Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्लेनबाट आएकाहरु त भेट्टाउन सकेको छैन, चैत महिनाभर आएका नेपाली कसरी पत्ता लगाउने हो सरकारले?

Posted on April 6, 2020April 6, 2020 by Salokya

अहिलेको समय सरकारको आलोचना हैन, यो महामारीको सामना गर्न सरकारलाई साथ दिने बेला हो। पक्कै पनि हो। तर जब सरकारले गर्नैपर्ने काम गरिरहेको हुन्न, तब चाहिँ अलि खसखस त भई नै हाल्ने रहेछ।

सरकारले जतिबेला चीनबाट युरोपमा कोरोना फैलँदै थियो, त्यतिबेला नै सतर्कताका उपाय अपनाउनु पर्थ्यो। त्यतिबेला संक्रमित देशहरुको हवाई आवागमन रोक्नेदेखि त्यहाँबाट आएका यात्रुहरुलाई क्वारेन्टिनमा राखेको भए आज यसरी पूरै देशलाई १३ दिनदेखि लकडाउन गरिराख्नुपर्ने अवस्था आउने थिएन। तर सरकार त्यतिबेला कोरोनामुक्त देश भन्दै भिजिट नेपालकै प्रचारमा लागिरह्यो।

युरोप र खाडी मुलुकमा कोरोना फैलन थालेपछि समेत सरकार सचेत हुन सकेन। फलस्वरुप चीनबाट एक जना मात्र भित्रिएको कोरोना संक्रमणको केस युरोप र खाडी मुलुकबाट धमाधम प्रवेश गर्न थाल्यो। पछिल्लो समय त भारतबाट समेत संक्रमित नेपाल प्रवेश गरे। अनिवार्य क्वारेन्टिन लागू गरिएको भए उनीहरुले अरुलाई सार्ने मौका पाउँदैन थिए। अहिले त कति जनालाई सर्‍यो समेत थाहा हुन सकेको छैन।

ढिला भए पनि सरकारले नियन्त्रणका उपाय अपनायो। कडा उपायका रुपमा लकडाउन गर्‍यो। तर कन्ट्याक्ट ट्रेसिङको काम त्यति प्रभावकारी हुन सकेको छैन जति हुनुपर्थ्यो। संक्रमितहरु आएको सबै विमान, उनीहरुले चढेका घरेलु उडानका सबै यात्रुहरुलाई पत्ता लगाएर उनीहरुलाई अरुसँग घुलमिल गर्न नदिने उपाय अपनाइसक्नु पर्ने हो यतिबेलासम्म। तर अहँ, कति यात्रुहरु त सम्पर्कमा नै आएका छैनन्।

सरकारले फलानो विमानका सबै यात्रुहरु सम्पर्कमा आउनुस् भनेर अरु देशहरुमा जस्तो घोषणा समेत गर्न सकेको छैन।

व्यवहारमा यस्तो भए पनि कागजमा भने राम्रा राम्रा निर्णय हुँदा रहेछन्। एउटा त्यस्तै निर्णय सरकारले गरेको रहेछ।

चैत २२ गते सरकारले र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्ने निर्णय गरेको रहेछ। त्यसमा कैलाली र कन्चनपुर जिल्लाको क्वारेन्टिनमा रहेका सबै व्यक्तिहरुको टेस्ट हुने भएछ। त्यसैगरी बाग्लुङ जिल्लाको संक्रमित व्यक्तिहरुको वासस्थान वरपर र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु सबैको पनि गर्ने भएछ।

त्यसैगरी अर्को निर्णयमा २०७६ चैत महिनामा नेपाल प्रवेश गरेका व्यक्तिहरु र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु भनिएको छ। चैत महिनाभर हवाई मार्ग र स्थल मार्गबाट नेपाल प्रवेश गर्ने कति लाख थिए होला, के सबैको टेस्ट गर्न सकिन्छ त? अझ अनौठो त केही विमानका सबै यात्रुहरु त पत्ता लगाउन नसकिरहेको बेलामा चैत महिनाभर नेपाल प्रवेश गरेका व्यक्ति र तिनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको गर्ने भन्नु त कागजी कुरामात्रै भएन र। यो त सब भन्ने कुरा न हो जस्तो भएन र?

त्यही भएर बरु यस्तो आह्वान चाहिँ भएको होला। यसमा पनि चैत महिनाभर नेपाल प्रवेश गर्ने सबैलाई भन्नुपर्नेमा सर्वसाधारणलाई मात्र भनिएछ। कोरोनाले सर्वसाधारण र विशिष्ट छुट्याउँदैन होला त। बेलायतका युवराज, प्रधानमन्त्री अनि युरोपेली देशका मन्त्री, प्रधानमन्त्रीहरुलाई पनि कोरोनाले छोएको उदाहरण त छ नै।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme