Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

८ गते जारी, १२ गते खारेज : बच्चाले कपिमा केरमेट गर्‍या जस्तो हो यो?

Posted on April 24, 2020 by Salokya

२०७७ वैशाख ८ गते जारी भएका दुई अध्यादेश वैशाख १२ गते खारेज भएका छन्। राष्ट्रपति कार्यालयबाट चार दिनको अन्तरालमा जारी भएका यी दुई वटा विज्ञप्तिले देखाउँछ, हाम्रा प्रधानमन्त्री कोरोनाको कहरका बीच के कुरालाई प्राथमिकता दिइरहेका छन्? वैशाख ८ गते जसरी द्रुत गतिमा काम गरेर रातारात राष्ट्रपतिबाट प्रमाणीकरण गरी राजपत्रमा प्रकाशनसमेत गरी यी अध्यादेश लागू गरियो, उस्तै गरी १२ गते खारेज पनि गरियो। किन ल्याएको र किन खारेज गरेको भन्ने समेत अलमल हुने गरी नेपालको इतिहासमा नै एउटा अनौठो काम गरियो। देशको कानुन जस्तो गम्भीर कुरामा बच्चाले कपिमा केरमेट गरे झैँ गरियो।

अर्काको पार्टी फोर्नका लागि देश महामारीसँग जुधिरहेको बेला यो अध्यादेश ल्याइयो। सांसद, पूर्व मन्त्री र पूर्व आइजीलाई लगाएर एक जना सांसदलाई जनकपुरबाट उठाउन लगाइयो। अनि पाँच तारे होटल मेरियटमा बस्न लगाइयो। दुई दशकअघिको सांसद किनबेच प्रकरण सम्झने गरी हर्कतहरु भए।

तर अचम्मैसित फुटाउन ल्याइएको अध्यादेशले दुई पार्टीलाई जुटाइ पो दियो। प्रधानमन्त्रीको फुटाउने रणनीतिलाई काउन्टर गरेर राजपा र समाजवादी पार्टी एक भइदिए। पार्टी फुटाउन संख्या जुटाउँदै गर्दा यता पार्टी एक भएपछि फुटाउन खोज्नेहरु वाल्ल। अन्ततः पार्टी एकीकरणको सहमति निर्वाचन आयोगमा दर्ता भयो। सरकारै लागेर पनि पार्टी फुटाउन नसकेको बदनामी खेप्नु पर्‍यो प्रधानमन्त्रीले।

कसैको कुरा नसुनेर एकलौटी रुपमा पार्टी फुटाउन सजिलो हुने र संवैधानिक परिषदमा आफूलाई सजिलो हुने गरी शक्तिशाली बनाउने दुई वटा अध्यादेश जारी गरेका प्रधानमन्त्री ओली चार दिनमै ब्याक भएर ती अध्यादेश खारेज गर्न सिफारिश गर्न बाध्य भए।

यी सब राजनीतिक नौटंकी त्यतिबेला भइरहेको थियो जतिबेला उदयपुरमा कोरोना हटस्पटका रुपमा अगाडि आउँदै थियो। नयाँ नयाँ जिल्लामा कोरोना संक्रमण देखिँदै थिए। लकडाउनले पूरै देश ठप्प थियो र जनजीवन प्रभावित थियो।

लकडाउन अब के गर्ने? ठप्प आर्थिक गतिविधि सञ्चालनका लागि के गर्ने, आर्थिक संकटमा परेकालाई कसरी राहत दिने जस्ता कुरामा ध्यान दिनुपर्ने सरकार पार्टी फोरेर सरकारमा ल्याएर दुई तिहाई बहुमत जुटाउन व्यस्त थियो। स्थिरताको आशमा मतदान गरेका मतदाताहरुको मतको समेत अपमान हुने गरी चालिएका यी कदमले प्रधानमन्त्री ओलीको नैतिकतामा गम्भीर प्रश्न उठाएको छ। तर नैतिकता भए पो!

त्यसैले केही चिन्ता छैन जस्तो छ। अध्यादेशको यो नौटंकीले असली अनुहार भने प्रष्ट बनाइदियो।

2 thoughts on “८ गते जारी, १२ गते खारेज : बच्चाले कपिमा केरमेट गर्‍या जस्तो हो यो?”

  1. madan bajracharya says:
    April 27, 2020 at 8:21 am

    आफुलाई बुद्धिमान पुर्खाको सन्तान हौ भनेर बुद्धि ज्ञान र् डिग्रि समेत् पुर्खाले अन्शियारिमा बांदिने सम्पत्ति थान्ने देखाउने त्यो मधेशबादीको निम्त बाधक बनेकाको नियोजित चालमा फसायर पद बाट हताउने खेल हो त्यो कथित पार्ती फुताउन सकिने अध्यादेस प्रकरन्। नेपालको तराई बाट पहाडीलाई लखेतेर बिहार बाट नेपाल पसे पछी आफुलाई मधेसी भन्नेहरुको मधेशबादी दलहरुको प्रयासमा मोदिको समेत् साथ पाऊन्दा पनि असफल भयो। जनमत ओलिको दललेनै सरकारको नेत्रित्व गर्न सक्ने र् प्रदेश नम्बर २को समेटा निर्णयक राजनैतिक् शक्ति बने बाट मधेश बादिको तराई लाई नेपाल र् भारत बिचको मध्य् देस नामको भोली अर्को सिक्किम बनाउने दुस्चाहना पुरा हुन सकेन। यस्को लागि उनिहरु ओलीलाई दोशी मान्छन । अरु तरिका बाट ओलीलाई हताउन सकिन्दैन तर यस्तै अध्यादेसको चक्रब्युहमा फसायर …..कुरा यही हो। फेरी आफ्नै मुर्खता को अलावा गलत गर्न बाट नरोक्ने को साथ लिने ओली फस्नुनै थियो फसे। तर यसो भन्नुको अर्थ ओलीको सम्र्थन गरेको होईन; खरावमा काम खराव रोज्नै पर्ने भयकोले सहेको मात्रै हो।

    Reply
  2. बाबू नेपाल says:
    April 24, 2020 at 7:30 pm

    ८ र १२ को संयोग मिल्दैन रे भन्थे अरु पनि केही थप बाकी पो छ की ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme