Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मलाकी आमाले किन दिइन् दिलिप विरुद्ध किटानी जाहेरी? एउटा भिडियो जसले उनको सोच बदलियो

Posted on September 27, 2019September 30, 2019 by Salokya

हामीले पहिलो पटक निर्मलाकी आमालाई भेटेको गएको मंसिर महिनामा जिल्ला प्रशासन कार्यालय अगाडि हो। त्यहाँ अनिश्चितकालीन धर्ना चलिरहेको थियो। माग थियो- निर्मला पन्तका हत्यारालाई तुरुन्त सार्वजनिक गर्नुपर्ने। एसईई दिँदै गरेकी एउटी छोरी र अर्की सानी छोरीलाई स्कूल पठाएर हतार हतार साइकल चढेर धर्नास्थलमा आउँथिन् उनी। कान्छी श्रीमतिको काखमा सुतेर बस्ने श्रीमान् यज्ञराज पन्तभन्दा परै एउटा कुनामा चुपचाप बस्थिन्। साँझ परेपछि फेरि साइकल चलाएर घर फर्कन्थिन्।

त्यतिबेला हाम्रो क्यामेरामा उनले अरु धेरैले जस्तै बम दिदीबहिनी र अम्बाको रुख जस्ता विषयमा नै बोलेकी थिइन्। त्यतिबेला ‘रे’को हल्लाले बजार पिटेको थियो। तथ्यमा कोही गएका थिएनन्, यस्तो ‘रे’, उस्तो ‘रे’।

प्रमाण नष्ट गर्ने प्रहरीहरुलाई कारबाही गर्नुपर्ने माग पनि उनले गरेकी थिइन्।

१४ महिनापछि भने उनी ‘युटर्न’ भएकी छिन्। सुरुमा उनले पनि दिलिपसिंह विष्ट दोषी हुनेमा शंका व्यक्त गरेकी थिइन्। अहिले भने दिलिपमाथि नै शंका गरेकी छिन्। त्यतिमात्र हैन भदौ २२ गते उनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा किटानी जाहेरीसमेत दिएकी छिन्, जसमा लेखिएको छ- दिलिपसिंह विष्ट प्रचार गरिए जस्तो पूर्ण रुपमा मानसिक असन्तुलन भएको जस्तो व्यवहार र कृयाकलापबाट देखिन्न। उसले निर्मलाको हत्या गरेको हुनसक्ने शंका भएको हुँदा निज उपर पुनः अनुसन्धान र छानबिन गरी दोषी ठहरिए कानुन बमोजिमको हदैसम्मको कारबाही गरिपाऊँ।’

कसरी बदलियो उनको धारणा?

‘उहाँ पैसामा बिक्नुभो’, दिलिपसिंह विष्टका दाजु खड्गसिंह विष्ट आरोप लगाउँछन्। यो प्रकरणलाई ट्विस्ट एन्ड टर्न गराउन प्रमुख भूमिकामा रहेका कञ्चनपुरका पत्रकार खेम भण्डारीले पनि आमालाई आरोप लगाएर स्टायटस लेखे-

निर्मलाकी आमाले निकै चित्त दुखाएकी थिइन् यस्तो आरोप लागेपछि। कुन चाहिँ आमाले यस्तो दुःख भोगेको छ, भोगेर देखाउनुस्। कुन चाहिँ आमाले पैसामा यस्तो गर्न सक्छिन्। मेरो पीडा मलाई मात्र थाहा छ भनेर उनले गहभरी आँसु पारिन्।

गत असारमा दोस्रो पटक हामी कञ्चनपुर जाँदा दिलिपसिंह विष्टलाई एकान्तमा भेट्न गरेको प्रयास सफल हुन सकेन। साथी महेन्द्र बमले उनलाई घरैमा भेटेर केही कुराकानी त गरे, तर दाजुको अगाडि उनको धेरै बोली फुटेन।

भोलिपल्ट बिहानै हामीले उनलाई चौराहामा भेट्ने योजना बनाएका थियौँ। तर उनी कता लागे, लागे। भेट्नै सकेनौँ। यसपालि तेस्रो पटक महेन्द्रनगर जाँदा बल्ल उनीसित एकान्तमा भेटेर कुरा गर्न पाइयो जसबारे अर्को पटक लेख्नेछौँ।

त्यतिबेला दिलिप भेट्ने योजना असफल भएपछि हामीले दाजु खड्गसिंह विष्टसँग कुरा गर्न खोज्यौँ। तर उनी तत्काल तयार भएनन्। उनले फोन गरे कुनै पत्रकारलाई। हामीले ‘पहिलोपोस्ट’बाट नभनी धनगढीको एउटा स्थानीय मिडियाबाट आएको भनेर ढाँँटेका थियौँ। उताबाट फोनमा ती पत्रकारले अनुमति दिएपछि बल्ल दिलिपका दाजु हामीसित कुरा गर्न राजी भए।

क्राइम पेट्रोल (भारतीय टेलिसिरियल) मा जसरी नै प्लट बुनेर दिलिप र परिवारको बारेमा पूर्व जानकारी लिएर दिलिपलाई फँसाइएको आरोप उनले लगाए। तर प्रहरीले गोप्य रुपमा खिचेको परिवारको भिडियोमा परिवारकै सदस्य (दिलिपका भाउजु र भतिजी बुहारी) ले दिलिपबारे बोलेको कुरा ‘नक्कली’ भन्न सकेनन् उनले।

दिलिपबारे निर्मलाकी आमाको धारणा परिवर्तन हुनुको एउटा प्रमुख कारण त्यही भिडियो पनि हो।

के छ त्यो भिडियोमा?

दिलिपसिंह विष्ट पक्राउ परिसकेका थिए। उनले अनुसन्धानकर्ता सामु मैले नै बलात्कार हत्या गरेको हो भनी स्वीकारिसकेका पनि थिए। काठमाडौँबाट गएको सिआइबी टोलीका डिएसपी अंगुर जिसी अब दिलिपको ब्याकग्राउन्ड चेक गर्न चाहन्थे। यही क्रममा एक हवल्दार धर्मसिंह भाटसँग मोटरसाइकलमा बसेर उनी दिलिपको घरमा पुगे जुन बागफाँटामा छ।

नास्पाती किनेर खाने भन्दै उनीहरुले दिलिपकी भाउजु र भतिजी बुहारीसित दिलिपको बारेमा कुरा फुत्काए। त्यसलाई गोप्य रुपमा भिडियोमा पनि खिचे। त्यतिन्जेल उनीहरुलाई दिलिप पक्राउ परेको बारे केही जानकारी नै थिएन।

यस्तो छ भिडियो-

भिडियोमा भतिजी बुहारी र भाउजुले भन्छिन्- दिउँसो त ऊ कहिल्यै घर बस्दैन। सधैँ राति नै घर आउने हो। कहिले १० बजे कहिले ११ बजे कहिले १२ बजे। लट्ठी लिएर हिँड्छ।

भतिजी बुहारीले आफूलाई धेरै सताएको पनि बताउँछिन्। भन्छिन्, ‘यसरी म यो खाटमा बस्थेँ, तिनी पनि खाटैमा आएर बस्ने! एक दिन म माथि खाटमा बसिरहेकी थिएँ, तिनी थाहै नपाइकन त्यहाँबाट माथि गएर धन्न त्यो ढोका नाघेर भित्र आउन लागेको। यसो फर्केर हेर्छु त अङ्कल। मैले भनेँ किन आउनुभो हजुर यहाँ? के काम छ? भनेर म त रिसले आँखाभरी आँसु भरिएर यस्तो रिस उठ्यो र बेस्कन झपारेँ। अनि उनी तल आए। अनि उनी के भन्छन्- म त मुस्कान दिन आएथेँ यार तिमी त रिसायौ रे।

भाउजु अगाडि भन्छिन्, अचेल त बुहारी भन्छ। पहिले त मैयाँ भन्थ्यो, नानी भन्थ्यो। बहिनी भन्थ्यो।

त्यतिमात्र हैन, उनले आफू डरैडरमा बस्नुपरेको पनि बताउँछिन्, ‘छोरा मार्दिन्छ कि छोरीलाई केही गर्दिन्छ कि भन्ने हुने। माइत, मामाघर पढाएको हुँ मैले छोराछोरी। माइतै बस्या हुँ एक साल त्यसका डरले।

दाइलाई समेत कुटेको पनि बताउँछिन् उनी। भिनाजुलाई त मारेकै थिए। भिनाजु मारेको अभियोगमा जिल्ला, उच्च र सर्वोच्च गरी तीन वटै अदालतले उनलाई दोषी ठहर गरेका थिए। मानसिक सन्तुलन नभएको भनेर सजायबाट जोगिन खोजे पनि अदालतले त्यसलाई स्वीकार्दैन।

विष्टले नै मारेको हुनाले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(३) नम्बर बमोजिम सर्वस्वसहित जन्मकैद हुने भनी कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश पदमराज भट्टको इजलासले २०६६ जेठ ३ गते फैसला गरेको थियो।

मार्ने नियत मेरो थिएन, मानसिक अवस्था सन्तुलित थिएन भन्दै उनले पुनरावेदन अदालत महेन्द्रनगरमा पुनरावेदन गरे। तर, पुनरावेदन अदालतका न्यायाधीशद्वय लक्ष्मणमणि रिसाल र बमकुमार श्रेष्ठको संयुक्त इजलासले ‘मानसिक सन्तुलन थिएन भनी भन्न मिल्ने अवस्था देखिँदैन’ भन्दै २०६६ माघ १२ गते जिल्ला अदालतकै फैसला सदर गरे। स्वास्थ्य परीक्षण प्रतिवेदनलाई समेत उद्‍धृत गर्दै फैसला गरिएको थियो।

विष्ट त्यहाँबाट सर्वोच्च अदालतमा मुद्दा गर्न पुग्छन्। त्यहाँ उनका वकिलको जिकिर रहन्छ- विष्टको मानसिक स्थिति ठीक थिएन। उनको ज्यान लिने मनसाय हैन।

तर, पुनरावेदनले जस्तै सर्वोच्चले पनि उनको मानसिक अवस्था ठीक नभएको कुरा स्वीकार्दैन।

‘जहाँसम्म मानसिक अवस्था सन्तुलन थिएन भनी प्रतिवादीले लिएको पुनरावेदन जिकिर छ, सो सम्बन्धमा घटनाको सविस्तार वर्णन गरी निजले बयान व्यहोरा लेखाएको देखिँदा जिकिर लिए अनुसार मानसिक अवस्था सन्तुलित थिएन भनी भन्न मिल्ने अवस्था देखिँदैन। अर्को कुरा अधिकारप्राप्त अधिकारी समक्ष प्रतिवादीले आफ्नो मानसिक अवस्था ठीक भनी लेखाएको र निजको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट पनि मानसिक अवस्था ठीक नभएको असन्तुलन भएको कुरा देखिँदैन’, सर्वोच्चको फैसलाको ठहर खण्डमा लेखिएको छ।

मतलब, दुवै अदालतबाट उनको मानसिक अवस्था ठीक रहेको फैसला हुन्छ।

यी दुई कुरा नै हुन् निर्मलाकी आमालाई झसङ्ग बनाउने।

अदालतका यी विस्तृत कुरा उनलाई थाहा छैन। मात्र थाहा छ- भिनाजु मारेर जेल परेर आएको। जब पहिलोपोस्टको #WhoKilledNirmala सिरिजको २० औँ भागमा राखिएको भाउजु र बुहारीले बोलेको भिडियो उनले हेरिन्, तब उनलाई लाग्यो- घरकै परिवार त डर मानेर बस्नुपर्ने अवस्था रहेछ भने यस्तो मान्छेले मेरी छोरीलाई त्यस्तो काम गरेन होला कसरी भन्न सक्नु!

उनले दिलिपले प्रहरीलाई दिएको अरु बयानहरु पनि भिडियोमा हेरिन्।

गत असार महिनामा दोस्रो पटक कञ्चनपुर पुग्दा उनले यस्तो भनेकी थिइन्। त्यतिन्जेल उनलाई शंकामात्रै लागेको थियो। यस पटक भने उनले किटानी जाहेरी नै दिएका छन्।

के छ जाहेरीमा ?

जाहेरीमा दुर्गादेवी पन्तले डिएनए नमिलेर छोडिएको भनिएको दिलिप सिंह विष्टले घटना गराएन होला भन्ने अवस्था नरहेको जिकिर गरेकी छिन्। जाहेरीमा लेखिएको छ, निज दिलिप सिंह विष्टले प्रहरी हिरासतमा रहँदा प्रहरी समक्ष दिएको बयानको भिडियो मिडियामार्फत् सार्वजनिक भई सो भिडियो हेर्दा सुन्दा निजले बयानका क्रममा २० रुपैयाँ निर्मलाको साथमा फेला परेको, घाँटी थिची मारेको, सुरुवाल एकापट्टीको मात्र फुकालेको र माथिको लुगा नफुकालेको, सुरुवाल फाटेको र साइकलको चेन बिग्रेको भन्ने जस्ता व्यहोराको बयान दिएको देखिन्छ।’

जाहेरीमा अगाडि लेखिएको छ, ‘निजले भने बमोजिम मिल्दोजुल्दो अवस्थामा लाश फेला परेको छ। मृतक मेरी छोरीको सुरुवाल फाटेको नै थियो। मेरी छोरीले चढेको साइकलको चेन बिग्रिरहने समस्या थियो। यि आदि इत्यादी कुराहरु हामी सामान्य मान्छेले बुझ्दा र विश्लेषण गर्दासमेत मेल खाएको पाइयो।’

जाहेरीमा २०६५ सालमा आफ्नै भिनाजुको हत्या गरी ९ वर्ष जेल सजाय पाएकोले निजको अपराधिक पृष्ठभूमि भएको, घटना हुनुभन्दा पहिला र घटना पश्चात् समेत केटीहरु एक्लै देखेमा समात्न जान खोज्ने र यौन अंग देखाउने जस्ता क्रियाकलापहरु गर्ने गरेको भन्ने बुझिन सुनिन आएको, न्युज २४ टिभीमा साउन ११ गते प्रसारण भएको सीधा कुरा जनतासँग कार्यक्रममा परिचय गोप्य राखिएको एक जना महिलाले उनलाई घटना भएको दिन दिउँसोको समयमा घटनास्थलतर्फ जाँदै गरेको देखेको भन्ने भनाईले घटनास्थलमा उपस्थिति प्रमाणित गरेको उल्लेख छ।

निर्मलाकी आमाले दिएको जाहेरीमा लेखिएको छ, ‘दिलिप सिंह विष्ट घटनापश्चात् पनि दिनहुँ जसो मेरो घरको बाटो ओहरदोहर गर्दा मेरो घर अगाडि उभिएर शंकास्पद तरिकाले हेर्ने समेत गरेबाट मेरो मनमा डरत्रास उत्पन्न हुने गरेकोले दिलिपसिंह विष्ट प्रचार गरिए जस्तो पूर्ण रुपमा मानसिक असन्तुलन भएको जस्तो व्यवहार र कृयाकलापबाट नदेखिने र उसले निर्मलाको हत्या गरेको हुनसक्ने शंका भएको हुँदा निज उपर पुनः अनुसन्धान र छानबिन गरी दोषी ठहरिए कानुन बमोजिमको हदैसम्मको कारबाही गरिपाउँ। ‘

किन बढ्यो शंका?

निर्मलाकी आमा सुरुमा भिड कै कुरा सुनिरहेकी थिइन्। ‘रे’ कै हल्ला सुनिरहेकी थिइन्। गोप्य रुपमा खिचिएको यो भिडियो नहेर्नेहरुले पढेका थिए गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सार्वजनिक गरिएको प्रतिवेदन। जसमा दिलिपकी भतिजीबुहारीको यस्तो बयान समेटिएको थियो-

किन फरक भयो त भिडियोमा र प्रतिवेदनमा उही मान्छेको बोली? साँचो कुरा के हो त? उच्चस्तरीय प्रतिवेदन बयान संकलनको काममा मात्र लाग्यो। भेरिफाइ गर्नेतिर लाग्दै लागेन।

समयसँगै परिवर्तन हुँदै गयो सबै कुरा। पहिले त दिलिप भनेको को हो भनेर समेत चिन्दैन थिए मानिसहरु। अब चिन्न थाले। उसको व्यवहार मानिसहरुले ध्यान दिन थाले। पहिला दिलिपको विरुद्धमा बोल्दा आफूमाथि नै आक्रमण हुने हो कि भन्ने डर हुन्थ्यो। अहिले त्यस्तो अवस्था रहेन।

दिलिपले आफ्नो यौन अङ्ग महिलाहरुलाई देखाएर सताएको पनि सार्वजनिक भयो। पहिले हैन, पछिल्लो समयमा। निर्मलाकी आमाका अनुसार ‘दिलिपले मैले नै मारेको हुँ भन्दै ठाउँठाउँमा बोल्दै समेत हिँडेका छन्।’

पहिले उसले गरेको व्यवहार पनि अब मान्छेहरुले खुलेर बोल्न थाले जसका कारण निर्मलाकी आमाको शंका झन् झन् बढ्न थाल्यो।

यसबाहेक यी केही तथ्य हुन जसले शंका बढायो-

१) दिलिपले प्रहरीसितको बयानमा साइकलको चेन बिग्रेको कहानी भनेका थिए। आमाका अनुसार निर्मलाको साइकलको चेन बिग्रने समस्या थियो। रोशनी बमले आफ्नो घरमा पुग्ने बित्तिकै साइकल बनाएकोले हातमा फोहोर लागेकोले हात धोएको भनेकी छिन्। हेमन्ती भट्टले समेत १० गते बिहान १०:३० बजे निर्मलाको घरमा आफू १० मिनेट जति बसेको र त्यो समयमा निर्मला बाहिर साइकल बनाइरहेको बताएको छ।

२) दिलिपले आफू साइकल भेटिएको स्थानबाट पारी उक्लेको भनेकोमा त्यहीँ एउटा ठूलो पाइला पनि भेटिएको छ।

३) निर्मलाको साथमा २० रुपैयाँ भेटेको भनेर दिलिपले बताएको छ जुन कुराको पुष्टि रोशनीको बयानले पनि गरेको छ।

४) दिलिपले निर्मलाको सुरुवाल एउटा खुट्टाबाट मात्र खोलेको भनेको कुरा निर्मलाको एकापट्टिको सुरुवाल खोलेको र अर्को खुट्टाको गोलिगाँठोमा अड्किएको अवस्थामा भेटेको देखिन्छ।

७) दिलिपले निर्मलाको सुरुवाल थोडा फाटेको कुरा भनेको छ भिडियोमा। निर्मलाकी आमाले सुरुवाल फाटेको सही हो भनिन् हामीलाई। फाटेको लगाउने त हैन तर सिलाइदिएको थिएँ फाटिरहन्थ्यो भनिन् उनले। दिलिपलाई कसरी थाहा भयो यो कुरा उनले सोधेकी छिन्।

८) दिलिपले घाँटी थिची हत्या गरेको भनेको र पोष्टमर्टम रिपोर्टमा घाँटी थिची हत्या भएको पाइएको छ।

९) निर्मलाको घाँटीमा बायाँ हातको ५ औँलाको डाम भेटिएको र दिलिपले समेत बयानका क्रममा बाँया हातको एक्सन गरेर यसरी घाँटी थिचेको भनेको छ।

१०) दिलिपले एक जना महिलालाई निर्मला घटना भन्दा पहिला ३ पटकसम्म बलत्कार प्रयास गरेको र हालसालै एक जना महिलालाई आफ्नो यौनांग देखाएको भन्ने समेत प्रहरी अनुसन्धानमा खुल्न आएको छ। यसबाट समेत दिलिपले निर्मलाको बलात्कार र हत्या गर्नै नसक्ने भन्ने नदेखिने प्रष्ट हुन्छ।

११) दिलिपले निर्मला घटना भन्दा पहिला समेत एक जना महिलालाई बलात्कार प्रयास गरेको भन्ने समेत अनुसन्धानबाट खुल्न आएको छ। त्यसैगरी घटनाको दिन दिलिप जस्तो मान्छेलाई घटनास्थल नजिकैको कलभर्टमा सुतिरहेको देखेँ भन्ने पनि प्रहरीको अनुसन्धानमा खुलेको छ।

के भन्छिन् अहिले निर्मलाकी आमा?

अहिले के भन्छिन् त निर्मलाकी आमा। हेर्नुस् भिडियो-

दोषी, निर्दोष छुट्याउने काम न्यायाधीशलाई छाडिदिउँ

अघिल्लो ब्लगमा पनि लेखेको थिएँ- सर्वसाधारणलाई मात्र हैन, धेरै मिडियाकर्मीलाई पनि एउटा भ्रम के छ भने प्रहरीले अभियुक्त बनाई सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई डिएनए नमिलेपछि अदालतले सफाइ दिएर छाडेको हो।

त्यसो होइन।

प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको कुनै पनि व्यक्तिलाई अभियोग लगाउने काम सरकारी वकिलको हुन्छ भने अभियोग लगाइएको व्यक्ति अपराधी हो कि हैन भन्ने ठहर गर्ने काम अदालतको हुन्छ।

यो केसमा चाहिँ के भयो त?

यसमा त अभियोग लगाएर अदालत पुर्‍याउने कामै गरिएन। अदालतबाहिरै दोषी हो कि निर्दोषी ठहर गरियो। अदालत बाहिरबाटै सफाई दिइयो। सबै आ-आफै न्यायाधीश बन्ने कोशिश गरे।

दिलिपसिंह विष्टलाई सार्वजनिक गर्ने बित्तिकै उनी दोषी हुनै नसक्ने भन्दै आन्दोलन गरियो। आन्दोलनका क्रममा एक जनाको ज्यान समेत गयो। कर्फ्यु लगाउनु पर्‍यो।

जब डिएनए नमिलेको रिपोर्ट प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले दियो, त्यसपछि अनुसन्धान गरिरहेको प्रहरीको अर्को टोली (पहिलो टोली आन्दोलनको दबाबका कारण निलम्बनमा थिए) र सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्ने निर्णय गरियो २०७५ भदौ २६ गते।

अर्थात् कानुनी प्रक्रियाको एउटा चक्र नै पूरा हुन पाएन। डिएनएलाई मात्रै अदालतले प्रमाण मान्थ्यो कि मान्थेन, अरु केही प्रमाण पनि हेर्थ्यो कि (जस्तै गोदामचौर बलात्कार प्रकरणमा डिएनए नमिले पनि ललितपुर जिल्ला अदालत र उच्च अदालतले अभियुक्तलाई दोषी ठहर गरेको छ) त्यतातिर जाँदै गएन। दोषी थियो कि थिएन भन्ने विषयमा अदालती प्रक्रिया नै अघि बढेन।

अब किटानी जाहेरी परेसँगै पुनः अनुसन्धान गरी अदालतसम्म पुर्‍याउने बाटो भने खुला भएको छ। यसलाई प्रहरीले कसरी अघि बढाउँछ, त्यो हेर्न बाँकी छ।

दोषी र निर्दोषी छुट्याउने काम त अदालतले गरिहाल्छ।

दिलिपसिंह विष्ट अहिले के गरिरहेका छन् त? महेन्द्रनगरको अहिलेको अवस्था बुझ्न म पुनः महेन्द्रनगर पुगेको थिएँ। यस पटक प्रहरीले अभियुक्तका रुपमा खडा गरेको दिलिपसिंह विष्टसित पनि भेटेर कुरा गर्न पाएँ। उनीसितको यो प्रत्यक्ष भेट महत्वपूर्ण रह्यो। उनको बारेमा सुनेका कुराहरु कति सत्य तथा कति झुट आफैले भेटेपछि थाहा भयो।

यो प्रकरणमा चर्चामा आएका अर्को पात्र बम दिदीबहिनीको अवस्था अहिले के छ ?

यी सबबारे क्रमशः रिपोर्ट लेख्नेछु। कृपया सल्लाह सुझावसहितका प्रतिक्रियाहरु दिइराख्नुहोला।

(कञ्चनपुरबाट महेन्द्र बमको सहयोगमा)

4 thoughts on “निर्मलाकी आमाले किन दिइन् दिलिप विरुद्ध किटानी जाहेरी? एउटा भिडियो जसले उनको सोच बदलियो”

  1. prithvi n. shah says:
    September 29, 2019 at 6:25 pm

    सरकारले बिश्वास गुमाएको हुनाले कहिले काइ सत्य काम गरे पनि कसैले बिश्वास गर्दैन र अनेक षडयन्त्रको शंका गर्छन, यो काण्ड दिलिपले नै गरेको हो तर यो कुरा अब चीन वा अमेरिका ले आएर भने मात्र जनताले पत्याउलान, भारत ले भने पनि पत्याउदैनन, सरकार नै लुटेरा हत्याराहरुको छ अनि जे मा पनि शंका देखिन्छ

    Reply
  2. madan bajracharya says:
    September 29, 2019 at 4:21 am

    बिस्वमा प्रहरीले बास्तविक अपराधि पत्ता लगाउन नसकेको कयौं घटनाहरु छन्/ यो घटना पनि तेस्तै बन्न पनि सक्छ. तर यसै कुरालाई लियर पुरा प्रहरी संयन्त्र र ब्यबस्थानै असफल भयको भनि हाल्नेको आशयमै खोट भयको हुन् सक्छ/ जसरि भय पनि जस्तो सुकैलाई अपराधि बनाउन सकिन्न होईन तेस्तो गर्ने सोच्नु पनि हुँदैन/ जव दियनय नै नमिलेको कुरा प्रमाणित भैसके पछि उसलाई कसरि बलात्कारी भन्न मिल्छ? दिलीपको आमालाई उनिलाईनै थाह हुने नहुने गरि कसैले परिचालन गर्दै गरेको देखिन्छ/

    Reply
  3. Shankar says:
    September 27, 2019 at 6:56 pm

    बिकाश धुर्मुस सुन्तली ले गर्दिन पर्ने , अपराधि श्रम जीबी पत्रकार ले खोजिदिन पर्ने के हो यो ? येत्रो सरकार , पुरै देश को इज्जत को सबाल मा उच स्तरीय आयोग नै बनाएर
    राम्रो अनुसन्धान गरेर अपराधि समाउनु पर्ने मा मेट्रो रेल को , अन्तरास्ट्रिय विमानस्थल को गफ दिएर , देश विदेश सयर गरेर बसिरहेछन देश का अधिकारि हरु |

    Reply
    1. saperu says:
      September 29, 2019 at 3:30 pm

      अनि पुलिस अधिकारी ले अनुसन्धान गर्दा ढुंगा मुडा गर्ने चै तिमि हामी नै हैनौ र.. जे पनि नेगेटिव कुरा गर्ने.. यो देश पत्रकार ले चला को देश हो…कुनै दिन कान्तिपुर ले दिउसई रात पर्यो भने.. बत्ति निभाएर सुत्ने मा पहिले तिमि नै हुन्छौ..

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme