Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोनाको वक्ररेखा र कठिनतम अबको दुई हप्ता

Posted on April 9, 2020April 9, 2020 by mysansar

-रविन्द्र सुवाल-

केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘अमेरिका अबको दुई हप्ता कठिनतम समयमा गुज्रिनेछ’ भनेर सम्वोधन गरेका थिए। यसैगरी मंगलबार प्रधानमन्त्री केपी ओलीले पनि आफ्नो सम्वोधनको क्रममा ‘नेपालको अबको दुई हप्ता चुनौतीपूर्ण हुन सक्ने’ प्रक्षेपण गरे। नेपालको प्रधानमन्त्रीको दुई हप्ते प्रक्षेपणलाई विभिन्नले विभिन्न ढंगले अर्थ्याए। कसैले लकडाउन अझै दुई हप्ता बढ्ने अनुमान लगाए। कसैले अबको दुईहप्तामा सरकार झनै कठोर रुपमा उत्रने अड्कल काटे। सर्वसाधारणको बुझाई पनि आ-आफ्नै रहेको छ।

ट्रम्पको दुई हप्ता र ओलीको दुई हप्ताको तात्विक फरक भनेको ट्रम्पले तथ्यसहित दुई हप्तालाई प्रस्तुत गरेका छन् भने ओलीले भाषण मात्र। यसमा नेपाल सरकारसँग भित्री कुनै तथ्य थियो कि थिएन, त्यो खुलाइएको छैन। ट्रम्पले अमेरिकाको कठिनतम दुई हप्ता प्रक्षेपण गर्दा तथ्यांकको विश्लेषणबाट निकालिएको तल देखाइएको तथ्यांक चित्र (ग्राफ) प्रस्तुत गरेका थिए।

(तस्वीर स्रोत)

चित्रमा कोरोना महामारी फैलिँदा दैनिक रुपमा बढ्ने संक्रमणको मृत्यु दरले बनाउने दुईवटा वक्र रेखा देखाइएको छ। दुईवटै वक्ररेखाको स्वरूप पहाडको थुम्कोको जस्तो रहेको छ। यसमा एउटा थुम्कोले अग्लो र चोसो स्वरूप लिएको छ भने अर्कोले मत्थर र पुड्को स्वरूप लिएको छ। विद्वानहरुका भनाई अनुसार यदि कुनै रोकथामका उपायहरु अपनाइएन भने कोरोना संक्रमण र मृत्यु दर दिन दुई गुणा रात चौगुणाको दरले (यसलाई गणितीय भाषामा exponential growth भन्ने गरिएको छ) बढेर कोरोनाको वक्ररेखाले अग्लो र चोसो स्वरूप लिन्छ। तर रोकथामका उपायहरु अपनाइएमा वक्ररेखाले मत्थर र पुड्को स्वरूप लिन्छ जसमा संक्रमण र मृत्यु दिन एक गुणा रात दुई गुणा वा यस भन्दा कम हुन सक्छ। तसर्थ संसारभरीका सरकारले लकडाउनलाई रोकथामको प्रमुख अस्त्रको रुपमा लागू गरिरहेका छन् ताकि संक्रमण फैलिहालेमा संक्रमणले दिन दुई गुणा रात चौगुणाको दर नलेओस्।

पुनः चित्रलाई विशलेषण गर्दा, अमेरिकामा रोकथामको उपाय नअपनाइएको खण्डमा १५ लाखदेखि २२ लाख सम्म कोरोना संक्रमणले मृत्यु हुने प्रक्षेपण गरिएको छ। रोकथामको उपाय अपनाइएकोले १ लाखदेखि २ लाखसम्म कोरोना संक्रमणले मृत्यु हुने प्रक्षेपण गरिएको छ। यो मानवीय संवेदनशील कठिनतम तथ्यांकीय प्रस्तुति हो।

कोरोनाको वक्ररेखा निश्चित एउटा उच्चतम विन्दुमा पुगेपछि संक्रमणको दर जसरी बढेको थियो, त्यसरी नै घट्न शुरु गर्दछ र घटेर पुरानै स्थितीमा आइपुग्दछ। यो तथ्यलाई चीनको वुहानमा फैलिको कोरोना महामारीले पुष्टि गरेको छ।

संक्रमण फैलिएको कति दिनपछि वक्ररेखा उच्चतम विन्दुमा पुग्छ? यसको ठयाक्क उत्तर अहिले कोहीसित छैन। तर औसत प्रक्षेपण दुई हप्ताको रहेको छ। जुन थप प्रमाणित हुन बाँकी नै छ। इटाली, स्पेन, फ्रान्स र जर्मनीका तथ्यांकहरुको विश्लेषण पछि आउने नतिजाहरुले भन्दै जानेछन्।

ट्रम्पको दुई हप्ता र ओलीको दुई हप्ताको समयसीमामा परिस्थितिगत फरक रहेको छ। ट्रम्पले कठिनतम दुई हप्ता भनेका छन् भने ओलीले चुनौतीपूर्ण दुई हप्ता भनेका छन्। प्रधानमन्त्रीको  सम्वोधन भएको दुई हप्तामा यदि कुनै भित्री तथ्य छ भने अर्को कठिनतम दुई हप्ता आउन सक्ने अवस्था नेपालमा बाँकी नै छ भने बुझ्न सकिन्छ। अथवा नेपालमा समुदाय संक्रमण शुरु नै भइसक्यो अबको दुई हप्तामा यो उच्चतम विन्दुमा पुग्छ भन्न खोजिएको छ। अथवा अमेरिकाको कपी पेस्ट मात्र गरेका हुन्।

जे भए पनि, कामना गरौँ नेपालको अबको दुई हप्ता चुनौतिपूर्ण मात्र रहुन्, र त्यो चुनौति सतर्क भएर हामीले पार गरौँ। कठिनतम दुई हप्ता कहिले नआइदिओस्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme