Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

धन्दा नमान्नुस्, दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको होइन

Posted on April 20, 2020 by Salokya


सामाजिक सञ्जालमा हिजोदेखि एउटा हल्ला फैलिएको छ- दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको बारे। सत्यसमाचार नाम भएको एउटा वेबसाइटले राखेको यो हल्ला अरु थुप्रै कपिपेस्ट अनलाइनहरुले पनि जस्तातस्तै साभार गरेका छन्। केही पत्रकारहरुले समेत यो हल्ला पत्याएर सामाजिक सञ्जालमा सेयर गरेको देखियो। सत्यसमाचारको फेसबुक पेजमा यो ८ सयभन्दा बढी सेयर भएको देखिएको छ।

के साँच्चिकै विश्वभर इन्टरनेट दुई दिन बन्द हुन लागेको हो त? हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।

यो हल्लालाई समाचारका रुपमा सत्यसमाचार डट कमले राखेको छ। नाम सत्यसमाचार राख्दैमा सत्य हुने होइन। यो कहाँबाट सञ्चालन भएको र पत्रकारहरु को को छन् भन्ने समेत जानकारी नराखेको छद्म अनलाइन हो। यसको समाचारमा आगामी २ दिन विश्वभरको इन्टरनेट सर्भिसमा बाधा आउन सक्ने अन्तराष्ट्रीय सञ्चारमाध्यामहरुले जनाएका छन् भन्दै ‘रसिया टुडे’को रिपोर्टअनुसार मेन डोमेन सर्भर र योसँग जोडिएको नेटर्वक इन्फ्रास्ट्रक्चर केहि समयको लागि बन्द हुने भएकोले इन्टरनेटमा समस्या देखिन लागेको हो दावी गरिएको छ। तर समाचारमा राखिएको आरटी डट कमको लिङ्कमा यससम्बन्धी समाचार छैन। त्यसमा क्लिक गर्दा खुल्ने समाचार यो हो-

धेरै कपिपेस्ट अनलाइनहरुले यो हल्लालाई राखेका छन्-

के हो सत्य ?

वास्तवमा दुई दिन विश्वभर इन्टरनेट बन्द हुन लागेको हल्ला अहिले होइन दुई वर्ष अघि सन् २०१८ मा चलेको थियो। हिन्दुस्तान टाइम्सले त्यतिबेला यस्तो समाचार राखेको थियो-

यो समाचारमा भएको भाषा र अहिले चलाइएको हल्लाको समाचारको भाषा उस्तै छ। यहाँ क्लिक गरी पढ्नुस्।

तर त्यतिबेला पनि विश्वभर दुई दिन इन्टरनेट बन्द हुने खबर गलत भएको पुष्टि भएको थियो। इन्टरनेटको व्यवस्थापन गर्ने संस्था आइक्यानका प्रवक्ताले इन्डियनएक्सप्रेससित यो खबर गलत भएको बताएका थिए। त्यतिबेला Root Key Signing Key (KSK) Rollover हुन लागेको थियो। यो कारणले एकदमै कम असर पर्ने र ९९ प्रतिशत प्रयोगकर्तालाई केही असर नपर्ने खबर त्यतिबेला आएको थियो।

त्यतिबेला भारतीय मिडियाले हल्ला गलत भएको समाचार राखेका थिए

त्यही पुरानो खबरलाई अहिले लकडाउनका बेला मान्छेलाई झुक्याउन राखिएको हो। यो पूर्णतया गलत छ। जसरी कोरोना भाइरसबाट बच्न दूरी कायम गर्नुपर्छ, त्यसरी नै यो सूचना संक्रमण फैलनबाट बच्न यसबाट टाढै रहनुपर्छ। यस्ता मिथ्या पोस्टहरुमा लाइक गर्ने, सेयर गर्ने, कमेन्ट गर्ने, रियाक्ट गर्ने गर्नाले यस्तो झुट झन् झन् फैलन सक्छ।

यस्ता धेरै गलत सूचना अहिले फैलिरहेका छन्। यस्ता समाचार तपाईँको मेसेन्जरमा आयो भने अरुलाई फरवार्ड गर्ने काम नगर्नुस्।

फेसबुकमा यस्ता गलत लाग्ने, शंकास्पद समाचार वा लिङ्कहरु भेटिएमा त्यसलाई सेयर, लाइक वा कमेन्ट नगर्नुहोला। तपाईँले त्यसो गर्नुभयो भने यस्ता गलत कुरा अझ फैलन सक्छ। एकदमै विश्वास लाग्ने स्रोतहरुबाट मात्र जानकारी लिनुस्।

(सेन्टर फर मिडिया रिसर्च र माइसंसारको संयुक्त प्रयासमा सोसल मिडियामा भाइरल भएका र मिडियामा आएका समाचारहरुको तथ्य जाँच हामी गरिरहेका छौँ। तपाईँलाई शंका लागेका लिङ्क, फोटो वा भिडियो [email protected] वा [email protected] अथवा माइसंसारको फेसबुक पेजमार्फत् पठाउन सक्नुहुन्छ। तथ्य जाँच सामाग्री माइसंसार र नेपालफ्याक्टचेकमा प्रकाशन हुन्छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme