Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नआत्तिनुस्, काठमाडौँको अपार्टमेन्टमा तीन जना पोजिटिभ RDT मा भेटिएका हुन्, PCR मा हैन

Posted on April 14, 2020April 14, 2020 by Salokya


काठमाडौँको पेप्सीकोला नजिक रहेको सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने तीन जना एकै परिवारका सदस्यमा कोरोना पोजिटिभ भेटियो भनेर अहिले राजधानीमा धेरै मान्छे अलि आत्तिए जस्तो देखिएको छ। तर विज्ञहरुका अनुसार यो डराइहाल्नुपर्ने स्थिति होइन। किनभने पोजिटिभ RDT टेस्टमा भेटिएको हो, PCR मा होइन।

लकडाउन हुनुभन्दा अघि नै काठमाडौँ आएर होम क्वारेन्टिनमा बसिरहेका उनीहरु अहिले पाटन अस्पतालमा छन्। अपार्टमेन्ट सिल गरिएको छ र त्यहाँ बस्ने अरुहरुको धमाधम टेस्ट भइरहेको छ। उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ हुँदैछ। अपनाउनु पर्ने सावधानी यही नै हो। PCR मा उनीहरुमा पोजिटिभ नभेटिन पनि सक्छ। किन र कसरी? के हो यो RDT र PCR ? टेस्ट किट नै कमसल भएकोले हो कि भन्ने पनि आशंका अहिले धेरैको रहेको छ। विज्ञ के भन्छन् त?

सजिलो र बुझिने भाषामा भन्दा जसरी महिला गर्भवती भएको हो कि हैन थाहा पाउन मेडिकलमा गएर सस्तोमा किन्न पाइने प्रेगनेन्सी किटमा पिसाब राखेर त्यसमा देखिने धर्को हेरिन्छ। त्यसैगरी कोरोनाको छिटो परीक्षणका लागि RDT टेस्ट गरिने हो। जसरी प्रेगनेन्सी किटले देखाएको नतिजा ठ्याम्मै मिल्ने ग्यारेन्टी हुन्न र बढी कन्फर्म हुन ल्याबमै परीक्षण गरिन्छ, त्यसैगरी कोरोनाको पनि भाइरस छ कि छैन भन्ने परीक्षणका लागि PCR टेस्ट गरिन्छ।

कोभिड १९ बारे सुरुदेखि नै ट्विटरमार्फत् जानकारी दिँदै आएका जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले सोमबार ट्विटरमा एउटा छोटो भिडियो राखेर यसबारे प्राविधिक रुपमा सबैले बुझिने गरी बताएका छन्।

यो भिडियो बनाउनै पर्ने भएर पेश गरें । आरडिटिले संक्रमण फेला पार्न थालेपछि धेरैजना आत्तिएको पाएं । तथ्य यसप्रकार छ । आश गर्छु यसले बुझाउन सहयोग गर्नेछ । संक्रमण हामी माझ धेरै अघिदेखि नै छ, अब पहिचान भएको मात्र हो । pic.twitter.com/mv1Bn3DOAw

— Sameer M Dixit, PhD?? (@smadixit) April 13, 2020

डा. दीक्षितको भनाइको सार यस्तो छ-

र्‍यापिड टेस्टले रगतमा प्रतिरोधात्मक शक्ति इम्युनिटीले बनाएको प्रोटिन यानिकी एन्टिबडी पत्ता लगाउँछ। एन्टिबडीमा मुख्य IgG र IgM हुन्छ। यो संक्रमण सुरु भएदेखि कम्तिमा तीनदेखि चार दिन र बढीमा पाँच छ महिनासम्म पनि देखिन सक्छ। यदि कसैलाई कुनैबेला संक्रमण भएको छ भने। अहिले नेपालमा चलाइएको परीक्षणमा IgG र IgM दुवै मिक्स छ। त्यसले गर्दा अहिले पेप्सीकोलामा देखिएको केस मान्छे बिरामी भएर चेक गराएर टेस्ट गर्दा भेटिएको होइन कि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा र्‍यापिड टेस्ट गर्दा भेट्टाइएको हो। त्यही भएर र्‍यापिडबाट पत्ता लगाउनु भनेको सबैजना आत्तिनु पर्दैन। यो भनेको स्वभाविक हो। तीन महिनाअघि इन्फेक्सन भए पनि समात्छ, एक हप्ताअघि भएको पनि समात्छ, एक महिनाअघि भएको पनि समात्छ। र्‍यापिडले आजको दिनमा कोही व्यक्तिलाई संक्रमण छ कि छैन भन्ने प्रश्नको उत्तर दिन सक्दैन। त्यसको लागि PCR नै चाहिन्छ। त्यसैले PCR भनेको पहिचानको लागि हो र RDT भनेको निगरानीका लागि हो। अर्थात् क्वारेन्टिनमा बसेकाहरुलाई संक्रमण बढेको छ कि छैन वा घटेको छ कि छैन हेर्नलाई गरिेने प्रविधि हो।

आइतबार बाग्लुङमा एक महिलाको RDT गर्दा पोजिटिभ भेटिएपछि पोखराको ल्याबमा PCR गर्दा सोमबार त्यसको नतिजा नेगेटिभ आएको थियो। यसमा पनि त्यही भएको हुनसक्छ।

त्यसैले अहिले अपार्टमेन्टमा भेटिएको केसमा पनि त्यही हुनसक्छ। उनीहरु लकडाउन हुनुअघि नै आएका थिए काठमाडौँमा। लकडाउन भएकै २१ दिन भइसक्यो। झण्डै एक महिनाअघि उनीहरुलाई संक्रमण भएको हुनसक्छ। त्यही भएर उनीहरुको शरीरमा एन्टिबडी उत्पादन भयो। यत्रो समयसम्म उनीहरु अस्पताल जानु पर्ने गरी बिरामी भएनन्। अर्थात् त्यो भाइरसलाई एन्टिबडीले नै परास्त गर्दै लग्यो। अहिले आएर परीक्षण गर्दा रगतमा एन्टिबडी त्यही भएर देखियो। अहिले पनि संक्रमण छ कि छैन त PCR प्रविधिबाट परीक्षण गर्दा देखिने कुरा हो। त्यसको नतिजा पनि छिट्टै सम्भवतः मंगलबार आइहाल्छ। त्यसैले अहिले नै आत्तिनु हुन्न।

उक्त परिवार अपार्टमेन्टको चुनावमा सहभागी भएको र त्यसबाट संक्रमण फैलिएको हुनसक्ने पनि आशंका छ। तर त्यो चुनाव पनि लकडाउनअघि भएको भनिएको छ। यो हिसाबले समय धेरै भइसकेको छ। परिवारका सदस्य सेल्फ क्वारेन्टिनमा बसेको पनि भनिएको छ। त्यसले धेरै संक्रमण नफैलिएको आशा गरौँ। अपार्टमेन्टलाई सिल गरेर बस्ने सबैको र्‍यापिड टेस्ट गर्ने भनिएको छ। यो सही उपाय हो। आत्तिनु पर्ने कुरा छैन। अहिलेलाई लकडाउनमा घरभित्रै बसौँ। दूरी कायम गरौँ। हात साबुन पानीले धोऔँ र पोसिलो खानेकुरा खाऔँ।

र्‍यापिड टेस्ट कसरी गरिन्छ? यो भिडियो हेर्नुस्-

त्यसैगरी यो भिडियो हेर्नुस्-

PCR टेस्ट कसरी गरिन्छ, यो हेर्नुस्-

यो पनि हेर्ने कि !

के हो काठमाडौँमा १५ सय कोरोना संक्रमित भन्दै भाइरल भएको भिडियोको सत्य?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme