Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्रीको सम्बोधनको फ्याक्टचेक : कुन-कुन तथ्य गलत ?

Posted on May 25, 2020May 25, 2020 by Salokya


प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए। त्यस्तो खासै विशेष कुरा भने केही पनि आएन। ‘गरिनेछ’ आश्वासन धेरै आए। सम्बोधनका केही तथ्य भने गलत छन्। हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

प्रधानमन्त्रीको दावी : कुनै मानवीय क्षति नहोस् भन्ने हाम्रो अथक प्रयासका बाबजुद यसबीचमा नेपालभित्र हाम्रा तीन जना नागरिकको दुःखद् निधन भएको छ।

तथ्य : तीन जना होइन, चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिँउसो सवा ४ बजेको प्रेस ब्रिफिङमा नै घोषणा गरिसकेको हो। प्रधानमन्त्रीले साढे ५ बजे सम्बोधन गर्ने खबर दिउँसोदेखि नै आएको थियो। कसैले पनि सम्बोधनको भिडियो रेकर्डेड हो, लाइभ होइन भनेका थिएनन्। यदि यो अगाडि नै रेकर्ड गरिसकेको भए यति बजे रेकर्ड गरिएको भनेर टेलिभिजनमा सूचना दिन सकिन्थ्यो। तर सम्बोधनका क्रममा नेपाल टेलिभिजनले न ‘लाइभ’ लेखेको थियो, न ‘रेकर्डेड’ नै। जेठ ४ गते नै चौथो व्यक्तिको मृत्यु भइसके पनि र त्यसको आधिकारिक घोषणा भइसकेको एक घण्टा नाघिसक्दा पनि प्रधानमन्त्रीको मुखबाट तीन जनाको मात्र मृत्यु भएको भनाउनु गलत हो।

प्रधानमन्त्रीको दावी : फागुन ३ देखि चैत २९ गतेसम्म झण्डै २ महिनासम्म संक्रमितको संख्या दोहोरो अङ्कमा ननाघ्नु र मानवीय क्षतिवेगर बन्दाबन्दीको पालना हुनुले विश्व स्वास्थ्य संगठनले हाम्रो मुलुकलाई अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थियो।

तथ्य : यो गलत भएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरिसकेको छ। यो विषयमा हामीले अप्रिल २६ मा नै फ्याक्टचेक गरिसकेका थियौँ- कोरोना भाइरसको उच्च जोखिम रहेका देशहरुको सूचीबाट नेपाल हटेको समाचार गलत ‘विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९)को अति उच्च जोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ । कोरोना नियन्त्रण तथा रोकथाममा नेपालको प्रगतिका आधारमा जोखिम सूचीमा सुधार भएको दावी सरकारी अखबार गोरखापत्र र समाचार एजेन्सी राससले गरेको थियो।

हामीले विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका अधिकारीहरुसित सम्पर्क गर्‍यौँ। उनीहरुले यसमा अनभिज्ञता जनाए। ‘हामीले पनि समाचार सुन्यौँ, डब्लुएचओको कुनै पनि डकुमेन्टमा नेपालको स्थान यसरी झरेको हामीले देखेका छैनौँ’, उनीहरुले भनेका थिए।

डब्लुएचओले तीन वटा ग्रेडिङ गर्ने गर्छ। सम्पूर्ण विश्व स्वास्थ्यलाई असर पर्ने हिसाबको भए ग्रेड थ्री इमरजेन्सी भन्ने गरिन्छ। कोभिड १९ लाई डब्लुएचओले Pandemic भनेर ग्रेड थ्री इमर्जेन्सी घोषणा गरेको छ। यो भनेको ग्लोबल हाइ रिस्क हो। यो विश्वका सबै देशमा लागू हुन्छ। अर्को, डब्लुएचओले सिचुएसन रिपोर्टको दैनिक अपडेट दिने गर्छ। यसमा ट्रान्समिसन क्लासिफिकेसनको चार लेभल हुन्छ। यसमा नेपालको लेभल परिवर्तन भएको छैन। डब्लुएचओले अर्को एउटा वर्गीकरण पनि गर्ने गर्छ- प्रत्येको देशको तयारीको अवस्था (Country Preparedness and Response Status) का बारेमा। यसको २० अप्रिल २०२० र त्यो भन्दाअघिको मार्च १९, २०२०, फेब्रुअरी २८ को रिपोर्टमा पनि नेपाल लेभल ३ मा नै छ। अर्थात् प्रधानमन्त्रीले दावी गरे जस्तो अति जोखिमबाट जोखिमको तहमा प्रगति भएको बताएको थिएन।

प्रधानमन्त्रीको दावी : एक मात्र प्रयोगशालाबाट सुरु भएको कोभिड–१९ को परीक्षणलाई सातवटै प्रदेशसम्म विस्तार गर्दै २० भन्दा बढी प्रयोगशालाबाट अहिले तीब्र बनाइएको छ।

तथ्य : प्रधानमन्त्रीले २० भन्दा बढी प्रयोगशालाबाट कोभिड-१९ को परीक्षण तीब्र बनाइएको भने पनि हिजोसम्म देशभरका कूल १९ प्रयोगशालाबाट मात्र परीक्षण हुन्थ्यो। यी हुन् परीक्षण हुने ल्याबहरु (स्रोत : मन्त्रालयको सिचुएसन रिपोर्ट)

यसमा त्रिभुवन विश्वविद्यालयको बायोटेक्नोलोजी विभागमा रहेको मेसिन ल्याएर आजदेखि टिचिङ अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको छ। अर्थात् आजदेखि बल्ल कूल २० प्रयोगशालाबाट परीक्षण हुने हो। प्रधानमन्त्रीले दावी गर्नुभए जस्तो ‘२० भन्दा बढी’ प्रयोगशालाबाट परीक्षण हुने गरेको छैन।

प्रधानमन्त्रीको दावी : महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नु परेको थियो।

तथ्य : एसईई परीक्षा २०७६ चैत ६ गतेदेखि हुन लागेको थियो। त्यसको अघिल्लो दिन अर्थात् चैत ५ गते साँझ बल्ल उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। प्रधानमन्त्रीले दुई दिन अगाडि स्थगित गर्नुपरेको भने पनि परीक्षा दिन तयार भएका लाखौँ विद्यार्थीलाई थाहा छ, परीक्षा सुरु हुन १२ घण्टाभन्दा कम समय बाँकी रहँदा बल्ल स्थगित भएको समाचार मिडियामा आएको थियो। दुई दिन अगाडि त सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो। दुई दिन अगाडि स्थगित गरेको भए भोलिका लागि सबै तयारी पूरा भनेर सरकारी अखबार गोरखापत्रको मुखपृष्ठमा यस्तो खबर आउने थिएन चैत ५ गते।

प्रधानमन्त्रीको दावी : कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ।

तथ्य : Harvard Medical School र Emory University सित आवद्धहरुले JAMA Internal Medicine मा मे १४ मा प्रकाशन गरेको पेपर अनुसार यो रुघाखोकी जस्तो सामान्य होइन। पेपरमा लेखिएको छ, ‘अधिकारीहरुले सार्स-कोभ-२ (कोभिड १९ गराउने भाइरस) लाई रुघाखोकीज्वरो जस्तै भने पनि त्यो सत्य होइन।’ Assessment of Deaths From COVID-19 and From Seasonal Influenza शीर्षकको पेपरमा अमेरिकामा हरेक हप्ता २० गुणा बढी मृत्यु यसबाट भएको उल्लेख छ।

विश्व स्वास्थ्य संगठनले पनि सिजनल इन्फ्लुएन्जाभन्दा यसको मृत्युदर बढी रहेको उल्लेख गरेको छ।

हेल्थलाइनमा प्रकाशित रिपोर्ट अनुसार पनि विज्ञहरुले मौसमी रुघाखोकी ज्वरो भन्दा कोभिड १९ धेरै भयावह भएको उल्लेख छ। फ्लुभन्दा यो सजिलोसँग धेरैमा फैलिन्छ, यसको मृत्यु दर र अस्पतालमा बस्नु पर्ने गरी बिरामी हुने दर पनि धेरै छ।

प्रधानमन्त्रीको दावी : भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ।

तथ्य : भाइरस फोहरमा रमाउने प्रधानमन्त्रीको दावी भ्रामक छ। भाइरोलोजीमा पिएचडी गरेकी डा. लुना भट्ट शर्माले ट्विट गरेकी छिन्- मेरो अहिले सम्मको बुझाईको क्रममा कहिले नसुनेको कुरा हो यो, भाइरस फोहोरमा रमाउँछ।

मेरो अहिले सम्मको बुझाईको क्रममा कहिले नसुनेको कुरा हो यो, वाइरस फोहोर मा रमाउँछ।?? तथ्य सुचना दिनु पर्ने हो,
अहिले धेरै नागरिकहरु पढे लेखेका पनि छन।
कुनै अनुसंधान को नतिजा बिना यस्तो भन्दा ??
त्यसो भए आयुर्बेद को उद्ग्गंम स्थल भारतमा किन यति धेरै मृत्यु????

— Dr.Luna Bhatta Sharma (@Lunabs8) May 25, 2020

कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा, हाँछ्यु गर्दा नाक वा मुखबाट निस्कने छिटा अर्को व्यक्तिको आँखा, नाक वा मुखबाट शरीर भित्र पसेपछि सर्ने हो। त्यसैले बसोबासको ठाउँ एकदमै सफाचट्ट भएको र दिनदिनै नुहाएर चट्ट भएर बस्ने मानिस पनि अर्को संक्रमित व्यक्तिले खोक्दा निस्कने छिटाबाट संक्रमित हुनसक्छ।

भाइरस फोहरमा मात्र रमाउने होइन, डोरोथी क्रफोर्डको पुस्तक VIRUSES A Very Short Introduction का अनुसार भाइरस जहीँतहीँ हुन्छ। पृथ्वीमा भएका सबै जीवित कुरालाई जोड्दा पनि त्यसको संख्याभन्दा बढी भाइरस हुन्छ। भाइरस अनुमानित १० करोड प्रकारका हुन्छन्। त्यसैगरी पुस्तकमा उल्लेख भए अनुसार भाइरस समुद्रको गहिराइमा भएको हाइड्रोथर्मल भेन्ट्सदेखि पोलार आइसक्याप्स, एसिड लेक्ससम्म पनि भाइरस रमाउँछ।

र, एउटा स्पष्टिकरण

विगत केही समयदेखि अपाङ्ग वा एकल महिला भत्ता कटौति भएको चर्चा चलेकोमा प्रधानमन्त्रीले भनेका छन्- “यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन।”

सच्याइएको : यसअघि अपाङ्ग वा एकल महिला भत्ता कटौति हुन लागेको ‘हल्ला’ भनी गलत उल्लेख भएकोमा सच्याइएको छ। पहिले सामाजिक सुरक्षा ऐन को दफा २९ अनुसार साबिक बमोजिम खाइपाइ आएको भत्ता दिने भन्ने थियो। २०७६ चैत ३ गते राजपत्रमा नियमावली प्रकाशित भएपछि नेपाल सरकारले निर्णय गरेर दिने भत्ताको निर्णय पनि स्वतः खारेज भएको थियो। फलस्वरुप चैतदेखि ६० वर्ष मुनिका एकल महिला र अति अशक्त अपांगको भत्ता रोकिएको हो। प्रधानमन्त्रीले कटौति गरिने छैन भनेर सम्बोधन गरे पनि यो दिनका लागि अब चालू आवमा क्याबिनेटले निर्णय गरेर नरोक्ने भनी परिपत्र गराउनु पर्छ र त्यसपछि ऐनमा समेत संशोधन गर्नुपर्ने हुन्छ।

4 thoughts on “प्रधानमन्त्रीको सम्बोधनको फ्याक्टचेक : कुन-कुन तथ्य गलत ?”

  1. युवराज says:
    May 26, 2020 at 1:47 pm

    जोक सुनाउने ले यत्तिको मात्र गल्ती गर्नु सामान्य ठाने सालोक्य जी मैले त

    Reply
  2. Kamal says:
    May 26, 2020 at 12:30 pm

    यति मुर्ख प्रधानमन्त्रि त नेपालको ईतिहासमा कोहि पनि थिएन होला । प्रधानमन्त्रि को काम Virus को बारेमा पढाएर, ब्याख्या गरेर बस्ने होइन​, कसरि त्योसङग लडने Plan बनाउने र Execute गर्ने हो । लौ पसुपतिनथ, के. पि. ओलिलाई सद्बुद्धि देऊ ।

    Reply
  3. Bikash Sharma says:
    May 26, 2020 at 7:47 am

    हिजो सम्म निर्जीव भन्नेले आज फेरी Virus फोहोर मा रमाउछ रे 🙂

    Reply
  4. chandra gautam says:
    May 25, 2020 at 10:20 pm

    हालै लिम्पियाधुरा समेत समावेश भएको नेपालको नक्सा भएको पुरानो नेपाली एक रुपैंयाको क्वाइन भनेर फेसबुकमा छ्यापछ्याप्ती देखिन थालेको छ । गुगलमा इमेजेज ओप ओल्ड नेपलिज रुपी सर्च गर्दा अर्कै क्वाइनको चित्रबाट फोटोसप गरेको प्रष्टै देखिन्छ । एक पटक फ्याक्ट चेक गरियोस भन्ने अनुरोध ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme