Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चि*को समाचार लेख्‍‍ने अनलाइनहरुको फलोअप : माफी कसैले मागेनन्, कोही सुटुक्क सच्याउने कोही डिलिट गर्ने

Posted on February 5, 2020February 5, 2020 by Salokya


सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले ‘आफूले चिनेकै मान्छे स्कूलमा लिन आएपछि’ लेख्नुपर्नेमा ‘आफूले चि*कै मान्छे स्कूलमा लिन आएपछि’ लेखेको समाचार पठाएपछि निजी अनलाइनहरुको डेस्कमा बस्ने दिमाग नभएका मेसिन पत्रकारहरुले जस्ताको तस्तै कपिपेस्ट गरेको बारे सोमबार ब्लग लेखेको थिएँ। छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन? मेरो ब्लगको शीर्षक थियो। यो ब्लग आएपछि ती अनलाइनहरुले के गरे त भनेर फलोअप गर्दा बिचराहरुलाई बेस्कन लाज लागेको देखियो। त्यसैले गल्ती गरेकोमा कसैले माफीको शब्द खर्च गरेनन्। हुनत हामी पत्रकारहरुको दम्भ निकै ठूलो छ। हामी अरुको गल्तीलाई त देखाउँछौँ, अरुलाई त जिम्मेवार हुन भन्छौँ, तर आफू भने पाठकप्रति जिम्मेवार हुँदैनौँ। आफू कहिल्यै गल्ती नै नगर्ने सुपरम्यान जस्तो ठान्छौँ। मान्छे भएपछि गल्ती त भइहाल्छ नि। गल्ती भएपछि सच्याएको जानकारी दिएर माफी माग्नुपर्ने हो। तर हामी पत्रकारहरुलाई माफी भन्ने शब्द प्रयोग गर्न साह्रै गाह्रो लाग्छ।

अस्तिको ब्लगमा पाँच वटा अनलाइनले ‘चिनेको’ लेख्नुपर्नेमा ‘चि*को’ लेखेको राससको समाचार हुबहु राखेको बारेमा लेखेको थिएँ। राससले यो विषयमा अहिलेसम्म केही भनेको थाहा भएको छैन। पाँच मध्ये चार वटा अनलाइनले सुटुक्क समाचार सच्याएका छन् भने एउटा अनलाइनले समाचारै डिलिट गरेको छ। सुटुक्क समाचार सच्याउनुको साटो असावधानीवश यस्तो गल्ती भएकोमा सच्याइएको छ भनेर एक लाइन लेख्दैमा केही जाने थिएन। तर त्यस्तो गर्न यी अनलाइनका सम्पादकहरुले आवश्यक ठानेनन्।

कुन कुन अनलाइनले के के गरे त? आउनुस् हेरौँ-

दैनिक नेपाल

यो हो त्यो समाचार छापिएको लिङ्क। अहिले त्यो समाचारको लिङ्कमा क्लिक गर्नुभयो भने समाचार खुल्दैन। पेज नट फाउन्ड सँगै होमपेज खुल्छ। त्यो भनेको पुरानो समाचार डिलिट गरिएको हो।

दैनिक नेपालको समाचार कस्तो थियो, पढ्न यहाँ क्लिक गर्नुस्

लोकान्तर

लोकान्तरले समाचारमा ‘चि*को’ लेखिएको ठाउँमा ‘चिनेको’ बनाएको छ। तर सच्याइएको कुनै संकेत राखेको छैन। न यस्तो छापिएकोमा माफी नै मागेको छ। राससको समाचार पूरै कपिपेस्ट गरे पनि राससलाई क्रेडिट नदिई बाइलाइनमा लोकान्तर संवाददाता कायमै छ।

यस्तो थियो लोकान्तरको समाचार

डिसी नेपाल

डिसी नेपालको समाचार यस्तो थियो अहिले उसले ‘चि*को’ लेखिएको ठाउँमा ‘चिनेको’ बनाएको छ। तर सच्याइएको कुनै संकेत राखेको छैन। न यस्तो छापिएकोमा माफी नै मागेको छ। अहिलेको समाचार हेर्न यहाँ क्लिक गर्नुस्।

क्यानडा नेपाल

क्यानडा नेपालको समाचार यस्तो थियो उसले पनि ‘चि*को’ लेखिएको ठाउँमा ‘चिनेको’ बनाएको छ। तर सच्याइएको कुनै संकेत राखेको छैन। न यस्तो छापिएकोमा माफी नै मागेको छ। अहिलेको समाचार हेर्न यहाँ क्लिक गर्नुस्।

साँघु

साँघुन्युजको समाचार यस्तो थियो उसले पनि ‘चि*को’ लेखिएको ठाउँमा ‘चिनेको’ बनाएको छ। तर सच्याइएको कुनै संकेत राखेको छैन। न यस्तो छापिएकोमा माफी नै मागेको छ। राससको समाचार पूरै कपिपेस्ट गरे पनि राससलाई क्रेडिट नदिई बाइलाइनमा साँघुन्युज नै कायमै छ। तर यो बारेमा धेरै हल्ला गर्नुहुन्न। किनभने साँघुका सम्पादक मिडियाले यसो गर्‍यो भने खबरदारी गराउनु पर्ने निकाय प्रेस काउन्सिलका सदस्य छन्।

त्यसबाहेक अरु केही अनलाइनले पनि चि*को समाचार हालेका रहेछन्। अस्तिको ब्लगमा ती अनलाइनको बारेमा नलेखेकोले होला, अहिलेसम्म उनीहरुले सच्याएका रहेनछन्। यस्ता छन् हेर्नुस् हाम्रा अनलाइनहरु। आफूले हालेको समाचार आफैले त पढ्दैनन्, अरु पाठकहरुले के पढ्लान् 🙂

घटना र विचार

घटना र विचार जस्तो वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी प्रधान सम्पादक रहेको अनलाइनमा पनि राससको चि*को समाचारलाई जस्ताको तस्तै कपिपेस्ट गरी बाइलाइनमा चाहिँ आफ्नै संवाददाताले लेखे जस्तो गरेर ‘घटना र विचार, न्युज डेस्क’ लेखिएको छ। ठीक्क परो, अब दोष राससलाई दिन पाइएन नि। बरु यता चाहिँ सच्याइएको र माफी मागेको सूचना आउँछ कि भन्ने आशा गरौँ यो ब्लग हेरिसकेपछि।

समाचारको लिङ्क यता छ। अनि त्यसको अर्काइभ गरिएको लिङ्क यता छ।

अरु थप अनलाइन जसले राससको अश्लील शब्दसहितको समाचार जस्ताको तस्तै हाले
ओएस नेपाल

जनबोली

परिचयनेटवर्क

संकल्पखबर

हाम्रोखबर

नवयुग

जीवनशैली

यस्तै खालको अर्को काण्ड केही वर्षअघि राजधानी दैनिकमा मच्चिएको रहेछ। त्यसबारे यी ट्विट हेर्नुस्-

राजधानी दैनिकमा सेकेन्ड मेनन्यूजमा डेस्कमा बस्ने भिएग्राकुमारले शीर्षकमा यस्तै गरी जानीजानी अश्लिल शब्द हाल्दिएछन् । प्रिन्टमा गइसकेपछि प्रेसम्यानले पो देखेर हतार हतार रोकेर फेरि ट्रेसिङ निकालेर शीर्षक फेरेछन । उक्त प्रकरणमा प्रुफ रिडरका जागिर नै गयो । डेक्सका चाहिँ अझै छन ।

— Gajendra S. Budhathoki ♿ ?? (@gbudhathoki) February 4, 2020

राजधानी दैनिकमा २ बर्ष अगाडि `शिक्षकले बिध्यार्थी बलात्कार गरे´समाचारलाई हेडिङमा बलात्कार गरे सट्टा `चि*´ बनाइदेछन । डिजाइन गर्दा अर्कोले जिस्केर बनाइदेको, फाइनल कपिमा नि त्यै गएछ र छापियो।
लास्टमा प्रेसको कामदारले देखेर बजार जान रोकियो ।
यस कान्डमा २ जनाको जागीर गयो । एक बाचे ।

— ?DNess AC (@DnesKazi) February 4, 2020

त्यो काम गर्नेचाही अहिले नि काम गर्दैछन । तर ड्युटी परेकाको चाहिँ जागिर गयो । उनी अहिले रिपब्लिकामा काम गर्छन । अर्को एक मकहाँ काम गर्छन ।

— ?DNess AC (@DnesKazi) February 4, 2020

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme