रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्-
डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको छ। (कालिकान्युज, हिमालखबर)
संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन। (अनलाइनखबर)
संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा विद्युतीय शव दाह गृह नभएकाले शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरीले जनाएको छ । (नेपाल समाचारपत्र)
हामीले यो विषयमा फ्याक्टचेक गरेका छौँ।
अनलाइनखबरमा १ घण्टापछि सेनाले उठायो कोरोना संक्रमितको शव शीर्षकको समाचारमा ‘संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन’ लेखिएको छ।
त्यसैगरी ‘कोरोना संक्रमितको शव ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठायो’ शीर्षकको समाचारमा नेपाल समाचारपत्रको अनलाइन न्युज अफ नेपालमा ‘संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्यविधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा विद्युतीय शव दाह गृह नभएकाले शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने प्रहरीले जनाएको’ उल्लेख छ।
के सरकारले बनाएको कोभिड-१९ शव व्यवस्थापन कार्यविधिमा यस्तो उल्लेख छ त ?
नेपाल सरकारले चैत २५ गते Covid-19 का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ सार्वजनिक गरेको थियो। यो कार्यविधि हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरको वेबसाइटमा गएर COVID-19 Dead Body Management Guideline मा क्लिक गरेर हेर्न सकिन्छ। नेपालीटाइम्सले समेत With 2nd COVID-19 fatality, Nepal issues funeral guideline शीर्षकमा मे २० मा दोस्रो संक्रमितको मृत्युपछि मात्र यो गाइडलाइन बनेको समाचार लेखेको छ, जुन भ्रामक छ। यो कार्यविधि चैत २५ गते बनेको हो र चैत २८ गते नै अन्नपूर्ण पोस्टले यसबारे समाचार लेखेको छ।
यो कार्यविधिमा कतै पनि विद्युतीय शवदाह गृहमा नै अन्तिम संस्कार गर्नुपर्ने लेखिएको छैन। जसले यो समाचार लेखे, उनीहरुले कार्यविधि नै नहेरेको स्पष्ट हुन्छ। नेपालमा पहिलो पटक सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट मृत्यु हुँदा पशुपतिको शवदाह गृहमा दाहसंस्कार गरिएको थियो।
कार्यविधिमा आफन्तलाई आफ्नो कूल परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने, फूलमाला चढाउने जस्ता काम गर्न सकिने लेखिएको छ। तर देशसञ्चारमा प्रकाशित समाचार अनुसार अन्तिम संस्कारमा उनका परिवार तथा आफन्त कसैको पनि सहभागिता नभएको मृतकका भाइले बताएका छन्। सेतोपाटीको समाचारमा त परम्पराअनुसार जलाउनु पर्ने शव प्रशासनले गाडिदिएपछि परिवारले आपत्ति जनाएका छन्।
यसैगरी हिमालखबर र चितवनको कालिका एफएमको वेबसाइट कालिकाखबरले डव्लुएचओको मापदण्ड अनुशार शव जलाउन नहुने भएको भन्दै गाडिएको समाचार लेखेको छ। (हिमालखबरले पछि यो समाचार सम्पादन गरी यो वाक्य हटाएको छ)। समाचारमा रुपन्देहीको देवदह र तिलोत्तामाको विचमा रहेको जंगलमा शव गाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता खड्ग बहादुर खत्रीले बताएको उल्लेख छ।
समाचारमा उल्लेख भएको यो तथ्य गलत छ। डब्लुएचओले कोरोनाबाट मृत्यु हुनेको शवको व्यवस्थापनसम्बन्धमा अन्तरिम निर्देशिकामा गाड्नै पर्छ भनिएको छैन। २४ मार्च २०२० मा जारी भएको Infection Prevention and Control for the safe management of a dead body in the context of COVID-19 मा शवलाई गाड्न (burial) वा जलाउन (cremation) गर्न सकिने उल्लेख छ। यसमा कसरी शव व्यवस्थापन गर्ने भन्ने विषय संस्कृति र परम्परा अनुसार छान्न सकिने उल्लेख छ।
यहाँ क्लिक गरी हेर्न सकिन्छ डकुमेन्ट।
भारतको निर्देशिकामा त शव जलाइसकेपछि खरानीले कुनै जोखिम नहुने भएकोले खरानी पनि संकलन गर्न सकिने उल्लेख छ।
यहाँ क्लिक गरी हेर्न सकिन्छ डकुमेन्ट।
अतः कोरोना संक्रमितको मृत्यु हुँदा डब्लुएचओको मापदण्ड अनुसार जलाउन नहुने, सरकारले जारी गरेको शव व्यवस्थापन कार्यविधिमा विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने भनी मिडियामा आएका समाचार मिथ्या हुन्।
समाचारमा कोरोना संक्रमितको शव जलाउन आज स्थानीय बासिन्दाले अवरोध खडा गरेको पनि उल्लेख छ। यसको अर्थ स्थानीय बासिन्दालाई यसबारे स्पष्ट बुझाउन नसकिएको देखिन्छ। मिडिया र पत्रकार आफै भ्रममा रहेर फेक न्युज लेख्न थालेपछि स्थानीय बासिन्दाले बुझुन् पनि कसरी !
सरकारले जारी गरेको कार्यविधिमा पनि कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शवको संसर्गबाट उक्त रोग अर्को व्यक्तिमा सरेको प्रमाण हालसम्म फेला नपरेको उल्लेख छ।
विश्व स्वास्थ्य संगठनले पनि अहिलेसम्म मृत व्यक्तिको शरीरबाट कसैलाई कोभिड १९ सरेको कुनै प्रमाण नभेटिएको उल्लेख गरेको छ। तर यो नयाँ रोग भएको र यसबारे धेरै कुरा थाहा हुन बाँकी रहेकोले सावधानी अपनाउनु पर्ने बताएको छ।
द हिन्दूमा अनिर्बन मित्राको एक विज्ञान लेख प्रकाशित छ जसमा कोरोना भाइरसलाई पेन ड्राइभसित तुलना गरिएको छ। जसरी पेनड्राइभमा धेरै डाटा रहे पनि त्यो कम्प्युटरको कुनै पोर्टमा नजोडिएसम्म कम्प्युटरमा सार्न सकिँदैन त्यसरी नै यो भाइरसको जेनेटिक मेटेरियल कपि हुन निश्चित प्रक्रिया हुनुपर्ने उल्लेख छ। यो भाइरस बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा निस्कने छिटा अर्को व्यक्तिको शरीरमा प्रवेश गरेपछि सर्ने भएको र मृत व्यक्तिले त्यो काम गर्न नसक्ने भएकोले छिटाबाट यो सर्न नसक्ने तर्क त्यो लेखमा गरिएको छ। पढ्नुस्-Why dead bodies do not spread novel coronavirus
यद्यपि थाइल्यान्डमा अप्रिल १४ मा एक स्वास्थ्यकर्मीलाई शवबाट नै कोभिड १९ संक्रमण सरेको बारे जर्नल अफ फरेन्सिक एन्ड लिगल मेडिसिनमा मे २०२० को अङ्कमा पाठक पत्र छापिएको छ।