Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना नेगेटिभ रिपोर्ट सोसल मिडियामा हाल्न पत्रकारहरुको हानाथाप, जोखिम थाहा होला?

Posted on May 23, 2020May 23, 2020 by Salokya

अचेल हाम्रा केही पत्रकारहरुमा एउटा फेसन चलेको छ- कोरोना नेगेटिभ रिपोर्ट फेसबुकमा हाल्ने, हल्ला गर्ने- म त कोरोना नेगेटिभ हो है भन्दै। विगत केही दिनदेखि यो क्रम बढ्दो छ। पत्रकारका आफू आवद्ध संस्थाहरुबाट पाएको कोटामा कोरोनाको पिसिआर परीक्षण गर्नेहरुको अनुहार हेर्दा कोरोना लागेपछि घरैमा बसेर काम गरिरहनेहरु पनि छन्। जोखिम भएका ठाउँमा गएर रिपोर्टिङ गर्नेहरु, फोटो खिच्नेहरुको परीक्षण आवश्यक होला। पत्रकार भएका कारण भाडामा बसेको ठाउँमा घरबेटीले पस्नै नदिएका कारण चेक गराउनु परेको बाध्यता पनि होला। त्यो एक ठाउँमा छ। तर संक्रमित ठाउँ वा मान्छेसितको कन्ट्याक्ट हिस्ट्री नभएकाहरुले पनि चौथो अंगको पावर देखाएकै भरमा परीक्षण गराएर गौरवका साथ नेगेटिभ रिपोर्ट हाल्दै गरेको पनि देखिएको छ। पावर लगाएर वा लागेर परीक्षण भयो होला, ल छाड्दिम्। तर रिपोर्ट सोसल मिडियामा हाल्नुको अर्थ के? नहोस् त्यस्तो तर कथंकदाचित कसैको पोजिटिभ आएको भए उनीहरु यसैगरी रिपोर्ट हालेर म संक्रमित भएँ भन्न सक्थे होला? अनि यो नेगेटिभ रिपोर्ट आउनुको मतलब कोरोनाविरुद्ध खोप लगाएको जस्तो त पक्कै होइन, तपाईँले परीक्षण गराउन जाँदा त्यहाँ कोही संक्रमित भएर सरेको पनि हुनसक्छ।

त्यही दिन सरेको भए तपाईँको त्यो नेगेटिभ रिपोर्ट आउन्जेल भाइरसले तपाईँको शरीरमा डेरा जमाइसकेको हुनसक्छ। अनि केको नेगेटिभ रिपोर्ट दुनियाँलाई देखाएर तिमीहरु दोस्रो दर्जाको, हामी कोरोनामुक्त दर्जाको भने झैँ फूइँ देखाउनु? नेगेटिभ रिपोर्ट आउने र टेस्ट नगराउने दुवैमा कोरोना संक्रमणको जोखिम उत्तिकै हुन्छ नै।

त्यसबाहेक सोसल मिडियामा त्यसरी पूरै रिपोर्ट राख्दाको जोखिम कहिले सोच्नुभएको छ? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मोबाइल नम्बर र नामको आधारमा डेटाबेस बनाउने गर्छ। अर्थात् तपाईँ पछि फेरि अरु नै केही परीक्षण (कोरोना मात्र होइन, यहाँ अनेक किसिमको परीक्षण हुन्छ) गराउन जाँदा पनि रेकर्ड त्यही बस्छ।

अनि यसरी तपाईँले सोसल मिडियामा राख्नुभएको पेसेन्ट आइडी र तपाईँको थर राख्ने हो भने पछि पछि पनि तपाईँका रिपोर्टहरुमा अरुहरुको पहुँच हुन्छ। अर्थात् अरुहरुले तपाईँको रिपोर्ट हेर्न सक्छन्।

अर्थात् तपाईँले यसरी कोरोना नेगेटिभको रिपोर्ट राख्नु भनेको तपाईँको स्वास्थ्य सम्बन्धी विगतको र भविष्यको पनि सम्पूर्ण जानकारी सबैको पहुँचमा हुने गरी सार्वजनिक गर्नु हो।

यहाँ हेर्नुस् मैले एक जनाको सन् २०१८ र २०१९ सम्मको रिपोर्टमा पहुँच पाएको-

के तपाईँ यसरी नै आफ्ना स्वास्थ्य सम्बन्धी जानकारीहरु सार्वजनिक भएको रुचाउनु हुन्छ ? रुचाउनु हुन्न भने बन्द गर्नुस् यो नचाहिने काम। तपाईँलाई कोरोना लागेको छैन- राम्रो भो। सुरक्षित रहनुस्। तर मैले पिसिआर परीक्षण गराएँ, तैँले गराउन सकेको छैनस्। म सुरक्षित छु, तँ सुरक्षित छैनस् पाराको फूइँ सोसल मिडियामा देखाउन खोज्दा आफै नाङ्गो भइरहेको हुनसक्छ, सावधान !

धेरैले बुझ्नु पर्ने चाहिँ के हो भने अहिले परीक्षण नै गर्नुपर्ने कतिपय ठाउँ र कतिपय व्यक्तिहरुको परीक्षण हुन सकिरहेको छैन। कसले चेक गराउने र कहिले गराउने, कसले नगराउने भन्ने विषयमा सरकारले एउटा मापदण्ड बनाएको छ। त्यो हेरौँ-

 

यो महामारी अहिले सल्किरहेको छ। त्यसैले पहिला जोखिममा भएकाहरुको परीक्षण गराउनमा जोड दिउँ। पत्रकारहरु पनि कन्ट्याक्ट हिस्ट्रीका आधारमा, लक्षणका आधारमा जोखिममा परेका होलान्, उनीहरुको परीक्षणमा जोड दिउँ, फेसबुकमा शान देखाउनका लागि परीक्षण नगरौँ। गरे पनि फेसबुकमा रिपोर्ट हालेर जोखिम नबढाउँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme