Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको हेडलाइनलाई लिएर ‘मुटु भएका’ दुई सम्पादकको नोंकझोंक

Posted on January 27, 2020January 27, 2020 by Salokya


यसो देश बाहिर भएका बेला देशमा उधुम नयाँ र रमाइला कुराहरु छुट्यो। त्यसमध्ये एक थियो- राम्रो काम देख्न सक्ने मुटु भएका सम्पादकहरु नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले गरेको आलोचना। प्रधानमन्त्रीले त्यसो के भनेका थिए, सारा सम्पादकहरु हाम्रो त मुटु छ है भनेर प्रतिवादमा उत्रिएका थिए। आज मध्यरातमा भने मुटु भएका तिनै मध्येका दुई सम्पादकको रोचक नोंकझोंक ट्विटरमा हेर्न पाइयो। विषय चैँ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हेडलाइनको विषयमा थियो।

कुरो के पर्‍यो भने नयाँ पत्रिका दैनिकको अनलाइनमा आइतबार एउटा रमाइलो समाचार शीर्षक आयो- प्रचण्डको समर्थन पाएका मदुरो भेनेजुएलामा झन् शक्तिशाली। हेडलाइनै कति प्रभावकारी ! सोसल मिडियामा चर्चा हुने भइहाल्यो।

ऐरेगैरेले मात्र हैन काठमाण्डु पोस्टका राजीनामा दिइसकेका सम्पादकले पनि ट्विट गरे यही समाचारको शीर्षकका विषयमा

The man who has invested millions in Naya Patrika surely must be thrilled with the headline ??‍♂️https://t.co/pCQ7a5StDE

— Anup Kaphle (@AnupKaphle) January 26, 2020

उनले नयाँ पत्रिकामा लाखौँ लगानी गर्ने मान्छे यो शीर्षक पढेर पक्कै रोमाञ्चित भएको होला भनेर लेखे। प्रधानमन्त्रीले मुटु नभएका सम्पादक भनेर त्यसै भनेका हैन रहेछन्। कस्तो अर्काको बारेमा त्यसरी मुटुमा पर्ने गरी व्यङ्ग्य गर्न सकेको।

नयाँ पत्रिकाका सम्पादकले त्यसैको जवाफमा शालिनतापूर्वक व्यङ्ग्यात्मक ट्विट गरे- सालिन र जिम्मेवार भाषामा सचेत बनाउनुहुने द काठमाण्डू पोस्टका सम्पादकलाई पनि हृदयदेखि धन्यवाद।

सम्पादकीय असावधानीले अनलाइनमा राखिएको शीर्षक र समाचारको अंश हटाइएको छ । हामी गम्भीर पत्रकारिताको पक्षमा छौँ, हामीबाट भएको त्रुटिमा क्षमायाचना गर्दै विनम्रतापूर्वक भूलसुधार गर्छौं ।
सालिन र जिम्मेवार भाषामा सचेत बनाउनुहुने द काठमाण्डू पोस्टका सम्पादकलाई पनि हृदयदेखि धन्यवाद । https://t.co/c9rjeEMU7a

— Umesh Chauhan (@Umesh_Chauhan) January 26, 2020

मुटु भएका दुई सम्पादकले शब्दमा शालिनता देखाए पनि वास्तवमा काठमाण्डु पोस्टका सम्पादक र नयाँ पत्रिकाका सम्पादकबीच नराम्रै नोंकझोंक नै भएको हो। नयाँ पत्रिकामा प्रचण्डको लगानी भएको बजार हल्लालाई अप्रत्यक्ष रुपमा जोडेर काठमाण्डु पोस्टका सम्पादकले ट्विट गरेका हुन् भने नयाँ पत्रिकाका सम्पादकले त्यस्तो पनि लेख्ने हो र भनेका हुन् अप्रत्यक्ष रुपमै।

नयाँ पत्रिकाको अनलाइनमा यसपछि हेडलाइन पनि परिवर्तन गरियो- ‘प्रचण्डको समर्थन पाएका मदुरो भेनेजुएलामा झन् शक्तिशाली’लाई ‘मदुरो भेनेजुएलामा झन् शक्तिशाली’मात्र बनाइयो। साथमा सम्पादकको टिप्पणी पनि यसरी राखियो-

सम्पादकको टिप्पणीमा सम्पादकीय असावधानीले राखिएको शीर्षक र समाचारको अंश हटाइएको उल्लेख छ। त्यसैगरी लेखिएको छ- हामी गम्भीर पत्रकारिताको पक्षमा छौँ, हामीबाट भएको त्रुटिमा क्षमायाचना गर्दै विनम्रतापूर्वक भूलसुधार गर्छौँ।

धन्न कसैले भूलसुधार त भूलसुधार नै हो नि, भूलसुधारपनि नम्रतापूर्वक, विनम्रतापूर्वक, कठोरतापूर्वक, ह्रदयदेखि नै भूलसुधार, मन नलागी नलागी भूलसुधार पनि हुन्छ र भन्ने प्रश्न गरेको चाहिँ देखिएन 🙂 नत्र त सोसल मिडियामा निहुँ खोजुवा त कति आउँछन् आउँछन्। एक र एक दुई हुन्छ भन्यो भने कहाँ हुन्छ दुई एक र एक एघार पो हुन्छ भन्छन् कोही। ल त नि एघार पो हुन्छ भन्यो भने भने अर्को आएर तर्क गर्छन्- एक त एकै रहन्छ नि कहाँ दुई हुनु अनि कहाँ एघार हुनु!

त्यसैले यो कुरालाई यहीँ छाडौँ। बरु तपाईँलाई नयाँ पत्रिकाले सम्पादकीय असावधानीवश राखिएको र अहिले हटाइएको समाचारको अंश चाहिँ कस्तो होला भन्ने खुल्दुली लागेको होला, त्यो समाचारको अंश भने यस्तो थियो (शीर्षकसहित)

प्रचण्डको समर्थन पाएका मदुरो भेनेजुएलामा झन् शक्तिशाली

सात समुद्र पारीको दक्षिण अमेरिकी मुलुक गत साल ठिक यहीबेला नेपालमा एकाएक राजनीतिक सरगर्मीको विषय बन्यो । कारण थियो, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा महाशक्ति अमेरिकाको आलोचना गर्दै भेनेजुयेली राष्ट्रपति निकोलस मदुरोलाई दिएको समर्थन । प्रचण्डले यस्तो विज्ञप्ति जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओली ८–११ माघ ०७५ मा स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिँदै थिए । आफू उता रहेका बेला आफ्नै पार्टीका अर्का अध्यक्षले अमेरिकाको आलोचना गर्दै विज्ञप्ति जारी गरेपछि ओली अप्ठेरोमा परे । जसले ओली–प्रचण्डबीचको सम्बन्धमा दरार उत्पन्न भयो ।

अमेरिका र ऊ निकट राष्ट्रहरुको समर्थन पाएका विपक्षी गठबन्धनका नेता जुआन गुएइदोले २३ जनवरी २०१९ (९ माघ २०७५) मा आफैलाई राष्ट्रपति घोषणा गरेपछि दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा राजनीतिक संकट सुरु भएको थियो । र, ‘कम्युनिष्ट मुलुक’ भएको नाताले प्रचण्डले अमेरिकाको आलोचना गर्दै मदुरोको समर्थनमा विज्ञप्ति जारी गरेका थिए ।

अमेरिका र ऊ निकट राष्ट्रहरुको समर्थन पाएर भेनेजुएली सत्तालाई अप्ठेरो पार्दै लगेपछि विपक्षी नेता गुएइदो र भेनेजुएली राजनीति नेपालमा चर्चाको विषय बन्न थालेको थियो । प्रचण्डको विज्ञप्तिपछि यो अझै चर्चाको विषय बन्यो । कतिसम्म भने, ‘बेला न कुबेला भेनेजुएला’ भन्ने उखान नै बन्यो ।

उतिबेला नेपालको राजनीतिसमेत तताउने विषय बनेको भेनेजुएला नेपालमा पनि यतिबेला छायामा परेको छ । आखिर के हुँदैछ भेनेजुएलामा ? अमेरिकाको समर्थनमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदो र आफूलाई नै बैधानिक राष्ट्रपति दावी गरेका मदुरोको स्थिति के छ ?

मदुरो झन् शक्तिशाली: महाशक्ति अमेरिका र देशभित्रै पनि सबैजसो विपक्षी दलहरुको समर्थन पाएका गुएइदोले गत साल राष्ट्रपति मदुरोलाई हायल–कायल नै बनाएका थिए । अमेरिका, बेलायत, ब्राजिल जस्ता राष्ट्रहरुको समर्थन त उनले पाए । तर, आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरे पनि उनले मदुरोलाई राष्ट्रपतिबाट विस्थापित गर्न चाहिँ सकेनन् । भेनेजुएली सरकारसँग सुमधुर सम्बन्ध बनाएका सत्तारुढ नेकपाका केन्द्रीय सदस्य बलराम बाँस्कोटा भन्छन्, ‘गुएइदो पूर्ण रुपमा असफल भइसकेका छन्, अमेरिकाले गुएइदोलाई उक्साइरहे पनि अब उनले राष्ट्रपति मदुरोको सत्तालाई रौँ बराबर हल्लाउन सक्ने स्थिति छैन ।’

अहिले चाहिँ के बाँकी छ त नयाँ पत्रिकामा? पढ्नलाई यहाँ क्लिक गर्नुस्।

3 thoughts on “प्रचण्डको हेडलाइनलाई लिएर ‘मुटु भएका’ दुई सम्पादकको नोंकझोंक”

  1. prithvi nepali says:
    January 30, 2020 at 4:24 am

    यहा प्रचन्ड बिरुद्ध लेख्दा छपिदैन थाहा छ, तैपनी एकदम चिलायो, लेख्न मन लाग्यो, यथार्थ सबै लाई अत्ती राम्रो सग थाहा छ, बिदेशी शक्ती हरु प्रचन्ड जस्तै हत्या ले रङिएको मान्छे शक्ती मा रहोस् भन्ने चाहन्छन जस्ले गर्दा उस्ले जे भने पनि मानोस, अहिले प्रचन्ड को घाटी मा डोरी र शिर मा तरवार झुण्डिएको छ, जुन शक्तिले उस्लाई १७००० (५००० आफैले स्विकारेको)को हत्या गरेको १।२५ लाख देखी ५ लाख बर्ष सम्म को कैद बाट जोगाएर आफ्नै काल ले मर्ने बिन्दु सम्म पुर्याउछ तेस्ले भनेको कुनै पनि कुरा प्रचन्ड मान्न ब्यघ्र रुपले तयार भएर बसेका छन। एस्तो हत्यारालाई उस्का अङरक्षक ले नै जनता जिम्मा लगाइदिनु पर्ने हो जस्ले गर्दा गद्दाफी को हालत होवोस। बिनाकारण मारिने हरुको परिवारको भावना कस्तो होला। कुनै पनि स्वाभिमानी नेपालीले पाये कुटी कुटी मार्ने थिए ।

    Reply
  2. madan bajracharya says:
    January 29, 2020 at 12:49 pm

    दल पर्यतन गर्दै हुनु हुन्छ प्रचन्द्र; उहा दल पर्यतन गर्दा मात्र् दल दल घुम्नु हुन्न त्यहा पहलमानि नै गर्नु हुन्छ; तर खुला पहलमानि होईन “wwe” मा जस्तै पुर्व निर्धारित नियोजित तरिकाले गरिने ब्यबसाईक पहलमानि।तेसैले आफ्नो र् आफु घुम्नु हुने दलमा wwe मा देखाईने कुस्ती जस्तैको राजनीति गर्नु हुने प्रचन्द्रज्युले बोले गरे भनेको कुरामा टिका टिप्पणी प्रतिबाद प्रसन्सा आलोचना गर्नु नै नपर्ने हो।तापनी गर्छन् यही कुरा सबै भन्दा आस्चर्य् लाग्ने कुरा हो।

    प्रचन्द्रको अर्को रुप राजनीतिको महान ब्यबसाईक रिमिक्स गीत गाउने गायक पनि हो। मावोबादिको मन्चमा उहाले साछ्यात माउत्सेतुङकै लय भाखामा मावोबादको गीत माउत्सेतुङले भन्दा पनि राम्रो सँग गाउनु भयो। कङ्रेसिको मन्चमा उहाले गिरिजा आफ्नो महानायक भनेर कोईरालाबादको भजन कुनै पनि कोईरालाले गायको भन्दा बढी सुरिलो स्वरमा गाउनु भयो।अहिले यमालेको नाम झन्डा फेर्ने कार्यक्रमको सह् आयोजक समेत् बनेर नवबामबाद को गीत गाउने तरखरमा हुनु हुन्छ। पक्कै पनि उहाले गाउनु हुने यो गीत पनि उहाको मावोगान गिरिजागानले जस्तै प्रशिद्धि पाउनु हुनेनै छ्। तर यहाँनिर बुझ्नु पर्ने कुरा के हो भने गायकोमा होईन गरेकोमा “केही” हुनु पर्थ्यो त्यो हुँदैन नेपालमा।

    मलाई अहिले उहाको कुनै पनि भनाई गराई आदी केहीले प्रभाव पार्दैन;उहिले अलि गरेको पनि किन होला थम्याउन सकिरहेको छैन। शायद तेतिबेला अयला थोँ खायको बेला पर्‍यो कि। तर उहालाई उहाको बाल्यकालमा छविलाई नाम दिने र् अहिले प्रचन्द्र उपनाम दिने ब्यक्ति बाट अत्यन्त प्रभावित छु। यस्तो थ्याक्कै मिल्ने नाम उपनाम दिने महानुभाव् पक्कै पनि महाज्योतिशनै हुनु पर्छ। भेट्ने मौका पायमा अरु नसोधे पनि प्रचन्द्रले भारतले मिचेको कलापानिको मुद्दामा कस्तो भूमिका खेल्ला(?) भनि सोध्ने थिय्।

    Reply
  3. Shankar says:
    January 28, 2020 at 5:33 pm

    प्रचण्ड को समर्थन पाएर ओली झन् सक्तिसाली भन्नु पर्ने मा मदुरो हुन् गयेछ। यो नि राम्रै हो हाम्रा कामरेड ले बिदेसी कमरेड नेताहरुलाई समर्थन गर्ने नौलो चै हैन , उहाहरुले राम्ररि र पुरा पढेको किताब नै सायद , किम उल संग को जिबनी , मार्क्स , लेनिन , माउको जिबनी नै होला सायद ।
    जिन्दगि भर नेपालि जनताको सेवा मै बित्यो , ” मुसुक्क हासेर काजु को गेडा टोक्दै कमरेड ले भन्नु भो “।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme