Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, राजाको फोटो भएको नोट ‘नचल्ने’ होइन, बजारमा नपठाउन बैँकलाई निर्देशन दिइएको हो

Posted on May 25, 2020May 25, 2020 by Salokya


सामाजिक सञ्जालमा हिजोदेखि एउटा चर्चा चलेको छ- अबदेखि राजाको चित्र भएको नोट नचल्ने! केहीले यस्तै शीर्षकमा समाचार लेखेका छन् भने धेरैले यसबारे आफ्नो धारणा लेखिरहेका छन्। सामाजिक सञ्जालमा भएको चर्चाले राजाको चित्र भएको नोट भारतको ‘नोटबन्दी’ जस्तो बेकम्मा हुने नगरी ‘नचल्ने’ हुन लागेको जस्तो पनि देखिएको छ।

के हो यसको वास्तविकता? हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

राजा ल्याऊ देश बचाऊ अभियान नामको फेसबुक पेजले रातोपाटीको समाचार सेयर गरेको छ जसको शीर्षक ‘पूर्वराजाको चित्र भएको नोट अब नचल्ने, नोटमा स्टिच लगाउन पनि रोक’ रहेको छ।

रातोपाटीको आफ्नै भेरिफाइड फेसबुकबाट पनि यो समाचार व्यापक सेयर भएको छ। अधिकांश कमेन्टहरु नोट नचल्ने बनाउन लागेकोमा विरोध छ।

त्यसैगरी फेसबुकमा देशसञ्चारको ‘अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट नचल्ने’ शीर्षकमा समाचार राखिएको छ। शीर्षक अनुसार अरु पूर्वराजाको फोटो अंकित नोट चल्ने, वीरेन्द्र र ज्ञानेन्द्रको चाहिँ नचल्ने जस्तो भ्रम पर्न सक्छ।

कलाकार दीपकराज गिरीले पनि यो बारेमा सोमबार फेसबुकमा स्टायटस लेखेका छन्।

फेसबुकमा थुप्रै पेजहरुले नोट नचल्ने शीर्षकमा समाचार सेयर गरेका छन्-

के हो तथ्य ?

सोसल मिडियामा आएका कुराले राजाको तस्बिर भएको नोट ‘नचल्ने’ जस्तो भ्रम भए पनि कुरा त्यसो होइन। यो भारतमा चार वर्षअघि गरिएको नोटबन्दी (डिमनिटाइजेसन) को बेलामा जस्तो एक सय र पाँच सयको नोट नचल्ने भनिएको होइन। यो कुरा नेपाल राष्ट्र बैँकले जेठ ११ गते सबै बैँक तथा वित्तीय संस्थालाई सफा नोट नीतिबारे पठाएको परिपत्रबाट आएको हो।

परिपत्रको बूँदा नम्बर ७ मा पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्दै चलनचल्तीको लागि पठाउन नहुने नोटहरुको बारेमा उल्लेख छ। त्यसमा ‘पूर्वराजाको तस्बिर अंकित भएको नोट’ पनि लेखिएको छ।

यस्तो नोट नचल्ने नभई बजारमा नआउने व्यवस्था मिलाउन चाहिँ राष्ट्र बैँकले निर्देशन दिएको हो। त्यस्ता नोट तिनीहरुले रातो रङ्गको स्लिप प्रयोग गरी नोटकोष वा नेपाल राष्ट्र बैँकमा जम्मा गर्नुपर्नेछ।

पूर्वराजाको फोटो भएको नोट चलनचल्तीमा नल्याउने निर्णय हालका अर्थमन्त्री युवराज खतिवडा नौ वर्षअघि नेपाल राष्ट्र बैँकको गभर्नर हुँदा सन् २०११ मा गरेका थिए। २०६७ फागुन २९ गते राष्ट्र बैँकले फागुन मसान्तसम्म मात्र पूर्व राजाको फोटो भएका नोट स्वीकार गर्ने, चैत १ पछि स्वीकारै नगर्ने, बैँकहरुले नोट दाखिला गर्न ल्याए पनि स्वीकार्य नहुने सूचना निकालेको थियो।

यो चाहिँ अहिले चर्चा भए जस्तो ‘नोट नचल्ने’ सूचना हो। त्यतिबेला नोट नचल्ने भएपछि सबै आत्तिएका थिए। राष्ट्र बैँकको सूचनामा भएका शाखाहरुमा नोट साट्न ठूलो भिड जम्मा भएको थियो।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपपछि यो निर्णय फिर्ता भयो। राजाको फोटो भएका नोट नचल्ने भन्दै फिर्ता गर्न लगाएर नयाँ छापेर कमिसन खान लाग्या छ है भन्ने आरोप लगाउँदै नारायण दाहालले अख्तियारमा उजुरी दिएका थिए।  त्यसैको छानबिन गर्न अख्तियारले राष्ट्र बैंकका अधिकारीलाई स्पष्टिकरण लिएको थियो। 

अख्तियारले राष्ट्र बैँकका अधिकारीहरुलाई राजाको फोटो भएको नोट नचल्ने कुरा सर्वसाधारणलाई पर्याप्त पूर्व सूचना नदिइ अन्यौलमा किन राखेको ? राजपत्रमा सूचना किन नछापेको ? एकैपटक नोट छापेर अनियमितता गर्न खोजेको हो ? जस्ता प्रश्न राखेका थिए।

अख्तियारले कानुनको कुरा उठाएपछि राष्ट्र बैँकले राजाको फोटो भएको नोट पहिले जस्तै गरी चल्ने सूचना जारी गर्न बाध्य भयो।

तत्कालीन गभर्नर खतिवडा जनदबाब र अख्तियारको दबाबका कारण तीन दिनमा तीन निर्णय गरी अन्तमा ‘पूर्वराजा अंकित नोटहरु सट्टाभर्ना गर्न सर्वसाधारणलाई कठिनाइ परेको व्यहोरा बैंकको जानकारीमा आएकाले सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर पूर्वराजा अंकित नोटहरु पूर्ववत् चलनचल्तिमा रहने व्यवस्था गरेको छ’ भन्न बाध्य भयो।

हेर्नुस् त्यतिबेलाका तीन ब्लग
राजाले फेरि टेन्सन दिने भो
राजाको फोटो भएको नोट कहाँ साट्ने ?
राष्ट्र बैँकले नौट‍ंकी गर्‍यो, अब राजा नोट चल्ने रे

उतिबेलाको निर्णय अनुसार नै राजाको फोटो भएका नोट चलनचल्तीमा नल्याई राष्ट्र बैँकमा दाखिला गराउन थालेको भए यति बेला अर्थात् नौ वर्षसम्ममा त्यस्ता नोट बजारबाट हटिसकेका हुन्थे। तर त्यसो गरिएन।

अहिले भने नौ वर्षअघिको जस्तो राजाको फोटो भएको नोट नचल्ने निर्णय भएको होइन, त्यस्ता नोटलाई पुनः बजारमा नपठाउने व्यवस्था मिलाउन चाहिँ राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो। तसर्थ आफ्नो गोजीमा भएको राजाको फोटो भएको नोट नचल्ने हो कि भनेर चिन्ता लिनु पर्दैन, बरु संकलन गर्नुपर्ने भए त्यस्तो नोट आफूकहाँ फेरि नआउला भनेर चाहिँ चिन्ता गर्नुपर्ने हो।

1 thought on “नझुक्किनुस्, राजाको फोटो भएको नोट ‘नचल्ने’ होइन, बजारमा नपठाउन बैँकलाई निर्देशन दिइएको हो”

  1. Surendra Shrestha says:
    May 31, 2020 at 8:21 am

    Thanks Umesh for clarification. Nepali media’s misleading headline is so rampant these days. Here is one you want look at; https://nayapatrikadaily.com/news-details/44352/2020-05-30
    Where it goes to says government selling petrol for Rs 96, while the cost price is Rs21. But is fails explain the price is for crude oil. Even the crude price at $35/bbl= $0.22/Lt=Rs 26/Lt ($1=120). Now add cargo cost, refinery cost which quite high, import duty, local tax, transportation upto Nepal boarder and profit how can IOC sell for $21/Lt to NOC? Even in layman calculations is has to around Rs 50/Lt . We pay sound A$1.1 here is australia too. So it’s a fake news.Hope you write up this one too.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme