हरेक पाँच वर्षमा लाग्ने बाराको गढिमाई मेला यो वर्ष जारी छ। मेलाको मुख्य दिन मंगलबार राँगाको बलि दिइयो भने बुधबार हाँस, परेवा आदिको दिइन्छ। पाँच वर्ष अघि हामी यो मेलाको रिपोर्टिङका लागि पुगेका थियौँ। त्यतिबेला लेखेको ब्लग-
गढिमाई मेलामा प्रहरी र प्रशासनको नालायकी देख्दा निकै दुःख लाग्यो। यो पहिलो पटक भएको मेला थिएन। हरेक पाँच पाँच वर्षमा हुने मेला थियो। कति श्रद्धालु आउँछन् भन्ने अनुमान पक्कै पनि गर्न सकिने अवस्था नै थियो। तर त्यो अनुसारको तयारी भने अलिकति पनि भएको देखिएन। म त अचम्म छु, आखिर हाम्रो देश पशुपतिनाथले अथवा दैवी शक्तिले चलाएको भन्ने कुरो सही जस्तो लाग्यो। मानव सागर उर्लिएको छ तर व्यवस्थापन छैन। यसो हेर्दा दर्जनौँ मान्छे चेपिएर मर्ने स्थिति। धन्न तर भारतकी एक वृद्धामात्रै भिडले किचेर मरेको खबर आयो शनिबारसम्म। १४ सय प्रहरी खटिएको भन्ने, तर कतै नदेखिने। भएको पनि ऊ त्यसरी पर्खाल चढेर मोबाइलबाट फोटो खिच्नैमा व्यस्त।
मान्छे र मिडियालाई पनि खाली बलि कै कुरामा मात्र चासो रहेछ। बलिको समर्थन अनि बलिको विरोध। त्यो बाहेक गढिमाईको अरु कुरामा मतलबै छैन। इन्टरनेटमा बलिको समर्थन र विरोधमा लेखिएका विचारले भारत र नेपालका गाउँबाट लाखौँको संख्यामा ओइरिनेहरुलाई केही छुँदैन। उनीहरुमा चेतना नजगाएसम्म बलि रोकिँदैन।
बलि त एउटा भाग हो यो मेलाको। पशु बलि दिने नदिने कुराको बहस गरौँ, नगरौँ भनेको होइन। तर यहाँ त मान्छे बलि चढ्ने अर्थात् मर्ने जोखिम छ बाबा। यसलाई त व्यवस्थित गर्न आवाज उठाउँ।
करोडौँको भेटी उठ्दो रहेछ यहाँ। भेटीसमेत ठेक्का लाग्दो रहेछ यहाँ भेटी संरक्षणका नाममा। अनि बाटो बिग्रेको। तीन चार वटा ठाउँ छ त्यहाँ पुग्ने, छैन कुनै सवारी व्यवस्थापन, पार्किङ योजना। भारतबाट सयौँको संख्यामा ट्रयाक्टर, टेम्पो, बस आएका छन्। लाखौँ मान्छे ओइरिएका छन्, छैन कुनै लाइन र व्यवस्थित दर्शनको योजना।
मैले त प्रहरीलाई बलि दिने मन्दिरभन्दा दुई सय मिटर जति परको खुला मैदानको पर्खालमा चढेकाहरुमात्रै धेरै देखेँ। बलि हेर्नलाई पर्खाल चढ्नबाट रोक्न खटिएकाहरु। अचम्म लाग्छ, यो पर्खाल चढ्न पनि किन रोक्नु पर्यो, त्यही हेर्न भनी आएका हुन्छन् टाढाबाट। हेर्न दिए भइगो। आखिरमा रोक्न पनि सकेनन् उनीहरुले।
हामीलाई रोक्ने? भनेर ढुगामुढा भएपछि प्रहरी बाध्य भएर चुप बस्न बाध्य भयो। सहन्छन् पनि किन नि उनीहरुले ? प्रहरी आफू चाहिँ पर्खाल चढेर मोबाइलले फोटो खिच्दै बस्ने? उनीहरुलाई चाहिँ रोक्ने?
भक्तजनहरु लाठी लिएर आक्रमणमा उत्रिएका थिए स्वयंसेवक र प्रहरीविरुद्ध, ‘ल हान गोली, कति छ तेरो बन्दूकमा गोली’ भन्दै। धन्न ठूलो घटना भएन।
उता मन्दिरमा दर्शनको लागि लाइनमा लाग्दालाग्दै धकेलाधकेल भएर भिडले किचेर एक वृद्धा मरिन्। जो बलियो उसैले पेलेर लाने भिडमा झन् एक जना पुलिसले लट्ठीले हान्न थालेपछि के होला? चप्पल छाडेर भागाभाग। लडेपछि मान्छेले कुल्चिहाल्ने।
आस्था र विश्वासको कुरा, सन्तान पाउने भाकल गर्दा रहेछन्, जन्मिएपछि दर्शन गराउन लिएर आउँदा रहेछन्। अब त्यो सन्तान देवीकै प्रतापले हो वा गाउँकै अर्को कुनै लाठेको कृपाले हो भन्ने चाहिँ थाहा हुँदैन कसैलाई। भाकल अनि जन्म। आस्था र विश्वास झन् बलियो। त्यसैले दूधे बालकहरु पनि धेरै ल्याएका हुन्छन् भक्तजनहरुले। स्थिति त्यही भएर पनि जोखिमपूर्ण हुन्छ।
शनिबारसम्ममा एक जना बालिकामात्र मरेको खबर छ। त्यो पनि भिडका कारण होइन, चीसोका कारण भनिएको छ। यहाँ पनि देवी कै कृपा मानौँ अब। खासै त्यस्तो ठूलो दुर्घटना भएन अरु। तर सँधै देवीले कृपा गरिरहन्छन् भन्ने छैन। सावधानी अपनाउनु जरुरी छ।
त्यतिबेलाको भिडियो रिपोर्ट-
त्यो भन्दा अगाडि नेफेजले तयार पारेको यो पुरानो रिपोर्ट हेर्नुस्-
भाग २
सम्बन्धित ब्लगहरु
गढिमाईमा बलि : देउताले कहाँ कहिले मलाई खुसी गर्न बलि चढाऊ भनेका छन् हँ? पिताम्बर पाण्डेको ब्लग
गढिमाई बलि समर्थकले हेर्नै पर्ने पाँच फोटो, हेर्नुस् र ‘गर्व’ गर्दै भन्नुस् ‘ठीकै हो’
गढिमाईमा रक्तपात होइन, गौदान गर्ने चलन बसाउन सके कसो होला ? साक्षात सुशीलको ब्लग
यो मेलामा गर्नुपर्ने मुख्य सुधार भनेको बलि दिइएको पशुहरुको सहि व्यवस्थापन हो। मासुलाई गढ़िमाईको प्रसाद भनेर बरु बेचे पनि हुने।