Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको मारमा प्रिन्ट मिडिया, कान्तिपुरमा ‘बेतलबी विदा’को आतंक

Posted on April 24, 2020 by Salokya


वैशाख ११ गते देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले एउटा विज्ञप्ति निकाल्यो। ‘दबावपूर्ण बेतलबी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानहरुलाई अविलम्ब बाँकी पारिश्रमिक भुक्तानी गर्न नेपाल पत्रकार महासंघकाे आग्रह’ शीर्षकको महासचिव रमेश विष्टको हस्ताक्षर भएको विज्ञप्तिमा मुख्यतः दुई कुरा उल्लेख थियो।

एउटा, नेपाल रिपब्लिक मिडिया प्रा.लि. (नागरिक/रिपब्लिका), एभिन्युज टेलिभिजन, राजधानी दैनिक तथा अन्नपूर्ण मिडिया ग्रुपसहितका कतिपय सञ्चारगृहले लामो समयदेखि पारिश्रमिक नदिएको।

दोस्रो, कान्तिपुर मिडिया ग्रुप सम्बद्ध पत्रकारहरुलाई दबाव दिएर बेतलबी बिदा दिएको।

तलबको विषयमा त माथि उल्लेखित मिडियाहरुको ‘रेपुटेसन’ निकै खराब छ। कुनैको दुई महिना, कुनैको तीन महिना, कुनैको त्योभन्दा बढी महिनाको पनि तलब बाँकी रहेको छ। तलब नदिए काम नगर्ने भनेपछि नेपाल रिपब्लिक मिडियाको रिपब्लिका दैनिकको प्रिन्ट संस्करण बन्द भइसकेको छ।

अर्को कान्तिपुर मिडिया ग्रुपका पत्रकारहरुलाई बेतलबी विदा दिएको सम्बन्धमा पत्रकार महासंघको विज्ञप्ति आएपछि कान्तिपुरले आपत्ति जनाएछ। महासंघले आज जारी गरेको अर्को विज्ञप्तिमा भनिएको छ, ‘महासंघको विज्ञप्ति सार्वजनिक भए लगत्तै कान्तिपुर प्रकाशन गृहको व्यवस्थापन पक्षले मौखिक तथा लिखितरुपमा महासंघको विज्ञप्तिमा कान्तिपुरको समेत नाम आएकोमा गम्भीर आपत्ति जनाउँदै आफ्नो प्रकाशन गृहले कसैलाई पनि तलव पारिश्रमिक नपाउने गरी विदामा नराखेको जनाएको छ । कान्तिपुरले आफ्नो संस्थाले चैत्र महिनासम्मको सबै श्रमजीवीको तलव, पारिश्रमिक समयभित्रै भुक्तानी गरिसकिएको, कसैलाई पनि बेतलवी विदामा नराखिएको जनाउँदै आगामी दिनमा पनि समयमै श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक लगायतको सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।’

तर हामीलाई प्राप्त जानकारी अनुसार कान्तिपुर प्रशासनले जबर्जस्ती विदामा बस्न नै दबाब दिएको हो। यसरी विदामा बसेको बेला नियमित आउनु पर्ने तलब पनि आउने छैन। अर्थात् यो बेतलवी विदा नै हो।

यो महिनामा ४२ जनालाई त्यसरी बेतलवी विदामा बस्न प्रशासनबाट फोन गएको थियो। यसमा काठमाडौँभित्र काम गर्ने ३० जना र काठमाडौँ बाहिरका १२ जना पत्रकार रहेका छन्। कान्तिपुरको एचआरका पुष्पराज गिरीले पत्रकारहरुलाई विदामा बस्न फोन गरेको बुझिएको छ।

काठमाडौँभित्रका ३० जनामा प्रुफ रिडर, डिजाइनर र पत्रकार पनि पर्छन्।

व्यवस्थापनको आइडिया बुझिए अनुसार न्युजरुमका एक तिहाई सदस्यलाई एक महिना र अर्को एक तिहाई सदस्यलाई अर्को महिना र अर्को एक तिहाई सदस्यलाई एक महिना गरी कूल तीन महिना बेतलवी विदामा राख्ने तयारी हो।

कान्तिपुरले आफ्ना प्रकाशनहरु कोरोना कहरका कारण बन्द गर्ने निर्णय यसअघि गरेको थियो। तर आफूले बन्द गर्ने बित्तिकै अरु पत्रिकाहरुले पनि बन्द गर्लान् भन्ने सोच उल्टिएपछि एक हप्तामै कान्तिपुर फेरि प्रकाशन हुन थालेको थियो। तर प्रकाशित पत्रिकाका पेजहरु उराठलाग्दा छन्। विज्ञापन बिना सबै पेज ‘टुँडिखेल’ भएका छन्। आफ्नै विज्ञापन केही पेजमा राखिएको छ।

यत्रो वर्षसम्म नम्बर वन रहेको मिडिया हाउसले संकटको यो बेला आफ्ना पत्रकारहरुलाई गरेको यस्तो व्यवहार साँच्चिकै अचम्म लाग्ने खालको छ। आफू कार्यरत मिडियालाई नै सर्वस्व ठानेर काम गरिरहेका श्रमजीवी पत्रकारहरु हठात् व्यवस्थापनको यस्तो निर्णय सुनेर स्तब्ध छन्। यो महामारीमा अभिभावकीय भूमिकामा हुनुपर्ने संस्थाले आफ्नै पेटमा लात मार्न खोजेको सुनेपछि बिचराहरु गरुन् पनि के ! यसरी पत्रकारहरुलाई विदा दिएर कति नै खर्च जोगिएला र ! जोगिएको खर्च भन्दा एक नम्बरको, बलियो भन्ने उसको ब्रान्डमा पर्ने असर- कुन चाहिँ धेरै होला? व्यवस्थापनले यो त सोचेकै होला नि !

अर्को मिडिया हाउस नेपाल रिपब्लिक मिडियामा पनि तलबको समस्याले पत्रकारहरुलाई पिरोलेको छ। नियमित तलबको माग गर्दाको जवाफमा रिपब्लिका दैनिकको प्रकाशन स्थगित भइसकेको छ। धन्न तलब नपाए पनि काम गर्ने उदार पत्रकारहरुका कारण नागरिक दैनिकको प्रकाशन भने भइरहेको छ। नागरिक अहिले निःशुल्क वितरण भइरहेको छ।

त्यसैगरी अन्नपूर्ण मिडिया ग्रुपमा पनि तलबको उस्तै समस्या छ। प्रकाशनहरु भने भइरहेका छन्।

दि हिमालयन टाइम्सले प्रकाशन इपेपरको ६ पेजमा सीमित गरेको छ।

काठमाडौँ भित्र र बाहिर प्रकाशन हुने अरु थुप्रै साप्ताहिक पत्रिकाहरु बन्द भइसकेका छन्।

सम्बन्धित समाचार
कान्तिपुरको अर्को निर्णय, ४० जना भन्दा बढी पत्रकार, कर्मचारीलाई बेतलबीमा बस्न उर्दी (खुला नेपाल)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme