स्वास्थ्य मन्त्रालयले नेपालमा पाँचौँ कोरोना संक्रमित भेटिएको बताएको छ। आज गरिएको प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार यो पनि युरोपबाट आएको केस हो। १९ वर्षकी ती किशोरी बेल्जियमबाट कतार हुँदै कतार एयरलाइन्सको QR-652 मा काठमाडौँ उत्रेकी थिइन्। यसअघि दोस्रो कोरोना संक्रमित व्यक्ति पनि चैत ४ गते QR-652 बाटै आएकी थिइन्। दोस्रो व्यक्ति फ्रान्सबाट कतार हुँदै काठमाडौँ आएकी थिइन्। यिनी भने बेल्जियम हुँदै कतार आएकी हुन्।
प्रेस ब्रिफिङमा पाँचौँ संक्रमणको केस पनि काठमाडौँ उपत्यका बाहिरको भनिए पनि कुन जिल्ला हो भन्ने खुलाइएन। तर मिडियामा आएको जानकारी अनुसार उनी बाग्लुङकी हुन्।
नेपालमा पहिलो संक्रमित भेटिएको ६१ दिनपछि दोस्रो संक्रमित व्यक्ति भेटिएको थियो। तर त्यसपछि भने दुई दुई दिनको अन्तरालमा नयाँ संक्रमित भेटिएकोमा आज भने एक दिनको अन्तरालमै नयाँ केस भेटिएको छ।