५ महिनाअघि पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको एउटा भिडियो सार्वजनिक भएपछि सनसनी मच्चियो। भिडियोमा मर्नुअघि रुँदै शालिकरामले आफूलाई मर्न बाध्य बनाउनेहरु भन्दै सीधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र आफ्नी प्रेमिका अस्मिता कार्कीको नाम लिएका थिए। मर्नुअघि पनि मान्छेले झुटो बोल्छ त? मर्नुअगाडि त झुटो बोल्दैन होला भन्ने पनि धेरैलाई भएको थियो। त्यसो त रविको पक्षमा ठूलो जनसागर उर्लिएको पनि थियो चितवनमा। तर रविको सेलिब्रिटी छविबाट इर्ष्यालु एक समूह पनि थिए उनको विरुद्ध। आज चितवन जिल्ला अदालतले भने तीनै जनालाई निर्दोष ठहर गर्दै सफाइ दियो, शालिकरामले आत्महत्या गर्नुको कारण उसैको ‘अवैध व्यवहार’ भएको भन्यो।
किन त ?
किनभने रवि र युवराजले शालिकरामलाई मर्न बाध्य बनाएको भन्ने कुराको अदालतले न प्रमाण भेट्यो, न तथ्य, न भौतिक उपस्थिति, न त आपराधिक दुराशय अर्थात् illicit motive नै।
प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेकै बेला भिडियो ‘लिक’ भएको (वा गराइएको?) थियो। भिडियो ‘लिक’को लगत्तै टेलिभिजन स्टुडियोबाटै रवि र युवराजलाई पक्राउ गरी चितवन लगियो र त्यहाँ हिरासतमा राखी अनुसन्धान गरियो। उनीहरुसँगै अस्मितालाई पनि चितवन लगेर हिरासतमै राखी अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि यी तीन जनाले आत्महत्या दुरुत्साहन (अर्थात् मर्न बाध्य बनाउने काम गरेको) निश्कर्ष निकाल्दै चितवन जिल्ला अदालतमा मुद्दा दायर गरियो। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल हेर्दा नै लागेको थियो, कति कमजोर रहेछ यो मुद्दा। बलियो कुनै प्रमाणै थिएन। नयाँ कानुन अनुसार बदनियतपूर्वक अनुसन्धान गरेको भनी मुद्दा नै लगाउन मिल्ने रहेछ कि के हो?
दुरुत्साहन मुद्दा पुष्टि गर्न गाह्रो हुन्छ भनेर त मैले त्यतिबेलै लेखिसकेको थिएँ यो ब्लगमा शालिकराम प्रकरण : साउन २० गते होटल कङ्गारुको रुम नम्बर २०२ मा भएको के थियो? केही बूँदा यस्तो थियो त्यसमा
• शालिकको अस्मितासँगको झुटको जगमा टिकेको विवाहेत्तर (extra marital affair) सम्बन्ध उनको आत्महत्याको पर्याप्त कारण देखिन्छ।
• रवि र अस्मिताको बीचमा कुनै सम्बन्ध वा सम्पर्क भएको पुष्टि भएको छैन। युवराज र अस्मिताको समेत कुनै सम्बन्ध र सम्पर्क पुष्टि भएको देखिन्न।
• अस्मितालाई युवराजले चिनाइदिएको भन्ने कुरा नै गलत पुष्टि भएको छ। युवराज र रविसित पहिलो भेट पक्राउ परेपछि बल्ल भएको हो।
• शालिक र रविको सम्बन्ध राम्रै थियो भन्ने कुराको पुष्टि शालिकले फेसबुक प्रोफाइल पिक्चरमा रविसँगको फोटो राख्नु र घटनाभन्दा केही समय अगाडि मनाइएको गुरु पूर्णिमामा शालिकले फेसबुकमा रवि दाइ मेरो गुरु हुन् भनेकोबाट समेत देखिन्छ।
• यो मुद्दाको मुख्य आधार भनेकै अस्मिताले रवि र युवराजसँग मिलेर तैँले रेप गरेको भनेर सीधा कुरामा कार्यक्रम बनाएर बदनाम गरिदिन्छु भनेर धम्क्याएको भन्ने हो। त्यसका लागि त अस्मिता र रवि अनि युवराजको सम्पर्क हुनुपर्यो। न सिडिआरबाट उनीहरुबीच मोबाइल र टेलिफोनमा सम्पर्क भएको देखिन्छ, न अरु प्रमाण छ। रवि र युवराजसित सम्पर्क नभएर अस्मिताले विदेशमा बसेका व्यक्ति र न्युज २४ का क्यामेराम्यान अनिल ढुंगेललाई प्रयोग गर्न खोज्छिन्, भेट्छिन् र स्क्रिनसट दिन्छिन्। यदि सीधै सम्पर्क भएको भए त अनिल मार्फत् हैन सीधै भेटे भइहाल्थ्यो।
• शालिकरामले आफूलाई अस्ट्रेलिया पठाइदिने भनेर अस्मितासित युवराजले भेटाइदिएको भनेर भिडियोमा भनेको कुराको पनि पुष्टि भएको छैन। भेटाइदिन त युवराज र अस्मिताको पहिले नै चिनजान हुनुपर्थ्यो। त्यो देखिएन।
तर युट्युबकारिता गर्नेहरुले यसरी भ्रम छरे कि शालिकरामको आत्महत्या हैन हत्या भएको भन्ने सर्वसाधारणलाई पर्यो। शालिकरामको भिडियोको आँखामा हत्यारा देखिएकोदेखि शरीरमा करेन्ट लगाएको, रडले हानेको चोटपटक भएको, भिडियो आफैले खिचेको भए नमस्ते कसरी गर्न सम्भव छ लगायतका भ्रम बिक्री गरियो। न्यायाधीश हेमन्त रावलले प्रारम्भिक सुनुवाई पछि धरौटीमा रिहा गरी मुद्दा पुर्पक्षमा राख्ने आदेश दिँदासमेत सेल्फी भिडियोको प्रसंग उठेको थियो। रावलले नै आज गरेको फैसलामा यो विषयमा स्पष्ट पारिएको छ।
मृत्युको कारण- झुण्डिनु, शरीरमा चोटपटक छैन
अहिलेसम्म शालिकरामलाई रडले हानेको, करेन्ट लगाएको जस्ता हल्ला पत्याइरहनुभएको छ भने त्यस्तो हल्ला कसले सुनाएको हो वा केमा पढेको हो, ध्यान दिनुस् है, त्यो स्रोत विश्वास लायक छैन। अदालतको फैसलामा लेखिएको छ- ‘शालिकरामको शव परीक्षण प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट) मा मृत्युको कारण झुण्डिइ मरेको भन्ने उल्लेख भई निजको घाँटीको हड्डी भाँच्चिएको, घाँटीमा डोरीको डाम रहेको, शरीरमा बाह्य चोटपटक नभएको भन्ने व्यहोरा उल्लेख भएको देखिन्छ।’
पोस्टमार्टम गर्ने शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक डा. मणि महर्जन र डा.विभूति शर्माले अदालतमा आई आफूहरुले शव परीक्षण गरेको, परीक्षण गर्दा शवमा देखिएका लक्षणहरु (घाँटीको हड्डी भाँच्चिएको, घाँटीमा डोरीको डाम भएको र शरीरमा बाह्य घाउचोट (injury marks) नभएको भन्ने व्यहोरासहितको शव परीक्षण प्रतिवेदन आफूहरुले दिएको भनी बकपत्र गरेका थिए।
भिडियो आफैले खिचेको
अर्को एउटा हल्ला युट्युबकारिता गर्ने र हाम्रा अजासु एफबिआई अर्थात् फेसबुक ब्युरो अफ इन्भेस्टिगेसनले मच्चाएका थिए- भिडियो अर्कैले खिचेको भनेर। अदालतको फैसलामा उल्लेख भए अनुसार भिडियोको फरेन्सिक परीक्षण गर्ने केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका विज्ञ प्रनाउ श्यामकुमार मण्डल र दुर्गाकुमार योन्जनले अदालतमा आई बकपत्र गर्ने क्रममा भिडियो परीक्षण विधिबारे बताएका थिए।
‘फोटोग्राफीमा अभ्यस्त एउटा राम्रो व्यवसायिक फोटोग्राफरले आफैले शरीरको घुँडामा मोबाइल राखी, दुवै हात प्रयोग नगरी सेल्फी स्टिक बिना नै फोटो खिच्न र भिडियो रेकर्ड गर्न सकिन्छ, सक्छ र सम्भव हुन्छ भनी बकपत्र गरेको अवस्था छ’, फैसलामा उल्लेख छ।
सेल्फी भिडियोमा नमस्ते गर्न सकिन्छ कि सकिन्न भनेर त उतिबेला नै मैले पनि युट्युबमा भिडियो बनाएर राखेको थिएँ 🙂 यता छ त्यो भिडियो
अस्मिता किन निर्दोष?
शालिकरामको त्यो भिडियो हेर्नुभएको भए तपाईँलाई याद होला उनले के के भनेका थिए अस्मिताबारे। विवाहित शालिकरामले अस्मितासित झुक्याएर प्रेम सम्बन्ध राखेका थिए। आफ्नो वैवाहिक अवस्थाबारे अस्मितालाई कुनै कुरा नभनी निजलाई आफू अविवाहित भएको भ्रममा पारी झुक्याई, कपटपूर्ण प्रेम सम्बन्ध राखी विवाह गर्नेसम्मको दबाबमूलक प्रस्ताव राखेकोमा अस्मिताले आफ्नै तरिकाले शालिकरामको बारेमा थाहा जानकारी पाई प्रेम सम्बन्धबाट आफू अलग हुन खोजेको देखिने अवस्था रहेकोमा, अदालतको फैसलाको ठहर खण्डमा उल्लेख छ, शालिकराम सहज तरिकाले अलग नभएपछि आफ्नो भरोसाका अन्य उपयुक्त साथीहरुलाई आफ्नो अप्ठेरोको बारेमा भन्नु र कानुनसम्मत हर सम्भव जायज प्रयास गर्नुलाई निजको हकमा स्वभाविक नै मान्नु पर्ने देखियो। सो क्रममा निजले शालिकराम पुडासैनीविरुद्ध कुनै हिंसात्मक शारीरिक बल वा फौजदारी कसुर हुने कुनै कार्य आचरण र व्यवहार गरेको देखिएन।
अदालतले फैसलामा अर्को एउटा महत्त्वपूर्ण कुरा पनि उठाएको छ- विवाहित एकाघरको पत्नीले पनि दाम्पत्य सम्बन्धमा कुनै कटुता उत्पन्न हुँदा वैवाहिक सम्बन्धबाट सहज तरिकाले अलग हुनसक्ने कानुनी हक प्रत्याभूति भएको विद्यमान अवस्था छ। यस्तो अवस्थामा तथ्यको भ्रममा पारी गरिएको कपटपूर्ण प्रेम सम्बन्धलाई समयमै वास्तविकता थाहा जानकारी पाई नरुचाइएको सम्बन्धलाई निरन्तरता दिन नचाहेको अवस्थामा पनि शालिकराम पुडासैनीको सम्बन्धमा रही रहने आग्रह, आकांक्षा वा विवाहको प्रस्तावलाई अस्मिता कार्कीले आफूलाई मन नपरे पनि उसका लागि स्वीकार गरिदिनु पर्छ र नगरेको अवस्थामा उसले गर्ने कुनै गलत र आत्मघाती निर्णयको दुष्परिणाम निजले व्यहोर्नु पर्छ भन्ने भनाई मिल्छ त?
अदालतले दुई वटा कानुनी सिद्धान्तका आधारमा मिल्दैन भनेको छ-
– अवैध कार्यबाट वैध परिणाम अपेक्षित हुँदैन
– अवैध कार्यको दुष्परिणामको भागिदार सो कार्य गर्ने व्यक्ति स्वयं हुनुपर्छ।
यही दुई सिद्धान्तका आधारमा शालिकरामको भिडियो कथनमा उल्लेखित अस्मितासँगको अनुचित प्रेम सम्बन्ध र त्यसबाट सिर्जित तनावसहितको द्रवित अभिव्यक्तिलाई आधार मानी अस्मिता कार्कीलाई दोषको भागिदार बनाउन मिल्ने अवस्था नदेखिने अदालतको ठहर छ।
युट्युबमा छरिएका भ्रमको एउटा नमूना
‘सीधा कुरामा कार्यक्रम बजाएकै भए पनि गैर कानुनी भन्न नमिल्ने’
अदालतको फैसलामा लेखिएको छ- ‘शालिकरामले भिडियोमा भने जस्तै अस्मिताले आफूलाई मन नपरेको प्रेम सम्बन्धबाट छुटकारा पाउन आफूले गरेको आग्रहले काम नगरेपछि रवि लामिछाने र युवराज कंडेलसमेतसँग मिली सीधा कुरा जनतासँग कार्यक्रम मार्फत् कुनै टेलिभिजन कार्यक्रम प्रसारण गर्न लगाउँछु भनी निजले भनेकै भए पनि र यी प्रतिवादीहरुले सो बमोजिमको कार्यक्रम टेलिभिजनबाट प्रसारण गरेकै भए पनि त्यो भनाई र त्यस्तो प्रसारणलाई गैर कानुनी भनी भन्न नमिल्ने अवस्थामा न्युज २४ टेलिभिजन कार्यालयको साइनबोर्ड देखिने गरी सोही टेलिभिजनमा कार्यरत अनिल ढुंगेलसँगै उभिएर अस्मिता कार्कीले आफ्नो मोबाइलमा खिचेको फोटो शालिकराम पुडासैनीको मोबाइलमा म्यासेज पठाएको भन्ने कार्यलाई आत्महत्या दुरुत्साहनको तहसम्मको आपराधिक कार्य गरेको भनी भन्न मिल्ने अवस्था देखिएन।’
किन त ?
फैसलामा भनिएको छ- आफूले गर्दै नगरेको कार्यलाई गरे बिराएको हो भनी झुटो आरोप र लान्छना लगाई अवान्छित लाभ लिने, नाजायज दुःख दिने दुराशयले प्रतिवादीले त्यस्तो कार्य गरेको भए पो त्यस्तो कार्य आत्महत्याको दुरुत्साहत हुनसक्थ्यो त। यहाँ त शालिकराम आफैले स्वीकार गरेका छन् आफ्नो वैवाहिक अवस्थालाई ढाँटी अस्मिता कार्कीसँग विवाहइतर सम्बन्ध कायम गरेको अनि सोही कारण आफूले व्यहोर्नु परेको मानिसक तनाव। सम्बन्धको आधारमा शालिकराम स्वयंले गलत र धोकापूर्ण उद्देश्यले तयार पारेको देखिएको अदालतको ठहर छ।
आत्महत्या गर्नुको कारण बारे अदालत भन्छ- अस्मितासँगको सम्बन्ध र त्यसबार सिर्जित सम्भावित परिणामको तनावलाई समयमै समुचित व्यवस्थापन गर्न नसकेको कारण आत्महत्याबाट मृत्युवरण गर्ने दुःखद निर्णय निजले गरेका होइनन् भनी भन्न सकिने अवस्था देखिएन।
अस्मिताले शालिकरामलाई अनुचित दबाब धम्की दिएको कुनै म्यासेज र दुर्व्यवहार भएको देखिने कुनै वस्तुगत घटनाहरु पनि मिसिलमा प्रमाण स्वरुप पेश गर्न सकेको नदेखिएको फैसलामा उल्लेख छ
अस्मितालाई प्रेम सम्बन्ध स्वीकार गर्ने या नगर्ने, विवाह गर्न मन्जुरी दिने या नदिने, भेट्ने या नभेट्ने भन्ने अधिकार उनको स्वतन्त्र जीवनयापन गर्न पाउने निजी अधिकारलाई अरुले गर्ने गलत कार्य र परिणामको घेराबन्दीमा राखी आत्महत्याको दुरुत्साहन जस्तो फौजदारी कसुरमा निजलाई दोषको भागिदार बनाउन मिल्ने अवस्था नदेखिने पनि फैसलामा उल्लेख छ।
रवि र युवराज चाहिँ कसरी निर्दोष?
रवि र युवराजले अस्मितासँग मिली आफ्नो कार्यक्रमबाट अलग्गिएका शालिकरामसित रिस साँध्न कार्यक्रम बनाउने धम्की दिएको भन्ने आरोप थियो। तर अदालतले मिसिलमा संलग्न कल डिटेल, अन्य कागज प्रमाणबाट पनि अस्मिता र रवि र युवराज बीच सम्बन्ध भएको नदेखिएको, न्युज २४ टिभीको ल्यान्डलाइन फोनमा अस्मिताको मोबाइलबाट भएको सम्पर्क रवि र युवराजसँगै यही घटनाका विषयमा कुराकानी भएको र शालिकरामकै विरुद्ध षड्यन्त्र गरेको अर्थमा अनुमान गर्न र सोही आधारमा उनीहरुलाई कसुरदार कायम गर्न मिल्ने अवस्था नदेखिएको बताएको छ।
भिडियोमा उल्लेख भए बमोजिम टिभी कार्यक्रम तयार पारी प्रसारणयोग्य अवस्थामा राखेको भए त्यस्तो कुनै तथ्य वा कार्यक्रम सम्बन्धी सामाग्री अनुसन्धानका क्रममा बरामद हुनुपर्नेमा त्यस्तो कुनै बरामद हुन नसकेकोमा पनि अदालतले प्रश्न उठाएको छ। ‘रवि लामिछानेसमेत सँग शालिकरामले सँगै कार्यक्रममा काम गर्दाको अवस्थामा बाहेक निज कार्यक्रमबाट अलग भइसकेपछिका दिनहरुमा निजहरुका बीच एक पटक पनि टेलिफोन सम्पर्क भएको अवस्था मिसिल संलग्न कलडिटेल विवरणबाट देखिएन,’ अदालतले भनेको छ।
अदालतले उनीहरुलाई निर्दोष ठहर गर्नुका थप कारणहरु यसरी दिएको छ-
– शालिकराम यी प्रतिवादीहरु रवि लामिछाने र युवराज कँडेलसमेतसँग आर्थिक रुपले आश्रित, प्रशासनिक रुपले अधिनस्थ, व्यवहारिक रुपले सम्बन्धित र अन्य नजिक टाढाको नाता सम्बन्ध समेतबाट एक अर्का बीच परस्पर व्यवहार लेनदेनसम्बन्ध भएृको व्यक्ति देखिएन। अतः निजका आर्थिक गतिविधिहरु प्रतिवादीहरुको कार्यव्यवहारबाट सञ्चालित वा प्रभावित हुन सक्ने अवस्था देखिएन।
– पूर्व सहकर्मी भए पनि घटना हुँदाका बखत निज शालिकराम पुडासैनी यी प्रतिवादीहरु रवि लामिछानेसमेतसँग सहकार्य, साझेदारी गरी रहेको वा अन्य कुनै स्वार्थ सम्बन्ध भएको व्यक्ति रहेको देखिएन।
– दुई फरक र स्वतन्त्र अवस्थामा निजहरुका बीचको सामान्य कुनै मनमुटाव र व्यवहारबाट निज शालिकराम विचलित, प्रभावित वा हतोत्साहित हुनु पर्नेसम्मको अवस्था देखिएन।
– प्रतिवादीहरुले निजलाई बलजफ्ती गरी नियन्त्रण कब्जामा लिई शरीर बन्धक बनाई कुनै काम गर्न वा नगर्न कुनै दबाब दिएको अनुचित माग राखेको वा कुनै काम गराउन बाध्य पारेको भन्ने अवस्था पनि मिसिल संलग्न कुनै प्रमाण कागजबाट खुलेको देखिएन।
– अतः उल्लेखित अवस्थाका आधार, प्रमाण र सन्दर्भ समेतका तथ्ययुक्त वस्तुस्थितिबाट मृतक शालिकराम पुडासैनीले आफू मर्नुभन्दा पहिले आफ्नो मृत्युका सम्बन्धमा निजले व्यक्त गरेको भनाई मृत्युकालीन घोषणा (Dying Declaration) लाई यी प्रतिवादीहरु रवि लामिछाने र युवराज कँडेल समेतको कार्य व्यवहार आचरण र अभिव्यक्ति (Actus reus & Mens rea) समेतले सन्निकट सम्बन्ध जनाउने कुनै विश्वसनीय प्रमाण (credible evidence), भौतिक तथ्य (material facts) र निजहरुको भौतिक उपस्थिति (physical presence) समेत नदेखिएको र निजहरुको मृतकका प्रति कुनै षड्यन्त्रपूर्ण दृष्टिकोण र आपराधिक दुराशय (sinister action & attitude with illicit motive) नदेखिएको अवस्थामा घटना, घटनास्थल र प्रतिवादीहरुको कार्यका बीच अन्तर्सम्बन्ध (Corroborative relation) स्थापित गर्ने प्रमाण कागजहरु मिसिल संलग्न रहेको अवस्था देखिएन। यस्तो अवस्थामा मृतकले व्यक्त गरेको भिडियो कथनलाई मात्र अन्तिम सत्य र अकाट्य प्रमाण (undoubtly proven facts का रुपमा ग्रहण गर्न मिलेन।
अब के हुन्छ?
यो फैसलामा चित्त नबुझे यो सरकार वादी मुद्दा भएकोले नेपाल सरकारले ७० दिनभित्र उच्च अदालत पाटनको हेटौडा इजलासमा पुनरावेदन गर्न सक्छ। तर सरकारले पुनरावेदन गर्छ कि गर्दैन, निश्चित छैन।
गएको भदौ ९ गते रवि लामिछानेले ५ लाख र युवराज कँडेलले ३ लाख धरौटी अदालतमा जम्मा गरेर रिहा भएका थिए। तर यो रकम निर्दोष ठहर भइसकेपछि पनि तत्काल उनीहरुले फिर्ता पाउने छैनन्। पुनरावेदनको म्याद नाघेपछि मात्रै फिर्ता गरिन्छ।
The right verdict of Judge and evidence base verdict.
अनाहकमा दु:ख पायको ब्यक्तिले दु:ख दिने ब्यक्ती बा संस्था बा सरकार बाट छ्यतिपुर्ती पाउने हो बा होईन भन्ने कुरानै अहम महत्व्को कुरा हो। नागरिकलाई छ्यतिपुर्ती पाउने अधिकार सुनिस्चित हुने संबैधानिक र् कानुनी ब्यब्स्था नभएे सम्म देसमा बलियाको तानाशाही नै चलिरहन्छ चाहे त्यस्तो ब्यब्स्थालाई प्रजातन्त्र भनुन बा लोकतन्त्र। अदालतले निर्दोश भनेकाइ भरमा कसैले अनाहकमा पायको दु:ख सजाय् र् ब्यक्तिगत हानिको भर्पाई हुँदैन। अनाहकमा दु:ख पायकोलाई निर्दोश करार र् त् गर्छ अदालतले तर छ्यतिपुर्तिको कानुन नभयकोले अनाहकमा दु:ख दिनेलाई सजाय् हुँदैन र् आफ्नो कालोकर्तुतको भन्दाफोद गर्ने कसैले दुस्साहस नगरोस भनी आफ्नो शक्ती र्पहुन्चको भरमा निर्धा लाई अनाहकमा दु:ख दिनेहारु दुरुत्साहित हुँदैन। दु:ख दिने ब्यक्तिलाई सजाय् हुने र् तेस्ता बाट अधिकतम छ्यतिपुर्ती तिराईने ब्यबस्था नभय सम्म आफुले दु:ख पायको ब्यक्तिमा बादलआको भावना मर्दैन र् यस्ले समाज बैमनस्वको भावनाको कारण बिखन्दितनै रही रहन्छ। अपूर्ण न्याय् र् अपराधीले सजाय् नपाउने भयो भने नागरिकअको न्याय् पाउने अधिकार कुन्थित गर्छ। त् न्याय् पाउने अधिकार बन्चित भयमा जे हुन सक्छ तेस्लाई अपराध भन्न् स,किन्दैन।
रवि लामिछानेलाइ सफाई बारेको अपडेटको लागि धन्यवाद । अहिले अर्को प्रकरण चलिरहेको रहेछ – आस्था राउतको बारेमा । सोसल मिडिया र जनमानसले त लगभग आस्था राउतलाइ सजाय हुने फैसला सुनाइसकेको अवस्था छ, त्यो ठिकै छ, तर प्रहरीले गिरफ्तार गर्नु चाही intimidation जस्तो मात्र लाग्छ ।यहा सबैले बिर्सेको के छ भने लोकतन्त्रमा सरकार र सरकारका अंगका बारे जति बोल्न पनि पाउनु पर्ने हो, त्यो गालि नै किन नहोस । सार्वजानिक पद धारणा गरेको व्यक्ति या सरकारको अंगको काम कर्तब्य मन नपरे गालि गर्न पाउनु पश्चिमा मुलुकमा लोकतन्त्रको एउटा दरो खम्बा मानिन्छ । हाम्रोमा पुलिसको काम कर्तब्य मन नपरेर गालि गरेर भिडियो बनाउन नपाउने नियम बनेको भए यो पंचायती संस्कारको निरन्तरता हो भन्ने लाग्छ । जनताहरुको सोचाइ पनि त्यो भन्दा माथि गएको देखिएन । आस्थाको रवैया आलोचना गर्न लायकको होला तर पक्राउ पुर्जी जारि गर्नु उचित छ त ?