काठमाडौँ टुडे अनलाइनमा ‘जनावरको मासु खान प्रतिबन्ध लगाऊः डब्लुएचओ’ शीर्षकमा वैशाख ६ गते एउटा समाचार प्रकाशन भएको छ। फेसबुकमा ९ सयभन्दा बढी पटक सेयर भइसकेको यो समाचारमा दावी गरिएको छ, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु नखान र खान प्रतिबन्ध लगाउन अपिल गरेको छ। ७० प्रतिशत नयाँ भाइरस वन्यजन्तुको मासुबाटै आएको भन्दै डब्लुएचओले जनावरको मासु नखान र व्यापारमा प्रतिबन्ध लगाउन अपिल गरेको हो।’
समाचारमा कुनै स्रोत उल्लेख नगरी ‘एजेन्सी’ मात्र भनिएको छ। कुन एजेन्सी हो, खुलाइएको छैन। के साँच्चै डब्लुएचओले जनावरको मासु खान प्रतिबन्ध लगाउन भनेको हो त? हामीले यसबारे फ्याक्टचेक गरेका छौँ।
काठमाडौँ टुडेको समाचारको तेस्रो अनुच्छेदमा ‘डब्लुएचओ प्रमुख डा. टेड्रोसले वन्यजन्तु व्यापारमा रोक लगाउन विश्वका सबै देशलाई आग्रह गरेका छन्’ लेखिएको छ। जबकि माथि लिडमा वन्यजन्तुको मासु नखान र खान प्रतिबन्ध लगाउन अपिल भनिएको छ।
शीर्षक, लिडलाइन र समाचारको अन्तर्वस्तुमा समानता छैन। शीर्षकमा ‘जनावरको मासु खान प्रतिबन्ध लगाउन’ भनिएको उल्लेख छ। यसले सबै जनावरको मासु खान प्रतिबन्ध लगाउनु पर्ने आह्वान गरेको जस्तो देखिन्छ।
तर समाचारको लिडलाइनमा भने ‘वन्यजन्तुको मासु नखान र खान प्रतिबन्ध लगाउन’ अपिल भनिएको छ।
जनावर र वन्यजन्तुको एउटै अर्थ हुँदैन। वन्यजन्तु wild animal को अनुवाद हो। वनमा बस्ने जनावरको अर्थ त्यसले दिन्छ। जनावरले सबै पशुको अर्थ दिन्छ।
तेस्रो अनुच्छेदसम्म आइपुग्दा त वन्यजन्तुको व्यापारमा मात्र रोक लगाउने आग्रह भएको पढ्न पाइन्छ। आखिर हो के त?
डब्लुएचओका डाइरेक्टर जनरल टेड्रोसले शुक्रबारको प्रेस ब्रिफिङमा यससम्बन्धी बताएका थिए। उनले wet market को कुरा गरेका छन्। Wet market भनेको जिउँदा जलचरहरु जस्तै माछा, समुद्रमा पाइने जीव आदिको व्यापार हुने ठाउँ हो।
टेड्रोसले विश्वका लाखौँ जनताको जीविकोपार्जन र खाद्यान्नको महत्त्वपूर्ण स्रोत यस्तै वेट मार्केट रहेको तर धेरै ठाउँमा यसको नियमन र व्यवस्थापन निकै कमजोर हुने गरेको बताएका थिए। उनले भनेका थिए, ‘यस्ता बजारहरु पुनः खोल्न अनुमति दिनुअघि खाद्य सुरक्षा र सफाइ मापदण्ड पूरा गरेको पुष्टि हुने शर्त राखिनुपर्छ। सरकारहरुले खाद्यान्नका लागि वन्यजन्तुहरुको बिक्री र व्यापारमा कडाइका साथ प्रतिबन्ध लगाउनु पर्छ।’
हेर्नुस् भिडियो-
.@DrTedros clarified WHO’s position on “wet markets” in today’s media briefing. #COVID19 pic.twitter.com/icQDCt6ERo
— World Health Organization (WHO) (@WHO) April 17, 2020
यसको अर्थ सबै जनावरको मासु खान प्रतिबन्ध लगाउनु होइन। खाद्यान्नका लागि वन्यजन्तु अर्थात् वाइल्डलाइफको बिक्री र व्यापारमा मात्र प्रतिबन्ध लगाउन भनिएको हो। कुखुरा, खसी, राँगा आदि घरपालुवा जनावरको पनि मासु खान प्रतिबन्ध लगाउने अर्थ होइन। त्यसैले काठमाडौँ टुडेको समाचार भ्रामक छ।
यद्यपि सरकारले जंगली तथा घरपालुवा पशुपंक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहन र माछा मासु तथा अन्डा राम्रोसँग पकाएर मात्र खान सुझाव दिएको छ।
खासमा, Wet Market भनेको जिउँदा जलचरहरू बेच्ने बजार मात्रै होईन, यसले सबै प्रकारका मासु खानका लागी प्रयोग गरिने जिँदा जनावरहरु (जस्तै संगुर, कुखुरा, हाँस, का साथै आलो मासु) बेच्ने स्थानलाई पनि बुझ्नु पर्छ।
अर्को कुरा, हाल सम्म घरपालुवा जनावरबाट मानिसमा यो रोग (COVID-19) सरेको पाईएको छैन। कुन घरपालुवा जनावरमा यो COVID-19 को भाईरस कति सर्छ भन्ने बारेमा हालै गरिएको वैज्ञानिक अनुसन्धानहरुले के देखाएका छन् भने, हावाको माध्यमाबाट सर्ने रोग लाग्नका लागी बिरालो अन्य जनावरहरु (कुकुर, सुंगुर, कुखुरा र हाँस) भन्दा बढिनै सम्वेदनशील रहेको पाईएको छ। अनुसन्धानको नतिजा प्रतिष्ठित जर्नल Science मा प्राकाशित भएको छ। त्यसम भनिएको छ “In summary, we found that ferrets and cats are highly susceptible to SARS-CoV-2, dogs have low susceptibility, and livestock including pigs, chickens, and ducks are not susceptible to the virus.”[J. Shi et al., Science, DOI: 10.1126/science.abb7015 (2020)] तसर्थ यो सूचाना पनि केही हदसम्मस मात्र ठिक देखिन्छ किनभने, पशुहरुको सम्पर्कबाट यो रोग हाल सम्म सरेको छैन र सरेको भन्ने कुनै पनि प्रमाणहरू पनि देखिएको छैन। त्यसकारण कुखुराको मासु, अण्डा खानका लागी कुनै डर मान्नु पर्ने कारण नै देखिदैन, निर्धक्क भएर खानुहोस्।