Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२ हजार नाघेपछि नेपालमा कोरोना कहर लेभल २ मा, जनस्वास्थ्य विपद् घोषणा गर्ने योजना

Posted on June 3, 2020June 3, 2020 by Salokya

स्रोत : स्वास्थ्य मन्त्रालयले मे २०२० को मितिमा कोभिड १९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मे २०२० मा कोभिड-१९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान बनाएको थियो। त्यो प्लानमा २ हजार पोजिटिभ केससम्मको स्थितिलाई लेभल १ मा राखिएको थियो। मंगलबार संक्रमितको संख्या २ हजार नाघेसँगै अब लेभल १ सकिएको छ। अब ५ हजार पोजिटिभ केससम्मको स्थितिलाई लेभल २ मा राखिएको छ। 

स्रोत : स्वास्थ्य मन्त्रालयले मे २०२० को मितिमा कोभिड १९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान ।

लेभल १ मा योजना गरिएका मुख्य विषय यी थिए। लेभल १ सम्ममा सबै पोजिटिभ केसलाई कोभिड-१९ कै उपचार गर्ने घोषणा गरिएका अस्पतालहरुमा भर्ना गरिन्थ्यो। यही कुरा नबुझेर केही सेलिब्रिटी पत्रकारसमेतले ग्रान्डीका कर्मचारीलाई किन पाटन अस्पताल लगियो भनेर हल्ला मच्चाएका थिए।  अनि पछि आफ्नो कमजोरी खोतलिएपछि मैले त निजी अस्पतालको भूमिका के हो भनेर मात्रै सोधेको भन्न थालेकी थिइन्। लेभल ३ मा आएर बल्ल सरकारले सबै निजी अस्पतालको स्रोत साधन प्रयोग गर्ने तयारी छ।

अहिले भने पोजिटिभ केस २ हजार कटेसँगै लेभल २ सुरु भएको छ।

२ हजार केससम्मको स्थितिलाई नेपालले प्लान गर्दा लेभल १ मा राखेको थियो। यो संख्या मंगलबार पार भइसकेको छ। अब ५ हजार संक्रमितको संख्यासम्मको स्थितिलाई लेभल २ मा प्लान गरिएको छ।

लेभल २ मा के के गर्ने योजना छ त ?

स्रोत : स्वास्थ्य मन्त्रालयले मे २०२० को मितिमा कोभिड १९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान ।

लेभल २ मा जन स्वास्थ्य ऐन २०७५ को दफा ४८.४ अनुसार जनस्वास्थ्य विपद् घोषणा गर्ने तयारी छ। ऐनको दफा ४८  आपतकालीन स्वास्थ्य सेवा तथा व्यवस्थापन सम्बन्धी दफा हो। यसको उपदफा ४ मा  स्थानीय तहले प्रचलित कानून बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने, तर, कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा सम्बन्धित प्रदेशले र एकभन्दा बढी प्रदेशहरूमा जनस्वास्थ्य विपद् अवस्था सृजना हुन गएमा नेपाल सरकारले तोकिए बमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने उल्लेख छ।

यो लेभलको एउटा महत्त्वपूर्ण परिवर्तन के हो भने अघिल्लो लेभलमा जस्तो संक्रमण पुष्टि भएका सबैलाई अस्पतालको आइसोलेसन बेडमा नराखी लक्षण नदेखिएका पोजिटिभ केसहरुलाई होम आइसोलेसनमा राखिनेछ। अर्थात् अत्यावश्यक नभएसम्म अस्पतालमा नआई घरैमा छुट्टै बसी स्वास्थ्य लाभ गर्न  भनिनेछ।

किनभने अब लेभल २ मा आइसकेपछि अस्पतालको आइसोलेसन बेडले धान्न सक्ने स्थिति हुन्न।

नेपालमा अहिलेसम्म भेटिएका संक्रमितहरु जति सबैलाई अस्पतालमा आइसोलेसन बेडमा राखिएको थियो। तर देशभरका आइसोलेसन बेडको कूल संख्या ३०७६ मात्र छ।

स्रोत : स्वास्थ्य मन्त्रालयले मे २०२० को मितिमा कोभिड १९ प्यान्डेमिकको हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लान ।

यो ब्लग तयार पार्दासम्म अस्पतालमा उपचार गराइरहेका बिरामीको संख्या १८२५ छ। संक्रमितको ‍‍‍‍औसत अस्पताल बसाइ १६ दिन रहेको छ। देशभरका स्थिति हेर्दा अहिलेसम्म आइसोलेसन बेडले धानेको जस्तो देखिएको छ। तर प्रदेशगत हिसाबमा जाँदा भने धेरै संक्रमित भेटिएका प्रदेश ५ (६९९) र प्रदेश २ (८१६) मा आइसोलेसन बेड अपुग हुन थालिसकेको छ।

त्यसैले लेभल २ मा लक्षण नदेखिएका पोजिटिभ केसहरुलाई होम आइसोलेसनमा राखी उपचार गरिनेछ।

संक्रमितको संख्या ५ हजार नाघिसकेपछि भने लेभल ३ सुरु हुनेछ।

नेपालमा कोरोना संक्रमणको रफ्तार एकदमै तीव्र छ। एक हजारबाट दुई हजार पुग्न मात्र ५ दिन लागेको छ। यो हिसाबले अर्को हप्तासम्ममा नेपाल लेभल ३ मा प्रवेश गर्न सक्ने सम्भावना देखिएको छ।

अनुमानको अर्को पक्ष

दुई हजार केससम्मको स्थितिमा १५ प्रतिशतलाई अक्सिजन सपोर्ट चाहिने र ५ प्रतिशतलाई आइसियु चाहिने अनुमान थियो। तर यो स्थिति नेपालको केसमा देखिएको छैन। मरिसकेपछि कोरोना पुष्टि भएका केसमा बाहेक अरुलाई अक्सिजन सपोर्ट वा आइसियु चाहिएको समाचार आएका छैनन्। गुल्मीमा एक जनाको मात्रै भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको छ।  यदि अधिकांश लक्षण नदेखिने बिरामी मात्रै देखिएको हो भने अहिले संक्रमितको संख्या बढ्दैमा आत्तिनु पर्ने देखिन्न। अहिले अस्पतालमा बसिरहेकाहरु औसत १६ दिनपछि कोरोनाभाइरस नेगेटिभ रिपोर्ट आएर डिस्चार्ज भएका छन्। अब घरैमा बसेर अर्थात् होम आइसोलेसनमा बसेर कोरोना पराजित गर्नुपर्नेछ। यसका लागि घरमा एकदमै नियम पालना गरेर बसेर अरुलाई सर्न नदिई इम्युनिटी बढाउनु पर्ने अवस्था हुन्छ।

अहिले नेपालमा सबैभन्दा बिजोग क्वारेन्टिन स्थलको भएको छ। बाख्राका खोर जस्ता क्वारेन्टिनमा बसालिएकाहरुको मृत्यु भएको समाचार निरन्तर आइरहेको छ। लक्षण देखिएकाहरुको छिटो परीक्षण हुन सकेको छैन त्यसकारणले क्वारेन्टिनभित्रैबाट संक्रमण सर्न सक्ने जोखिम बढेको छ।

अनुपातमा चीनमा भन्दा बढी संक्रमण

 

नेपालमा संक्रमितको संख्या जनसंख्या र संक्रमितको संख्याको अनुपातमा चीनमा भन्दा बढी भइसकेको छ। युएन नेपालले अप्रिल महिनामा तयार पारेको PREPAREDNESS AND RESPONSE PLAN (NPRP) मा संक्रमितको अनुमानित संख्या १ हजार ५ सय राखिएको थियो। चीनको जनसंख्याको २ प्रतिशत नेपालको जनसंख्या भएको हिसाबले चीनको ७० हजार संक्रमित संख्याको अनुपात निकाल्दा नेपालमा कूल १ हजार ५ सय संक्रमित हुनसक्ने अनुमान थियो।

तर यो संख्या आज २ हजार नाघिसकेको छ।

यो अनुमानमा स्कूल बन्द हुने, भेला हुन प्रतिबन्ध, सार्वजनिक यातायात नचल्ने, सीमा बन्द हुने र सातै प्रदेश प्रभावित हुने सबै मिलेका छन्।

तर पुरुषभन्दा महिला संक्रमित बढी हुने अनुमान मिलेको छैन। अहिले कूल संक्रमितको संख्या मध्ये पुरुष १९४९ हुँदा महिला मात्र १५० छन्।

यो प्लानमा १० हजार संक्रमित हुने अवस्थालाई खराब अवस्थाको परिकल्पना भनिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme