६ वर्षअघि माइसंसारमा एउटा ब्लग निकै लोकप्रिय भएको थियो। ब्राजिलमा विश्वकप फुटबल भइरहँदा नेपालको गरिब जिल्ला मुगुमा फुटबलले ल्याएको परिवर्तनबारे ब्लग थियो त्यो। पत्रकार भोजराज भाटले मुगुको भोक, गरीबी, अभावमा संघर्ष गर्दै हुर्किरहेका चेलीको जनजीवनलाई फुटबलसित जोडेर एउटा डकुमेन्ट्री बनाएका थिए- सुनकली, जुन देशविदेशमा निकै रुचाइयो। अवार्डहरु पनि थुप्रै जित्यो। आज दिउँसो मुगुबाट त्यहाँको जिल्ला अस्पतालमा कार्यरत सुरेश गजुरेलले फोन गरेर एउटा खबर दिए, ‘तपाईँले मुगुकी मेस्सी भनेर जुन ब्लग लेख्नुभएको थियो नि, उहाँ अहिले हाम्रो अस्पतालमा आउनुभा छ। हिजो उहाँले छोरा जन्माउनु भयो।’
सुनकली आफ्ना आमा, बुबा र तीन भाइसँग। सरकारी आंकडा अनुसार, मुगुबासीको औसत आयु ४४ वर्षमात्र हो, जसमा पुरूषको ४७ र महिलाको ३९ वर्ष रहेको छ।
आमा र छोराको स्वास्थ्य अहिले राम्रो रहेको उनले जानकारी दिए। सुत्केरी गराउन उनलाई उनको धेरै टाढा पर्ने गाउँ बामाबाट मुगु जिल्ला अस्पताल ल्याइएको थियो। हामी जाँदा एक दिनको बाटो हिँडेर जानु पर्थ्यो। अहिले भने गाडी पुग्ने भइसकेछ।
सुनकलीको उमेर भर्खर १९ वर्षको भयो। अर्थात् अहिले पनि उनी टिन एजमै छिन्। १७ वर्षको उमेरमै उनले बिहे गरेकी थिइन्।
सुनकलीको रगतमा हेमोग्लोबिन कम भएकोले सम्भावित खतरालाई ध्यानमा राख्दै रगत तयार पारिएको गजुरेलले बताए। नेपाल भर लकडाउन जारी रहे पनि त्यहाँ भने खासै धेरै असर परेको रहेनछ। बाहिरबाट आएकाहरुलाई जिल्लामा कडाइ गरिएको रहेछ।
तपाईँलाई याद होला त्यतिबेलाको ब्लगमा मुगुवासीको एउटा चिन्ता उल्लेख थियो। केटाले गर्न नसकेको काम केटीले गरेपछि गाउँबासीमा छोरीलाई हेर्ने दृष्टिकोण नै फेरिएको थियो। उनीहरु भन्थे- ‘हामीलाई खुशी लाग्यो, तर यहाँकी केटीहरु ३० वर्षसम्म खेलाडी भइरहेको भए हाम्रो ठूलो छाती हुन्थ्यो। पुनः विजेता हुन्छन् कि भन्ने आश बाँकी रहन्थ्यो। हाम्रो चलनमा १८–१९ वर्षमै पोइल जान्छन्। यति चाँडै उमेरमा पोइल गएपछि हाम्रो नाम कसले राख्ने? चिन्ताको विषय यो हो।’
भन्छन् नि अन्डरडग टिम। हो, त्यस्तै थियो त्यो मुगुको टिम। अकस्मात् आएर कपै जितिदिएको थियो। यसले मुगुमा ठूलै हङ्गामा भएको थियो। हिनता मुटुको कुनामा लुकाएर बाँचिरहेका मुगुवासीहरुलाई गर्वले शिर ठाडो गर्ने एउटा मौका यसले दिएको थियो। तर अरु जस्तै सबै सबै खेलाडीको बिहे चाँडै नै भयो। सुनकलीलाई निर्देशक भोजराज भाटले विशेष व्यवस्था गरेर एलए (काठमाडौँको लिटिल एन्जलस स्कूल) मा पढाउने व्यवस्था गरिदिएका थिए। तर उनले पनि छिट्टै लभ म्यारिज गरी हालिन्।
मुगु जिल्लाकै इतिहासमा एलएमा पढ्ने यसअघि जम्मा तीन जना थिए- सबै धनाढ्य। सुनकली भने यो घरकी छोरी हुन्
त्यो देखिएको सेतो घरको पनि एउटा कोठामात्र सुनकलीको परिवारको हो।
डकुमेन्ट्रीको सफलतासँगै यो बीचमा उनी सात समुद्र पार स्पेनसमेत पुगिन्। र त्यहाँको क्लब एथलेटिक बिलबाओको कृत्रिम घाँसे मैदानमा फुटबलसमेत खेलिन्।
रियल मेस्सी भेट्ने योजना तुहियो
तर कम उमेरमै भएको बिहेका कारण उनले अरु धेरै मौकाहरु गुमाइन्। जस्तै यो भिडियो हेर्नुस्-
सन् २०१७ मा माउन्ट किलिमान्जारोमा विश्वभरका ३० महिला खेलाडीले विश्वकै अग्लो ठाउँमा फुटबल खेल्ने तय भएको थियो। सुनकली पनि त्यसमा जाने तय भइसकेको थियो। उनी छनौटमा परिसकेकी थिइन्। तर भर्खर बिहे भएको कारणले हो कि किन हो, पछि उनले त्यहाँ जान असमर्थता व्यक्त गरिन्।
त्यसैगरी सन् २०१७ को सेप्टेम्बर ५ मा अर्जेन्टिनाको राजधानीमा रहेको रिभर प्लेट स्टेडियममा एउटा महत्वपूर्ण खेल हुँदै थियो- अर्जेन्टिना र भेनेजुएलाका राष्ट्रिय टिम बीच। त्यो खेलपछि ड्रेसिङ रुममा साँच्चैको मेस्सीलाई हाम्रो हिमालयन मेस्सीले भेट्ने कार्यक्रम थियो। भोजराज सुनाउँछन्, ‘अर्जेन्टिनाको फुटबल एसोसिएसनले सबै कुरा मिलाइसकेको थियो। तर सुनकली जान मानिनन्।’
सुनकली आफै जान नमानेपछि जबर्जस्ती जानै पर्छ भन्ने कुरा पनि आएन। यसरी मेस्सी भेट्ने कार्यक्रम यत्तिकै तुहियो।
त्यसैगरी अमेरिकी दूतावासले पनि एक पटक उनलाई महिला नेतृत्वसम्बन्धी कार्यक्रममा अमेरिका लैजान खोजेको थियो। तर उनलाई परिवारले जाने अनुमति दिएन।
दुई वर्षअघि निर्देशक भोजराज भाट महिलाको अर्को एउटा फुटबल टिम बनाएर स्पेनमा फुटबल खेलाउन लैजान त्यही गाउँ पुगेका थिए। सँगै म पनि पुगेको थिएँ। त्यतिबेला मलाई लागेको थियो, सुनकली र बामा गाउँलाई देशविदेश सबै ठाउँमा चिनिने बनाएकोमा भोजराजलाई सम्मान गर्छन् होला त्यहाँ। केको सम्मान हुनु ! झण्डै जुत्ताको माला लगाएर खेदाएका थिए। गाउँलेहरुलाई भोजराजदेखि अत्ति रिस उठेको रहेछ। कारण पनि अचम्मका रहेछन्।
राति गाउँलेहरुसँग वार्ता भयो। उनीहरुले आफ्नो असन्तुष्टि सुनाए, त्यत्रो घण्टा भिडियो खिचेर डकुमेन्ट्रीमा किन कम मात्र राखेको? मैले बोलेको किन नराखेको? फुटबल त सबै मिलेर खेलिने खेल हो, सुनकलीलाई मात्र किन हाइलाइट गरेको? काठमाडौँमा सबैलाई किन नपढाएको?
बिहे नभएका त्यो फुटबल टोलीका तीन जनालाई मात्र भोजराजले काठमाडौँमा पढ्ने व्यवस्था मिलाएका थिए। तर आफूहरुकी छोरीलाई पनि पढाउनु पर्ने उनीहरुको माग थियो। भोजराज म सरकार हो र मसित माग गर्न भन्दै थिए। मुगुको गरिबी बेचेर करोडौँ करोड खाएको आरोप थियो उनलाई।
त्यस्तो प्रतिकूल परिस्थितिका बावजूद भोजराजले छनौट खेल गराएर एउटा नयाँ टिम बनाएर स्पेनमा फुटबल खेलाउन लगेर फर्काए पनि। यसको नयाँ डकुमेन्ट्री भने बन्न सकेको छैन अझै।
पुरानो ब्लग सम्झनाका लागि
विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !
नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?