Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै दिनमा २८ सय जनाको पीसीआर परीक्षण भएको समाचार गलत

Posted on May 11, 2020 by Salokya


नेपालमा हाल दुई विधिबाट कोरोनाको परीक्षण भइरहेको छ- पीसीआर र आरडीटी। आरडीटी परीक्षण छिटो हुन्छ तर यसको नतिजा अलि भरपर्दो नहुने भनिएको छ। पीसीआर विधिबाट परीक्षण गर्न भने समय लाग्छ। तर यसको नतिजा भरपर्दो मानिएको छ। त्यसैले विज्ञहरुले पीसीआर परीक्षणमै जोड दिएका छन्। तर पीसीआर प्रविधिबाट परीक्षणको संख्या भने नेपालमा निकै कम देखिन्छ। यस्तो अवस्थामा सोमबार एउटा खबर आयो- एकै दिनमा २८ सय जनाको पीसीआर परीक्षण भयो।

अनलाइनखबरमा सोमबार ‘एक दिनमा २८ सय जनाको पीसीआर परीक्षण’ शीर्षकको समाचार प्रकाशन भएको छ। के यो समाचार सही छ? हामीले फ्याक्टचेक गरेका छौँ।

अनलाइनखबरको २०७७ वैशाख २९ गते १७:०३ मा प्रकाशित समाचारमा लेखिएको छ-

२९ वैशाख, काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको पीसीआर प्रविधिबाट परीक्षण बढेको छ ।

पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारसम्म पीसीआर विधिबाट १७ हजार ८ सय ९ जनाको कोरोना संक्रमण परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा गत शुक्रबार स्वीटजरल्याण्ड सरकारले सहयोग दिएको ३० हजार थान पीसीआर किट आइपुगेको थियो । त्यसपछि सरकारले पीसीआर प्रविधिबाट कोरोना परीक्षणलाई तिब्र बनाएको छ । सरकारले विदेशबाट फर्किएका नेपाली, संक्रमितको सम्पर्कमा रहेका व्यक्ति र जोखिम क्षेत्रमा रहेका व्यक्तिमा पीसीआर परीक्षण गर्ने गरेको जनाएको छ ।

हेर्नुस् समाचारको अर्काइभ लिङ्क

सुस्त गतिमा भइरहेको पीसीआर प्रविधिको परीक्षणमा आज एकाएक कसरी चमत्कार भएर एकै दिन २८ सय जनाको परीक्षण सम्भव भयो त?

समाचारमा ‘पछिल्लो २४ घण्टामा २७ सय ९९ जनाको पीसीआर प्रविधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको’ भनिएको छ। तर सोमबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले यस्तो तथ्याङ्क दिएका भने होइनन्।

हेर्नुस् प्रेस ब्रिफिङको भिडियो-

प्रेस ब्रिफिङमा देवकोटाले भनेका छन्- ‘पिसिआर प्रविधिबाट गरिएका परीक्षणहरुको संख्या हालसम्म १७ हजार ८ सय ९ पुगेको छ। त्यसैगरी आरडिटी विधिबाट गरिएका परीक्षणहरुको संख्या ५८ हजार ५ सय ४६ पुगेको छ। गत २४ घण्टामा थप २ हजार ७ सय ९९ वटा परीक्षणहरु भएका छन्।’

देवकोटाले गत २४ घण्टामा थप २ हजार ७ सय ९९ वटा परीक्षणहरु भएका छन् त भनेका छन् तर ती परीक्षण पीसीआर प्रविधिको हो भनेका छैनन्।

हामीले थप पुष्टिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको र आजको सिचुएसन रिपोर्टको तथ्याङ्क तुलना गर्‍यौँ। त्यसबाट पनि पीसीआर प्रविधिबाट गरिएका परीक्षणको संख्या २४ घण्टामा २८ सय पुगेको देखेनौँ।


हिजो (१० मे-२८ वैशाख) को सिचुएसन रिपोर्ट।


आज (११ मे-२९ वैशाख) को सिचुएसन रिपोर्ट।

सिचुएसन रिपोर्ट अनुसार पीसीआर प्रविधिबाट गरिएका परीक्षणको संख्या आज १७ हजार ८०९ र हिजो १६ हजार ८९८ छ। त्यसैले गत २४ घण्टामा ९ सय ११ जनाको मात्रै पीसीआर प्रविधिबाट परीक्षण भएको पुष्टि हुन्छ।

आरडिटी परीक्षणको संख्या समेत समाचारमा लेखिए अनुसारको छैन। आरडिटी प्रविधिबाट परीक्षण संख्या आज ५८ हजार ५४६ र हिजो ५६ हजार ६५७ थियो। अर्थात् पछिल्लो २४ घण्टामा १ हजार ८८९ जनाको मात्र आरडिटी परीक्षण भएको छ।

बरु पीसीआर र आरडिटी दुवै विधिबाट पछिल्लो २४ घण्टामा गरिएका परीक्षणको संख्या जोड्ने हो भने (पिसिआर ९११+ आरडिटी १८८९) ठ्याक्कै २८ सय पुग्छ।

त्यसैले अनलाइनखबरले प्रकाशन गरेको ‘एक दिनमा २८ सय जनाको पीसीआर परीक्षण’ शीर्षक र समाचार मिथ्या ठहर्छ। पछिल्लो २४ घण्टामा पीसीआर र आरडिटी दुवै विधिबाट गरिएका परीक्षणहरुको संख्या चाहिँ २८ सय हो, समाचारमा भनिए जस्तो पीसीआर परीक्षणमात्रैको संख्या २८ सय होइन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme