Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Forget Yesterday : अब म ह रा सरको सबै कुरा ‘फर्गेटिने’ हो त?

Posted on October 2, 2019October 2, 2019 by Salokya

दुई दिनको अन्तरमा दुई वटा भिडियो मिडियामा आयो। दुवैमा परस्पर विरोधी कुरा। पहिलोमा गम्भीर आरोप, दोस्रोमा बाउ जस्तो मान्छेलाई यस्तो कुरामा लगेर जोडदिने रे। पहिलोमा आएर निलडाम हुने गरी कु टे को रे, दोस्रोमा आएकै छैन कोठामा पो रे।

दोस्रो बयान त्यतिबेला सार्वजनिक गरियो, जतिबेला कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिइसकेका थिए। त्यसो त नेकपा केन्द्रीय सचिवालयको बैठकले सांसद पदबाट समेत राजीनामा दिन भनेको थियो। तर उनले राजीनामा पनि अनौठो भाषामा गरे- छानबिन नसकिएसम्मका लागि भन्ने शब्द राखेर। हिजै पहिलो भिडियो सार्वजनिक गर्ने हाम्राकुरा अनलाइनले अर्को एउटा भिडियो पनि सार्वजनिक गरेको छ, जसमा एम सरले भाइबरमा गरेका मेसेज देखिएका छन्। मेसेजमा लेखिएको छ- फर्गेट यस्टरडे। अर्थाते हिजोको कुरा भुलिदेऊ।

त्यसैगरी एम सरले आइ एम सरी पनि लेखेका छन्।

महिलाले महराका छोरालाई समेत पठाएको भाइबर मेसेज भिडियोमा देखिएको छ।

हेर्नुस् भिडियो-

के कुरा फर्गेटिन भनेका हुन् त उनले ?

महिलाले फर्गेटिन् त उसो भए? अब के हुन्छ त- पीडित भनिएकी महिलाले नै आफू पीडित हैन भनेपछि?

उनले भुलिदिन भने पनि यसले सभामुखको लाइफ र पोलिटिकल ड्यामेज मंगलबार गरिसकेको छ। सोमबारै महराले यति गराउन सकेको भए केही फरक पनि हुन्थ्यो होला। तर पार्टीका दुई अध्यक्षहरुले प्रहरीबाट ब्रिफिङ लिइसकेको अवस्थामा उनको दावी काम लागेन।

पहिलो भिडियो सार्वजनिक भइसकेपछि महराले स्वकीय सचिवालयमार्फत् एउटा विज्ञप्ति सार्वजनिक गर्न लगाए, जसमा आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर निवासमा फर्किएको बाहेक अन्यत्र कतै पनि नगएको दावी गरिएको थियो।

उनले यही कुरा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डलाई भनेका थिए।

तर वास्तविकता त्यस्तो नभएको ब्रिफिङ प्रहरीले प्रधानमन्त्रीलाई गरिसकेको थियो। पिएसओलाई अब बाहिर जान्नँ भनेरै पठाएका त जरुर रहेछन् तर साँझ साढे ६ बजे भने उनी गाडीका चालकमात्रलाई लिएर निस्केका रहेछन्। गाडी पनि अरु नभएर नियमित चढ्ने गाडी नै हो।

कोठाभित्र के भयो, के भएन त्यो फरक कुरा भयो। तर जाँदै नगएको भन्ने महराको दावी र अहिले ड्यामेज कन्ट्रोल गर्न महिलाले बोले पनि गएको सिसिटिभी फुटेज देखियो। अझ त्यसमाथि कल डिटेल र मोबाइलको लोकेसनको प्राविधिक विश्लेषण हुने हो भने त झन् प्रष्ट हुन्छ।

आज प्रकाशित नागरिक दैनिकका अनुसार प्रधानमन्त्री निवासमा सिसिटिभी फुटेज प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपाकै चौथो वरियताका माधवकुमार नेपालले समेत हेरेका थिए। त्यसपछि नै हो राजीनामा दिएर सहजीकरण गर्न ओली, दाहाल र नेपालले सुझाव दिएका। पार्टीको सचिवालय बैठकमा समेत आइजिपीले प्रधानमन्त्री र गृहमन्त्रीलाई गरेको ब्रिफिङ तथा बानेश्वरको सडक हुँदै महराको गाडी गएको सिसिटिभी फुटेजसमेत देखाइएको थियो। बैठकमा उपस्थित सबै नेता त्यसपछि स्तब्ध भएका थिए। सबैको जोड राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न लगाउनुपर्नेमा थियो। अनि बैठकले महरालाई सभामुख र सांसदबाट तत्काल राजीनामा दिन निर्देशन दियो।

कान्तिपुरमा प्रकाशित समाचार अनुसार प्रम ओलीसँगको फोनमा महराले भने, ‘म ती महिलालाई चिन्दा पनि चिन्दिनँ र अहिलेसम्म उनको डेरामा गएको पनि छैन ।’ दुई अध्यक्षसँग केही समयको अन्तरालमा भएको संवाद नै बाझिएपछि ओलीले महरालाई आफूले आइतबार साँझ भएका घटनाका सबै रिपोर्ट पाइसकेकाले झूट नबोल्न भने । त्यसपछि महराले भने, ‘म छानबिनका लागि बाटो खोलिदिन्छु ।’

अब के हुन्छ त?

प्रहरीले सुरु मै नालायकी देखाइसकेको छ। पीडितले बोलाएपछि घरसम्म पुगेर पनि हाइप्रोफाइल भन्ने थाहा पाएपछि त्यसरी भोलि आएर जाहेरी दिनुस् भनेर लुसुक्क फर्कन हुँदैन थियो। त्यही दिन जाहेरी गर्न लगाएर स्वास्थ्य परीक्षण गराई तत्काल बयान पनि लिनुपर्थ्यो। तर सभामुख संलग्न भन्ने थाहा पाएपछि प्रहरी हच्कियो। सामान्य व्यक्ति भएको भए प्रहरी जसरी तत्काल सक्रिय हुन्थ्यो, त्यही गरेको भए आज यसरी पीडितले बयान फेर्ने स्थिति आउँदैन थियो।

प्रहरीले सुरुमै गरेको लापरवाहीका कारण अब घटना जेलिएको छ। अहिले जाहेरी पनि नदिने र स्वास्थ्य परीक्षण पनि नभएको स्थितिमा महरामाथि अरु कारबाही हुन कठिन देखिन्छ। त्यसमाथि पीडितको बयान परिवर्तन भइसक्यो।

संसदको वेबसाइटमा अझै सभामुख महरा नै

सभामुखले उपसभामुखलाई सम्बोधन गरी राजीनामा किन दिए भनेर पनि केहीले प्रश्न उठाएको देखियो सामाजिक सञ्जालमा। नबुझेर उठेका हुन् यस्तो प्रश्न। उनीहरुलाई लागेको थियो होला- राष्ट्रपतिबाट शपथ खाने भनेपछि राष्ट्रपतिलाई नै राजीनामा बुझाउनु पर्ने हो। तर होइन। प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले उपसभामुखलाई नै राजीनामा दिने हो।

अहिले संसदको बैठक चालु नरहेको हुनाले संसदको सूचना पत्रमा यो राजीनामाको सूचना प्रकाशित हुनुपर्छ। अहिलेसम्म सूचनापत्रमा प्रकाशित भइसकेको छैन। त्यसैले संसदको वेबसाइटमा अझै पनि सभामुखको ठाउँमा कृष्णबहादुर महराकै नाम रहेको छ।

सम्बन्धित ब्लगहरु

नयाँ ट्विस्ट : हिजो ज ब र्ज स्तीको आ रो प, आज बाउछोरीको नाता पो रे; हिजो पि टे को, आज आएकै छैन रे

सभामुख महराले दिए राजीनामा, भाषा अनौठो- छानबिन प्रक्रिया नसकिँदासम्म

महराले राजीनामा दिए, अब को बन्लान् त नयाँ सभामुख? संविधान भन्छ नेकपाको मिल्दैन

के भन्छिन् महरालाई गम्भीर आरोप लगाउने महिलाले १० मिनेटको भिडियोमा?

कसले अनुसन्धान गर्ने सभामुख महरामाथि लागेको गम्भीर आरोपको?

7 thoughts on “Forget Yesterday : अब म ह रा सरको सबै कुरा ‘फर्गेटिने’ हो त?”

  1. prithvi n. shah says:
    October 3, 2019 at 10:23 pm

    यो बेला रावडि राठोर चाहिएको छ, “मै जो कहता हु वो करता हु, और जो नही कहता हु वो जरुर करता हु” तेस्तो पुलिस रमेश खरेल थिए कि? तेसै भएर होला उनलाई त चान्स नै दिएनन्, अहिलेका पुलिस त सबै आफ्नै लुगामा दिसा पिसाब गरेर बसेका छन् ! यसरि आफ्नै लुगामा दिसा पिसाब गर्नु भन्दा बोरु सामुहिक राजिनामा दिनु नि !

    Reply
  2. prithvi n. shah says:
    October 3, 2019 at 3:31 pm

    सबै भन्दा पहिले ति महिलाको नामर्द लोग्ने ले स्वास्नी को रक्षा गर्नु को सट्टा महराको पक्ष लिएको कुरा अचम्म को छ, पहिला पहिला कुनै समय मा भारत मा गाउ को ठुला बडा जमिन्दार चौधरी लाइ त्यहाका दास हरुवा चरुवा हरुले बिहा गरेको पहिलो रात आफ्नो स्वास्नी चढाउनु पर्छ भन्नेचलन को बारे सुनिन्थ्यो, सर्वाहाराको पार्टि मा त्यो चलन रहेछ, आफ्नो स्वास्नी नेतालाई चढाउनु पर्ने! कार्यकर्ता हरु दास हुदा रहेछन ! थुक्क नामर्द जिन्दगि !

    Reply
  3. madan bajracharya says:
    October 3, 2019 at 1:40 pm

    मेरो प्रतिक्र्यामा केहि थप्दै छु/ अहिले आरोपी महिलाले पहिला महरा उनिकोमा आयर ..गरेको आदि आदि बयान दिनेले अहिले बयान बदलेर महारा उनिकोमा आयकै छैन भने/ तर महराले ओस्को पार्टीको बरिस्थहरुलाई उ त्यो महिलाका गयको थियो भने/ यसले ती महिलालाई बयान बदल्न दवाव दियको संकेत गर्छ/

    महिलाले उजुरी दिन नआयको भन्ने कुरानै हास्यास्पद छ/ जव महिलालेनै प्रहरीलाई महरा घरमा आयर …गरेको भनि सके/ प्रहरीले तीसैको आधारमा महिलाको घरमा प्रमाणहरु संकलन गरेर अनुसन्धान समेत थालि सके पछि अब केको लागि महिला बात अर्को जाहेरीको आवस्यकता भयो; ठुला भयकोले जोग्याउनको लागि?

    यदि महराले ..गरेकै ठहर भयो भने; नेकपाको कार्यालय बात मदन भण्डारी र मनमोहन को तस्विर पनि राख्नु हुँदैन/ धन्य यमालेको नाम फेरियो/ नभय …/

    Reply
  4. ऋषि अधिकारी says:
    October 3, 2019 at 1:24 am

    यो गणतन्त्र भन्ने कुरो अचम्मको रहेछ कि के हो? गणतन्त्र आएपछि देशको नीति नियम बनाउने सर्बोच संस्था का सर्बोच्च व्यक्ति एक्लै आफ्नो घरमा रहेकी अवस्था कि महिला लाइ जबर्जस्ति गर्छन . उनिजस्ताले नै यस्तो कुकर्म गरे पछि सामान्य फटा गुन्डाहरु को मनोबल त पक्कै बढ्यो होला? यै गणतन्त्रमा सरकारी जग्गा, प्रधानमन्त्री निवास, टुँडिखेल को खुलामंच, विभिन्न मठ मन्दिरका जग्गा, गुठीका सम्पति व्यापक रुपमा माफियाले किनबेच गरे. कसैलाई केहि भएन. प्रधानमन्त्री कै दाहिने हात जस्ता कार्यकर्ता ले प्रधानमन्त्रि निवास कै आँगन आफ्नो नाम मा बनाउन भ्याए. के भन्नु गणतन्त्र यस्तै रहेछ. जनमत संघ्रह गरेर आएको गणतन्त्र भए पो अचम्म मान्नु, अरुलाई मारेर, अर्काको लुटेर खान पल्केकाले गरेको आन्दोलन बाट आएको गणतन्त्र मा के चाही ज्यादा आश गर्नु?

    हिजो राज्यले बलात्कार गर्यो तेसैले राज्य संग लड्न पर्छ भन्ने हरु सत्तामा छन् तर उनीहरुकै ठुला नेताले बलात्कार गर्दा थाहा नपाए जस्तो गर्दै छन्. सभामुख ले नै बलात्कार गर्नु भनेको राज्यले नै बलात्कार गर्नु होइन र?

    सभामुख लाई कारबाहीको त कुरै नगरौ, पुलिशलाई लिखित बयान नआएको भनेर पन्छी सक्यो. पुलिश पन्छे पछि, वकिल ले काम पाएन, अनि अदालतमा कुरै पुगेन. हाइसन्चो गणतन्त्रबादीलाई. महिला आयोग को के काम रहेछ कुन्नि? मानव अधिकार आयोग को के काम रहेछ कुन्नि? बिचरा पुलिस ले पनि के गरोस? यदि उसले तत्कालै केहि गरेको भए पुलिस लाई नै दोष लगाऊथे षड्यन्त्र को, अनि पुलिस कै पुत्ला जल्थ्यो, को को कुन कुन ठाउमा सरुवा हुन्थ्यो . नगरु पुलिस ले केहि गरेन भन्ने दोष . यस्तो अवस्थामा त विवेक भएको सरकार भए पुलिसलाई पुरै अधिकार दिएर अनुसन्धान गर्न थाली हाल्नु पर्ने हो नि.

    धिक्कार छ गणतन्त्र तँलाई….

    Reply
  5. D.B. Upreti says:
    October 2, 2019 at 8:51 pm

    किन यी नेता, गुरु, शिक्षकहरु बलात्कार गर्छन यौन पिपासु बनेर? अनि किन एउटा हुदा हुदै अर्को श्रीमती ल्याउने अथवा अरु सम्बध राख्ने काम पुरुषहरुबाट हुन्छ? पैसा, बासना, लोभ र लालचको किन येति धेरै बिगबिगी हो यो संसारमा? कसलाई बिश्वास गर्ने एकाईसौ शताब्दीको यो आधुनिक भनिने समाजमा? It is so disgusting. Hope the culprit will get punished, so normal law biding people can have secure and peaceful life. Thank you so much Salokya. Please keep up the good work!

    Reply
  6. madan bajracharya says:
    October 2, 2019 at 1:09 pm

    कुनैले आरोप लगाउँदैमा तेतिकै राजिनामा दिंदैन/ आरोप लागेको व्यक्ति सिट फेस तु फेस कुराकानी नगरी प्रधान मन्त्रीले तेतिकै राजिनामा दे भन्दैन/ फेरी तेती सानो पदको आईमाईले तेत्रो ….लाई तेतिकै तेस्तो आरोप पनि लागाउन्दैन/ आरोप लगाउने र आरोप लागेका बिच परिचय समान्य पनि थियन/ फेरी सुरुको बयानमा घरावेती पनि साछिनै छ/

    कानुनि राज्य साँच्चै भयको मुलुकमा कसै बात अपराध भयको छ बा कानुन मिच्चीइयको छ भने प्रहरीलाई कार्यवाही गर्न पिडितको उजुरी जरुरि हुँदैन. तर नेपालमा जरुरि छ/ कारण स्पस्ट छ हैसियत र पहुँचवालालाई कार्यवाही गर्नु नपर्ने आधार बनाउने/ यो घटनामा आरोप सत्यनै हो भने निस्पच्छ्य अनुसन्धान गर्न दिय सजिलै सिट प्रमाणित हुने देखिन्छ; आरोप लगाउनेले बयान बदल्न सक्छ तर प्रमाण माथि बेईमानी नगरे सत्य केहो त्यो उजागर भैहाल्छ/

    यदि दवाव दियर बयान बदल्न लगायको हो भने आरोप लगाउनेले माफ गरेको नाटक गर्ने कुरा पक्का पाक्किनै छ/ किनभने दवाव दियर बयान पनि बदल्न लगाउने फेरी कार्यवाही पनि गरिने भयो भने “मलाई दवाव दियर बयान बदल्न लगायो” भनेर अर्को बयान दिहाल्छ/ तव अहिले भयको भन्दा ठुलै ‘वाह वाह” भैहाल्छ/

    अव अर्को कुरा के बिस्वमा कहिँ कतै सदनको सभामुख माथि यस्तै आरोप लागेकोले राजिनामा गरेको छ? छैन भने अन्त कतै कहींले पनि नभयको घटना भयो/ गिनिश बुक मै छापिन्छ कि?

    Reply
  7. Shankar says:
    October 2, 2019 at 12:33 pm

    अब तुम्बाहाम्फे लाइ सभामुख बनाएर महरा लाइ जेल कोच्नुपर्छ र हदै सम्म को सजाय तोक्नुपर्छ , यदि कानुनि राज हो भने | नेपालि नेता हरुको गुरु इन्डिया मा त् बलात्कार को सजाय मृत्यु दण्ड छ त् ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme