Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट मिसकल आएको छ? सावधान, कलब्याक नगर्नुस्, वाङ्गिरीले डुबाउला

Posted on April 15, 2020 by Salokya

दूरसञ्चार प्राधिकरणले आज विदेशबाट आउने मिसकलको बारेमा सूचना प्रकाशन गरेकोले एक वर्षअघिको यो ब्लग सान्दर्भिक भएकोले पुनः प्रकाशन गरिएको छ।


केही दिनदेखि नेपालका धेरैले आफ्नो मोबाइलमा विदेशको अपरिचित नम्बरबाट मिसकल आएको देखेका होलान्। दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना प्रकाशित गर्दै त्यस्ता कलहरु Wangiri Scam (One ring scam) भएकोले नउठाउन सबैलाई आग्रह गरेको छ। के हो त यो Wangiri scam भनेको चाहिँ? आउनुस् विस्तारमा जानौँ।


स्केच साभार : enghousenetworks.com

के हो वाङ्गिरी भनेको?
वाङ्गिरी जापानी भाषाको शब्द हो। यसको अर्थ एक रिङ अनि काट्नु हो। वाङ्गिरी कल भनेको त्यस्तै हुन्छ। तपाईँको मोबाइलमा आएको भए तपाईँले पनि अनुभव गर्नुभएको होला। छोटो एक रिङमात्रै आउँछ। तपाईँ त्यसलाई उठाउनै भ्याउनु हुन्न। पछि हेर्दा मिस कल देखिन्छ। नम्बर तपाईँले चिनेको हुँदैन। अन्तर्राष्ट्रिय नम्बर हुन्छ।

यो देखेपछि तपाईँले कसले फोन गरेछ भनेर कलब्याक गरौँ गरौँ लाग्छ। अन्तर्राष्ट्रिय कलको सुविधा नलिएको पोस्टपेड मोबाइल भए त केही भएन तर प्रिपेड हो भने त कल जान्छ। कल गर्नुभयो भने तपाईँ फँस्नुभयो। यो नम्बरले प्रिमियम रेट सर्भिस भएको फोन नम्बरमा कल फरवार्ड गर्छ जसका कारण तपाईँको ब्यालेन्समा भएको ठूलो रकम च्वाट्टै काट्छ।

कसले गर्छ यस्तो कल?
सामान्यतया ठगहरुले यस्तो कल रोबोटलाई अटोमेटिक रुपमा गर्न लगाउँछ। तपाईँलाई चिनेर उनीहरुले फोन गरेको हैन, र्‍यान्डम नम्बर छानेर एकैचोटी सबैलाई टार्गेट गरी गर्ने हुन्। कलब्याक गर्ला भनी कहिलेकाहीँ त एक पटक मात्र हैन दुई तीन पटक पनि उनीहरुले रिङ दिने गर्छन्। उनीहरुको उद्देश्य तपाईँबाट कलब्याक पाउनु हो।

नेपालमा मात्र हो यस्तो ठगी?
हैन, विदेशमा पनि प्रशस्तै हुन्छन् यस्ता ठगी। यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यममा पनि प्रशस्तै समाचार बन्ने गरेका छन्। सिएनएनले गएको मे महिनामा न्युयोर्क र एरिजोना राज्यमा यस्ता कलहरुको गुनासो आएको भन्दै समाचार लेखेको छ। बेलायती मिडियाले पनि सन् २०१८ मा यस्तो स्क्याम त्यहाँ हुँदै गरेको बारे सतर्क गराउन लेखेको छ। आइरिस टाइम्सले सन् २०१७ मै +269 (Comoros), +231 (Liberia), +216 (Tunisia) and +682 (Cook Islands) बाट यस्ता ठगी कलहरु आइरहेकोबारे लेखेको छ। उसले यो नम्बरमा कल गर्दा अरबी भाषामा बोल्ने केटीले उठाएको पनि उल्लेख गरेको छ। गएको वर्ष मे महिनामा युएईमा पनि यस्तै ठगी कलको बिगबिगी भएको बारे त्यहाँको द नेसनलले लेखेको छ। विभिन्न टेलिकम कम्पनीहरुले पनि यसबारे सूचना दिइरहेका हुन्छन्।

यस्तो कल आए के गर्ने?
ठगीबाट बच्न सबैभन्दा राम्रो उपाय यस्ता नम्बरहरुमा कलब्याक नगर्ने हो। ट्रुकलर वा अरु उपायबाट नम्बरहरुको बारेमा खोज्दा पनि हुन्छ। यदि यस्ता कलहरु आएको छ भने इमेलहरु [email protected] मा इमेलबाट जानकारी दिन दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।

खासमा टेलिकम अपरेटरहरु अर्थात् नेपाल टेलिकम, एनसेल आदिले एसएमएसबाट यस्ता कलहरु नउठाउन सूचना जारी गर्नुपर्ने हो। यस्ता शंकास्पद नम्बरहरु ब्लक गरिदिनु पर्ने हो। टेलिकम अपरेटरले आफ्ना थुप्रै ग्राहकहरुलाई कुनै नम्बरबाट मिसकल गरेको देखेपछि यसै पनि शंकास्पद ठानेर त्यसबारेमा खोजेर ब्लक गर्ने वा ग्राहकलाई सूचना दिने गर्नुपर्ने हो। तर नेपाली टेलिकम अपरेटरहरु यसबारे चनाखो भएको देखिन्न।

नेपालमा ६ वर्षअघि मायालु युवतीसित गफ गर्नुस् भन्दै एसएमएस पठाएर ठगी गर्न खोजिएको थियो। त्यतिबेलाको ब्लग पढ्नुस्- मायालु युवतीसित गफ गर्नुस् भन्दै तपाईँलाई एसएमएस पठाउनेको धन्दा खासमा यस्तो रैछ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme