सुपरमार्केटका सामान रित्तिएको यस्तो फोटो विदेशका मात्र देखेको थिएँ। आज राति भने आफैले नेपालमै यस्तो देख्न पुगेँ। संयोग पनि कस्तो भने सरकारले सात दिने पूर्ण लकडाउनको घोषणा गर्नुभन्दा अघि म नक्सालको भाटभटेनी सुपरमार्केटमा थिएँ। खासै मानिस थिएनन्। तर एक्कासी मानिसको चाप बढ्न थाल्यो। एकैछिनमा भिड धेरै नै हुनथाल्यो। हेर्दाहेर्दै आलु र प्याज राखिएको र्याक नै रित्तियो।
नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो व्यक्ति पुष्टि भएको घोषणा भएको केही घण्टा नबित्दै सरकारले नेपाल भर सात दिन पूर्ण लकडाउनको घोषणा गरेको हो। भोलि चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म अत्यावश्यक अवस्थामा बाहेक बाहिर निस्कन नपाउने, घरैमा बस्नु पर्ने गरी आदेश जारी गरिएको हो। यसअघि निश्चित क्षेत्रमा शान्तिसुरक्षा कायम गर्नका लागि कर्फ्यु घोषणा गरिन्थ्यो। त्यतिबेला बाहिर निस्कन पाइँदैन थियो। यो पटक भने संक्रामक रोग फैलन नदिनका लागि सरकारले यस्तो गरेको हो। हाम्रै स्वास्थ्यका लागि यस्तो घोषणा गरिएको हुनाले हामी सबैले यसलाई कडाइका साथ पालना गरौँ।
कर्फ्युको बेला पुलिसलाई जिस्काउन घर बाहिर सडकमा निस्कने काम पनि हुने गर्थ्यो। तर यस पटकको बन्द त्यस्तो खालको हैन। कृपया स्थितिको गम्भीरता बुझी घरभित्रै बसेर संक्रामक रोगबाट आफू पनि जोगिऔँ र अरुलाई पनि जोगाऔँ।
नेपालभर COVID-19 को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन. २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजे सम्म लागू हुने गरी आदेश जारी गरेको हो।
के के गर्न पाइन्न ?
१.औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन हुन्न।
२. अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालन गर्न पाइन्न।
३.सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु गर्न पाइन्न।
के गर्नुपर्छ ?
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने,
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मुल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,
८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने।
के छ संक्रामक रोग ऐनमा ?
यो ऐन २०२० सालको फागुन १६ गते लालमोहर लागेर लागू भएको हो। त्यतिबेला राजा महेन्द्र थिए। नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाई गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने गरी यो ऐन बनाइएको हो।
पुरानो ऐन भएकोले यसमा लेखिएको सजायमा जरिवाना थोरै छ।
यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।– सम्म जरिबाना वा दुवै सजाय हुने भनिएको छ। त्यसैगरी यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुयाउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।– सम्म जरिबाना वा दुवै सजाय हुने भनिएको छ। यस ऐन अन्तर्गत भए गरेको कसूरमा कारवाई र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुनेछ ।