-सन्तोष न्यौपाने,बेल्जियम-
“गुड आफ्टरनुन इचेन। तिमी केही पिउँछौं ?” ढोका ढकढक पार्दै प्रश्न तेर्स्याएँ।
“पैसा तिर्नु पर्ने हो?”उनी बोलिन्।
“हैन पर्दैन। सित्तैमा हो है,” मेरो प्रतिउत्तर थियो।
“अँ पिउँछु। जुस देऊ प्लिज।” उनले जवाफ फर्काइन्।
“तिमीले दिएको एक गिलास जुसको लागि धन्यवाद.” इचेनले मुस्कुराउँदै भनिन्।
“तपाईंले धन्यवाद मलाई होइन, डाइरेक्टरलाई दिनुहोस्। यो उहाँको तर्फबाट तपाईंहरूलाई स्पेसल गिफ्ट हो,” मैले जवाफ फर्काएँ।
यो वार्तालाप दुई दिन अघि स्वयंसेवकको रूपमा काम गर्न जाँदा एउटा आवासीय हेरचाह केन्द्रमा भएको थियो। ७५ वर्षीया इचेन अहिले केन्द्रमा सेल्फ आइसोलेसनमा छिन्। उनी जस्तै उक्त केन्द्रमा ६० जना रहेका छन्।
म बसिरहेको क्षेत्रमा रहेको रेडक्रसले आपतकालीन स्वयंसेवक चाहिएको भन्दै केही दिन अगाडि मेल पठायो। कोरोनाको कारण काम बन्द भएपछि घरमै बस्नुभन्दा केही समय सेवा गरेर बिताउने उदेश्यले मैले आवेदन दिएको थिएँ। सोही अनुरूप ३ दिन आवासीय हेरचाह केन्द्रमा जेष्ठ नागरिकको सेवामा खटिएँ।
पहिलो दिनमा नै त्यहाँको स्टाफ र मैले सबैलाई कोठा-कोठामा लगेर पेय पदार्थ दियौँ। सबै ७० वर्ष उमेरभन्दा माथिका थिए। त्यो दिन केन्द्रका डाइरेक्टरले सबैलाई सित्तैमा पेय पदार्थ दिएका थिए। धेरैले जुस पिए। केहीले कोला, बियर र वाइन पनि। सबै कोठाभित्र बन्देज थिए। बाहिर निस्कन दिइएको थिएन। हामी पेय पदार्थ दिन जाँदै गर्दा कमैको अनुहारमा खुसी देख्न सकिन्थ्यो। किनकि उनीहरूलाई स्वतन्त्रता थिएन।
स्वयंसेवकको रूपमा जाँदा केन्द्रमा तीतो अनुभव पनि गरेको छु। कतिपय वृद्धहरु बाहिर निस्कन नपाएर हतास देखिन्थे। उनीहरूलाई सबै कुराको पूर्णता भएपनि स्वतन्त्रताको अभाव थियो। सधैं बाहिर निस्केर हिँडडुल गर्न उनीहरू कोठा र बढिमा बरन्डासम्म सीमित हुनु परेको थियो। यो अवस्थासम्म ल्याइपुर्याउने एउटै कारण थियो कोरोना र त्यसको संक्रमण।
बेल्जियममा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले लागू गरेको पहिलो नियममा उनीहरू जस्ता वृद्धहरु परेका थिए। सबै आवासीय हेरचाह केन्द्र अर्थात् रकम तिरेर बस्न पाइने वृद्धाश्रम लकडाउन गरिएको थियो। केन्द्रमा रहेका वृद्धवृद्धाहरुलाई बाहिर निस्कन बन्देज गरिएको छ। पूरै युरोप भरी कोरोना संक्रमणमा यिनै उमेर समूहकाको ज्यान गएपछि बेल्जियममा पनि उनीहरूको सुरक्षा खातिर उक्त कडा नियम लागू गरिएको छ। बेल्जियममा अहिलेसम्म मर्नेहरूको तथ्याङ्कमा पनि वृद्धहरु धेरै रहेका छन्। केही हेरचाह केन्द्रमा कोरोना संक्रमण कै कारण उनीहरूको मृत्युसमेत भइसकेको छ।
वृद्ध भइसकेकाहरु धेरै आवासीय हेरचाह केन्द्रमा बस्ने गर्दछन्। यसरी बस्दा उनीहरूले केन्द्रलाई निश्चित रकम बुझाउनु पर्ने हुन्छ। खाने बस्नेदेखि डाक्टर नर्स लगायत केयर गिभरको सुविधा उनीहरूलाई हुने गर्दछ। नेपालमा जस्तो छोराछोरीसँग सँगै बस्ने भन्ने यहाँ कम मात्रामा नै हुने गर्दछ। नेपालको जस्तो सामाजिक जीवन बेल्जियममा कम नै देख्न पाइन्छ।
आवासीय हेरचाह केन्द्रमा यसरी काम गरेको मेरो पहिलो अनुभव थियो। काम गर्दैगर्दा मलाई वृद्ध भएका हजुरबुवा हजुरआमाको झल्झली याद आयो। प्रत्येकलाई आफ्नै हजुरबुवा र हजुरआमा देख्न थालेँ।
अनि मैले यो तीन दिनमा नेपालमा रहेका लाखौं जेष्ठ नागरिक अर्थात् वृद्ध भएका हजुरबुवा हजुरआमालाई सम्झेँ। विशेषतः कोरोनापछि उहाँहरुको स्वास्थ्य स्थिति प्रति बढी चिन्ता लाग्न थालेको छ। विस्तारै कोरोना संक्रमित हरुको संख्यामा वृद्धि हुँदै गर्दा नेपाल सरकारले उनीहरूको स्वास्थ्य प्रति विशेष ध्यान दिनु जरुरी देखिन्छ।
कोरोना संक्रमित देश इटाली र स्पेनमा वृद्धहरुको अवस्था निकै नाजुक देखियो। यी देशहरूमा कोरोनाबाट बढी पीडित ७० वर्षभन्दा माथिका देखिए, जसले गर्दा हस्पिटलले समेत उमेर समूह छुट्याउँदै उपचार गर्न थाल्यो। इटालीमा वृद्धहरुलाई भन्दा जवानहरुको उपचार प्राथमिकतामा पर्यो। स्पेनमा पनि सोही किसिमको अवस्था सृजना भएको छ।
नेपालमा धेरै जेष्ठ नागरिकहरु आफ्नै छोराछोरीसँग घरमै हुन्छन्। घरमा हुनेहरूको हेरचाह राम्रैसँग हुने निश्चित देखिन्छ तर जो देशका विभिन्न वृद्धाश्रममा बसिरहेका छन् उनीहरुको अवस्था कोरोना पछि त्यतिकै दयनीय पनि हुनसक्छ। उनीहरूलाई उचित संरक्षण नेपाल सरकारले दिनु पर्दछ। हैन भने इटाली र स्पेनको अवस्था नेपालमा नदोहोरिएला भन्न सकिँदैन।
कोरोनाका बिरामी बढ्न थालेपछि बेल्जियममा स्वास्थ्यकर्मीको अभावलाई टार्न बेल्जियम सरकारले स्वयंसेवकको लागि इच्छुकहरुलाई आउन आग्रह गर्यो। त्यसको लागि बेल्जियममा कार्यरत विभिन्न संघ संस्थाहरुमार्फत् आवेदन दिन भनिएको थियो। जसमा एकै दिनमा नै १० हजार बढीले आवेदन दिए। अहिले उनीहरूलाई विभिन्न आवासीय हेरचाह केन्द्र तथा वृद्धाश्रम हरुमा खटाइएको छ।
नेपालले पनि बेल्जियमको सिको गर्न सक्छ। स्वयंसेवकहरूको आवेदन मागेर उनीहरूलाई आफ्नो क्षेत्रमा खटाउन सक्दा धेरै उत्तम हुने देखिन्छ। कोरोना नियन्त्रणको लागि यस्ता स्वयंसेवक हरुले आफ्नो क्षेत्रमा सकेको सहयोग गर्नेछन्।
बेल्जियममा मानिसहरूलाई सकभर घर भित्र बस्न आग्रह गरिएको छ। आपतकालीन सेवाहरु हस्पिटल,केयर सेन्टर, वारुण यन्त्र,पुलिस, हुलाक सञ्चालनमा छन्। हस्पिटलमा कार्यरत डाक्टर,नर्स,केयर गिभर लगायत सरसफाइमा काम गर्नेहरूलाई सम्मान स्वरूप घर घरमा सेतो लुगा झुन्ड्याइएको छ। विभिन्न ब्यक्ति संस्थाहरुले उनीहरूलाई विभिन्न क्रियाकलापबाट उनीहरूको निरन्तर कार्यको सम्मान गरेका छन्। यो कार्यको सिको नेपालमा गर्दा पनि स्वास्थ्यकर्मीहरुलाई बढी हौसला पुग्ने देखिन्छ।
बेल्जियम जस्तो सम्पन्न मुलुकमा सरकारले उनीहरूप्रति आफ्नो दायित्व सकेसम्म पूरा गर्ने प्रयास गरेको छ। तर नेपालमा यो सबै सम्भव पनि छैन। देशभरी रहेका ६५ वर्ष भन्दा बढी उमेर समूहका बुवा आमा हरुलाई कोरोना संक्रमण नै भएको अवस्थामा उनीहरूको अवस्था पक्का पनि सहज हुनेछैन। नतिजा निकै डरलाग्दो निस्कनेमा दुईमत देखिँदैन। आशा छ सरकारी तवरबाट भएका प्रयासहरुले त्यो अवस्था नेपाल देशमा सिर्जना हुने छैन।