रग्स भेटिएको थियो रे।

नवराजको चरित्र खराब, ड्रग्स लिने गरेको आदि भनेर नियोजित रुपमा फैलाइएको ‘रे’को हल्लालाई पुष्टि गर्न उनले पक्रने इन्सपेक्टरले नै सुनाएको गफ पनि दिए। पछि थाहा भो, ‘युट्युबे’लाई ‘युट्युबे’ भनी गाली गर्ने उनी पनि खासमा ‘युट्युबे’ नै रहेछन्।

‘रे’ र आफैले सुनेको, फलानाले बताएको भनेपछि जस्तै कूतर्कमा पनि तर्क गरेर परीक्षण गर्ने क्षमता हराउँछ, कम्युनिकेसनको बुलेट थ्यौरी लागू हुन्छ। अर्थात् यताबाट गोली चल्यो, ताकेकै ठाउँमा लाग्यो, ठाउँको ठाउँ असर पर्‍यो।

नवराज एनसिसी क्याडेट थिए। ‘फिजिकल्ली फिट’ र ‘मेन्टल्ली अलर्ट’ नभएकाहरुलाई सेनाले यस्तो राष्ट्रिय सेवा दलको ट्रेनिङमा लिँदै लिँदैन। खेलकुदमा पनि अगाडि थिए उनी। प्रदेश प्रहरी तालिम केन्द्र, नेपालगञ्जमा प्रहरी जवानका लागि लिखित परीक्षा दिएर पास पनि भइसकेका थिए। लकडाउन नभएको भए चैत १६ गते अन्तर्वार्ता पनि सकिसक्थ्यो।

ड्रग्स खाएर झल्लु भएर हिँड्ने आवाराका रुपमा ‘रे’का हल्ला चलाइए पनि तथ्यले त्यस्तो देखाउँदैन।

रोल नम्बर ८६०७२ : दलित, पिछडिएको क्षेत्र समूहबाट प्रहरी जवानको लिखित परीक्षामा पास भएको २०७६ फागुन २९ गतेको लोक सेवा आयोगको सूचना जहाँ उनको वरियता नम्बर १८५१ छ। 

वैशाख १७ गते एक रात नवराज इलाका प्रहरी कार्यालय चौरजहारीमा थुनिएका जरुर हुन्। तर सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्लले लकडाउन उल्लंघन गरेर आएका केटाहरुलाई पक्रनुस् भनेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले २४ घण्टाभन्दा बढी नियन्त्रणमा राख्न मिल्दैन। भोलिपल्ट के हो कुरा, लकडाउन उल्लङ्घन मात्रै कारण हो कि, अरु पनि केही छ कि छलफलमा आउनुस् भनेर  चौरजहारी इलाका प्रहरी कार्यालयका इन्सपेक्टर धर्मसिंह विष्टले बोलाउँदा वडाध्यक्ष आउन मानेनन्। त्यसपछि प्रहरीले पारी जाजरकोटमा नवराजकी आमालाई बोलाएर जिम्मा लगाएर पठाइदिएको हो। त्यतिबेला ड्रग्स भेटिएको भन्ने हचुवा हल्ला मात्रै हो।

अपडेट : तर नवराजको लाशजाँच मुचुल्कामा दाहिने तर्फको गोजीमा कागजले बेरेर राखेको चरेस जस्तो पदार्थ अन्दाजी १ ग्राम रहेको उल्लेख छ। अदालतमा दायर अभियोग पत्रमा यो विवरण उल्लेख छ।

‘मारेर लाश गाडेर बेपत्ता बनाएको’

यो घटनामा सुरुमा कति जना आएका थिए र कति जना हराए भन्ने कुरा नै खुलेको थिएन। सुरुका समाचारहरुमा एक जनाको शव भेटियो र ६ जना सम्पर्कविहीन भनिएको थियो। पछि पो थाहा भयो, हराएका भनिएका एक जना त नवराजको समूहसँग माथि सोती गाउँमा नपुगी बीच बाटोबाटै फर्किसकेका पो रहेछन्।

सबैको शव एकै पटक पनि फेला परेन। पहिलो शव नवराजको भेटियो। त्यसपछि भोलिपल्ट टीकाराम नेपालीको। टीकारामको भेटिएको भोलिपल्ट तेस्रो शव भेटियो गणेश बूढाको। गणेशको भेटिएको पर्सिपल्ट लोकेन्द्र सुनारको शव भेटियो। लोकेन्द्रको भेटिएको भोलिपल्ट सञ्जु विकको शव भेटियो।

यी सबै शव घटनास्थल भेरी बगरबाट २ देखि २२ किलोमिटर टाढासम्म भेटिएका थिए। १७ वर्षका गोविन्द शाहीको भने अत्तोपत्तो थिएन।

यो बीचमा हल्ला फैलियो- कहाँ भेटिन्छ त लाश, मारेर लाश गाडिसके ! गाउँ र जङ्गल सिल गरेर सर्च गर्नुपर्ने, गरिएन।

हामी रुकुम जानका लागि काठमाडौँबाट गुडेर चितवन पुगेको बेला खबर आएको थियो- अर्को लाश पनि भेटियो। घटनाको १० दिनपछि जेठ २० गते दिउँसो साढे ४ बजे शाहीको शव जाजरकोटको भेरी नदी किनारमा भेटिएको थियो।

योसँगै लाश गाउँलेले गाडेर बेपत्ता बनाएको हल्ला पनि सकियो। तर जंगल र बस्ती नै सिल गर्नुपर्नेमा नगरेर प्रमाण नष्ट गरेको आरोप राष्ट्रिय दैनिकमा अस्ति भर्खरै पनि छापिएको थियो। जबकि जंगलै सिल गर्ने कुरा कम्तिमा घटनास्थल हेरेको मान्छेले गर्न सक्दैन।

‘ज्यान जोगाउन हाम्फालेको’

पछिल्लो समय सोतीका गाउँलेहरुले धेरै अन्तर्वार्ताहरुमा एउटै कुरा दोहोरिएको छ- हामीले लकडाउन उल्लङ्घन गर्न आउनेहरुलाई लखेट्यौँ। लखेट्ने क्रममा उनीहरु भेरीमा हाम्फाले।

काठमाडौँबाट अनुमान गर्दा मैले पनि सोचेको थिएँ- गाउँलेले लखेटे र घेरे। त्यसपछि उनीहरु जाने बाटो कहीँ नपाएर भिरबाट तल खोलातिर हाम्फाले। ‘हाम्फाले’ को अर्थ माथिबाट फाल हाल्नेको अर्थमा मैले बुझेको थिएँ।

तर घटनास्थल पुग्दा सिन क्लियर भयो- त्यसरी हाम्फाल्ने ठाउँ नै रहेनछ। पाखा, त्यसको मुनि मध्यपहाडी राजमार्ग, त्यसको मुनि खेत, त्यहाँबाट बगर, अनि सानो भंगालो र भेरी नदी। पाखाबाट हाम्फाल्यो भने त राजमार्गमा पुगिन्छ। बगिरहेको भेरी नदी त्यो भन्दा धेरै पर छ।

गाउँलेहरुले खेद्‍दै ल्याएपछि उनीहरु पुलतिर जान खोजेका थिए, तर पुलतिर पनि बाटो छेकेपछि र राजमार्गमा पनि गाउँलेहरु भएपछि खेत हुँदै बगरको बाटो दौडेका थिए। बगरसम्म सबै पुगेको भन्ने त अनुसन्धानले देखाइसकेको छ। तर त्यसपछि के भएको भन्ने चाहिँ खुल्न बाँकी छ। बगरैबगर दौड्दै पौडेर खोला तर्न खोजेको सम्भावना हुनसक्ला। तर ‘हाम्फालेको’ थ्यौरी घटनास्थल पुग्दा सम्भव देखिन्न।


गुगल म्याप।

‘हात बाँधेर लाश फ्याँकेको’

हात बाँधिएको अवस्थामा लाश फेला परेको चर्चा पनि निकै चल्यो। शव फेला पर्दाका फोटोहरु पनि सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती थिए, जसमा डोरीले बाँधेको जस्तो देखिन्छ।

मैले यहाँ सीधै ती फोटो राख्‍न चाहिनँ। तर चासो भएकाहरुले यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ। तर सावधान यी फोटोले तपाईँलाई विचलित गराउन सक्छ।

भन्न खोजेको चाहिँ के हो भने यी फोटो शवमा जस्तो डोरी देख्न सकिन्छ, त्यो डोरीकै आधारमा कतिपयले अहो, बाँधेर मारेर फालेका रहेछन् भनेर विचार बनाइसके। खासमा त्यो डोरी खोलाको बीच भागमा फेला परेको शव किनारसम्म तानेर ल्याउनका लागि बाँधिएको हो।

एउटा शवको हातमा भने माछा मार्दा प्रयोग हुने जाली अल्झिएको अवस्थामा भेटिएको थियो।

यसैलाई लिएर युट्युबमा लाश निकाल्नेहरुको दावी, हात पछाडि पारेर बाँधिएको अवस्थामै भेटिएको थियो भनी प्रत्यक्षदर्शीको ट्याग भिराएर अन्तर्वार्ता गरिरहेका भिडियो देखिएका छन्। तर हात बाँधिएकै हो भने त्यो अनुसारको दाम, निशान हातमा हुनुपर्ने हो।

अनुसन्धान बयानमा मात्र सीमित नरहेर अरु तथ्य र सिनारियोसित म्याच गरेको हुनुपर्छ।

एक युट्युबरले घटनास्थलमै सशस्त्र प्रहरीसित कुरा गर्दा पनि उनले बाँधेको किन होइन भनेर स्पष्टीकरण दिएका छन्। युट्युबको त्यो भिडियो फेसबुकमा पनि भेटिएको छ-

घटनास्थलमा आक्रमण गर्नेहरु, कुटाइ खाएकाहरु दुई पक्षकै बयानबाट अनुसन्धानमा रहेको प्रहरीले निकालेको निश्कर्ष हो- यो घटना करिब १५ देखि २० मिनेटको बीचमा भएको छ।

‘जे जति भएको छ, यही अवधिको बीचमा भएको छ,’ अनुसन्धानमा संलग्न स्रोत भन्छ- त्यही अवधिमा तीन वटा सम्भावना छ-

१) बगरमा कुटेर बेहोस बनाएर फालेका हुन् कि,

२) बगरमा कुटेरै मारेर त्यसपछि खोलामा फालेका हुन् कि,

३) कुटाइबाट बच्न खोला पार गर्न खोज्दाखोज्दै ढुंगाले हानेर बेहोस बनाइएको र मरेको हो कि अथवा आत्तिएको बेला भेरीको भेलले बगाएर पो लगेको हो कि

अहिले यसैमा केन्द्रित रहेर अनुसन्धान अघि बढाइएको छ।

घटनास्थलको प्रकृति आफैले हेर्दा पनि मलाई यही तीनमा एउटा सम्भावना लाग्यो। ज्यान जोगाउन हाम्फालेर मरेको होइन भन्ने घटनास्थल हेर्दा थाहा हुन्छ। किनकि त्यहाँ हाम्फाल्ने ठाउँ नै छैन।

यो योजनावद्ध हो कि हैन, को-को संलग्न थिए त्यसमा। उकास्ने मूल मान्छे को हो? आदिको पनि अनुसन्धान भएर मात्र कसलाई कुन आरोपमा मुद्दा चलाउने भन्ने टुङ्गो लाग्छ।

सम्भवतः यो ब्लग तपाईँले पढ्दासम्म प्रहरीले अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको हुनेछ। त्यहाँबाट जिल्ला अदालतमा मुद्दा दायर हुनेछ। मुद्दा दायर भइसकेपछि अनुसन्धानबाट खुलेका कुराहरु पनि थाहा हुनेछ।

(अर्को ब्लगमा आफूले देखेका थप कुराहरु थप्नेछु। सुझाव पनि पाउँ, के के कुरा नछुटाउँदा ठीक होला?)

अपडेट : प्रहरीले अनुसन्धान सकाएर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ र त्यहाँबाट ३४ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतका मुद्दामा सजाय माग गरेको छ। मुद्दा परेकोमा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित किशोरीकी आमा र बाबु पनि छन्। किशोरीलाई पनि मुद्दा लगाइएको छ। प्रतिवादी बनाइएकामा डिल्ली मल्ल,तुलबहादुर मल्ल,प्रेमबहादुर ठकुरी,वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोश मल्ल, महोन पुन मगर, रमेश बहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, ईन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, धनराज राना, रमित पुन, नविन घर्ती, विराज पुन, भिम पुन, घमण्ड मल्ल, विष्णु मल्ल, सर्वजित भनिने सविन पुन रहेका छन्। मुद्दा दायर भएका मध्ये ५ जना अभियुक्त फरार छन्।

12 thoughts on “‘युट्युब डिटेक्टिभ’ र ‘फेसबुके एफबिआई’को हल्लाले गिजोलिएको रुकुम-जाजरकोट घटना”

  1. Pingback: रुकुम प्रकरणमा ‘कान्तिपुर’ कहाँ-कहाँ चिप्लियो? पाँच उदाहरण – Mysansar
  2. Pingback: रुकुम चौरजहारी घटना : किन शंका बढ्यो ? के छ हाइप्रोफाइल लिङ्क? – Mysansar
  3. Pingback: रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार : अडियोमा सुन्‍नुस् « Mysansar
  4. Pingback: ‘मारेर फाल्दा’ पनि किन ‘डुबेर मरेको’ रिपोर्ट आयो : रुकुम घटनाको पोस्टमार्टम रिपोर्टको चिरफार « Mysansar
  5. ठुले जेठा says:
    June 16, 2020 at 5:27 pm

    उमेशजीको लेखको गहिराई अनुसन्धात्मक् , प्रामाणिक र तर्कसँगत देखिन्छ । अवश्यपनि हामी पाठकहरुले गर्ने घटनाको परिकल्पना उमेशजीले स्थलगत अनुसन्धानको आधारमा गरे जति हुन सक्दैन । तथापि, यस लेखमा घटनामा प्रयोग भएको हुनसक्ने “हामफाल्ने” शब्दले केहि प्रभाव पारेको हो कि जस्तो मलाई लाग्यो । हामी तराईमा हुर्केकाहरुले पनि निकै प्रयोग गर्ने शब्द हो यो। खोलामा (समथरमा पनि) डुबुल्की मार्नु, डुब्नु, पौडिनु, अनि “फाल हान्ने” को अर्थमा पनि “हामफाल्नु”को प्रयोग भएको पाईन्छ ।

    Reply
    1. Salokya says:
      June 16, 2020 at 5:56 pm

      सही हो। मैले स्पष्ट भनेको छु त मैले सोचेको चाहिँ माथिबाट हाम्फाल्ने सोचेको। शायद फाल हाल्ने अर्थमा प्रयोग भएको हुनसक्छ। तर मेरो सोच चाहिँ माथिबाट हाम्फाल्ने भन्ने थियो र त्यो त्यहाँ पुगेपछि त्यस्तो ठाउँ रहेनछ भन्ने देखियो। भिडियोमा पनि त्यो कुरा प्रष्ट राखेको छु।

      Reply
  6. Pingback: किशोरीको मोबाइलबाट नवराजलाई गएको एउटा मेसेज, जसले उनलाई ‘पुर्पक्ष’मा पठायो « Mysansar
  7. Suresh says:
    June 15, 2020 at 8:20 pm

    Mihenat garer lekhnu vako rahechh ramro lagyo tar ek tauma chuknu vako jasto lagyo kin ki maile yo ghatna ko sabai videos hereko chhu ra 1ota interview ma ek jana ghaite bhaile eye witness le aafnai aakhale aafno kehi sathiharu bachan ko lagi khola ma hampfaleko dekheko chhu vaner vaneko chha so teha hamfalne tau chhain vaneko chahi ali chit bujhen

    Reply
    1. Salokya says:
      June 16, 2020 at 1:14 am

      युट्युबको भिडियो र अन्तर्वार्ता नै पत्याउनु हुन्छ भने मेरो केही लागेन। मैले आफै पुगेर देखेको लेख्या हो। मैले माथि राखेको भिडियो पनि हेर्नुहोला। दौडेर नदी तर्ने प्रयास गर्नुलाई हाम्फाल्ने भन्नुहुन्छ भने त्यस्तो होला। तर माथि भिरजस्तोबाट हाम्फाल्ने ठाउँ त्यहाँ छँदैछैन। https://www.youtube.com/watch?v=n7SZi6ejmTc

      Reply
  8. Bibek kunwar says:
    June 15, 2020 at 8:04 pm

    Here we go, the most unbiased article so far. Please keep up your great work. MySansar without any doubt is the only brand in nepalese journalism which is based in facts.

    We nepalese are very innocent and its so easy to make us fool; for example if someone posts semi nude picture of hot girl and asks to comment ‘2’ on the commentbox to see magic; thousands of us start commenting ‘2’ probably to see complete nude picture of the girl without realising they are typing ‘i m stupid’ instead. I am Prerty sure mysansar’s latest articles about factchecks will eventually educate these types of minds.

    My own conclusion after reading this article in the midst of all the rumours(my assumption might be incorrect) is; Nabaraj and his friends paid highest price for their little mistake. Girls family didnt want to have marital relation with Nabaraj’s family coz of so called lower caste. Girl is not a celebrity but still managed to hv 5k fb friends suggests me she was not very serious about love or may be lost her keen after family pressure but Nabaraj didn’t want to break relationship. Villagers themselves should have been scared after seeing that many number of young lads or may be preplanning to get rid of these boys and committed such a crime.

    Whatsoever,unrecoverable damage has been done. No alternative penalties can replace for those culprits except life-time imprisonment. RIP Nabaraj and his friends!!!

    Reply
  9. tanka says:
    June 15, 2020 at 8:22 am

    निकै मिहिनेत गरेर लेख्नुु भएछ! सकिन्छ भनेे, परिवारका सदस्यका कुरा पढ्न पाउँ । केटीको आमा, बाउ, केटी । नवराजको आमा ।

    केटीको कुराबाट कुन हदसम्मको प्रेम हो पत्ता लाग्न सक्ला ! प्रेम हो या टाईमपास ।

    Reply
  10. Anonymous says:
    June 14, 2020 at 9:54 pm

    पोस्टमार्टमले चाहिँ के देखाउँछ त? डुबेर मरेका होइनन् भनेर रुलआउट गर्न सकिने सम्भावना छ वा छैन? मारेर फालेको, बेहोस बनाएर फालेको, वा पौडिन खोज्दा ढुङ्गाले हानेर घाइते बनाएको वा मारेको भए त सबै एकै प्रकारको घटना भयो। अर्को प्रश्न, केटिसँग धेरै दिनदेखि सम्पर्क नभएको भनेपछि के कारणले त्यसरि हुल बाँधेर गएका रहेछन्? केटा तर्फबाट पनि केहि aggression देखियो कि देखिएन? बिच बाटोबाट फर्किएको साथि के कारणले गएको रहेछ र के कारणले फर्किएछ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme