Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के सुजाता कोइरालाले ‘कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ’ भनेकी हुन्?

Posted on May 11, 2020 by Salokya


लिपुलेकमा भारतले बाटो बनाएपछि देशभर विरोध हुँदैछ। यही बेला सामाजिक सञ्जालमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले ‘कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ’ भनेको हेडलाइनसहितको समाचार अहिले फेसबुकमा भाइरल भएको छ। न्युज २४ नेपाल नामको एउटा फेसबुक ग्रुपमा फेक फोटोसहितको एउटा फेसबुक अकाउन्टले पोस्ट गरेको साथीखबर डट कमको लिङ्क साढे ३ सयभन्दा बढी सेयर भएको छ, ७ सयभन्दा बढी कमेन्ट छन्। अधिकांश कमेन्टमा नेतृ कोइरालालाई गालीगलौज गरिएको छ।

के साँच्चिकै सुजाताले यसो भनेकी हुन्? हामीले फ्याक्टचेक गरेका छौँ।

‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ : सुजाता कोइराला’ शीर्षकको साथीखबर डट कमले लेखेको समाचार (अर्काइभ लिङ्क) को मुख्य वाक्य यसरी सुरु हुन्छ-

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् आइतबार राति ८ः००बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ।

जनता जान्न चाहन्छन् कार्यक्रममा धमलासँग कुरा गर्दै । नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् उनले भनिन्नेपालका कालापानी लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् । यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ ।

समाचारको अन्त्यमा रिपोर्टस नेपालको सहयोगमा हिमालपोस्टबाट साभार लेखिएको छ। त्यसैगरी समाचारको प्रकाशित मिति जनवरी ६, २०२० लेखिएको छ।

यही समाचार कपिपेस्ट गरेको कान्तिपथ डट कमले यसलाई २०७७ बैशाख २९ गते प्रकाशित गरेको छ। अर्काइभ लिङ्क

अहिले भाइरल गरिए पनि यो समाचार चार महिनाअघि प्रकाशित भएको रहेछ। यी दुवै समाचारको स्रोत हिमालपोस्टमा गएर खोज्दा त्यसमा ‘सुजाताले भनिन: कालापानीको भूभाग भारतलाई दिनुपर्छ’ शीर्षकमा २०७६ पुस २० गते समाचार प्रकाशित भएको छ। अर्काइभ लिङ्क

यही समाचार अहिले भाइरल भएको लिङ्कहरुमा कपिपेस्ट गरिएको हो। हिमालपोस्टले भने समाचारको अन्त्यमा ‘रिपोर्टस नेपालको सहयोगमा’ लेखेको छ।

हामीले रिपोटर्स नेपालमा चाहिँ के प्रकाशित भयो, त्यो खोज्यौँ। ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्छ : सुजाता’ शीर्षकमा ५ जनवरी २०२० मा समाचार प्रकाशित छ। यसमा प्रकाशित समाचार नै यी सबै अनलाइनहरुमा कपिपेस्ट भएको देखियो।

रिपोर्टस नेपालको समाचार यस्तो छ-

काठमाडौं, २० पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् ।

आज (आइतबार) राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् । उनले भनिन्,‘नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ, यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् । यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन् । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् । उनले भनिन्,‘भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ ।’

समाचारमा कतै पनि अहिले भाइरल भएको साथीखबर डट कम वा कान्तिपथ डट कमले शीर्षक बनाए जस्तो ‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ’ भनिएको छैन।

हामीले युट्युबमा प्राइम टाइम्समा प्रसारण भएको सुजाता कोइरालासित ऋषि धमलाले लिएको अन्तर्वार्ता पनि हेर्‍यौँ। जनवरी ६, २०२० मा युट्युबमा अपलोड गरिएको अन्तर्वार्ताको ४४ औँ मिनेटपछि सुजाताले कालापानीको विषयमा बोलेकी छिन्।

उनले अन्तर्वार्तामा कालापानी विवादको अन्त्यमा लागि दुई देशबीच सिरियसली छलफल हुनुपर्ने कुरा बताएकी छिन्। धेरै कुरा गर्न सकिन्छ भन्दै उनले चीनले पनि कतिपय आइल्यान्ड लिजमा लिएको, अमेरिकाले लिज लिएको, पैसा तिरेको भन्दै अरु मुलुकहरुको उदाहरण दिँदै ‘त्यो पनि एउटा सम्भावना छ हामीले गर्न सक्ने’ भनेकी छिन्।

‘भारत र चीनले त्यो ठाउँबाट व्यापार गर्न चाहन्छन् भने नेपाललाई पनि इन्क्लुड गराउनु पर्‍यो, नेपालको ल्यान्ड युज गरेकोमा कर पनि तिर्नुपर्‍यो- केही सहमति गर्न सकिन्छ, गर्न नसकिने होइन,’ उनले अन्तर्वार्तामा भनेकी छिन्।

अन्तर्वार्तामा उनले कतै पनि अहिले भाइरल भएका केही अनलाइनका शीर्षकमा जस्तो ‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ’ भनेको सुनिएको छैन।

चार महिनाअघि यो अन्तर्वार्ता प्रसारणमा आउँदा पनि विवाद भएको थियो। त्यतिबेला सुजाताले व्यक्तिको इज्जत र समाजमा पर्ने असर बारे ध्यानै नदिई हेडलाइन स्पाइसी बनाउने अनुपयुक्त अभ्यास बारे फेसबुकमा स्टायटस लेखेकी थिइन्।

सुजाता कोइरालाको सचिवालय लेखिएको फेसबुक पेजले पनि समाचारको हेडलाइनलाई आकर्षक बनाउने होडबाजीमा विषयवस्तुलाई नै बङ्ग्याउने गरी समाचार आएको उल्लेख गरेको थियो।

उक्त स्क्रिनसट अनुसार युट्युबमा अन्तर्वार्ताको हेडलाइन  ‘सुजाता कोइरालाको घोषणा : कालापानी भारतलाई छोड्नुपर्छ’ थियो। तर अहिले भने उक्त हेडलाइन परिवर्तन गरी ‘कालापानीको बारेमा सुजाताको नयाँ खुलासा : अब के होला ?’ राखिएको छ।

तसर्थ, शीर्षकमा अहिले फेसबुकमा भाइरल बनाइएका समाचार मिथ्या हुन्। अन्तर्वार्तामा सुजाताले कतै पनि ‘कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ’ भनेकी छैनन्। उनले अन्तर्वार्तामा लिजमा दिन सकिने सम्भावना बारे उल्लेख गरेकी हुन्।

2 thoughts on “के सुजाता कोइरालाले ‘कालापानीको भूभाग भारतको हो, भारतलाई दिनुपर्छ’ भनेकी हुन्?”

  1. Shankar says:
    May 12, 2020 at 8:28 am

    नया पुस्ता को नेपालि अमेरिकन आइडल , सारा विश्व घुमेर जानकारी राख्ने कता कता पुगेको छैन | के यो पुस्ता अझै सुजाताले देश अगि बधाउला , देउवा को खोकी , ओलीको कुटुनि गफ , प्रचंदेको गोठाले फुर्ति , बाबुराम को बोड फसे धाक लाइ आत्म सात , बा बिस्वास गर्छ ?
    तपाइँ जस्तो बुजुर्ग , सचेत पत्रकार हरुले त् तेस्ताको नाउ नै न लिए , हुदैन , चर्चा गरेर बढावा किन दिने ?
    अन्तर्वार्ता लिने धमला , दिने सुजाता , गुदी खोज्ने हो ?

    Reply
  2. Dev Bataju says:
    May 11, 2020 at 4:42 pm

    Thank you for your nice investigative news.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme