यो फोटो हेर्दा तपाईँलाई केही अनौठो लाग्यो? यसमा सेतो धुँवा छाड्दै एउटा विमान आकाशमा उडिरहेको देखिन्छ। यो फोटो मैले अस्ति भर्खर मंगोलिया जाँदा त्यहीँको आकाशमा खिचेको हुँ। एकदम चीसो मौसम हुने मंगोलियाको आकाशमा यो सामान्य दृश्य हो। कहिलेकाहीँ त दुई वटा यस्ता सेता धर्कासहित विमानहरु उडिरहेका हुन्छन्। यस्तै दृश्य जब काठमाडौँमा देखियो, तब के भयो हेर्नुस् त। नेपाल समाचारपत्र दैनिकले त पहिलो पेजमा महत्त्वका साथ ‘काठमाडौँको आकाशमा अनौठो विमान’ भनेर मुख्य समाचारै छाप्यो।
समाचारमा यो विमान भारतीय एयरफोर्सको भएको दावी गरिएको छ। त्यस्तो दावीका लागि कुनै भरपर्दो आधार भने छैन। हवाई क्षेत्रका जानकारहरु भनिएको छ। को हुन् त हवाई क्षेत्रका जानकार? न नाम छ, न अरु कुनै तथ्य नै। हचुवामा कसैले हल्ला गरिदिएको भरमा भारतीय एयरफोर्सको विमान भनिएको मात्र छैन, समाचारमा अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको भनिएको छ।
यस्तो छ समाचार-
नेपाल समाचारपत्र, काठमाडौं।
शनिबार बिहान राजधानीको आकाशमा अनौठो विमान देखापरेपछि उपत्यकाबासी अचम्मित भएका थिए। राजधानीलाई दुई फन्को लगाएको उक्त अनौठो जहाज कहाँबाट नेपाल प्रवेश गर्यो र कुन प्रयोजनका लागि सो विमानले राजधानीको परिक्रमा गर्यो भन्ने विषयमा कसैले पनि त्यसको उत्तर दिन सकेन।
हवाई क्षेत्रका जानकारहरूले उक्त विमान भारतीय एयरफोर्सको विमान भएको दाबी गरेका छन् भने सरकारी अधिकारीहरूले त्यसका बारेमा आफूहरू अनभिज्ञ रहेको बताएका छन्।
नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले त्यस बारेमा आफूलाई कसैले कुनै जानकारी नगराएको जानकारी दिनुभयो।
शनिबार बिहान ७ बजेर २५ मिनेट जाँदा काठमाडौंको आकाशमा देखिएको उक्त विमान पश्चिम दिशातर्फ लागेको प्रत्यक्षदर्शी सुमन पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
भारतले हालै जारी गरेको नयाँ नक्सामा पश्चिम नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारततर्फ पारेपछि नेपालमा अहिले भारत विरोधी स्वर तीव्ररूपमा बढिरहेका बेला अनौठो विमानको नेपाल प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ।
अनौठो विमानले छाडेको धूवाँको मुस्लो एक किलोमिटर परसम्म लामो समयसम्म देखिएको थियो।
यो भयो नेपाल समाचारपत्रले छापेको समाचार। बिहानै साथी विकास कार्कीले फेसबुकमा व्यङ्ग्य गरे- यो समाचार लेख्ने पत्रकारलाई सर्वोत्कृष्ट खोज पत्रकारिता पुरस्कार र छाप्ने सम्पादकलाई उत्कृष्ट वर्ष सम्पादकको पुरस्कार घोषणा गरियोस्।
तर कागले कान लग्यो भन्दैमा कागको पछि कुद्नेहरु त हुने नै भए। अनि सुरु भो अनलाइन आतंक। एउटा पत्रिकाले गरेको गल्तीलाई आँखा चिम्लेर नाम चलेका अनलाइनहरु यही हावादारी समाचारमा झुण्डिए।
तीर्थ कोइराला प्रधान सम्पादक रहेको थाहा खबरदेखि जीवेन्द्र सिम्खडा प्रधान सम्पादक रहेको रातोपाटीसम्म यो हावादारी खबरलाई ‘नेपाल समाचार’ मात्र छापिएको भन्दै झन् फैलाउन मद्दत गरे।
खासमा अनलाइनहरुले पत्रिकामा छापिएका समाचारको फ्याक्टचेक गरेर प्रकाशन गर्नुपर्थ्यो। तर कुन सन्दर्भमा समाचारपत्रले नेपाली सेनाका प्रवक्तालाई सोधेको प्रश्न र थाहा भएन भन्ने जवाफलाई अतिरञ्जित तवरले पो फैलाइयो। सेनाका प्रवक्तालाई हैन नागरिक उड्डयन कार्यालयमा अझ एटिसी (एयर ट्राफिक कन्ट्रोलर) मा सोधेको भए पो प्रष्ट हुन्थ्यो।
धेरै लाइक भएको अर्को फेसबुक पेज न्युज २४ नेपाल पनि यो हल्ला फैलाउन किन चुक्थ्यो र
अझ त्यसको कमेन्टमा हेर्नुस्, फाइटर जेट भएको ठोकुवादेखि खसाल्नुपर्नेसम्मका उग्र आवाज छन्। खासमा त्यो के हो? कसैलाई केही मतलबै छैन।
यी नाम चलेका अनलाइनबाहेक फेसबुकमा अरु भारेभुरे कति अनलाइनले के के लेखे त्यसको त हिसाबकिताबै छैन। अझ युट्युबमा सनसनीपूर्ण शीर्षक र थम्बनेल राखेर के कस्ता भिडियो बने, भरे ट्रेन्डिङमा पनि आउने हो कि।
खासमा के हो त्यो?
यो कन्ट्रेल हो। condensation trails लाई छोटकरीमा contrail भनिन्छ। चीसो मौसममा मुखले हा…गर्दा वाफ उड्छ नि, झण्डै त्यस्तै प्रक्रिया हो। हवाइजहाजबाट निस्किएको ग्यास पानीको वाफसँग मिसिएपछि सानो सानो बादल जस्तो गरी यस्तो कन्ट्रेल बन्ने हो। यस्तो देखिनका लागि चीसो मौसम र आकाशमा बादल नभएको हुनुपर्छ।
यो भिडियो हेर्नुस्-
अब ठ्याक्कै त्यो समयमा कुन चाहिँ विमान उड्यो होला त? समाचारमा लेखिएको ७ बजेर २५ मिनेटको समयमा काठमाडौँबाट देखिएर पश्चिमतर्फ गएको भनेपछि फ्लाइटराडार२४ मा हेर्दा यो भुटानको पारोबाट नयाँ दिल्ली उडेको भुटान एयरलाइन्सको विमान हुनुपर्छ।
केही वर्षअघि एक पटक एभिन्युज टेलिभिजनले यस्तै आकाशमा देखिएको कुरालाई लिएर दिनभर बहस चलाएको थियो। पछि नागरिक उड्डयन प्राधिकरणले हैन, त्यो त भुटानको विमान हो भनेको थियो।
अहिले पनि सेतो धर्को बनाएको भरमा यो अनौठो विमान हुँदैन। चीसो मौसम र आकाश खुला भएकोले यस्तो देखिएको हो। समाचारपत्रको समाचारमा त काठमाडौँ कै फोटो राखिएको छ। तर थाहाखबर र रातोपाटीमा त समाचारपत्रको समाचार चोरेर फोटो चाहिँ गेट्टी इमेजेसको अर्कै देशको राखिएको छ। अनि त्यसमा यो फोटो काठमाडौँको हैन पनि लेखिएको छैन। पाठकलाई यसरी झुक्याउन पाइन्छ?
बीबीसीमा गेट्टी इमेजेस भनेर स्रोत खुलाएर राखिएको फोटो।
जाँदाजाँदै मंगोलियाको कन्ट्रेलको थप फोटो-
यो मंगोलियाको राजधानी उलनबाटरबाट बिहान सबेरै खिचेको फोटो। प्रदूषण भएका कारण यसमा भने कालो देखिएको छ।
बदो स्वाद लाग्छ उमेशजीको विष्लेशनात्मक ब्लगहरु । यसरी वास्तविकता खोतलेर उदाङ्गो पारीदिँदा त्यस्तो हावा रेपोर्टिङ् गर्ने पत्रुकार र चाप्ने आफुलाई स्वघोषित “ठूला मिडिया” का सम्पादक भनाउँदाहरुलाई कति लाज लाग्दो हो ? त्यो सम्झेर पो मलाई त निन्द्रा लाग्दैन ।
😀 😀 😀
Chemtrails, please do research about Chemtrails vs. contrails, it’s very interesting.
Kathe patrukaar haru ..yesto image bidesh ko aakash ma everyday dekhincha..yo commercial airlines le 30000 ft, bhanda maathi udda nyano bau mandal baata chiso baau mandal ma chirda plane le chadne dhuwa le banna jancha..agulto le haneko kukur bijuli parda tarsincha bhaneko yehi ho..ali achamma ko kura dekhyo ki India ko jasus …lol
सुन्नमा आए अनुसार नेपाली सेनासँग लडाकु विमान नभएतापनि लडाकु विमानहरु खसाल्ने हतियारहरु प्रशस्त मात्रामा छन् । यदि वास्तवमै लडाकु विमान थियो भने त झारिदिन्थ्यो होला नि । हवाई हमलाबाट सुरक्षा दिने ब्यारेक पनि छ त ।
खेै एस्तो धुवाँमा क्यान्सर लाग्ने कण हरू मिसाएर छरिन्छ भन्ने पनि सुनिन्छ कहिँ कतै !
त्यो पनि हल्लामात्रै हो ।
त्यस्तो समाचार र फोटो छाप्ने पत्रकारहरु काठमान्डौ बाहिर अहिलेसम्म निस्केका छैनन् होला । विदेशको कुरा गर्दा यु.के.मा दर्जनौं चौकीदार विमानहरू बाक्ला धुवाँ (ग्यास) छोडेर दिनभरी विचरण गर्छन आकाशमा, उनीहरुको काम बेलायतको आकाशमा चौकीदारी गर्नु हो । कति कति विमानले आकाश सेताम्मे पार्दै उड्छन आँखाले पनि देख्न हम्मे पर्ने उचाईमा । धर्सोले मात्र उनीहरुको उडान देखिन्छ । तेस्ता रिकोनेसन फ्लाइटमा विशेष प्रकारको इन्धन प्रयोग गरिन्छ जसले ग्यासको बाक्लो मुस्लो फ्याँक्दै चारै दिशातिर घुमी रहन्छन दिनभरी रातभरी । धर्सा पनि क्रश गरि गरि बनाउञ्छ्न र हेर्दै रमाइलो देखिने कलात्मक आकाश बनाइदिञ्छन । नेपालका पत्रकारहरूले पनि उमेशजीले जस्तै घन्टौं रिसर्च गरेर मात्र फोटो र समाचार छाप्नु पर्यो । नेपाली पाठक र जनतालाई उल्लू बनाउनु पाए भैगो उनीहरुलाई ।