२०६४ सालको संविधानसभाको चुनावमा एउटा रमाइलो घटना भएको थियो। त्यतिबेला कुन पार्टीले कति सिट जित्यो भन्ने ब्रेकिङ न्युज हाल्ने प्रतिस्पर्धा हुन्थ्यो। एभिन्यूज टेलिभिजन सधैँ अगाडि हुन्थ्यो। उसले मतगणना हुँदै गर्दा प्रत्यक्षतर्फ माओवादीको सिट संख्या १२१ सम्म पुर्यायो। तर जित्न भने १२० सिटमात्रै जित्यो। अन्तिममा एभिन्युज टेलिभिजनले माओवादीले जितेको भनी ब्रेकिङ दिइसकेको १२१ सिटमा १ घटाएर १२० कायम गर्यो।
अहिले चुनावी परिणाम आउँदै छैन। कोरोना संक्रमितको संख्याको समाचार हो, जुन केही समय ढिला हुँदैमा आकाशै खसिहाल्ने होइन। तर पनि मिडियाबीच कसले धेरै लेख्ने भन्ने प्रतिस्पर्धा छ। आज यस्तै भयो। धेरै मिडियाले कोरोना संक्रमितको कूल संख्या ५८ लेखे। पछि फेरि झारेर ५७ बनाए। एउटा संख्या घटाउँदा कुन मिडियाले के लेखेर सच्याए त? सच्याउँदाको भाषाबाट कुन विनम्र, कुनमा दम्भ भरिएको र कुन गुपचुप, कुन अटेरी जस्तो देखिन्छ, प्रष्ट हुन्छ।
गोरखापत्र
गोरखापत्रले समाचारको शीर्षक र समाचार सच्याउँदै समाचारको अन्त्यमा नोट राख्दै ‘यसबाट पाठक वर्गमा पर्न गएकाे असुविधाका लागि क्षमाप्रार्थी छाैँ’ लेखेको छ। पुरानो समाचार यस्तो थियो।
नेपाल टेलिभिजन
नेपाल टेलिभिजनले समाचार र शीर्षक सच्याएको छ। तर सच्याएको बारेमा कुनै जानकारी राखेको छैन। न गलत समाचार दिएकोमा माफी मागेको छ। समाचारको लिङ्कमा ५८ देखिए पनि समाचार भने गुपचुप सच्याइएको छ।
अनलाइनखबर
अनलाइनखबरले समाचार र शीर्षक परिवर्तन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले नयाँ केसको रुपमा गणना गरेको सूचनाका आधारमा समाचार प्रकाशित गर्दा हुन गएको त्रुटिप्रति क्षमाप्रार्थी छौं लेखेको छ। पुरानो समाचार यस्तो थियो
सेतोपाटी
सेतोपाटीले समाचार र शीर्षक परिवर्तन गरेको छ। तर गलत समाचार राखेकोमा माफी भने मागेको छैन। बरु समाचारको अन्त्यमा यसअघि फलानोले संक्रमित संख्या चार बताएका थिए भनेर सम्पादकको नोट राखेको छ। पुरानो समाचार यस्तो थियो।
थाहाखबर
थाहाखबरले समाचार र शीर्षक त सच्याएको छ तर सच्याएको बारे कुनै जानकारी राखेको छैन। आफूले गलत लेखेको र सच्याएको थाहा पाउला झैँ गरी गुपचुप समाचार र शीर्षक सच्याएको देखिएको छ।
१२खरी
१२ खरीले समाचार शीर्षक र समाचार सच्याएको छ। समाचारको अन्त्यमा राससको तथ्यांक गलत आएकाले सच्याइएको जानकारी पनि राखेको छ।
राजधानी
राजधानी दैनिकले भने आज चार जना संक्रमित भेटिएको र कूल संक्रमित संख्या ५८ नै भएको समाचार कायम राखेको छ। आधिकारिक रुपमा यो तथ्याङ्क गलत साबित भइसक्दा पनि सच्याउने, मिलाउने केही गरेको छैन।
हुनुपर्ने के?
अन्तर्राष्ट्रिय मिडियाले गलत समाचार आउँदा के हुनुपर्ने र के भएको स्पष्ट उल्लेख गरी समाचार सच्याउने गरेका छन्। उदाहरणका लागि न्युयोर्क टाइम्स-
त्यसैगरी गार्डियन-
हाम्रोमा भने सकेसम्म गल्ती कसैले थाहै नपाओस् झैँ गरी गुपचुप सच्याउँछन्। सच्याउनै परे पनि फलानोथोक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएको छ लेखिन्छ। अन्यथा के भएको हो भनेर चाहिँ लेख्न डराए जस्तो। यदि पाठकलाई सही सूचना दिने हो भने पहिले के गलत भएको थियो र के हुनुपर्ने थियो, दुवै स्पष्ट लेख्नुपर्छ। त्यसो भए मात्रै मिडियाले यसले त गल्ती गरे पनि सच्याउँदो रहेछ है भन्ने विश्वास जित्छ।