Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठोरीको सीमामा काँडेतार : समाचार भ्रामक, फोटो बंगलादेशको

Posted on May 15, 2020May 15, 2020 by Salokya

लिपुलेकमा नेपाली जमिनमा भारतले सडक बनाएको समाचारले चर्चा पाइरहँदा आज एकाएक एउटा अर्को समाचारले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पर्सा जिल्लामा अवस्थित ठोरी गाउँपालिकाका एक वडा अध्यक्षले भारतीय सीमा क्षेत्रमा काँडेतार लगाएको समाचार थुप्रै अनलाइनहरुले हालेका छन्। केही अनलाइनहरुले फलामे ढोकासहितको काँडेतार भएको एकै किसिमका फोटोहरु पनि समाचारसँगै राखेका छन्।

के हो यो समाचारको सत्य? हामीले यस विषयमा फ्याक्टचेक गरेका छौँ।

यो समाचार आजको राजधानी दैनिकले मुख्य समाचार बनाएर प्रकाशन गरेको छ। ‘भारतीय सीमाक्षेत्रमा काँडेतार’ मेन हेडलाइन र ‘१९ वटा पिल्लर रहेको ५ किलोमिटर क्षेत्रमा तार लगाएपछि अवरोध’ सबहेडलाइन राखी प्रकाशित समाचारमा हालको लिपुलेक र कालापानी क्षेत्रको विवादलाई समेत जोडेर लेखिएको छ-

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।

ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५/१ देखि ४३१/४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

समाचारमा ‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें’ भनी वडाध्यक्ष सूर्यबहादुर लामालाई उद्‍धृत गरिएको छ।

यही समाचार विभिन्न अनलाइनहरुले कपिपेस्ट गर्दा भने अर्कै फोटो हालेका छन्। एक हजारभन्दा बढी सेयर भएको सीधाकुरा अनलाइनदेखि एकताकाको चर्चित साप्ताहिक पत्रिका देशान्तरको अनलाइनले समेत यही फोटो हालेका छन्।

समाचारमा प्रयोग गरिएको फोटो भने ठोरीको होइन। यो फोटोको रिभर्स इमेज सर्च गर्दा भारत-बंगलादेश सीमासम्बन्धी थुप्रै समाचारहरुमा यही फोटो प्रयोग भएको पायौँ।

उस्तै शैलीको तर फरक एङ्गलको भारत-बंगलादेश सीमाको  फोटो हामीले यो वेबसाइटमा भेट्टायौँ। 

त्यसैले यो फोटो पर्साको नभएर भारत-बंगलादेश सीमाको भएको प्रष्ट हुन्छ। अनलाइनहरुले फोटो कहाँको भन्ने उल्लेखसमेत नगरी अर्कै फोटो हालेर पाठकलाई भ्रमित पारेको देखियो।

काँडेतार लगाइएको हो?

यो विषयमा हामीले समाचारमा उल्लेख गरिएका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यबहादुर लामा र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ दुवैसित मोबाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। तर, वडाध्यक्ष लामासित कुरा गरेका अनुप तिवारीले उनलाई उद्‍धृत गर्दै यसो भने, दुई वर्षअगाडिदेखि नै अन्य प्रयोजन अर्थात् वन्यजन्तुलाई छेक्नका लागि तारबार लगाइएको तथ्य मोडेर समाचार आयो। तिवारी नेपाल पत्रकार महासंघ, पर्सा जिल्लाका उपाध्यक्ष हुन्।

यसैगरी चितवनबाट सञ्चालित एटुजेड समाचार डट कमका सहसम्पादक सुशील पन्तले अन्य प्रयोजनका लागि लगाइएको तारबारको समाचार गलत ढंगले आएको बताए। पत्रकार पन्तको घर ठोरीमै छ।

पन्तले भने, ‘त्यहाँ तारबार चाहिँ गरेकै छ। तर त्यो तारबार जनावर रोक्नका लागि गरेको हो।’

ठोरीको सीमा पर्सा वन्यजन्तु आरक्षसित जोडिएको छ।

पन्तका अनुसार गाउँपालिकाबाट  २०७४/७५, ०७५/७६ र ०७६/७७ गरी तीन वटा आर्थिक वर्षको बजेट जनावर रोक्न तारबार गर्ने भन्ने उद्देश्यले नै गएको हो। प्रयोजन अर्कै भए पनि अहिले लिपुलेक, कालापानीसित जोडेर अर्कै ढंगले समाचार आएछ।

‘मैले बिहान समाचार देख्ने बित्तिकै गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठसित कुरा गरेको थिएँ। उहाँले हामीले जनावर रोक्ने प्रयोजनका लागि काँडेतार लगाएको हो, गाउँपालिकाको बजेट पनि त्यसैका लागि गएको हो भन्नुभयो। वडाले सीमामा काँडेतार लगाउन सम्भव भए किन नेपालमा सीमा विवाद भइरहन्थ्यो भन्ने कुरा उहाँले गर्नुभयो’, पन्तले बताए।

तसर्थ राजधानी दैनिक र विभिन्न अनलाइनहरुले अर्कै प्रयोजनका लागि लगाइएको काँडेतारलाई हालको सीमा विवादसँग जोडेर पाठकलाई भ्रममा पार्न खोजेको देखिन्छ। केही अनलाइनहरुले भारत-बंगलादेश सीमाको फोटो राखेर अझ भ्रम फैलाउने काम गरेका छन्।

1 thought on “ठोरीको सीमामा काँडेतार : समाचार भ्रामक, फोटो बंगलादेशको”

  1. Suk Kumar says:
    May 16, 2020 at 10:56 am

    very sad haudey and mangantey jasto prime minister testai janta gafadi, communist dalal haru

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme