Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के अब सगरमाथाको उचाइ घट्छ? चीन र नेपालको संयुक्त विज्ञप्तिपछिको आशंका

Posted on October 16, 2019October 16, 2019 by Salokya

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको सम्बन्धमा नयाँ पत्रिकाले गरेको एउटा टिप्पणी सटिक छ- चीनका राष्ट्रपति सी जिनपिङले ‘सरप्राइज प्याकेज’ घोषणा गर्छन् भनेर धेरैले आशा गरे, तर अनौठा–अनौठा प्रस्ताव राखेर नेपालले उल्टै ‘सरप्राइज’ दियो। भ्रमणपछि जारी गरिएको संयुक्त विज्ञप्तिको एउटा बूँदा सगरमाथाको उचाइसम्बन्धी छ। त्यो बूँदाले सगरमाथाको उचाइ घट्ने त हैन भनी शंका गर्ने ठाउँ दिएको छ।

संयुक्त विज्ञप्तिको बूँदा नम्बर ८ मा भनिएको छ-

Recognizing that Mount Sagarmatha /Zhumulangma is an eternal symbol of the friendship between Nepal and China, the two sides will promote cooperation in different fields, including addressing climate change and protecting the environment. They will jointly announce the height of the Mount Sagarmatha/Zhumulangma and conduct scientific researches.

यहाँ सगरमाथा नेपालको भए त्यसलाई नेपाल र चीनको मित्रताको अटल प्रतीकका रुपमा किन लिनु पर्थ्यो भन्ने प्रश्न आउला। तर कुरो त्यसो हैन। चिनियाँहरुका अगाडि सगरमाथा हाम्रो हो भन्नुभयो भने उनीहरुले हाम्रो हो भनेर ढिपी गर्छन्। हुनपनि उनीहरुको पाठ्यपुस्तकमा समेत सगरमाथा चीनको हो भनेर उल्लेख गरिएको छ भनिन्छ।

हामी नेपालीले एभरेस्ट नेपालमा पर्छ भन्ने जस्ता कुरा गर्दा चिनियाहरु तीन छक्क पर्ने गरेको त्यहाँ अध्ययन गरेर फर्किएकाहरु सुनाउँछन्।

चिनियाहरुका केही लोकप्रिय गीतहरु छन् (राष्ट्रिय गीत जस्तो) जसमा यस्ता शब्दहरु छन् “हाम्रो महान राष्ट्र, जहाँ चोमोलुङमा, विश्वको सर्वोच्च शिखर छ…”आदि इत्यादि।

माअ‍ो त्से तुङको पालामा वीपी कोइराला गृहमन्त्री भएको बेलामा सगरमाथाको शिखर नेपालमा पर्छ भनी चीनले स्वीकार गरेको थियो। तर पनि बुझ्नु पर्ने कुरा के हो भने सगरमाथाको उत्तरी मोहडा अर्थात् तिब्बततर्फको मोहडा चाइनामा रहेको नेपालले पनि स्वीकारेको छ। सगरमाथा चढ्ने सजिलो मोहडा तिब्बततिर परेका कारण र उताबाट सगरमाथा चढ्दा रोयल्टी पनि कम बुझाए हुने भएको कारण फाइदा चाइनाले पनि लिएको छ।

सगरमाथाको उचाइ कति त?

हामी सबैले सुन्दै आएको र बुझ्दै आएको उचाइ हो- ८ हजार ८ सय ४८ मिटर। तर बीचमा केही अन्तर्राष्ट्रिय मिडियाहरुले ८८५० मिटर पनि लेखेको तपाईँले देख्नु/पढ्नुभएको होला। नेपालले भने त्यो उचाइलाई आधिकारिक मान्यता दिएको थिएन।

अमेरिकी सर्भेले सगरमाथा २९ हजार ३५ फिट अर्थात् ८८५० मिटरको देखाएको थियो। सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीसहितले जीपीएसको सहायताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालेको थियो।

तर जब चिनियाँहरुले यसको उचाइ नापे, उनीहरुका अनुसार उचाइ थियो- ८८४४.४३ मिटर अर्थात् २९ हजार १७ फिट। यो सन् २००५ मा चीनले गरेको सर्भेको नतिजा थियो र यसलाई पोहोरमात्रै चीनले वैज्ञानिक, कानुनी र राष्ट्रिय मापदण्ड अनुसारको भनी व्याख्या गरेको थियो। यससम्बन्धी समाचार पोहोर साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित छ। पढ्नुस्।

न्युयोर्क टाइम्ससितको अन्तर्वार्तामा नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पाले चीन सरकारले नेपाल सरकार र अन्तर्राष्ट्रिय पर्वतारोहण संस्थाहरुलाई त्यही उचाइ अर्थात् २९ हजार १७ फिट रहेको स्वीकार्न दबाब दिएको थियो। तर नेपालले त्यसलाई स्वीकारेन। त्यो समाचारमा त्यसपछि चीन त्यो उचाइको अडानबाट फिर्ता भएको उल्लेख थियो।

त्यसैको खण्डन गर्दै साउथ चाइना मर्निङ पोस्टमा त्यो समाचार आएको थियो- चीनले नापेको सही छ।

चीनले नाप्दा चट्टानको मात्र उचाइ नापेर हिउँ रहेको भूभागको ननापेको भनिएको छ। नेपाल भने हिउँसहितको भूभाग पनि नाप्नु पर्ने पक्षमा छ।

८८४८ मिटरको उचाइ भने भारतीय सर्भेको नतिजा हो सन् १९५५ को। यसलाई चीन र नेपाल दुवैले आधिकारिक मानेका थिए।

सन् २०१० मा काठमाडौँमा भएको बैठकमा नेपालले चीनको र चीनले नेपालको उचाइ दावीलाई मान्ने गरी सहमति भएको थियो। यस अनुसार सगरमाथाको उचाइ स्नो हाइटसहितको ८८४८ रहेको चीनले स्वीकारेको थियो भने रक हाइट ८८४४ भएको चीनले स्वीकारेको थियो।

यति भए भइगो त फेरि नयाँ विवाद किन त? किन उचाइको कुरा आयो त?

२०७२ सालको भूकम्पले सगरमाथाको उचाइमा पनि असर परेको अनुमानका बीच नेपालले इतिहासमा पहिलो पल्ट गर्न लागेको सगरमाथाको उचाइ मापन कार्य थाल्यो। सगरमाथाको टुप्पैसम्म पुगेर मापन कार्य पूरा गर्न नापी प्राविधिकहरूलाई सगरमाथामा पठाइयो।

त्यसको परिणाम आउन बाँकी छ। तर त्यसको परिणाम आए पनि त्यसलाई नेपालले मात्रै एकतर्फी घोषणा गर्न नपाउने स्थिति अहिले भएको सहमतिले गरेको छ। सगरमाथाको उचाइ चीन र नेपालले संयुक्त रुपमा घोषणा गर्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme