Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो?

Posted on March 22, 2020March 22, 2020 by Salokya

आइतबार राति एकाएक एउटा खबर तीव्र रुपमा फैलियो- नेपालमा पनि कोरोना भाइरस लाग्यो। टेलिभिजनमा ब्रेकिङ न्युज चल्न थाले- वीरगञ्जमा एक जनामा कोरोना भाइरसको संक्रमण भेटियो। नाम चलेका अनलाइनहरुले नै लेख्न थाले- वीरगञ्जमा एक जनामा कोरोना संक्रमण भएको पुष्टि। अझ गोपनीयताको हकको हनन् गर्दै बिरामीको नाम समेत फुक्न थाले, अनलाइनमा हाल्न थाले। पछि बल्ल थाहा भयो, ती व्यक्तिलाई त कोरोना संक्रमण भएको पुष्टि नै भएको रहेनछ। जसरी फेक न्युजलाई फेक हैन भन्दै फैलाइन्छ, त्यसैगरी पुष्टि नभएको समाचारलाई पुष्टि भएको भन्दै हालेका रहेछन् मिडियाले। 

न्युज २४ टेलिभिजन, नागरिक दैनिक लगायतका मिडियाले वीरगञ्जका ती व्यापारीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको खबर दिएका थिए। समाचारमा पटनाको मेडिकल कलेजले पुष्टि गरेको छ संक्रमण भएको भनेर लेखिएका थिए। तर कलेजका कसले पुष्टि गरेको हो? रिपोर्ट नै त्यस्तो आएको हो कि होइन भन्ने चाहिँ उल्लेख थिएन।

एउटाले समाचार दिएपछि भेरिफाइ र क्रस भेरिफाइ नगरी सब त्यसैमा डुबे।

अनलाइनखबरले पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीसँग नै  टेलिफोनमा कुरा गरेपछि थाहा भयो, पुष्टि भइसकेको रहेनछ। उनले उपचार जारी नै रहेको र रिपोर्ट नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेमा पठाएकाे तर त्यसको विवरण आउन बाँकी रहेको बताए।

यता टेलिभिजनहरुमा पर्साका सिडिओलाई  बाइट दिन भ्याइ नभ्याइ थियो। उनलाई नै कोट गरेर कोरोना पुष्टि भएको समाचार लेख्दै थिए धेरैले।

उपचारका लागि पटनामा रहेका ती व्यापारीको यता नेपालमा भाइसित कुरा भएको रहेछ। दाजु आफैले भाइलाई डाक्टरले कोरोना टेस्ट गर्न लगेको छ भनेका थिए। तर यो कुरा बाहिर आउँदा भने पुष्टि भएको भनेर पो आइदियो।

नेपालमा पनि कोरोना पोजेटिभ भेटियो भन्ने समाचार दिन र सुन्न आतुर झैँ देखिए मिडियामा काम गर्नेहरु। त्यसैले पुष्टि नहुँदै पुष्टि भइसकेको खबर व्यापक भयो।

उनका साथीहरुले सार्वजनिक समाचार गलत भएको बताए।

त्यसैगरी अस्पतालको रिपोर्टमा कोरोना नेगेटिभ आएको पनि दावी गरियो।

रात पर्दापर्दै रिपोर्टसमेत सार्वजनिक भयो। कान्तिपुरमा वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित) समाचार पनि आयो।

रिपोर्टमा कोरोना भाइरस नेगेटिभ लेखिएको छ

तर रिपोर्ट पुनेको जस्तो देखिँदैन। यसमा पटना कै डाक्टरहरुको हस्ताक्षर देखिन्छ। तसर्थ फाइनल भेरिफिकेसन नेशनल इस्टिच्यूट अफ मेडिकल साइन्स, पुनेको रिपोर्ट हेरेपछि मात्र हुन्छ।

यसरी केही घण्टा आतंक मच्चाएको पुष्टि भएको खबर अपुष्ट भएर सकियो। भोलि थप जानकारी आउला।

worldometer लाई आँखा चिम्लेर विश्वास गर्दा

अहिले केही पत्रकारहरु कोरोना भाइरस संक्रमणको संख्या हेर्नलाई worldometer साइटमा खुब विश्वास गरिरहेका छन्। अन्ततः त्यो कति घातक हुन्छ भन्ने पनि आजको घटनाले देखायो। केही घण्टा हल्ला हुँदैमा यो साइटले नेपालमा संक्रमणको संख्या दुई देखाएको थियो।

तर पछि फेरि त्यो संख्या सम्पादन भएर एक नै हुन गयो।

कोरोना संक्रमणको संख्या आधिकारिक रुपमा चाहने हो भने विश्व स्वास्थ्य संगठनको आधिकारिक वेबसाइटमा नै हेर्न उपयुक्त हुन्छ। त्यसबाहेक अन्य साइटहरु विश्वसनीय हुँदैनन्। विश्व स्वास्थ्य संगठनको वेबसाइटमा संख्या हेर्न यहाँ क्लिक गर्नुस्। ड्यासबोर्ड यता हेर्नुस्।

1 thought on “के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो?”

  1. Pingback: के वीरगञ्जको मान्छेलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो? – नेपाल: तथ्यजाँच

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme