हिजो आइतबार मूलधारका टेलिभिजन र पत्रिकाका अनलाइनहरुले समेत वीरगञ्जका एक व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएको भन्दै अपुष्ट खबर छापेर आतंक मच्चाए। सोसल मिडियाबाट मात्रै फेक न्युजहरु आउने हैनन्, मूलधारकै मिडिया पनि तथ्य जाँचमा चुकेर गलत समाचार आउन सक्छ भन्ने उदाहरण हिजोको घटनाबाट लिन सकिन्छ। आज फेरि ‘राजधानी’ राष्ट्रिय दैनिकको पहिलो पेजमा एउटा गलत समाचार छापिएको छ। ‘असुरक्षित अस्पताल, स्वास्थ्यकर्मी जोखिममा’ शीर्षकको त्यो समाचारको सुरुको वाक्यमा नै ‘नेपालमा गरिएको कोभिड–१९ परीक्षणमा २ हजार जनामा पोजिटिभ देखिएको छ’ लेखिएको छ। यो एकदमै गलत तथ्य हो। दुई हजार जनामा पोजेटिभ देखिनु त के, त्यसको आधा एक हजार जनामा परीक्षणसमेत भएको छैन।