Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘नेपालन्युज’मा अब रहेनन् ‘सम्पादक’हरु

Posted on December 7, 2019December 7, 2019 by Salokya


अनलाइनै अनलाइनहरुको भिडमा एउटा अनलाइन अलि फरक थियो – नेपालन्युज। यसमा सम्पादकहरु प्रशस्त थिए। भए जति सबलाई जे झुण्ड्याएर हुन्छ सम्पादक पद दिइएको थियो- समाचार सम्पादक, सहायक सम्पादक, प्रबन्ध सम्पादक, उपसम्पादक, वरिष्ठ उपसम्पादक…आदि। त्यसैले त सम्पादकै सम्पादकहरु भएको मिडियाका रुपमा चर्चित थियो ‘नेपालन्युज’। यति धेरै सम्पादक भएको मिडियामा फेरि सम्पादकै काण्ड भएर प्रधान सम्पादकको जागिर खुस्कियो। म्यानेजमेन्टले एक जना ‘कार्यकारी सम्पादक’ र प्रधानसम्पादकले अर्का ‘सम्पादक’ घोषणा गरेपछि भएको कान्डको बारेमा त माइसंसारको पुरानो ब्लग पढ्नुभएकै होला। छुटाउनु भएको भए यता छ- एउटा अनलाइनको अनौठो कहानी : न्युजरुमले बनाउन नसकेका ‘सम्पादक’ यो काण्डको पाँच दिनपछि नेपालन्युजका प्रधान सम्पादक सुन्दर खनालले आफू नेपालन्युजबाट अलग्गिएको घोषणा फेसबुकबाट गरे। 

उनीसँगै सुशील भट्टराई, अशोक अधिकारी, उजिर कार्की, गजेन्द्र बोहरा, अमृत दाहाल र यज्ञराज जोशीले दुई महिनाको तलब एकमुष्ट लिएर नेपालन्युज छाडे।

यति एयरलाइन्सका मालिक सोनाम लाक्पा शेर्पाको लगानी रहेको नेपालन्युजमा प्रधानसम्पादकको विदाइसँगै अब नेपालन्युजमा एक जनामात्र सम्पादक बाँकी भएका छन्- कार्यकारी सम्पादक छेटु शेर्पा। यसअघि प्रशस्तै सम्पादकहरु थिए। हेर्नुस् पुरानो टिमको नाम र पद

प्रधान सम्पादकको बहिर्गमन पछि भने बाँकी सब सम्पादकहरुको नाम हटेको छ। अब कार्यकारी सम्पादक छेटु शेर्पाको नाम अगाडिमात्र सम्पादक शब्द छ भने पहिलेका अनेक सम्पादकहरुको नामको पदबाट सम्पादक हटाएर केहीलाई ‘संयोजक’ बनाइएको छ। हेर्नुस् नयाँ टिमको नाम-

 

बजारबाट ठूलो पारिश्रमिक दिएर पत्रकारहरु भित्र्याएर जेठ १५ गतेदेखि आक्रामक सुरुवात गरेको नेपालन्युज मंसिर १५ नपुग्दै छिन्नभिन्न भएको हो। यति एयरलाइन्सका मालिक सोनामले एक वर्ष बिना विज्ञापन चलाउने भनेर नेपालन्युज सुरु गरे पनि  विशेषतः पूर्वएमाले निकट केही समाचार, सरकारको कार्यशैली, प्रचण्डको परिवारवाद, नेकपाका सांसद एवम् अहिलेका मन्त्री पार्वत गुरुङलाई पक्राउ पूर्जी काटेकोदेखि रमेश खरेलसम्मको समाचार व्यवस्थापनलाई मन परेको थिएन। मिडिया कहिल्यै नचलाएका सोनामसँग समाचार कक्षको असमझदारी यिनै घटनाले झनै बढाएको नेपालन्युजबाट अलग्गिएका एक पत्रकार बताउँछन्।

न्युजरुममा आफ्नो पकड जमाउन नै व्यवस्थापनले पासाङ ल्हामु प्रतिष्ठानमा समेत रहेका छेटु शेर्पालाई कार्यकारी सम्पादक बनाएका थिए। संखुवासभाका पत्रकार छेटु निकै छिटो पत्रकारितामा फड्को मार्न सफल भएका हुन्। नेपालन्युजमा छेटु शेर्पाभन्दा जुनियर जम्मा ३–४ जना मात्रै थिए। कला बिटका मनोज न्यौपाने, खेलकुदको उमेश दाहाल र समाज बिटका अंगद सिंहबाहेक अरु अधिकांश पत्रकारहरु छेटुका सिनियर हुन्।

उनलाई कार्यकारी सम्पादक बनाएपछि नेपालको मिडियामा विरलै हुने एउटा अनौठो घटना भएको थियो। प्रधान सम्पादक सुन्दर खनालले सुशील भट्टराईलाई सम्पादक घोषणा गरी ‘सम्पादकीय निर्णयबाट सम्पादकको जिम्मेवारी दिइएको’ समाचार समेत साइटमा अपलोड गरेका थिए। सामान्यतया सम्पादक प्रधान सम्पादकको सहमतिमा व्यवस्थापनको निर्णयले नियुक्त हुन्छन्। त्यसको केही समयपछि नै नेपालन्युजबाट त्यो समाचार डिलिट गरियो र त्यो दिन साइटमा कुनै समाचार अपलोड भएनन्। व्यवस्थापन र न्युजरुमबीच द्वन्द्वको संकेत त्यसमा देखियो।

त्यसको केही दिनपछि प्रधान सम्पादकसहित केहीले नेपालन्युज छाडेपछि अहिले पुराना सम्पादकका सबै पदहरु खारेज गरेर साइटमा एक जना मात्र कार्यकारी सम्पादकको नाम राखिएको हो।

सम्पादकै सम्पादक हुँदा पनि खास केही नयाँ गर्न नसकेको नेपालन्युजले अब एकजना मात्र सम्पादक हुँदा चाहिँ केही गरिखाला त? हेर्दै जाउँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme