Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जर्मनीमा मेडिसिन पढ्ने विचार गर्नुभा’छ? यो पढ्नुस्

Posted on March 7, 2020March 1, 2020 by mysansar

-विश्वास चाम्लिङ/बोन,जर्मनी-

महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा लेख्दैछु ताकि गलत भ्रममा परेर भविष्यमा कसैले दुर्भाग्यको गोता खानु नपरोस्। २२ लाख तिरेर अमरिका जान १० देश लुकि लुकि जानु नपरोस्। अनुमति नै नपाएका कलेजमा पढ्ने भनेर देशको सम्पत्ति लानु नपरोस्। यदि तपाइँहरु जर्मनी आएर पढ्ने अझै मेडिसिन नै पढ्ने सोचाइ बनाउनु भएको छ भने मेरा यी शब्दहरु अपर्याप्त हुन सक्छन्। यसका लागि बुँदाहरु म तल लेख्ने नै छु तर कोहि आउने तयारी गर्दै हुनहुन्छ भने के हो कसो हो भनेर आहत भएको मनलाई केहि हदसम्म राहत मिल्न सक्ला भन्ने आशा लिएको छु।

बिदेश जाने कतिको रहर हुन्छ त कतिको बाध्यता, कति बुझेर अनि लक्ष लिएर आउँछन त कति हल्लाको भरमा। सबैको आ-आफ्नै कथा अनि ब्यथा हुन्छ। अहिलेको परिस्थितिमा उचित मौकाको खोजिमा बाहिरिनु अस्वभाविक होइन तर त्यसो भन्दैमा विचार नपुर्याइ हाम्फाल्नु उचित भने पक्कै होइन। यसै सन्दर्भमा बार्षिक जर्मनी भित्रिने सयौँ विद्यार्थीहरु मध्ये एक हूल मेडिसिन पढ्न आउनेको पनि हुन्छ। विदेशमा पढ्न आउनेबारे त चर्चा भइनैरहन्छ र एक दुइ पटक जर्मनीको पनि सायद हल्का चर्चा भइसकेको छ। के त्यति सजिलो छ त यहाँ मेडिसिन पढ्न? के कस्ता बाधाहरु छन्? कतिको सफलता मिल्न सक्छ? यस्तै जिज्ञासा राख्नुहुने विद्यार्थी साथीभाइहरुको प्रश्न र मरो उत्तर राख्नेछु ताकि मैले हप्तामा एक दुई जनालाई दिने सल्लाहले धेरैलाइ सहयोग पुगोस्।

प्रश्न ‍- जर्मनीमा पढाइ सित्तैमा छ रे अनि मेडिसिन पनि free मा पढ्न पाइन्छ रे नि हो?
उत्तर – यो अर्ध सत्य हो। अमरिका र अरु देशको तुलनामा सित्तै नै जस्तो हो किनकि यहाँ काम गर्नेले धेरै आयकर तिर्छन र त्यसको केहि भाग शिक्षामा लगानी गरिन्छ। यहाँ प्रान्त (state) अनुसार २५० देखि ८०० युरोसम्म ‍एक सेमेस्टरको तिर्नु पर्छ। तर समस्या पढाइ खर्च होइन, बसाइ खर्च हो। भाषाको चाँहि प्राय: आँफै तिर्नु पर्छ। यहाँ ठाउँ अनुसार हेरि हेरि ६०० देखि ८०० युरोसम्म महिनाको खर्च लाग्छ र भिसा बढाउन पनि त्यति देखाउनै पर्छ। एकदमै सानो ठाउँमा जाँदा अलिक कम पैसाले पनि पुग्न सक्छ तर भिसा बढाउन तोकेको पैसा देखाउन भने सक्नु पर्छ। यो नियम अनुसार बाहिरबाट आउने विद्यार्थीको लागि तोकिएको एक महिनाको खर्च हो, भनौँ एक किसिमको उसको सुरक्षाको लागि ताकि उसलाइ समस्या नपरोस्। जस्तोकि ६००० युरो देखायो भने १० महिनाको भिसा बढ्छ। कुनै कुनै ठाउँमा एकैपटकमा २ बर्षसम्मको पनि दिन सक्छ। त्यो त केहि थिएन तर यति छ भनेर देखाएर पुग्दैन। Blocked Account खोल्नु पर्छ र त्यहाँ जम्मा गर्नुपर्छ। यो हिसाबमा पढाइको सुरुवात गर्नेलाइ आजकल अलिक कठिन छ। यसबाट महिनामा तोकिएको मुल्यभन्दा बढि झिक्न पाइँदैन। भाषादेखि मेडिसिनसम्म पढेर सकाउन मोटामोटि ९ वर्ष लाग्छ। अव आँफै विचार गर्नुस कति खर्च लाग्छ।

प्रश्न – अनि काम पाइन्छ त?
उत्तर – पाइन्छ तर आफु र आफु बस्ने ठाउँमा भर पर्ने कुरा हो। भाषाको राम्रो ज्ञान भएको खन्डमा र ठुलो शहरमा बसेको खन्डमा काम पाउन त्यति गाह्रो छैन। पश्चिमी जर्मनीमा पुर्वी भन्दा बढि काम पाइन्छ तर मेडिसिन पढ्न चाहनेले शहर छान्न असम्भव जस्तै छ किनकि सबैभन्दा पहिला जहाँ भएपनि पढ्ने मौका पाउनु नै ठुलो कुरा हो।

प्रश्न – काम गर्दै मेडिसिन पढ्न गार्हो हुँदैन?
उत्तर – काम गर्दै होइन, काम नगरिकन नै पढ्ने हो भने पनि गाह्रो छ। जर्मनीमा मात्रै होइन जहाँ नै पनि यस विषयलाइ धेरै गाह्रो मानिन्छ। तर यहाँ मेडिसिन सबैले जर्मन भाषामा नै पढ्नु पर्छ। नेपालमा खर्च पाएर आफुले जानेको भाषामा पढ्न त गाह्रो हुन्छ भने यहाँ काम गर्दै अर्को भाषा सिकेर त्यो भाषामा मेडिसिन पढ्नु पक्कै सजिलो काम होइन। जहाँसम्म मलाइ लाग्छ हामी गरिब राष्ट्रहरुबाट आउने विद्यार्थीहरु सत प्रतिसतले नै काम गरेर पढ्नु पर्छ। नयाँ नियम अनुसार यहाँ बर्षमा १२० पुरा दिन र २४० आधा दिन पढाइ नचलेको समयमा काम गर्न पाइन्छ र घन्टाको ठाउँ अनुसार ६ देखि ११ युरोसम्म पाइन्छ। त्यो हिसाबले महिनाको खर्च निकाल्न ६० देखि १०० घन्टासम्म काम गर्नु पर्ने हुन्छ। परिक्षाको समयमा धेरै समस्या पर्न सक्छ। तर समय सँगसँगै सानो तिनो छात्रवृत्ति र आफुले पढ्ने ठाउँमा पनि कामका अवसरहरु मिल्न सक्छन्।

प्रश्न – मेडिसिनमा ठाउँ पाउन कतिको गाह्रो छ?
उत्तर – फलामको चिउरा चपाउनु सरह। किन भन्दा मेडिसिनमा ठाउँ पाउन धेरै सतहहरु पार गर्नुपर्छ। सायद संसारमा विरलै कुनै देश होला जहाँ यति सस्तो र साथसाथै यति उच्चस्तरको मेडिसिन पढ्न पाइन्छ तर त्यसको लागि धेरै प्रतिस्पर्धा गर्नुपर्छ। नेपालमा त केवल नेपालीहरुबीच प्रतिस्पर्धा हुन्छ। यहाँ सारा संसारकासँग जोरि खेल्नु पर्छ।

प्रश्न – पढेपछि काम पाइन्छ त?
उत्तर – सोचेभन्दा धेरै। जुनै विषय लिएर पढ्नु भएको भए पनि तपाइँका अनगिन्ति बाटाहरु खुल्नेछन। यहाँ मात्रै होइन, संसारभरि नै। अहिले यहाँको नियम पनि धेरै उदार हुँदै गएको प्रत्याभुति हुन्छ। विद्यार्थीको काम गर्ने समय लम्ब्याइनु, पढिसकेपछि डेढ बर्षसम्म जे र जति पनि काम गर्दै आफुले पढेको बिषयमा काम खोज्न पाउनु, केहि समयपछि चाहेमा स्थायी रुपले बसोबास गर्न पाउनु यसका उदाहरणहरु हुन्।

प्रश्न – त्यसो भए खाँटी समस्या चाहिँ के हो त?
उत्तर – मौका पाउन र खर्च जुटाउन। खर्च त ल जसोतसो गरेर, आधा रात सुतेर, आधा पेट भरेर पनि टर्ला। तर पढ्न ठाउँ पाउन झन् झन् गाह्रो बन्दै गइरहेको छ (अरु विषयलाइ यो लागु हुँदैन)। म केहि मेडिसिनमा दाखिला पाउने तरिकाहरु लेख्छु।
क) सर्वप्रथम त भाषा जान्नु पर्यो। यसलाइ करिब ६ महिनादेखि एक बर्ष लाग्छ।
ख) त्यसको प्राप्तांकले Studienkolleg (जर्मनीमा १३ बर्षे विद्यालय स्तरको पढाइ हुने भएकोले एक बर्ष अतिरिक्त शिक्षा हासिल गर्नु पर्छ)मा निवेदन दिनु पर्यो र यदि तपाइँलाई त्यहाँबाट जाँचमा भाग लिने अनुमति आयो भने प्रवेश परिक्षामा सहभागी हुन पाउनुहुन्छ। जस्तो कि M-Course – Medicine, T- course – Technology etc.
ग) यदि त्यो परिक्षामा सफल हुनु भयो भने आफुले पढ्न चाहेको विषय सम्बन्धित आधारभुत ज्ञान हासिल गर्न पाइन्छ र त्यो वर्षको अन्त्यमा परीक्षा हुन्छ। यो समयमा धेरैले सफलता हासिल गर्न सक्दैनन् र बिषय परिवर्तन गर्नुपर्ने हुन्छ।
घ) त्यहाँको प्राप्तांक र नेपालको १२ को प्राप्तांक सबै मिलाएर एउटा ग्रेड बन्छ र अनि बल्ल मेडिसिनको लागि निवेदन दिन पाइन्छ। नेपालमा धेरै राम्रो प्राप्ताकं छ भने त्यसले युनिभर्सिटिको यात्रा सहज बनाउन सक्छ। अरु धेर थोर कुराहरुको हिसाब किताब पछि पढ्न पाउने या नपाउने कुराको निर्धारण हुन्छ र त्यसपछि बल्ल केवल तपाइँको आफ्नो ल्याकतमा भर पर्छ किनकि पाउनेले पनि पढाइ पुरा गर्न सक्छ सक्दैन भन्न सकिँदैन। यो सबैभन्दा जटिल मोड हो किनकि यसमा सफलता पाउने एकदमै कम हुन्छन्।

त्यसैले हरेक ठाउँमा पढ्न चाहनेको र पाउनेको संख्या घट्दै जान्छ। बार्षिक मोटामोटि ८०-१०० जना मेडिसिन पढ्ने भनेर आउनेमा सफलता एकदमै बढिमा आजकाल ५/६ जनालाइ हात लाग्छ। आफ्नो मिहिनेत संगसँगै आफुसंग प्रतिस्पर्धा गर्ने अरु देशका प्रतिस्पर्धीहरुको सहभागितामा पनि भर पर्ने भएकोले झनै कठिन छ भन्दा अत्युक्ति नहोला। गाह्रोको अर्थ असम्भव चाहिँ पक्कै होइन तर यहाँ के कुरा विचारणिय छ भने, २ बर्ष भित्र Studienkolleg सिध्याइसकेको हुनुपर्छ (सबै विषयलाइ लागु हुन्छ)। नत्र भिसा बढाउन समस्या पर्छ र त्यस्तै मेडिसिन पढ्न ठाउँ नपाउनेले अरु नै बिषय लिएर अध्ययन गर्नु पर्ने हुन्छ नत्र फर्किनु पर्छ। त्यसैले यदि मैले मेडिसन पढ्न पाइनँ भने के गर्ने भनेर एउटा अतिरिक्त योजनाका साथ आउँदा धेरै राम्रो हुन्छ। मैले यहाँ केवल केहि महत्वपुर्ण बुँदाहरु मात्रै समावेश गरेको छु। जर्मनीमा पढ्न आउने निर्णय धेरै राम्रो हो तर मेडिसिन नै पढ्छु अरु पढ्दिनँ भनेर आउनेले चाँहि एकचोटि सोच्नै पर्छ। अहिले यो समस्या निकै बढ्दो छ। सानातिना कुराहरु केहि छुटेका हुन सक्छन। यदि कोहि बढि जानकारी प्राप्त गर्न इच्छुक भए फेसबुकमा Nepalese Students‘ Society in Germany (NSSG) र Nepalese Medical Students‘ Society in Germany (NMSG) मा सहभागी हुनुहोस् र आफ्ना विचारहरु राख्नुहोस। यहीँ पढिरहनु भएका, पढ्न चाहने विद्यार्थी साथीभाइहरुको आफ्नै बलबुतामा खुलेको यो चौतारिमा जहाँसम्म मलाइ लाग्छ हरेक प्रश्नको उत्तर छ। उहाँहरुको यो कदम निकै नै सह्रानिय छ। हरेक विषय लिएर पढिरहनु भएका, पढिसक्नु भएका व्यक्तित्वहरुसंग सरसल्लाह गर्नुस्। मेडिसिन पढिरहनु भएका वा पढ्ने भनेर आउनु भएका तर अन्य बिषयवस्तु लिएर पढिरहनु भएका साथीहरुसंग अहिलेको समसामयिक परिस्थिति र नयाँ नियमहरुको मलाइ भन्दा बढि ज्ञान छ, उहाँहरुलाइ सोध्नुस्। समयले साथ दिएसम्म म पनि लेख्ने नै छु तर नबुझिकन पाइला चाल्नाले जीवनको सपना टुट्न सक्छ, पाउने मौकाहरु छुट्न सक्छ, समयानुसारको वैचारिक अनि बौध्दिक निर्णयले फुटेको भाग्य पनि जुट्न सक्छ।

(August 16th, 2012 मा प्रकाशित माइसंसारको ब्लग पुनः प्रकाशन)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme