Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सांसद अपहरण काण्ड : आफ्नै पूर्व कमान्डरको अनुसन्धान गरिरहेका प्रहरीले खोज्नु पर्ने २१ प्रश्नको उत्तर

Posted on May 9, 2020 by दया थापा


अप्रत्याशित रुपमा आएको दल फुटाउन सजिलो हुने अध्यादेश र लगत्तै पूर्व स्वास्थ्य राज्यमन्त्रीसमेत रहेका सांसद डा. सुरेन्द्र यादवलाई ‘उठाउन’ पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई जना सांसद महेश बस्नेत र किसान श्रेष्ठ महोत्तरीमा पुग्नु। अनि भोलिपल्ट सांसद यादव आफूलाई राखिएको पाँचतारे होटलबाट बाहिरिएर पार्टीको सम्पर्कमा पुग्नु! लकडाउन भनेर सर्वसाधारण नागरिक घरभित्र थुनिएको अवस्थामा भएका केही गतिविधि हुन् यी। यादव र उनको पार्टीले उनको अपहरण भएको बतायो। जाहेरी लिएर प्रहरीकहाँ पुग्यो। तर प्रशस्त आधार हुँदा पनि कानुनी राजको खिल्ली उडाउँदै प्रहरीले जाहेरी लिन मानेन। त्यसपछि उनीहरु पुगे सरकारी वकिलको कार्यालयमा। त्यहाँ पनि सुरुमा जाहेरी लिन मानिएन। अन्ततः वैशाख २२ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उजुरी दर्ता गर्‍यो र अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गरेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दियो।

यसलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका प्रहरी निरीक्षक देवी पौडेलको कमान्डमा शुक्रबार एउटा टोली महोत्तरी गएर अनुसन्धान थालेको छ। यतिबेला प्रहरी आफ्नै पूर्व आइजीविरुद्ध एउटा संगीन अपराधको विषयमा छानबिन गर्दैछ। यो टोलीले आफ्नै पूर्व कमान्डरविरुद्ध अनुसन्धान गर्ने क्रममा यी प्रश्नहरुको जवाफ चित्तबुझ्ने गरी खोज्नै पर्छ।

१.लकडाउनको अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता केही सीमित व्यक्तिहरुलाई मात्र परिचयपत्र देखाएर हिंड्न छुट थियो। अन्यलाई अत्यावश्यक कामको लागी पासको व्यवस्था गरिएको थियो। के खनाल सुरक्षाकर्मी कै हैसियतमा हिंडेका थिए त ? हैन भने उनीसँग पास थियो त ? पास थिएन भने के उनलाई कानुन लाग्दैन ?

२. पूर्व आइजी खनालले हामी डा.सुरेन्द्र यादवले बोलाएर गएको भनी दावी गरिरहेका छन्। तर यादवले भने आफुले नबोलाएको दावी गर्छन्। कसले झुट बोलेको हो ?

३.पूर्व आइजीपी खनालले एक दिन अघि बालुवाटारबाट प्रधानमन्त्रीकहाँबाट आफूलाई फोन गरेर प्रमले भेटन खोजेको भनेर भनेको बताएका छन्। तर खनालले भने आफू बालुवाटार नगएको र प्रमलाई समेत नभेटेको भन्दैछन्। त्यसो भए यादवलाई दबाबमा पार्न खनालले प्रधानमन्त्रीको ध्वाँस दिएका थिए त?

४.खनालले दिएको अन्तर्वार्ताहरु हेर्दा शुरुमा उनले आफू जाम खुलाउँदै महोत्तरीसम्म गएको, पार्टी फुटाउने उद्देश्यले होइन भन्दै थिए भने पछिल्लो अन्तर्वार्ताहरुमा चाहिँ यादवलाई सहजकर्ताको रुपमा आफू गएको भन्दैछन्। किन भाषा परिवर्तन ?

५.खनालले आफूले यादवलाई धनुषाको एसपी हुँदा देखिनै चिनेको र बहुत घनिष्ट साथी भएकोले उनको घरमा गएको दावी गरेका थिए भने यादवले भने एक अन्तर्वार्तामा आफूलाई खनाल कहिले धनुषा बसेको पनि थाहा नभएको र मन्त्री भएको बेलामा पार्टीमा कतै भेट भएकोले मोबाइल नम्बर लिएको तर कहिल्यै फोन समेत नगरेको भन्दैछन्। खनालले भयंकर दोस्ती भनेर किन झुट बोले ?

६. सांसद जस्तो मान्छेलाई पनि कसैले अपहरण गर्न सक्छ त भन्दैछन् खनाल। तर उच्च पदको ब्यक्ति भएकोले नै उच्च स्तरको ब्यक्तिहरु प्रयोग भएको हुनसक्दैन र? किनकी खनाल पूर्व आइजी भएकोले कोही प्रहरीले पनि चेक जाँच नगर्ने, बाटोमा उल्टै सलाम गरेर पठाउने हुन्छ।


७. तीन जनाले कसरी ७ जना ब्यक्तिलाई अपहरण गर्न सक्छ र पिएसओ पनि थियो यादवको भन्दैछन् खनाल। तर सार्वजनिक भएको फोटोमा नै अर्का गुन्डा नाइके नवीन बस्नेत पनि देखिएका छन्। २ वटा गाडी गएको भनेपछि दुई जना ड्राइभर र खनालको पनि त पिएसओ हुने नै भयो हतियारधारी। यादवले आफ्नो पिएसओले गर्दा नै आफ्नो लोकेशन ट्रयाक भएको भन्दैछन्। यसले त महोत्तरीको एसपीदेखि खनालको र यादवको पिएसओसम्मले खनालकै निर्देशनको पालना गरेको त देखिएन र ?

८. खनाल भन्दैछन्, चिनजानको मानिसलाई घरमै गएर खाना समेत खाएर आएको अवस्था पनि कसरी अपहरण हुन्छ ? तर अपहरणका विभिन्न घटनाहरु हेर्‍यौँ भने चिनजानका मानिसले नै कहीँ बोलाउने, बालबालिकालाई चकलेट दिएर फकाएर, तिम्रो बाबा भएको ठाउँमा जाने, म तिम्रो बाबुको साथी हो भने जस्ता कुराहरु गरी बाटोमा नकराउने अवस्था बनाउँदै गन्तब्यमा पुराउने गरेको पाइएको छ । यस घटनामा समेत पैसा फिरौती लिने उद्देश्यले गरिएको अपहरण भए पो पछि चिन्ला भन्ने डरले नचिनेको मान्छे प्रयोग हुने त। यसमा त षड्यन्त्र गरी दबाबमा पारी पार्टी फुटाउन सफल भए पछि त मन्त्री समेत बनाउने कुरा भएको हुँदा पछि त इज्जतले गर्दा पनि मलाई अपहरण गरेर जबर्जस्ति ल्याइएको भन्ने कुरै रहन्न थियो। बरु नचाहेरै भए पनि मन्त्री भैसकेपछि तत्काललाई खुशी नै हुन्थे। त्यही कन्फिडेन्सका साथ उच्च तहका मानिस समेर उक्त घटनामा संलग्न भएको देखिँदैन र ?

९. यादवविरुद्ध अख्तियारमा उजुरी भएको र खनाल अख्तियार आयुक्त भएर सो केससमेत मिलाइदिने नत्र तपाईलाई अप्ठेरो पर्छ भनेर महेश बस्नेतले भनेको कुरा यादव भन्दैछन्। के यो दवाव होइन र ? कतै अख्तियारमा उजुरी हाल्ने पनि छद्मभेषी उनीहरु नै त थिएनन्?

१०. यादवले भन्दैछन् खनालहरु घरमा पुगेपछि डर त्रासले अब मलाई के पो गर्ने हुन्, कतै मेरो मोबाइल समेत ट्रयाक गरेका हुन सक्छन् भनेर श्रीमतीको सिम प्रयोग गरेर अध्यक्षलाई फोन गरेँ भन्दै छन् भने त्यहाँ डर त्रास र दवाब भएको पुष्टि भएन र ? के यो अपहरणको परिभाषामा पर्दैन र ?

११. उहाँहरु बारा जाउँ भन्दै थिए, तर म जान मानिनँ। मेरो यहाँ काम छ भनेँ। तर उहाँहरुले हैन तपाई जानै पर्छ भन्नुभयो। खनालले अलि ड्यासिङमा भन्नु भयो अलि जबर्जस्ति जस्तै गर्नु भयो अनि मैले म बर्दिबास बाट जनकपुर तिर जान्छु भन्ने सोचेर घरबाट निस्केँ भनेका छन शुरुमा। तर मलाई उम्किनै दिएनन् भन्दैछन्। के यो दवाव र जबर्जस्ति भएन ? के यो अपहरणको परिभाषामा पर्दैन र ?

१२. न्युज २४ को अन्तर्वार्तामा खनालले म यादवलाई लिएर जनकपुरतिर गएँ र उहाँहरु भेटनु भयो तर म त बाहिरै डेढ घण्टा जति कुरेँ भनेका छन् । खनाल बर्दिबास होटेलमा चिसो बियर पिउँदै बसेको भए हुने नि गर्मीमा किन यादवको पछि लागेर गएको त ? नियत के र जसरी पनि यादवलाई ल्याउने भन्ने योजना प्रष्ट छैन र ?

१३. बर्दिवासबाट गफ गर्दै अलि परसम्म जाउँ न भन्दै सिन्धुली सम्म पुर्‍याए। अनि त्यहाँ उनीहरुले ल्याएका २ वटा गाडी मध्ये एउटा बिग्रियो। अब तपाइँ जानै पर्ने भयो। किनकि तपाईँको गाडी त प्रयोग गर्नै पर्ने भयो। नत्र हामी त अड्किने भयौँ भन्दै काठमाण्डौ पुर्‍याए भनेका छन् यादवले। यसले खनालहरु तीन जना मात्र थिएनन् र कति जालझेल र षड्यन्त्र गरेर काठमाण्डौ पुर्‍याए भन्ने प्रष्ट छैन र ?

१४.शुरुमा खनालले र महेश बस्नेत दुबैले यादव आफ्नै गाडीमा आएको भनेका थिए। तर यादवले त मलाई आफ्नो गाडीमा चढ्नै दिएनन्। हैन, हामीसँगै बस्नु पर्छ भन्दै जबर्जस्ति गरे भनेका छन्। त्यसैले खनालहरुले झुट बोलेको र दवाव दिएको प्रष्ट भएन र ?

१५.यादव भन्दै थिए जहाँ गाडी रोके पनि वरीपरी प्रहरी नै हुन्थे। भनेपछि खनालले अझै प्रहरीको आईजी जस्तै शक्ति प्रयोग गरेको र यादवलाई प्रहरी देखेर राहत होइन आहत भएको देखियो नि होइन र ?

१६. यादव सांसदसमेत भएको हुँदा के उनले खुशीले आउन चाहेको भए आफै आउन सक्दैन थिए र ? यताबाट लिन किन जानु पर्थ्यो र? यसबाट उनलाई जबर्जस्ति ल्याएको भन्ने बुझ्न गाह्रो छ र? के अपहरण हुनलाई फिल्ममा जस्तै बन्दुक नै कन्चटमा तेर्साउन पर्ने हो र ?

१७.पाँचतारे होटलमा नि अपहरण गरेर लान्छन् त भनेका छन् महेश बस्नेतले। मेरियट होटलमा बस्ने कुरा यादवले रोजेका कि खनालहरुले त ? खनालहरुले ८ वटा रुम बुक गरेका रहेछन भन्दै छन् त यादव। यसबाट पनि यादवलाई खनालहरुको इच्छा अनुसार राखिएको छ भन्ने प्रष्ट हुन्छ नि, होइन र ? आफ्नो नियन्त्रणमा राख्नु नै अपहरण हो। चाहे त्यो पाँच तारे होटलमै किन नराखियोस्। फिरौती लिनु मात्र अपहरणको उद्देश्य हुन्न। आफ्नो स्वार्थ पुर्ति गराउने उद्देश्यले कसैले कसैलाई दवाव वा प्रभाव मा पारी नियन्त्रणमा लिन्छ भने त्यो पनि अपहरण हो। प्रहरीले पक्राउ गरेको अवस्थामा बाहेक अरु जो सुकैले कसैको स्वतन्त्रताको हनन् गर्छ भने त्यो अपहरण कै परिभाषामा पर्छ।

१८.यादव राजीखुशीले आएको भए होटलबाट किन भाग्थे र ? उनलाई दबाबमा र जबर्जस्ति मेरियट होटलमा बन्धक बनाइएको भन्ने प्रष्ट भएन र? आफ्नो पिएसओलाई समेत विश्वास गर्न नसक्ने अवस्था भनेपछि खनालको पूर्व आईजी भएको प्रभावले यादवको पिएसओले समेत खनाललाई सघाएको देखिएन र ?

१९.यादव होटलबाट नफुत्केको भए खनालहरुको योजना सफल हुन्थ्यो र यो घटनासमेत यसरी अपहरणको रुपमा बाहिर आउँदैन थियो। त्यसैले नै खनालहरुले आफ्नो परिचय लुकाउनु पर्ने वा नचिनेको ब्यक्तिहरु प्रयोग गरेर अपहरण गर्नु पर्ने प्रकृतिको यो घटना होइन भन्ने त प्रष्टै छ नि होइन र ?अपराध गर्नेले पनि जहिले नि सफल हुन्छु भनेरै गर्छ । पक्राउ परिहाल्छु भन्ने हो भनेत कस्ले अपराध गर्थ्यो होला र ? त्यसैले खनालहरु पनि सफल भएको भए यो अवस्थै आउने थिएन असफल भएर नै नाँगिएको हो नि होइन र ?

२०. तत्कालीन सभामुख कृष्ण बहादुर महरा र रवि लामिछानेले अदालतबाट सफाई पाए भनेपछि उहाँहरु निर्दोष भएको प्रमाणित भयो त। तर किन खनालले जबर्जस्ति मुद्दा चलाएका थिए त? अब खनाललाई चाहीँ यति धेरै कुराहरु हुँदा पनि अनुसन्धान समेत हुनु नपर्ने ?

२१. निर्मला पन्तको बलात्कार र हत्यामा ८ प्रहरी कर्मचारी विरुद्ध मुद्धा दर्ता गरी सरकारी वकिल कार्यालय मार्फत् अभियोग अदालतमा दर्ता गरिएको थियो। घटना साउन १० गते भए पनि २०७५ भदौ १ गते देखि लागू भएको मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ४ मा सार्वजनिक न्याय बिरुद्धको कसूर अन्तर्गत दफा-९३ मा कसुरको प्रमाण दवाउन नहुने भन्ने ब्यबस्था बाट प्रमाण नष्ट गरेमा फौजदारी अपराध मानिने कानुन लागू भयो। कानुनको सर्वमान्य सिद्धान्त अनुसार कानुन भूतप्रभावी हुँदैन भनिएको छ। त्यसो भए तत्कालीन प्रहरी प्रमुख सर्बेन्द्र खनालले कुन कानुनको आधारमा ८ प्रहरी कर्मचारी विरुद्ध मुद्दा दर्ता गर्न स्वीकृति दिए त? अहिले चाहिँ जबर्जस्ती ल्याइएको भनी पीडितले भन्दाभन्दै पनि उनीविरुद्ध कुनै अनुसन्धान किन हुन नपर्ने?

कुनै पनि कार्य अपराध हुनको लागि अपराधिक मनसाय(Mens Rea) र अपराधिक कार्य(Actus Reus) हुन जरुरी हुन्छ। यो केसमा दुबै स्पष्ट छ। मनसाय पार्टी फुटाएर राजनीतिक फाइदा लिने र जनकपुरबाट विभिन्न दबाब र प्रभावमा पारी भाग्न उम्कन नपाउने गरी इच्छा विपरीत अर्को स्थानमा पुर्‍याउने काम अपराधिक कार्य गरिएको छ। अपहरण भयो कि भएन भनेर अदालतले ठहर गर्ने काम हो। तर के प्रहरीले अहिले गरिरहेको अनुसन्धानले अदालतसम्म पुग्ने बाटो खोल्ला?

2 thoughts on “सांसद अपहरण काण्ड : आफ्नै पूर्व कमान्डरको अनुसन्धान गरिरहेका प्रहरीले खोज्नु पर्ने २१ प्रश्नको उत्तर”

  1. Padam Gurung says:
    May 11, 2020 at 10:35 am

    Daya Thapa ta Surendra Yadab ko lawyer ho jasto lagyo. ektarfi kura matra chha.

    Reply
  2. गगने says:
    May 9, 2020 at 3:03 pm

    सरकारि वोकिल कार्यालयले तबमात्र उजुरि दर्तालियो जब मानव अधिकार’ कार्यालयमा दर्ता गरियो!
    अपहरण् मात्र कहा, यो त रास्त्रिय र अन्तरास्ट्रिय् नियाम, कानुन तथा मान्यताकै खिल्लि उडायर् अपमान र घोर उल्लंघन गरिएको छ्! माथिको फोटोलो गज्जबले पूष्टि गर्दछ!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme