Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना फ्री कन्ट्री : अहिलेसम्म कोरोना संक्रमण नभेटिएका १२ देश

Posted on June 1, 2020June 1, 2020 by Salokya


कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी महामारी भनिएको छ। चीनबाट सुरु भएको यो संक्रमण बिस्तारै विश्वका लगभग सबै देशमा फैलिसक्यो। भागेर जाउँ, कुन ठाउँ जाउँ, कोरोना नलागेको देश र सहर हुन्न भने जस्तो भइसक्यो। सुरुमा हाम्रै देशका पर्यटन मन्त्रीले समेत हाम्रो देशलाई कोरोना फ्री कन्ट्री भनेर प्रचार गर्ने भनिरहेका थिए। अहिले त यो जोकै जस्तो भयो। तर अहिलेसम्म पनि कोरोनाले नभेट्टाएका पनि केही देशहरु छन् भन्ने सुन्दा तपाईँलाई अचम्म लाग्ला। विश्वका १२ देश त्यस्ता छन्, जहाँ अहिलेसम्म कोरोना संक्रमण भएको सूचना त्यो देशले दिएको छैन। देश भन्नाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रलाई भनिएको हो। कोरोनाले नछोएका देशहरुमा दुई वटा एसियाली देश छन्। बाँकी देश भने ‌‌ओसेनियाका ससाना टापु राष्ट्र हुन्। कुन कुन देश हुन्, आउनुस् विस्तृतमा हेरौँ।

१) उत्तर कोरिया


साढे दुई करोडभन्दा बढी जनसंख्या रहेको उत्तर कोरिया कोरोना नलागेको देशको सूचीमा सबैभन्दा बढी जनसंख्या भएको देश हो। तर यहाँ कोरोना नभएकोमा शंका गरिएको छ। बन्द देश हुनाले भित्रका कुरा खासै बाहिर आउँदैन पनि। अस्ति भर्खर उत्तर कोरियाका नेता किम जोङ उन मरेको भनेर हप्तौँ हल्ला भयो। तर खासमा उनी सकुशल रहेछन्। चीन र दक्षिण कोरियासँग सीमा जोडिएको हुनाले यहाँ संक्रमण भएको छैन भनेर मान्न सकिन्न भनेर दक्षिण कोरियामा बसेर ठोकुवा गर्नेहरु पनि छन्। तर पनि आधिकारिक रुपमा उत्तर कोरियाले अहिलेसम्म आफूकहाँ कुनै पनि कोरोना संक्रमण भएको औपचारिक रुपमा बताएको छैन। जनवरीमा नै उसले चीनसँगको नाका बन्द गरेको थियो। विदेशीहरुलाई त त्यसै पनि त्यहाँ जान गाह्रै थियो। अहिले झन् रोक नै लगाइएको छ। शायद यो कारणले पनि कोरोना नफैलिएको हो कि !

२) तुर्कमेनिस्तान


कोरोना नलागेको दोस्रो एसियाली राष्ट्र तुर्कमेनिस्तान हो। ६० लाख जनसंख्या भएको यो देश पनि उत्तर कोरिया जस्तो तानाशाही व्यवस्था भएको देश हो। सोभियत संघबाट छुट्टिएपछि सन् १९९९ मा नमर्दासम्म नियाजोभ राष्ट्रपति भए। अहिले Berdimuhamedow सन् २००७ देखि राष्ट्रपति छन्। राज्यका कुराहरु त्यहाँ उत्तर कोरियामा झैँ गोप्य पारिन्छन्। लगभग आइसोलेटेड देश हो यो पनि। विज्ञहरु त्यहाँ पनि कोरोना फैलिसकेको तर समाचार बाहिर नआएको हुनसक्ने बताउँछन्।

ओसेनियाका टापु राष्ट्रहरु

बाँकी देशहरु ओसेनियाका टापु राष्ट्रहरु हुन्।

३) सोलोमन आइल्यान्ड : यहाँको जनसंख्या सात लाख पनि पुग्दैन।

४) भानुआटु : यहाँको जनसंख्या ३ लाख हाराहारी छ।

५) समोआ : यहाँको जनसंख्या लगभग २ लाख छ।

६) किरिबाटी : यहाँको जनसंख्या १ लाखभन्दा थोरै बढी छ।

७) माइक्रोनेसिया : १ लाखकै हाराहारीमा छ यहाँको जनसंख्या पनि।

८) टोंगा : यो पनि १ लाख हाराहारीकै जनसंख्या भएको देश हो।

९) मार्सल आइल्यान्ड : लगभग ६० लाख बस्छन् यो देशमा।

१०) पालाउ : १८ हजार जनसंख्या भएको देश।

११) टुभालु : यहाँको जनसंख्या त झन् १२ हजार पनि छैन।

१२) नाउरु : यहाँको जनसंख्या साढे १० हजारभन्दा थोरै बढी छ।

अहिले त लकडाउन छ। विमान सेवाहरु पनि अधिकांश बन्द छन्। तर पनि यी देशहरुमध्ये नेपालीका लागि भिसा पोलिसी कस्तो रहेछ त? कोरोनामुक्त यी देशहरुमध्ये समोआमा पुग्ने बित्तिकै नेपालीलाई इन्ट्री पर्मिट ६० दिनको दिइन्छ। त्यसैगरी अन अराइभल पाइने देशहरुमा माइक्रोनेसिया, पलाउ र टुभालुले एक महिनाको भिसा दिन्छ। यो कोरोना संक्रमणले विश्व नहल्लाएको अवस्थाको कुरा थियो। अहिले त कोरोना लागेका देशहरुबाट यी मध्ये कतिपय देशमा पनि विदेशीको आवागमन प्रतिबन्धित छ।

गत अप्रिल १६ मा यस्तै ब्लग लेख्दा कोरोना फ्री कन्ट्री १५ थिए। ती मध्ये ताजिकिस्तान, लेसोथो र कोमोरोसमा कोरोनाभाइरस संक्रमण भेटिएको छ। ताजिकिस्तानमा ३ हजार ८०७ संक्रमित भेटिएका छन्। लेसोथोमा २ र कोमोरोसमा ४३ संक्रमित भेटिएका छन्।

यी देशमा कोही नेपाली छन् त? छन् भने सम्पर्कमा आउनुस् है [email protected] मार्फत्। त्यताको अवस्था बुझौँ भनेर पछिल्लो ब्लगमा लेख्दा कोमोरोस भन्ने देशमा नौ जना नेपाली रहेको जानकारी प्राप्त भएको थियो। अहिले माथिका १२ कोरोना फ्री कन्ट्रीमा कोही नेपाली हुनहुुन्छ भने पनि सम्पर्कमा आएर जानकारी दिनुस् है।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme