Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो स्वास्थ्य पत्रकारिता : नजानेको कि जानाजान भ्रम फैलाउन खोजेको?

Posted on February 26, 2020February 26, 2020 by mysansar

-डा. सन्देश दाहाल-

प्राविधिक विषयमा समाचार सम्प्रेषण धेरै सम्बेदनशील काम हो। झन् स्वास्थ्य जस्तो आम नागरिकको दैनिक सरोकारको विषयमा त अझ होस पुर्‍याउन जरुरी हुन्छ। तर अचेल मिडियाले त्यो संवेदनशिलतालाई बेवास्ता गरेको पाइन्छ। यो ब्लग लेखिरहँदा फागुन १० गते रातोपाटीमा एउटा शीर्षक छ, “विवाहको प्रलोभनमा तीन वर्षदेखि आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गर्ने डाक्टर पक्राउ”

शीर्षकमा त्यस्तो भए पनि समाचारमा भने त्यो डाक्टर भनिएको व्यक्तिलाई अहेब लेखिएको छ। अब यस्तो गलत समाचारको दुई अर्थ लाग्छ, कि त पत्रकार लगायत रातोपाटी सम्पुर्ण मिडिया हाउस अहेब र डाक्टरको भेदसमेत थाहा नभएकाहरुको झुन्डमात्र हो, जसले पत्रकारिताको आवरणमा आफ्नो अल्पबुद्धिले देशलाई दिग्भ्रमित गरिरहेछ। हैन भने त यो समाचारले झन डरलाग्दो अर्थ बोकेको छ, समातिएको ब्यक्ति अहेब भनेर जान्दाजान्दै पनि लेखको शीर्षकमा डाक्टर लेखेर समाजमा भ्रामक उत्तेजक समाचार बिकाउने। अज्ञानता त क्ष्यम्य होला, तर समाचार बिकाउने नाममा भ्रमको खेति नै गरेको हो भने त त्यो अपराध हो।

नेपाली मिडियाको विश्लेशण गर्ने हो भने यसमा दुबै तत्व हुनसक्छ, अल्पज्ञान र जानाजान झुठको खेति गर्ने अपराध। यो कथा भने रातोपाटीको मात्र होइन है। नेपालको एक नम्बर दावी गर्ने राष्टिय मिडिया हाउसहरु पनि यो समस्याका हिस्सा हुन। प्रशस्त उदाहरण छन् यो बिषयमा।

२०७५/०६/०६ कान्तिपुर अनलाइनमा एक समाचारको शीर्षक छ, “मृत घोषणा गरिएका बालक जीवित भेटिएपछि अस्पताल तनावग्रस्त”

घटनाको वास्तविकता के हो भने, सर्पले टोकेर मृत ल्याइएका एक बालकलाइ मृत मान्न आफन्तले अस्वीकार गरी गरेको हुलदंगा र तोडफोडलाई “डाक्टरले जीवित र मृत छुट्याउन नजानेर समस्या भएको जस्तो भ्रामक तरिकामा प्रस्तुत गरिएको छ।

केही समय अघि मनमोहन अस्पतालको प्रसंगमा एकजना बिरामीको मृगौलाको पत्थरीको अपरेसनको क्रममा रक्तश्राव ज्यादा भएर ज्यान बचाउनको निम्ति मृगौला नै निकाल्नुपर्ने स्थिति आयो। परिवारको सहमतिमा मन्जुरिनामा लिएर मृगौला निकालियो। बिरामी निको भयो, घर गयो। पछि के भयो कुन्नि, फेरि बिरामीको त्यो समुह मनमोहन अस्पताल आन्दोलन गर्न आइपुग्यो। त्यस बखतका सबै पत्रिकामा समाचार आए, “मनमोहन अस्पतालले मृगौलाको चोरी तस्करी गर्‍यो।”

केही समाचारपत्रको समाचार साभार गर्दा, ई-रातो खबर- “मिर्गौला तस्करी गर्दै मनमोहन अस्पताल।”
एभरेस्ट दैनिक- ”मृगौला चोरी प्रकरणले संसदमा ठाउँ पायो, छानबिन समिति गठनको माग।”
सेतोपाटीको समाचार,”मनमोहन अस्पातालमा पत्थरीको अपरेसन गर्दा मृगौला निकालियो, बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड।”

सत्यतथ्य थाहा पाउन पछि मन्त्रालयको संयोजकत्वमा छानबिन समिति बन्यो, सबै कुराको खोजबिन भयो। झिकेको मृगौला फर्मालिनको बट्टामा अस्पतालमा नै थियो, ज्यान बचाउन मृगौला निकाल्नुपरेको हो भन्ने प्रमाणित भयो। छानबिन समितिको निष्कर्ष समाचार बनाउने आँट न त पत्रिकाले गरे, न त यसको निष्कर्षको बारेमा समाचार पढेका जनताले नै जान्न खोजे। त्यही समयको भ्रामक समाचार पढेर आज पनि धेरै नेपाली नेपालमा मृगौला तस्करी हुन्छ भनेर विश्वास गर्छन्।

२०७५/०२/२२ नागरिक दैनिकमा आएको समाचारको शीर्षक छ, “बलात्कारी जोगाउन नक्कली रिपोर्ट बनाउने वीर अस्पतालको दुइ डाक्टर फन्दामा।” यसै समाचारमा आएका आरोपीका दुई नामहरु डाक्टर हैनन्, इमर्जेन्सीमा काम गर्ने सहयोगी हुन्, यसमा डाक्टर सामेल छैनन्।

अर्को समाचार छ, २०७५/०३/३० गतेको अन्नपुर्ण पोस्टको, “चिकित्सकको गम्भीर लापरबाही: स्वास्थ्य चौकीको शौचालयमा जन्मियो शिशु”

यत्रो पत्रिकाले स्वास्थ्य चाैकीमा डाक्टर हुँदैनन् भन्ने हेक्का राखेन वा यति ज्ञान भएको कोही मान्छे अन्नपुर्ण पोस्टमा छैनन्। समग्रमा पत्रिकाका स्वास्थ्य सम्बन्धित समाचार प्राविधिक चस्माले हेर्ने हो भने नब्बे भन्दा ज्यादा समाचारमा त्रुटी भएको पाइन्छ।

नेपालमा मेडिसिनको पढाइ विश्व स्तरको हुन्छ, पठनपाठनका सामग्रीहरु अमेरिका वा बेलायतको कुनै विश्वविद्यालयको समान हो। प्रजातन्त्रपछि देशले सबभन्दा ठूलो फड्को मारेको भनेको स्वास्थ्य क्षेत्रमा नै हो। एपेन्डिक्सको अपरेसन नहुने देशमा आज ९८% सफल मृगाैला प्रत्यारोपण हुन्छ। देशको आम शिक्षाको गुणस्तर हेर्ने हो भने एसएलसीमा अपेक्षित बिद्यार्थी पास गराउन नसकेर पास फेल नभएको ग्रेड प्रणालीमा गएको छ देश, अर्थात समग्र शिक्षा प्रणाली नै फेल भएको छ। डाक्टरको शिक्षा र आम नागरिकको ज्ञानको खाल्डोलाई मिडिया पत्रकारिताले परिपुर्ति गर्नुपर्नेमा यहाँ झन उल्टो छ।

रत्नपार्कको फुटपाथमा बोरा फिँजाएर बिना ग्यारेन्टीको सामान बेचेर दुई पैसा कमाउने ठग पसलेजस्तो समाचार बेच्न देशको ठूला मिडिया हाउसलाइ सुहाउँदैन होला सधैंभरी पक्कैपनि। जिम्मेवारी वहन गरेर सही र सत्य समाचार दिएर मात्र सबैको इज्जत र गरीमा रहन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme