Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा अनलाइनको अ नौ ठो कहानी : न्युजरुमले बनाउन नसकेका ‘सम्पादक’

Posted on November 21, 2019November 21, 2019 by Salokya

नेपालको पाको अनलाइन न्युज पोर्टल नेपालन्युज डट कमले चार वर्षअघि बन्द हुने सूचनाबारे जानकारी दिँदै ट्विट गर्दा व्यवस्थापनको ‘अपरिपक्व’ र ‘अनुपयुक्त’ निर्णयलाई दोष लगाइएको थियो।

मर्कन्टायल कम्युनिकेसन्सको स्वामित्वमा रहेको यो अनलाइन बन्द हुनुमा व्यवस्थापन र न्युजरुमबीचको द्वन्द्व प्रमुख कारण थियो। विषय थियो- श्रमजीवी पत्रकारलाई स्थायी गर्नुपर्ने लगायतका माग। लौ खाओ त भन्दै व्यवस्थापनले वेबसाइटै बन्द गर्ने निर्णय गरिदियो। (यो लिङ्कमा थप छ) त्यसको धेरै वर्ष यो न्युजपोर्टल कोमामा रह्यो। गएको जेठमा नयाँ व्यवस्थापनसहित अङ्ग्रेजी भाषा छाडेर नेपालीमा नेपालन्युज अनलाइनको पुनर्जन्म भयो। तर अहिले आएर फेरि यो साइट अर्ध-कोमामा गएको छ। आज अर्थात् मंसिर ४ गते नेपालन्युजमा नेपालका अनलाइनमा शायदै हुने एउटा दुर्लभ तथा रोचक घटना भयो।


नेपालन्युजको वेबलाइनमा आज बिहान प्रबन्ध निर्देशक र प्रधान सम्पादकसँगै एउटा नयाँ नाम थपियो- कार्यकारी सम्पादक। त्यसो त कार्यकारी सम्पादक छेटु शेर्पाले हिजै आफ्नो फेसबुक पेजको बायोमा आफू Executive Editor रहेको अपडेट गरेपछि बधाई खाइरहेका थिए।

दिउँसो नेपालन्युजमा एउटा समाचार अपडेट भयो- नेपालन्युज सम्पादकमा सुशील भट्टराई शीर्षकमा।

सोसल मिडियामा यो समाचारको लिङ्कसहित मान्छेले बधाई दिन थालिरहेकै बेला अर्को अचम्म भयो।

Congratulations @sushbhattarai brother. नेपालन्युज सम्पादकमा सुशील भट्टराई https://t.co/2C9pqLw5It

— Bipendra (@Bipendraa) November 20, 2019

करिब एक घण्टामै सुशील भट्टराई सम्पादक बनाइएको त्यो समाचार नेपालन्युजबाट ‘डिलिट’ गरियो। हेर्दाहेर्दै डिलिट गरिएको कारण त्यो ऐतिहासिक समाचारको स्क्रिनसट राख्न पाइएन। गुगलको क्यासमा समेत पेज थिएन। उपलब्ध क्यासहरुबाट हेर्दा त्यसमा रहेको भाषा रोचक थियो-

सामान्यतया सम्पादक प्रधान सम्पादकको सहमतिमा व्यवस्थापनको निर्णयले नियुक्त हुन्छन्। तर समाचारमा ‘सम्पादकीय निर्णयबाट सम्पादकको जिम्मेवारी दिइएको’ उल्लेख थियो। अर्थात् व्यवस्थापन र न्युजरुमबीच द्वन्द्वको संकेत त्यसमा देखियो।

छेटु शेर्पालाई व्यवस्थापनले कार्यकारी सम्पादक नियुक्त गरेको थियो। शेर्पा लगानीकर्ता निकटका पनि हुन्। त्यसबाट असन्तुष्ट न्युजरुमले आफै सम्पादक घोषणा गर्न पुगे।

सम्पादक घोषणापछि फेसबुकमा अपलोड गरिएको फोटो।

नेपालन्युजमा इतिहास दोहोरियो। पहिले पनि व्यवस्थापन र पत्रकारबीच द्वन्द्व भएर न्युजपोर्टल नै बन्द भएको थियो। यस पटक पनि सम्पादक बनाइएको समाचार डिलिट भएपछि यो ब्लग लेख्दा रातको साढे ११ बजेसम्म नेपालन्युजमा थप कुनै समाचार अपडेट भएको छैन।

त्यतिबेला पत्रकारहरुलाई थाहै नदिई समाचार अपलोड बन्द गरिएको विरोधमा श्रमजीवी पत्रकार र कर्मचारीले समाचार कक्षमै धर्ना सुरु गरेका थिए।

त्यतिबेला समाचार कक्षमै धर्नाको फोटो।


त्यतिबेला समाचार कक्षमै धर्ना बस्दाका मागहरु।

यस पटक भने समाचार अपलोड बन्द भएपछि यो प्रकरणले के कस्तो मोड लिने हो, हेर्न बाँकी छ।

मन्त्रिपरिषदबाट नियुक्त भए पनि हुन नसकेको आइजी को? जयबहादुर चन्द। हुन नसकेको आर्मी चिफ को? कुलबहादुर खड्का। भने जस्तै अनलाइन पत्रकारितामा घोषणा भएर पनि हुन नसकेको सम्पादक भन्ने स्थिति आउला त?

पुनर्जन्मको रोचक कथा

यसको पुनर्जन्मको कथा पनि रोचक छ। नेपालन्युजमा अपडेट बन्द भए पनि साइट खुल्लै थियो। त्यो साइटको मेनन्युजमा विमान दुर्घटनाको समाचार थियो।

नेपालन्युजको डोमेन राम्रो। विदेशीहरुले झट्ट नेपालको न्युज भनेर खोज्दा नेपालन्युज नै खुल्ने। अनि त्यसमा सधैँ मेनन्युज तारा एयरको विमान दुर्घटना नै भइराख्ने। यसले सबैभन्दा तनावमा पारेको थियो यसका साहु आङछिरिङ शेर्पालाई। पर्यटन उद्योगमा ठूलै साम्राज्य खडा गर्दै हवाई उडानतर्फ सुगममा यति एयर र दुर्गममा तारा एयर चलाइरहेका आङछिरिङको ब्रान्डमा धक्का पुगिरहेको महसूस भइरहेको थियो अपडेट नहुने नेपालन्युज डट कमले।

उनले नेपालन्युजै किन्ने विचार गरे। त्यसो त मर्कन्टायललाई नेपालन्युज बेच्न अरु थुप्रै अफर पनि नआएका हैनन्, तर बिक्री भएको थिएन। आङछिरिङले के पावर लगाए कुन्नि, उनको स्वामित्वमा आयो डोमेन।

सुरुमा पर्यटन सम्बन्धी वेबसाइट बनाउने विचार भएको भनिन्थ्यो तर पछि नेपालन्युजलाई न्युजपोर्टल बनाउने तयारी भयो। पत्रकार सुन्दर खनालको नेतृत्वमा नेपालन्युज चलाउने तयारी भयो। यो बीचमा ताप्लेजुङमा भएको दुःखद दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित आङछिरिङ शेर्पाको पनि निधन भयो।

जेठमा सञ्चालनमा आएको नेपालन्युजमा शेर्पा घरानाको संलग्नता वेबसाइटमै देखिने गरी छैन। तर बजारमा चलेको भन्दा धेरै पारिश्रमिक दिएर थुप्रै पत्रकारहरु भित्र्याएर सुरु भएको नेपालन्युजको प्रबन्ध निर्देशकमा रहेको एउटा नामले भने त्यो खुल्छ। प्रबन्ध निर्देशक रहेका रामचन्द्र राना शेर्पा घरानाकै एउटा भाग थामसेर्कु ट्रेकिङका चिफ फाइनान्स कन्ट्रोलर हुन्।

अर्को रोचक कुरा के भने ‘कति तलब चाहिन्छ आफै तोक्नु’ सम्म भन्दै अफर गरेर धेरै पारिश्रमिक दिएर त्यति थुप्रै पत्रकारहरु सहित सुरु भएको न्युजपोर्टलमा विज्ञापन भने एउटा पनि छैन। अहिले मात्र नभएको हैन, यो सुरु भएको बेलादेखि यसमा विज्ञापन छैन। आम्दानी सुको नभएर खाली खर्च मात्रै हुने यो अनलाइनको सञ्चालन मोडल पनि गजबकै छ। मिडिया सञ्चालनको अनुभव नभएको शेर्पा घरानाले लगानी गरेको अनलाइनको भविष्य मिडियामा रुचि राख्नेहरुका लागि पनि चासोको विषय बनेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme