Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसारमा नहुने कुरा ‘नेपालन्युज’मा किन भयो? कारण यस्तो रहेछ

Posted on January 27, 2020January 27, 2020 by Salokya


तपाईँले कुनै अनलाइनको फेसबुक पेज लाइक गर्नुभएको भए त्यसमा के देख्नुहुन्छ? पक्कै पनि जुन अनलाइनको फेसबुक पेज हो, त्यही अनलाइनमा राखिएका समाचार सामाग्रीहरु। हाम्रोतिर मात्र हैन, विश्वमै यस्तै चलन हो।

तर गएको हप्ता भने अचम्मै भयो। नेपालन्युजले आफ्नो न्युज नभई अर्काको न्युज सेयर गरिरहेको देखियो। झुक्किएर त्यसो भएको भन्ने ठान्नुभएको भए तपाईँ गलत हुनुहुन्छ। किनभने सेयरले मात्र नपुगेर, अर्काको न्युजलाई डलर तिरी तिरी बुस्ट गरेकोसमेत देखियो। फेसबुकलाई निश्चित डलर तिरेपछि उसले धेरै मान्छेको वालमा त्यो न्युजको लिङ्क देखिने बनाइदिन्छ। यही प्रक्रियालाई ‘बुस्ट’ भनिन्छ। हिटलर पनि अहिलेको जमानामा जन्मिएको भए उसले पनि आफ्नो कामलाई सही हो भनेर लेखिएका न्युज फेसबुकमा ‘बुस्ट’ गर्थ्यो होला भनेर व्यङ्ग्य हान्दै गरेको अस्ति भर्खर कतै पढेको थिएँ।

नेपालन्युजको ४५ हजार लाइक भएको पेजले २२ जनवरीमा ‘नागरिकखबर’ र ‘नयाँपेज’ मा छापिएका समाचारको लिङ्क सेयर गरेको भेटिएको हो। माथि तपाईँले नयाँ पेजको समाचार नेपालन्युजको फेसबुकबाट सेयर भएको स्क्रिनसट देख्नुभयो। तल भने नागरिकखबरको न्युजको लिङ्क नेपालन्युजको फेसबुक पेजबाट सेयर भएको स्क्रिनसट देख्नुहुन्छ-

अझ नेपालन्युजले डलर तिरेर नागरिकखबरको न्युज बुस्ट गरेको स्क्रिनसट यता छ-

किन त किन यसरी अर्काको न्युज सेयर गरेको, डलर तिरेर बुस्ट गरेको? आफैले समाचार लेखेर सेयर गरेको भए भइहाल्थ्यो नि। आफूले समाचार लेख्न नभ्याएको हो र?

खोज्दै जाँदा यस्तो भेटियो हेर्नुस्-

डिसेम्बरको तेस्रो हप्तातिर जब मूलधारका मिडियाहरुमा ‘यति’ले सरकारसँग सेटिङ मिलाएर गर्नुगरेको खबर छाउन थाल्यो, नेपालन्युजले त्यसको खण्डन गर्दै ‘नेपाल ट्रस्टको जग्गा लिज कानुनी रुपमै भएको पुष्टि’ शीर्षकमा समाचार लेख्यो।

तर अचेलका सामाजिक सञ्जाल, फ्याट्टै कुरा पत्ता लाइहाल्छ। नेपालन्युजको प्रबन्ध निर्देशक र थामसेर्कु ट्रेकिङ कम्पनीको प्रतिनिधि एउटै भएको पत्ता लगाइहाले-

यसरी ‘पुष्टि सहितको’ समाचार प्रकाशन गर्ने नेपालन्युज डटकमको प्रबन्ध निर्देशक र पूर्वराजा विरेन्द्रको दरबारमार्ग स्थित १ रोपनी १४ आना जग्गा हत्याउने थामसेर्कु ट्रेकिङ कम्पनिको प्रतिनिधि बनेर हस्ताक्षेर गर्ने एउटै व्यक्ति ! हैट । मिडियाको अवरणमा माफियाको धन्दा pic.twitter.com/1DivKlcpWA

— अन्नपुर्णा नेपाल (@SundarNepal14) December 20, 2019

अझ रमाइलो त के भयो भने, यसरी सामाजिक सञ्जालमा खुलासा भएपछि नेपालन्युजले आफ्नो समाचारबाट हतार हतार सुटुक्क प्रबन्ध निर्देशकको हस्ताक्षर र नाम भएको भाग हटाएर अपडेट गर्‍यो। अहिले हेर्नुभयो भने तपाईँले यस्तो देख्नुहुन्छ समाचारमा-

पहिले भने यस्तो थियो-

मिडिया समालोचकहरुको दृष्टि पनि यस्तोमा नपर्नु कसरी? भानुभक्त आचार्यले यक्ष प्रश्न भन्दै यसरी दनक दिए-

अगुल्टोले हानेको कुकुर बिजुली देख्दा तर्सन्छ भने झैँ एक पटक यस्तो कुरा लेखेर आलोचना खाइसकेको भएर फेरि आफ्नै विषयमा आफैले समाचार के लेख्नु भन्ने भयो होला। किनभने अर्काले लेखेको यो समाचार पनि ‘यति’सँगै सम्बन्धित छ।

समाचार राष्ट्रिय सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद रमेशजंग रायमाझीको सम्पत्ति छानविन गर्नु पर्ने माग राख्दै अख्तियार र सम्पति शुद्धिकरणमा दर्ता भएको उजुरी बारे हो। अख्तियारमा उजुरीमात्रै दर्ता भएको त खास समाचार हैन। उजुरी त जसले पनि दर्ता गर्न सक्छ। तर यो समाचार किन भयो भने सांसद रायमाझीले ‘यति’लाई धक्का पर्ने गरी संसदमा बोलेका थिए। संसदमा बोलेको कुरा अदालतमा मुद्दा लाग्दैन। तर उजुरी त दर्ता गर्न पाइयो नि। अनि उजुरीको प्रक्रिया अघि बढे पनि नबढे पनि उजुरी पर्‍यो भनेर समाचार लेख्न पनि पाइयो।

के बोलेका थिए सांसद रायमाझीले? यहाँ हेर्नुस् भिडियो–

अनि पृष्ठभूमि बुझ्नका लागि कान्तिपुर र नयाँ पत्रिकाका यी समाचार पनि पढ्नुस्-

गोकर्ण रिसोर्ट यतिलाई अर्को २५ वर्ष पनि,लिजको म्याद सकिनुभन्दा झन्डै ६ वर्षअगावै मन्त्रिपरिषद्को विवादास्पद निर्णय, २८ सय रोपनीको रिसोर्ट र गल्फ कोर्सबाट हालसम्म मासिक भाडा प्रतिरोपनी ५ सय ६४ मात्र (कृष्ण आचार्य, कृष्ण ज्ञवाली/कान्तिपुर)

यतीलाई गोकर्ण बुझाउन ऐन नै संशोधन : कानुन संशोधन गरेर नेपाल ट्रस्टको सदस्यबाट सरकारका सातजना सचिवलाई एकैपटक बिदा गरियो, प्रधानमन्त्रीले तोकेका, तर सरकारबाहिरका तीनजना सदस्य राख्ने व्यवस्था भयो, टीका लगाएर बनाइएका सदस्य र रक्षामन्त्री पोखरेल अध्यक्ष रहेको ट्रस्टको सिफारिसअनुसार गोकर्ण रिसोर्टको २७९३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्ले यती समूहलाई जिम्मा लगायो (पुष्प ढुंगाना/नयाँ पत्रिका)

यतीलाई गोकर्ण दिने निर्णय नगर्दा ट्रस्टको बोर्डबाट गृहमन्त्री निकालिए, रक्षामन्त्री भित्रिएयतीको शक्ति कति ? : गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन संशोधन गरेर रक्षामन्त्रीलाई बोर्डमा ल्याइयो र यती समूहको स्वार्थसिद्ध गरियो (पुष्प ढुंगाना/नयाँ पत्रिका)

रायमाझीले (यतिलाई गोकर्ण) जति पैसामा दिएको छ, त्यो भन्दा ५० करोड बढी म तिर्न तयार छु । सरकार दिन तयार छ मलाई ? छैन । किन दिदैन भने त्यहाँ ५० करोड भन्दा बढीको अनियमितता भएको छ भनेका थिए।

सीधै यतिलाई चुनौति दिने? तह लाउनु परो भन्ने भयो होला। अनि हालियो अख्तियार र सम्पति शुद्धिकरणमा उजुरी। आफैले समाचार लेख्यो भने फेरि गाल खाइएला भन्ने भयो होला। तर सकसक पनि लाग्यो होला। गर्ने के त ?

अरुले लेखेको समाचार आफ्नो फेसबुकबाट सेयर गर्न पाइन्न भन्ने कतै नियम छ?

छैन।

अरुले लेखेको समाचार आफ्नो फेसबुकमा आफैले डलर तिरेर बुस्ट गर्न पाइन्न भन्ने कतै लेख्या छ?

छैन।

अनि गर्‍यो त ‘यति’ले आफ्नो स्वार्थ पूरा गर्नलाई ‘यति’ काम। तपाईँको टाउको दुखाइ किन? हैन त??

कुरो बुझ्नुभो नि?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme