Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन जिल्लामा धेरै जोखिम, अब धेरैभन्दा धेरै परीक्षण गरिने, लकडाउन झन् कडा

Posted on April 4, 2020 by Salokya

सरकारले कोरोना संक्रमणमा तीन वटा जिल्लामा धेरै जोखिम महसूस गर्दै धेरैभन्दा धेरैको र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको छ। यी तीन जिल्लाहरु हुन्- सुदूरपश्चिमका कञ्चनपुर र कैलाली अनि गण्डकी प्रदेशको बाग्लुङ जिल्ला। कन्चनपुर र कैलाली गरी दुई जिल्लामा आज तीन जना नयाँ संक्रमित भेटिएका हुन्। यहाँ स्थानीय स्तरमा समेत संक्रमण फैलिएको पुष्टि भएको छ। अर्थात् विदेशै नगएकाहरुमा समेत संक्रमण सरेको देखिएको छ। 

त्यसबाहेक त्यहाँ एउटा अर्को खतरा के पनि देखियो भने आज संक्रमण भेटिएका मध्ये दुई जना भारतको नाकाबाट हुलका हुल छिर्नेमध्येका थिए।

त्यसमध्ये एक जना गौरीफन्टा नाकाबाट नेपाल छिरेका थिए भने अर्को गड्डाचौकी नाकाबाट। गत चैत १३ गते गड्डाचौकी नाकाबाट यी संक्रमित सँगै साढे दुई हजार जना नेपाल छिरेका थिए।

अर्को तथ्याङ्क झन् झस्काउने खालको छ।  फागुन २३ गतेदेखि लकडाउन लागू भएसम्म भारतबाट नेपालमा एक लाख ४३ हजार जना भित्रिएका थिए। यीमध्ये १७ सय जतिलाई क्वारेन्टाइनमा राखिएको थियो। बाँकी कहाँ छन्, के गरिरहेका छन्? केही पत्तो छैन। यिनीहरुले अरुलाई पनि संक्रमण नसारेको होस् भनेर कामना मात्रै हामी गर्छौँ।

लकडाउन लागू भएको १२ औँ दिनमा आज मन्त्रिपरिषद्को बैठकले अझै लकडाउन कडा बनाउने निर्णय गरेको छ। त्यसो त लकडाउनको अर्थ नै घरभित्रै बस्ने भन्ने हो। अर्थात् एक घरबाट अर्को घरमा समेत जान पाइन्न। तर त्यसको पालना नभएको देखिएकोले एउटा प्रदेशबाट अर्को प्रदेशमा, एउटा जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमासमेत जान नपाइने गरी लकडाउन गर्ने निर्णय सरकारले गरेको छ।

अर्थात् घरबाट फुत्केर निस्केको मान्छे एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नपाओस्। स्थानीय तहबाट कसैगरी फुत्केको मान्छे एक जिल्लाबाट अर्को जिल्लामा प्रवेश नगरोस्। जिल्लाबाट फुत्केको मान्छे अर्को प्रदेशमा जान नपाओस्।

सँगै आज गरिएको सरकारको निर्णय अनुसार तीन जिल्लामा र्‍यापिड टेस्ट हुनेछ। अर्थात् यी जिल्लाहरुमा बृहत् स्तरमा परीक्षण हुनेछन्। अहिले धेरै समय लाग्ने पीसीआर प्रविधिबाट टेस्ट हुँदै गरेकोमा अब र्‍यापिड टेस्ट किटबाट हुनेछ। यो त्यति भरपर्दो हुँदैन। तर महामारीको अवस्थामा यसको विकल्प हुन्न। त्यसैले र्‍यापिड टेस्टमा पोजिटिभ भेटियो भने त्यसलाई पुनः पीसीआर प्रविधिबाट कन्फर्म गरिनेछ।

स्थानीय स्तरमा संक्रमण फैलिएको आशंकामा यी परीक्षण हुन लागेको हो।

यो बाहेक अहिले गर्नुपर्ने अर्को काम भनेको कन्ट्याक्ट ट्रेसिङ हो। तर प्लेनबाट आएका मान्छेहरुलाई समेत पछ्याउन नसकेका हामीले भारतीय सीमाबाट छिरेका हजारौँको कसरी ट्रेसिङ गर्ने हो !

हामी आतंकित नभई सतर्क हुन जरुरी छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme