Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नझुक्किनुस्, पूर्वराजा ज्ञानेन्द्रको ट्विटर र फेसबुक अकाउन्ट फेक हो

Posted on April 19, 2020 by Salokya

केही दिनदेखि मिडिया विशेषतः अनलाइनहरुमा राजा ज्ञानेन्द्रको आधिकारिक ट्विटर दावी गर्दै त्यसलाई उद्‍धृत गर्दै समाचार आउन थालेका छन्। गएको फेब्रुअरी चलाउन थालिएको @GBBShah ह्यान्डल भएको ट्विटर अकाउन्टमा साढे १३ हजारभन्दा बढी फलोअर छन्। यसमा विभिन्न विषयमा ट्विट गर्ने गरिन्छ। यही ट्विटका आधारमा केही मिडियाले समाचार पनि बनाउने गर्छन्। सो ट्विटर अकाउन्टमा The Former King Gyanendra Bir Bikram Shah (Official) दावी गरिएको छ। त्यसमा एउटा फेसबुक पेजको लिङ्क पनि दिइएको छ।

के साँच्चै मिडियामा दावी गरिए जस्तो पूर्वराजा ज्ञानेन्द्रले ट्विटर र फेसबुक चलाउन थालेका हुन्? यो विषयमा हामीले फ्याक्टचेक गरेका छौँ।

थाहाखबरले चैत २४ गते पूर्वराजा ज्ञानेन्द्रले भने : ‘संकटका बेला राजनीतिक विवाद झिक्नु घातक !’ शीर्षकमा समाचार लेखेको छ। इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै लेखेर समाचारमा यो अकाउन्टको ट्विटलाई एम्बेड पनि गरिएको छ।

त्यसैगरी डिसी नेपालले लकडाउनको असर : पूर्वराजादेखि युवा नेतासम्म सामाजिक सञ्जाल सक्रिय शीर्षकमा वैशाख ३ गते समाचार राखेको छ। समाचारमा ‘पूर्व राजा ज्ञानेन्द्र शाह पनि यतिबेला ट्विटरमा सक्रिय छन्। उनले ट्विटरमार्फत समयामिक र सरकारले गरेका निर्णयप्रति प्रतिक्रिया दिइरहेका हुन्छन्’ लेखिएको छ र ट्विटका केही स्क्रिनसट पनि राखिएको छ।

नेपालखबरले त्यो भन्दा अघि चैत १९ गते नै कोरोना रोक्न २ करोड दान गरेका पूर्वराजा ज्ञानेन्द्र भन्छन्ः स्वदेश फर्किन खोज्ने नेपालीलाई ढोकामा तगारा लगाउनु हुन्न शीर्षकको समाचार यही ट्विटर अकाउन्टलाई आधार मानेर लेखेको छ। समाचारमा लेखिएको छ, ‘आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै उनले कोरोनाले गर्दा विदेशमा बस्न नसक्ने भएपछि आफ्नो देश फर्कन खोज्ने नेपालीलाई सीमामा रोक लगाउन नहुने सुझाव दिएका हुन्।’

यसैगरी, डाक्टर पुनलाई स्पष्टिकरण सोधेकोमा पूर्वराजाको असन्तुष्टि, स्वास्थ्यकर्मी हतोत्साहित भए नागरिकले दु:ख पाउने चिन्ता शीर्षकमा पहिलोपोस्टले वैशाख ७ गते लेखेको समाचारमा पनि यही अकाउन्टको ट्विटलाई नै आधार बनाइएको छ। समाचारमा ट्विट पनि एम्बेड गरिएको छ।

के हो सत्य ?

यति धेरै मिडियामा समाचार आएको देखेपछि पूर्वराजा ज्ञानेन्द्रकै आधिकारिक ट्विटर भएर त लेखियो होला नि भन्ने लाग्न सक्छ। कू गर्दा इन्टरनेटसमेत बन्द गर्ने पूर्वराजा अहिले सामाजिक सञ्जालमा आएकै हुन् त?

ट्विटर र फेसबुकमा पूर्वराजा ज्ञानेन्द्र शाहका भनिएका अकाउन्ट रियल हुन् कि फेक? यो बारे हामीले उनका संवाद सचिव डा. फणिराज पाठकलाई फोन गरी सोध्यौँ। पूर्वराजाका कुनै पनि खबरको आधिकारिक जानकारी उनीमार्फत् नै आउने गर्छ।

उनले भने, ‘उहाँले त्यस्तो ट्विटर, फेसबुकहरु चलाउनु भएको छैन।’

हेर्नुस्-

पाठकले पूर्वराजा ज्ञानेन्द्रलाई योबारेमा सोधेका थिए। उनका अनुसार पूर्वराजाले भने, ‘मैले त चलाएको छैन। बरु कसले चलाएको हो, खोज्नू।’

पाठकले कसले पूर्वराजाको नाममा सामाजिक सञ्जाल चलाइरहेको छ भनेर आफूले पनि खोजिरहेको जानकारी दिए। अर्थात् मिडियाले पूर्वराजाको आधिकारिक भनेर दिएका जानकारीहरु फेक अकाउन्टका गलत हुन् भन्ने पुष्टि हुन्छ।

के छ ट्विटरको नियम ?

अरु व्यक्ति, ब्रान्ड वा संगठन जस्तै देखिने गरी झुक्याउने हिसाबले ट्विटर अकाउन्ट खोल्नु ट्विटरको नियमको उल्लङ्घन हो। यस्ता अकाउन्टलाई ट्विटरले बन्द गरिदिन सक्छ। तर प्यारोडी, फ्यान अकाउन्ट भने बनाउन पाइन्छ।

यो अकाउन्टले पूर्वराजाको भनेर झुक्याउन खोजेको पाइएकोले उजुरीहरु परेमा बन्द हुनसक्छ।

यो फेक अकाउन्टको अध्ययन गर्दा लगभग सबै ट्विटहरु मोबाइलबाट नगरी डेस्कटप अर्थात् twitter web app बाट गरेको देखिन्छ। अकाउन्टले ७१ जनालाई फलो गरेको देखिएको छ। अधिकांश विदेशी संस्था र नेताहरु छन्। यो अकाउन्टले फलो गरेकोमध्ये अस्वभाविक दुई वटा देखिन्छ, एउटा- यसबाट मोहना अन्सारीलाई फलो गरिएको छ। दोस्रो, ब्रह्मकुमारीको ट्विटर ह्यान्डल पनि यसले फलो गरेको छ। त्यसैगरी भारतीय बाल अभियन्ता Licypriya Kangujam का धेरै ट्विटहरु यो अकाउन्टबाट लाइक भएको पाइएको छ।

2 thoughts on “नझुक्किनुस्, पूर्वराजा ज्ञानेन्द्रको ट्विटर र फेसबुक अकाउन्ट फेक हो”

  1. Nabraj Khanak says:
    April 21, 2020 at 4:22 pm

    Hait, Kati samma garchan ho! Unfollow garihalnu paryo!

    Reply
  2. बासु says:
    April 19, 2020 at 6:48 pm

    लौ खा, मपनि झुक्किएको रहेछु । अब तु अनफोलो । अनि ट्विटरमा रिपोर्ट ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme