Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?

Posted on June 11, 2020June 11, 2020 by mysansar

अहिले फेरि विभिन्न ‘नाम चलेका’ नेपाली अनलाइनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘सगुनमा लगानी गरौं’ जनाउने किसिमका सामग्रीहरू देखा पर्न थालेका छन्। सगुनको यस्तो गुनगान गएको दुई दशकमा विभिन्न चरणमा नेपाली सञ्चार माध्यममा पटक‍-पटक भएको देखिँदै आइरहेको कुरा हो। तर बारम्बार अनेक चमत्कारिक दाबी गर्दै आएको यो कम्पनी के यस्तो स्तुति गाइरहने लायककै छ त? किन लगानीकर्ताहरूको लगानीको विश्वसनीय प्रतिफल नै देखाउन नसक्ने एउटा कम्पनीको यस्तो धेरै तारिफ हुन्छ त नेपाली मिडियामा?

के हो सगुन?
अति छोटकरीमा भन्दा सगुन सूचना प्रविधि क्षेत्रमा काम गरिरहेको एउटा व्यापारिक संस्था हो, जसले एउटा सोसल मिडिया एप र प्लेटफर्म चलाउँछ। झट्ट हेर्दा फेसबुक र इन्स्टाग्राम जस्तै नै देखिने सगुनको एप प्रयोग गर्दा प्रयोगकर्ताले विभिन्न आर्थिक लाभ प्राप्त गर्ने दाबी सगुनले आफ्नै वेबसाइटको होमपेजमै गरेको छ। ५ लाख‌‌ + पटक यसको डाउनलोड भएको पनि गुगल प्ले स्टोरमा तथ्याङ्क देखिन्छ। सुरुवाती दिनहरूमा जब सगुनको समाचार आउँथ्यो, यसलाई नेपाली प्राविधिकद्वारा निर्मित सर्च इन्जिन भनेर प्रचार गरिन्थ्यो। त्यस बेला पनि सगुनको सर्च इन्जिनको प्रयोगमार्फत् प्रयोगकर्ताले पैसा कमाउन सक्ने कुरा गरिन्थ्यो। एक हिसाबले सजिलै के देख्न सकिन्छ भने, सगुनले वर्षौंदेखि प्रयोगकर्तालाई आकर्षित गर्न प्रचार गर्ने मूल मन्त्र भनेकै ‘हाम्रो सेवा प्रयोग गर्नुहोस् अनि आर्थिक लाभ पाउनुहोस्’ हो।

के कुनै सामाजिक सञ्जाल वा सर्च इन्जिन चलाएर कसैले पैसा कमाउन सक्छन् त?
साधारणतया: विश्वभरीका विभिन्न देशहरूका सूचना प्रविधि सेवा प्रदायकहरूको तथ्याङ्क हेर्ने हो भने सगुनको दाबी अत्यन्तै महत्त्वाकाङ्क्षी र अविश्वसनीय देखिन्छ। सेवाको सुरुवाती दिनमा आफ्ना प्रतिस्पर्धीहरूभन्दा बढी प्रयोगकर्ता प्राप्त गर्न कुनै किसिमको योजना ल्याएका प्रशस्त उदाहरण भए पनि, महिनौं वा वर्षौंसम्म आर्थिक प्रयोगकर्ताहरूका निम्ति यस्ता योजना जारी राख्ने कम्पनीहरू कि आज टाट पल्टिएर अस्तित्व मै रहेका छैनन् कि त गहिरो आर्थिक संकटमा छन्।

गएको वर्ष सेप्टेम्बरमा मुभिपास नामक एक अमेरिकी कम्पनीले मासिक $10 मा महिनाको ३ वटा सिनेमा हलमै हेर्ने योजनाबाट अति नै लोकप्रिय हुँदा समेत, आफ्ना दायित्वहरू सम्हाल्न नसक्दा टाट पल्टेको उदाहरण ताजै छ। त्यस बाहेक अति सस्तो दरमा इन्टरनेट र फोन सेवा ल्याएर अति चाँडो आफ्ना प्रतिस्पर्धीहरूलाई पछार्न सकेको भारतको सर्वाधिक धनी रिलायन्स ग्रुपको जियो मोबाइलले केही समयसम्म घाटा खाएपश्चात् गएको वर्षबाट आफ्ना दरहरू पनि बढाएको छ। तर के-कसरी सगुनले यस्तो योजना वर्षौंसम्म जारी राखेको छ र वास्तविक रुपमा के प्रयोगकर्ताहरूले निरन्तर लाभ पनि प्राप्त गरिरहेको छ भन्ने कुराको कुनै लेखाजोखा नभए पनि सो कम्पनीले आफ्नो सफलता भजाउँदै आएको वर्षौं भइसकेको छ।

फेसबुक, इन्स्टाग्राम, ट्विटर वा टिकटक जस्ता सर्वाधिक चलेका सामाजिक सञ्जालहरूले कहिले पनि प्रयोगकर्तालाई कुनै किसिमको आर्थिक लाभ दिएका छैनन्। उल्टै, प्रयोगकर्ताहरूले वा अन्य व्यवसायीहरूले आफ्नो सामग्रीहरू जनतामाझ झन् व्यापक फैलाउन चाहेमा विज्ञापन गर्न ती सञ्जालहरूलाई पैसा दिनु पर्दछ। यस्ता अत्यन्तै ठूला मुनाफा कमाउने र अर्बौं प्रयोगकर्ताहरूले समेत कहिले पनि दिन नसकेको लाभ सगुनले दिन सक्ने कुरा सञ्चार माध्यमहरूमा बारम्बार लेखिनु नै अचम्मको कुरा हो।

(नागरिक दैनिकको फेसबुक पेजमा रहेको २६ जेठ, २०७७को लेखमा   सगुन सम्बन्धी लेख एउटा ‘एडभर्टोरियल’ बनाएर हालिएको छ। अर्थात् त्यो लेख सगुनबाटै प्रायोजित थियो भन्ने  बुझ्नेलाई स्पष्ट छ, नबुझ्नेले लेखै ठान्छन्।)

सगुनले हालै दाबी गरेको एउटा व्यापारिक मोडेल भनेको प्रयोगकर्ताले उसको सेवाको प्रयोग गरेपश्चात् विभिन्न व्यवसायको कुपन प्राप्त गर्ने र सो कुपनलाई पछि तोकिएको ठाउँमा आफूले खरिद गर्दा छुट लिन प्रयोग गर्न सकिने हो। हाल यस्तो सुविधा भारतमा मात्र दिइएको देखिन्छ तर यो सगुनले दाबी गरे झैं कुनै अविश्वसनीय वा क्रान्तिकारी प्रणाली पनि होइन। भारत र नेपालकै विभिन्न व्यापारिक संस्थाहरूले आफ्ना सेवाहरूमा यस्ता छुट वा उपहारहरू दिएकै हुन्छन्। यो पत्र-पत्रिकाको कुनै वार्षिक ग्राहकले प्राप्त गर्न सक्ने छुट योजना जस्तै हो। विश्वभरी यस्ता प्रणालीको प्रयोग हजारौं वा सायद लाखौं व्यवसायहरूले गर्छन्, तर यसलाई थाम्न व्यवसायीहरूले तिनका योजनाबाट थप आय पनि कमाउने गर्दछन्। यदि ती योजनाबाट अपेक्षित लाभ नभएमा व्यवसायीहरूले त्यसलाई आफ्नो अनुकूल परिवर्तन गर्न वा खारेज नै गर्न पनि सक्ने अधिकार राखेको हुन्छ। नियालेर हेर्दा पनि सगुनको विज्ञापन भन्दा बाहिरको थप आय ल्याउन सक्ने कुनै माध्यम देखिँदैन। त्यस्तोमा यति बृहत रुपमा दाबी गरे अनुरूप सगुनले आफ्ना प्रयोगकर्ताहरूलाई लाभ बाँड्न सक्ने उसको आर्थिक क्षमता छ त भन्ने शंका गर्ने पनि प्रशस्त ठाउँ रहेको छ।

सञ्चार माध्यममा सगुनको किन यति धेरै अविश्वसनीय सकारात्मक चित्रण?
तीन वर्षअघि डिसीनेपालमा सगुनको ब्याट्री बिना मोबाइल चार्ज गर्न मिल्ने एप बन्दै गरेको भिडियो जताततै सामाजिक सञ्जालबाट फैँलिदा, यसै ब्लगमा त्यसको वास्तविकता बारे पनि चर्चा गरिएको थियो। पढ्नुस्- एप राखेपछि मोबाइल चार्ज गर्न नपर्ने : सगुनको सेयर बेच्ने फन्डामात्रै कि साँच्चिकै?

त्यस बाहेक जति पटक सगुनले सेयर वा लगानी गर्न आह्वान गर्दछ, विभिन्न प्रख्यात सञ्चार माध्यमहरूमा त्यसबारे जनमानसलाई सकारात्मक रुपमा देखाउने किसिमका सामग्रीहरू जताततै छाउने गर्दछ। नेपालमा सगुनमा लगानी गर्ने कुनै कानुनी रुपमा मान्य तरिकाहरू छैन, जसको अर्थ नेपालमा बस्ने र नेपालकै मात्र आर्थिक सेवाहरू चलाउने व्यक्तिहरू सगुनले सिधा ताकेको होइन। तर ती नेपालीहरू जो विदेशमा बस्छन् र विदेशी आर्थिक प्रणालीमा पहुँच गर्न सक्छन्, तिनले भने सगुनमा लगानी गर्ने क्षमता राख्छन्। एक हिसाबले नेपाल भित्रका नागरिकहरूमा आफ्ना सकारात्मक सामग्रीहरू प्रचार भएमा, पछि तिनैले सगुनमा लगानी गर्न आफ्ना चिनजानका मानिसहरूलाई प्रेरित गर्न सक्छन्। त्यस बाहेक विदेशमा बसिरहेका नेपाली अनलाइन सञ्चार माध्यमहरू पढ्ने नेपाली नागरिकहरू वा गैर-आवासीय नेपालीहरू पनि यस्ता प्रचारबाट प्रेरित भएर सगुनमा लगानी गर्न सक्छन्। सगुनले आफ्नो प्रचार र समाचार यही दुई समूहहरूमा पुर्‍याउन खोजेको कुरा अनुमान गर्न धेरै गाह्रो छैन। यस्ता समाचार प्रकाशनबाट सामान्य लगानीकर्ताहरूमा परेका वा पर्न सक्ने नकारात्मक असरहरूका बारेमा (जस्तै आर्थिक लगानीको क्षति, श्रृणको बोझ, आदि) खासै केही पनि ठूलो कानुनी उत्तरदायित्व नेपालमा रहेका मिडियाहरूले बहन गर्नु पर्दैन, किनभने त्यो लगानी नेपालको कानुनी सिमाना भित्रको हुँदै होइन र त्यसको जाँचको क्षेत्राधिकार पनि नेपाल सरकारको अधीनमा पर्दैन। अहिले सगुनको सञ्चार-माध्यमहरूमा यस्तो बृहत प्रचार देख्दा नेपाली मिडिया सञ्चालकहरु र सगुनको बीचमा कुनै किसिमको मेलमिलाप नै रहेको छ कि जस्तो पनि भान पर्नु अस्वाभाविक होइन।

किन बारम्बार यस्तो लगानीको आह्वान?
सगुनले पछिल्लो ५ वर्षमा कम्तिमा दुई पटक (२०७३ र २०७७) सार्वजनिक रुपमा लगानीको आह्वान गरिसकेको छ, तर लगानी पश्चातका आर्थिक विवरण र प्रतिफलहरूका बारेमा आम मानिसहरूमा खासै ज्ञान पनि छैन। तर एक स्वस्थ व्यवसायले पूरा गर्न सक्ने मापदण्डहरू पनि पुर्‍याउन नसकेको देखिने यस कम्पनीले के एउटा ‘नेपालीले बनाएको सफल सञ्चार माध्यम व्यवसाय’ भन्दै भावनात्मक आह्वान गर्दैमा आफ्नो मेहनतले कमाएको पैसा यसमा लगानी गर्न मानिसहरू तयार हुनु कुनै दृष्टिकोणले पनि उचित हो त? यदि सगुन त्यस्तो अविश्वसनीय रुपमा सफल र उच्च प्रतिफल दिन सक्ने कम्पनी हुन्थ्यो भने उसलाई ठूला अन्तराष्ट्रिय लगानीकर्ताहरू उसको ढोकैमा आएर लगानी गर्न तयार हुने अनुमानै गर्न नसक्ने कुरा होइन। विदेशमा नाफा नकमाउँदा समेत भविष्यको प्रक्षेपण राम्रो देखिएको कम्पनीहरूमा सजिलै ठूला लगानीकर्ताहरूले लगानी गरेको र ती कम्पनीहरू अहिले सफल भएको प्रशस्त उदाहरणहरू छन् (जसका उदाहरणहरू फेसबुक, एमाजोन, उबर, आदि हुन्)। २०१९ मा त सगुनमा हिन्दुस्तान टाइम्सले समेत ५० लाख डलर हाल्यो भनेर खबर आएको थियो, तर त्यसको सञ्चार माध्यमहरूमा चर्चा देखिए पनि हिन्दुस्तान टाइम्स आफैमा भने त्यसको पुष्टि गर्ने कुनै समाचार भेटिएन।। यो अवस्थामा उसले तुलनात्मक रुपमा लगानी क्षमता निकै कम भएको नेपाली जनमानस माझमा आफ्नो सफलता किन भजाउनु पर्दछ त?

कसैलाई सुझाव नै दिनु परेमा भावनात्मक जालोमा नपरी राम्ररी केलाएर मात्र कुनै पनि ठाउँमा लगानी गर्नु नै उचित होला। ‘यो कम्पनी राम्रो छ, यसमा लगानी गरौँ’ भन्ने कुरा चिनजानमा प्रचार गर्नु भन्दा ‘कुनै पनि लगानी गर्नु भन्दा अघि अति नै सूक्ष्म तरिकाले अध्ययन गरौँ’ भन्ने कुरा प्रचार गर्नु जरुरी भएको देखिन्छ।

9 thoughts on “किन बार-बार गाइन्छ नेपाली मिडियामा ‘सगुन’को गुनगान?”

  1. Subhchintak says:
    June 17, 2020 at 10:17 am

    People that will invest in it without doing a simple search are the ones that will suffer. Thanks for writing this.

    Reply
  2. NepaliKeti says:
    June 13, 2020 at 8:08 am

    From Sagoon’s SEC filing ( government agency that regulates public companies and securities in the US)

    https://www.sec.gov/Archives/edgar/data/1639953/000110465920025100/tm2010966d1_253g2.htm

    The company has not generated ANY revenue SO FAR, has millions of dollars worth of deficit and even the auditors don’t believe that the company is viable in the long term. Plz check pages.. F3 and 22.

    This is a scam!

    Reply
  3. Ratna says:
    June 13, 2020 at 12:04 am

    सगुन एपको काम छैन, चलाउनु पनि सजिलो छैन, फेसबुक र इन्स्टाग्राममा लत परि सकेपछि अरुले शायदै यो एप चलाउलान; सगुनले शायद यो एप अलिक पपुलर भएपछी गुगल, फेसबुक वा अन्य कम्पनीलाई मिलियन डलरमा बेचेर कमाउने उद्धेश्य लिएको हुनु पर्छ। बरु नेपाली र हिन्दीमा बनाएको भए भारत र नेपालमा पपुलर हुनु सक्थ्यो, र रातारात करोडौं कमाउन सक्थ्यो ; तर त्यो गुगलले किन्दैन, फेस्बुक्ले किन्दैन। घाटामा जान्छन जस्तो छ सोझा साझा नेपाली लगानीकर्ताहरु। सप्रे त राम्रै हो तर कोनि कोनि।

    Reply
  4. सुरेन उप्रेती says:
    June 12, 2020 at 7:14 pm

    माइसन्सारका सालोक्य जी ।
    अनि यो ब्लगमा क्रान्तिका नामबाट लेख्नु हुने लेखक ज्यू ।
    नमस्कार
    तपाईको लेख बढन् पाएँ । खुशी पनि लाग्यो । म यो माइसन्सार भन्ने ब्लगलाई धेरै बर्ष देखि हेर्दै र पढ्दै आएको छु । म पनि धेरै पहिला नेपालका पत्रकारिताहरुमा स्तम्भ पनि लेख्ने गर्थे ।
    अब रह्यो सगुनको कुरा ।
    म क्यानडामा बस्ने र सगुनको एउटा लगानी कर्ता पनि हुँ । मलाई सगुनमा लगानी गर्न कसैले अनुरौध लोभ देखाएर लगानी गरेको पनि हैन । तपाईले स्टार्टप कम्पनीको बारेमा कती बु्झनु भएको छ । स्टार्टप कम्पनी भनेका रिस्क भएका नै हुन्छन । यो नेपालीहरुले शुरू गरेको कम्पनी बिश्वकै प्रथम हो । नेपालीहरूले शुरू भएको हुनाले नै नेपालीले लगानी गर्न पाएको हो । तपाई सकारात्मक सोच र परिवर्तनकामी मानिस हुनु हुन्छ । तपाईले यसरी कुरा नबुझी नकारात्मक सोच प्रसार गर्दा म जस्ता करिब पाँच हजार लगानी कर्ताको बिश्वासमा आघात हुन्छ । पुन बु्झन प्रयास गर्नु होला । नेपालको पहिचान र सम्बृद्धीको सपना हो सगुन । तपाईको सुभचिन्तक
    सुरेन उप्रेती अटवा क्यानडा

    Reply
  5. imginr says:
    June 12, 2020 at 6:42 pm

    it’s nothin’ but to dodge the innocent nepalese people .corrupted people .

    Reply
  6. Yubin says:
    June 12, 2020 at 2:22 pm

    tyo bhandha dami website ta yeta cha https://www.yeklo.com/

    Reply
  7. Gopi krishna baral says:
    June 12, 2020 at 6:49 am

    नेपाली हरु भवनामा डुब्ने भावनात्मक हुन्छन भन्ने थाहा भएकाहरु ले जोडजोडका साथ भजाएका हुन । मुलधार का मिडियालाइ चियानास्ता खुवाएर हल्का कलम मिलाएर तरिकाले बङ्याउन लगाएका हुन । यत्ती बुझियो आफुले त । धेर बुझियो या कम्ति अथवा कत्ती बुझिएन ।म आफि भन्न सक्दिन ???????

    Reply
  8. युबिक says:
    June 11, 2020 at 7:51 pm

    Crowd1 को बारेमा पनि जानकारी दिनु हुन्छ कि यस्मा पनि धेरैले लगानि गरेको छ

    Reply
  9. किरण प्रसाई says:
    June 11, 2020 at 5:06 pm

    App मा के रैछ भनेर इन्स्टल गरेको १० मिनेट कुर्दा पनि खुलेन। प्रतिक्रिया हेर्दा अरु धेरै लाई पनि यस्तै समस्या रैछ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme