– सन्तोष न्यौपाने/बेल्जियम –
तपाईं कुनै पनि समाचारको शीर्षक मात्रै हेरेर प्रतिक्रिया जनाउनुहुन्छ वा भित्रको गुदी पनि पूरा पढ्नुहुन्छ? हिजोआज फेसबुक चलाउनेको जमात थुप्रो छ।चाहे देशमा होस वा विदेश। अझ पछिल्लो समय यो जमात कुनै न्युजपोर्टलले सेयर गरेको समाचारमा प्रतिक्रिया दिन उत्तिकै अग्रसर पनि देखिन्छ। प्रतिक्रिया समाचार पूरै पढेर दिइएको भने हुँदैन। केवल समाचारको शीर्षक पढेर मात्रै आफ्नो राय व्यक्त गरिएको हुन्छ। र, शीर्षक पढेर मात्रै समाचार सेयर गर्नेहरूको जमात पनि उत्तिकै छ। यसरी प्रतिक्रिया दिने वा सेयर गर्ने दुवैमा बाैद्धिक मानिएका व्यक्तिहरू पनि उत्तिकै समावेस भएको देखिन्छ।
यस्तै घटना सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) मा प्रकाशित पोर्चुगलको समाचारले गराएको छ। यो समाचारले युरोप लगायत नेपालका फेसबुक प्रयोगकर्तामाझ निकै भाइरल भयो।
“पोर्चुगलमा सडकमै सुत्छन् नेपाली!” शीर्षकको समाचारले पोर्चुगलमा रहेका नेपालीको बेइज्जत गर्ने काम गरेको भन्दै धेरैले आक्रोश पोखे। राससका पोर्चुगल संवाददाता भगवान गिरीलाई मानसिक तनावसमेत दिने काम भयो। समाचार पढ्दै नपढी गलत भन्नेहरु धेरै भेटिए, जसको एउटै कारण थियो मसालेदार शीर्षक।
गिरीले उक्त समाचारको शीर्षक “पोर्चुगलमा नेपालीको अवस्था- गलत संगत र अधैर्यताले सडकको बास” राखेर राससमा पठाएका थिए। तर डेस्कमा बस्ने सम्पादकले शीर्षक पूरै परिवर्तन गरिदिए। राससको समाचार उज्यालो अनलाइन, डीसी नेपाल,न्युज २४ लगायतले हाले। त्यसपछि समाचार भाइरल भयो। विशेषतः पोर्चुगल बस्नेहरुले र जान खोज्नेहरुलाई कमेन्टमार्फत् थुप्रै गाली दिइयो। पोर्चुगलमा पनि बबण्डर मच्चायो। धेरै पीडा त भगवान गिरीलाई दियो। जसको कारण उनी तनावमा परे।
पोर्चुगलको यो घटना सामान्य नै हो। हरेक दिन नेपालबाट चल्ने राष्ट्रिय स्तरका अनलाइन हुन वा फेक समाचार सेयर गर्ने अनलाइन, अधिकांशले समाचारको क्लिक बढाउन शीर्षक मसालेदार राख्ने गरेका छन्। समाचार एउटा हुन्छ, शीर्षक अर्कै जसले गर्दा धेरैको ट्रेन्ड शीर्षक हेरेर आक्रोश पोख्ने काम मात्रै हुने गरेको छ।
केही दिन अगाडि मैले लेखेको ८ लाखमा युरोप आउन पाइने ब्लगलाई लिएर धेरैले मलाई मेसेन्जरमा मेसेज गरे। अहिले पनि मेसेज आउँदैछ। त्यसमा पनि शीर्षककै भरमा मान्छेले धारणा बनाएका थिए।
यसै विषयमा सेन्टर फर मिडिया रिसर्च नेपालले २०७३ सालमा एउटा अध्ययन गरेको थियो। टम्बलर नामको निःशुल्क ब्लग बनाउन पाइने साइटमा ‘कनीकुथीपुर’ नाम राखिएको वेबसाइटमा एउटा ‘समाचार’ प्रकाशित भयो जसको शीर्षक थियो – “एमाले विश्वकै राष्ट्रवादी पार्टी : संयुक्त राष्ट्र संघ”। त्यसमा क्लिक गरी हेर्दा “समाचार हैन हेडलाइन मात्र पढेर नेपालीहरुले कतिको समाचार सेयर, लाइक गर्दो रहेछ भनेर अध्ययन प्रयोजनका लागि फेक हेडलाइन बनाइहेरेको” लेखिएको थियो।
२४ घण्टामा त्यो समाचारको लिङ्कको फैलावटले एउटा अपत्यारिलो तथ्य देखाउँछ र एउटा भयावह स्थितितर्फ इंगित गर्छ। एक दिनमा त्यो लिङ्कले २१ हजार भन्दा बढि इन्जेगमेन्ट (शेयर, लाइक र कमेन्ट) पायो । १ लाख १४ हजार जनाले त्यो शीर्षक र लिङ्क देखे। १८ सयले त्यो लिङ्कलाई शेयर गरे। ती मध्ये धेरैले यो समाचारलाई पढ्दै नपढी शीर्षकका आधारमा मात्र शेयर गरेका थिए। सोसल मिडियामा यसको फैलावट (जसलाई भाइरल हुनु भनिन्छ) यसकारण पनि अचम्भित पार्ने खालको थियो। थप जानकारी
आजभोलि धेरैलाई भित्र के लेख्या छ भनेर पढ्ने बानी हटिसक्यो, जसको कारण समाचार लेख्ने व्यक्तिहरू धरापमा पर्दैछन्। अर्कोतर्फ नेपाली राष्ट्रिय स्तरका अनलाइनहरुले लापरवाही गरेको देखिन्छ। समाचार सेयर बढाउन लापरवाहीका साथ शीर्षक राख्ने गरेका हुन्छन्। यसले त्यो अनलाइनको स्तर खस्किँदै जान्छ भने विश्वसनीयतामा पनि उत्तिकै कमी आउने देखिन्छ। यसतर्फ सबैले ध्यान दिनुपर्ने हो।
राससमा आएको समाचार यस्तो थियो
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली
–भगवान गिरी
नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने अर्को चुनौती पनि छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको वास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चासो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ ।
उहाँका अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थ भन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उहाँ भन्नुहुन्छ, “सडकको वास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।”
किन सुत्छन् सडकमा
कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नैहरु काम नपाएर छटपटाउनुपर्ने विकराल समस्या पैदा भएको छ । विकृति, गलत सङ्गत, कुलत, महत्वाकांक्षा र अस्वभाविक सपना टुट्ने र फुट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् । पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाडौँका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाउनुभयो । “सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्”, उनीहरु भन्छन्, “हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।” सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गुनासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कुलतमा फस्ने बताउँछन् । कुलत, डिप्रेसन अस्वथ्य र बैराग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ ।
सरोकारवाला उत्तिकै अग्रसर
सडकजीवन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै गम्भिर बनेको छ । समस्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्यदूतावाससँग छ । कामको सिलसिलामा पोर्चुगल आउनेलाई ठूलो सपना नदेख्न र कूलतमा नफस्न लिस्वनका लागि अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालको सुझाव छ । उनी समस्याको समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताउनुहुन्छ ।
एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ । उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेक्स सञ्चालनमा ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्था सङ्गसमन्वय गरी उद्दार गर्न सकिन्छ ।
पोर्चुगलमा ३० हजार नेपाली
कुनैबेला रोजगारीका लागि छिमेकीमुलुक भारत, मलेसिया, कतार, साउदी, दुवईलगायतका मुलुकमा पुग्ने नेपाली पछिल्लो समय पोर्चुगल आउन थालेका छन् । अहिले दैनिकजसो पोर्चुगलमा नेपाली आइरहेका छन् । त्यसैले पनि पोर्चुगलमा ३० हजार नेपाली बसोवास गरिरहेको अनुमान छ ।
रातो पासपोर्ट पाउने र सुविधायुक्त जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण पनि बढेको जानकारहरु बताउँछन् । सन् २०१० देखि हालसम्म पोर्चुगलमा २९ जना नेपालीले अकालमा मृत्यु भएको तथ्याङ्क छ ।
गम्भीर र खेदपुर्ण सामान्य विषयमाथि काे अतिरन्चि प्रचार वाहेक अरु केही हुनै सक्दैन पोर्चुगलमा जाने सबै नेपाली सडकमा सुत्नु पर्ने अवस्था हुदै हाेइन । कुलतमा लागेका अनेक बाध्यता वा सामान्य मानसिक असन्तुलन काे कारण एकाद अर्ध चेत अवस्थामा सडकमा भेटिनु लाई काेहि कसैले समाचार बनाउनु हुदैनथ्यो । भाे यस्तो के कारणले? समाधान खाेज्न तर्फ ध्यानाकर्षण हुनुपर्ने हाे । कसै गरेर पनि सम्झाउन सकिन्न परिवार , देश र स्वयम अाफ्नै ख्याल् नराख्ने मानवीय प्रवृत्तिलाई त्यसमाथी याे युरोपेली खुल्ला संसारमा । मादक पदार्थ सेवन गर्नेहरुको हालत त कुरै छोडौं।
बाच्न पोर्चुगलमा मात्रै होईन सबै देशमा गाह्रो छ। परिश्रम गर्ने र परिवारको भबिष्य सोचेर जाने हो भने पोर्चुगल सबै भन्दा राम्रो देश हुनसक्छ । बिशेष गरेर नेपालीको लागी।
नव बिबाहित युवा युवती, थाेरै भएपनि पढेका,अनि केही सिपसम्बन्धि ज्ञान हुनेहरूलाई पोर्चुगल एक उपयुक्त र निर्विकल्प गन्तव्य हाे । जति ऋण लिएर गए पनि मेहनत गर्ने परिवार सम्झेर काम गर्नेहरूलाई कुनै प्रकारको समस्या हुदैन । सायदै सडकको बाँस त्यतिबेला त्यहाँ हुने गर्छ जतिवेला केही र कसैको प्रवाह नगरि युराेपकाे खुला अाकासमा साथमा भएजतिकाे पाैसाकाे खानु नखानु सबै एकैपटक खाएर अनि अाफ्नै रङ्गिन जिवनमा रमाउने हरुलाई न स्वदेकाे अाफैले बनाएकाे झुपडीमा वास ! न त यी विदेश 24 घण्टा ब्यस्त शहरको महलमा वास चाहे अमेरिका, अस्ट्रेलिया वा अन्य कुनै जहाँपनि सडक नै अन्तिम विकल्प हाे यस्तो प्रवृत्तिको । एक जिम्मेवार प्रेस मिडियाले यस्तो समाचार कुनै बस्तुगत र यथेष्ट अाधार विनै प्रेस सामाग्री बनाईनु अत्यन्तै खेदपुर्ण छ ।